दिपकराज भट्ट/डडेल्धुरा
डडेल्धुराको अजयमेरू गाउँपालिका–२, हाँटकोटमा सुदूूरपश्चिमको प्रसिद्ध स्थान अजयमेरूकोट रहेको छ । डडेल्धुरा जिल्ला सदरमुकामको खलंगाबाट पश्चिमतिर आधा घण्टाको कच्ची सडकको यात्रा वा करिब दुई घण्टा पैदल बाटो हिँडेपछि अजयमेरूकोट पुग्न सकिन्छ । यसलाई हाँटकोटको नामले पनि चिनिन्छ ।
बाइसे राज्यकालीन डोटी राज्यको राजधानी अजयमेरूकोटमा प्राचीन कलाको उत्कृष्ट संयोजनबाट निर्मित दरबार छ । देवल, पानीका नाउला, घोडा तबेला, बैठक कक्ष, पोखरीलगायत वास्तुकलाको आकर्षणसमेत कोटमा देख्न सकिन्छ । यो स्थान नदीको किनारमा रहेको डाँडामा अवस्थित छ ।
अजयमेरूकोटको स्थापना कसले ग¥यो भन्ने आधिकारिक दस्तावेज भेटाउन सकिएको छैन । एकथरी भनाइअनुसार कत्युरी राजवंशका राजा अजयपाल देवले ११औँ शताब्दीको सुरुवाततिर यो दरबारको स्थापना गरेका थिए । अजयपालको नामबाट नै अजयमेरूकोटको नामकरण भएको हो ।
अजयमेरूकोटको नामकरणको तथ्यसँग डोटी खोलाको अभिलेख पनि मिल्न जान्छ । अर्कोतिर स्थानीय गोरख सेठीको डायरीमा अजयमेरूकोटका प्रथम राजा रञ्जना पालले कोटको स्थापना १३औँ शताब्दीमा गरेको उल्लेख छ । अजयमेरूकोटको स्थापना १३औँ शताब्दीको उत्तराद्र्धमा कत्युरी वंशका दुई भाइ राजकुमार सहस्त्रपाल र निरयपालदेवले वि.सं. १४१९ भन्दा पहिले नै सिञ्जा राज्यसँग लडाइँ गरी जितेर स्वतन्त्र राज्य घोषणा गरेर कोटको स्थापना गरेको उल्लेख छ ।
यस कोटलाई राजा नागी मल्लद्वारा निर्माण गरिएको कोट पनि भन्ने गरेको पाइन्छ । यद्यपि, यो कोट कत्युरी वंशजका पाल राजाले नै निर्माण गरेको प्रमाण भेटिन्छन् । रैका राजवंशका नागी मल्लले वि.सं. १४४१ मा अजयमेरूलाई कब्जा गरेपछि मात्रै अजयमेरूकोट नागी मल्लको कोटका रुपमा चिनिने गएको हो । यस ठाउँमा राजा निरयपालदेवका ताम्रपत्र र वि.सं. १४१९ सम्मका शिलालेखहरु पाइन्छन् ।
वि.सं. १४१९ सम्म अजयमेरूकोट कत्युरी राजवंशका पाल राजाको डोटी क्षेत्रको कोट (दरबार) मानिन्थ्यो । वि.सं. १४४१ को अभिलेख रैका राजवंशका नाग मल्लको भेटिएका कारण वि.सं. १४४१ पछि नागी (नाग) मल्लको कोट अजयमेरू भनियो । वि.सं. १४१९ देखि १४४१ को अवधि (२२ वर्षसम्म) यस कोट वरपर कुनै प्रमाण नभेटिएका कारण यसबीचको अवधिमा कत्युरी पाल र रैकाका बीचमा युद्ध भएको अवधि मान्न सकिन्छ ।
अजयमेरूकोटमा प्राचीन दरबारको भग्नावशेष, नाउला, देवल, वीरखम्ब, कलात्मक सिलिङ, राजाको बैठक स्थलसहितका ऐतिहासिक वस्तु छरिएर रहेका छन् । हाल अजयमेरूमा रहेका तीन नाउलामध्ये दुई नाउला भग्नावशेष अवस्थामा छन् । एक नाउला पानी खान प्रयोग भइरहेको छ । ढुङ्गे देवल र नाउलामा कुँदिएका कलात्मक मूर्तीले प्राचीन वास्तुकला झल्काउँछ ।
अजमेरूकोटको मुख्य दरबार भएको स्थानको डाँडालाई सर्पले बेरेजस्तै गरेर गाड (खोला)ले घेरेको छ । तल गाडदेखि माथि कोट भएको स्थानमा पुग्न १५–२० मिनेट उकालो उक्लनुपर्छ । यस कोट भएको डाँडामाथि दरबार र राजाका भाइभारदारको बस्ने हवेली भग्नावशेषका रुपमा देखिन्छन् ।
दरबारको संरचना सबै भत्केको अवस्थामा छ । बन्ने बेलामा मुख्य दरबार सात तलाको बनेको थियो । यसको सबैभन्दा माथिल्लो तलाबाट उत्तराखण्डमा कत्युरी राजाबाट निर्माण गरिएको कत्युरी राजवंशको कुलदेवी जगदम्बा भगवतीको मन्दिरको दर्शन गर्ने र जल चढाउने गरिन्थ्यो ।
यही छेउतिर राजाका घोडा बाँध्ने स्थान छ । यसलाई स्थानीयवासी ‘घोलिडाँस’ (घोडाको तबेला) भन्ने गर्छन् । यस दरबारस्थलको पूर्व–दक्षिणबाट तल गाड (खोला) भएको स्थानसम्म रानीले पानी भर्न र नुहाउन जाने जमिनभित्रबाट कोरेर ढुंगाले चिनेर माथिबाट बन्द भएको कोटदेखि गाडसम्म जाँदा अँध्यारो नहोस् भन्ने उद्देश्यले बनाएका २५ वटा झ्यालसहितको प्राचीन गुफा छन् ।
कोटस्थलदेखि तल गाडको किनारमा दरबारका मान्छेको बैठक स्थल छ । यसलाई स्थानीयवासी ‘ओखडेकी माँडौ’ भन्छन् । गाडको केहीमाथि चेतराम नाथको घरनजिक दुई वटा देवल छन् । चेतराम नाथको घर तल वैलवाटा भन्ने खेतको नाम करपुटार खेत हो । यसै करपुटार खेतको सिरानमा पानी खाने तीनवटा प्राचीन नाउला छन् ।
यो स्थल ऐतिहासिक मल्लकालको दरबार अवलोकनका लागि प्रसिद्ध छ । यहाँ पुरातात्विक उत्खनन र अध्ययनका लागि पनि विज्ञहरु आउँछन् । यस स्थलमा वार्षिक सरदर आठ–नौ हजार मानिसले भ्रमण गर्छन् । यस कोटको खास विशेषतामध्ये विशाल चट्टानमाथि करिब पाँच रोपनीको थुम्कोमा रहेको किल्लाको अवशेष तीन तिर मजारगाड (खोला)ले घेरिएको मध्यकालीन किल्ला र वास्तुकलाको महत्वपूर्ण रुप नै हो ।
अजयमेरूकोटबारे संवाद
‘अजयमेरूकोट संरक्षण र विकास गर्न योजनाबद्ध काम गर्दैछौं’
पालिकाले अजयमेरूकोटलाई कसरी हेरेको छ ?
अजयमेरूकोट हाम्रो पालिकाको प्रमुख ऐतिहासिक र पर्यटकीय क्षेत्र हो । हामीले पालिकाको नामाकरण पनि यही कोटको नामबाट राखेका छौं । हामीले यसलाई पालिकाको मुख्य क्षेत्रको रुपमा राखेका छौं । यहाँ सोही अनुसार विकास तथा सम्बद्र्धनका काम गर्दैछौं ।
कोट संरक्षणमा कसरी काम गरिरहनुभएको छ ?
हामीले कोट संरक्षणका लागि विभिन्न निकायसँग समन्वय गरेका छौं । अहिले यहाँ नागरिकले जनश्रमदान अभियान चलाएका छन् । नेपाली सेना डडेल्धुराले पनि यस क्षेत्रमा केही कामहरु गर्दै आएको छ ।
कोट संरक्षणका लागि पालिकाको बजेट त छँदैछ, हामीलाई आर्थिकरुपमा प्रदेश सरकार, केन्द्र सरकारले बजेट पारित गरेको छ । साथै, पर्यटन बार्डको पनि केही रकम विनियोजित भएको छ ।
यस क्षेत्रलाई ऐतिहासिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न सकिन्छ भन्ने हामीले मानेका छौं । यो क्षेत्र अजयमेरूको मात्र नभई डडेल्धुराको सातै पालिका र देशको सम्पदा हो । यसमा सबैले चासो दिनुपर्छ भन्ने लाग्छ ।
यस क्षेत्रको प्रचार–प्रसारका लागि के–कस्ता कदमहरु चाल्नु भएको छ ?
एकातिर हामी आफ्नै संयन्त्रमार्फत् यसलाई प्रचार–प्रसार गरिरहेका छौं भने अर्कोतिर सामाजिक सञ्जालको पनि उपयोग गरेका छौं । विशेषत यस सम्पदासँग जोडिने निकायहरुले पनि यसको राम्रो प्रचार–प्रसार गरिदिनुभएको छ ।
संरक्षणका लागि हालसम्म के–के गर्नुभयो ?
कोट संरक्षणका लागि भित्री संरचनाहरुमा जान सकेका छैनौं र पनि हामीले यसको संरक्षणका लागि यस क्षेत्रभित्र ढुङ्गे दिवाल बनाएका छौं । नौलाहरुको सरसफाइ गरेका छौं भने बाहिरी भागमा सरसफाइ गर्ने कार्य गरेका छौं । यस्तै कोट नजिकै सेल्फी पोइन्ट बनाएका छौं ।
पछिल्लो समयमा भने अजयमेरूकोटमा कोरोना समय समाप्तपछि आन्तरिक पर्यटकहरुको संख्या भने केही हदसम्म बढेको देख्न सकिन्छ । यहाँ पुराना ढुङ्गाबाट बनेका देबलहरु, नाउला रहेका छन् भने रानीले पानी भर्न जाने गुफासमेत रहेको छ । सबैले यसको संरक्षणमा चासो दिने हो भने पर्यटकको रोजाईमा पर्ने थियो कि ?
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies