लक्ष्मण यादव/मध्यान्ह
सर्लाही : सर्लाहीका १८ स्थानीय तह अझै दमकलविहीन छन् । जिल्लाका २० स्थानीय तहमध्ये २ वटामा मात्रै दमकल रहेका छन् । दमकल नभएका स्थानीय तहमा आगलागी भएमा अन्य स्थानीय तहसँग मागेर काम चलाउनुपर्ने बाध्यता रहेको छ ।
जिल्लाको सदरमुकामसमेत रहेको मलंगवा नगरपालिका र मलंगवादेखि ३५ किलोमिटरको दुरीमा रहेको हरिवन नगरपालिकासँग मात्र वारुणयन्त्र छ । जिल्लाका ८ लाख ६२ हजार ४ सय ७० जनसंख्यालाई विपद (आगलागी)को बेला सेवा दिनका लागि जम्मा दुई वटा वारुणयन्त्र रहेको छ । पुरानो संरचना भएको बेला नै मलंगवा नगरपालिकाले आगो निभाउने उद्देश्य राखेर वारुणयन्त्र खरिद गरी सञ्चालनमा ल्याएको थियो भने नयाँ संरचना हुँदा हरिवन नगरपालिकाले वारुणयन्त्र खरिद गरेको छ ।
दमकल सञ्चालन गर्न हरिवन नगरपालिकाले बागमती, लालबन्दी, इश्वरपुर हरिपुर र बरहथवा नगरपालिकासँग वार्षिकरुपमा ३/३ लाख रुपैयाँ लिने गरी सम्झौता गरेको हरिवनका नगर प्रमुख रमेश बुढाथोकी (कमल)ले बताए । उनले सम्झौता गरेका स्थानीय तहमध्ये बरहथवा र लालबन्दी नगरपालिकाले गत आर्थिक वर्षदेखिको रकम नदिएको बताए । सम्झौता नभएको स्थानीय तहलाई सहयोग स्वरुप नि:शुल्क सेवा दिइरहेको उनको भनाइ छ ।
त्यस्तै, मलंगवा नगरपालिकाले भने कुनैपनि स्थानीय तहसँग सम्झौता नगरी नि:शुल्क सेवा प्रदान गर्दै आइरहेको मलंगवा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत होमनाथ सुवेदीले जानकारी दिए । सर्लाहीमा १३ नगरपालिका र ७ गाउँपालिका गरी २० स्थानीय तह छन् ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies