मुकुन्द लामिछाने/मध्यान्ह
काठमाडौं : इलाम–२ मा रिक्त प्रतिनिधिसभा सदस्यको उपनिर्वाचन हुँदैछ । तर यसको चासो सिंगो मुलुकभर छ । काठमाडौंमा बसेर लेखाजोखा गरिरहेका राजनीतिक दलहरु पछिल्लो समय इलाम–२ को प्रचारका लागि पुगेका छन् ।
रास्वपाले उपनिर्वाचन घोषणा भएदेखि नै केन्द्रीय नेताहरुलाई खटाएको थियो । शीर्ष नेताहरुले पनि स्थानीय स्तरमै पुगेर प्रचार गरिरहेका छन् । रास्वपाको आक्रमक प्रचारपछि नेपाली कांग्रेस र नेकपा एमाले झस्किएको देखिन्छ ।
कांग्रेसका सभापति शेरबहादुर देउवाले बिहीबार पार्टीका उपसभापति पूर्णबहादुर खड्कासँग उपचुनावको ब्रिफिङ लिएका थिए । पार्टी महामन्त्री गगन थापा, नेता शेखर कोइराला लगायत फिल्डमै पुगेका छन् ।
एमालेका अध्यक्ष केपी शर्मा ओली बुधबार इलाम पुगेका थिए । एमालेका अन्य नेताहरु पनि उपनिर्वाचनमा केन्द्रित भएका छन् । रास्वपाका शीर्ष नेताहरुले जमेर प्रचार गरेपछि कांग्रेस र एमाले नेताहरु पनि इलाम केन्द्रित भएका हुन् ।
संघीय संसदमा एक सिटले संसदीय अंकगणितका लागि धेरै अर्थपूर्ण नभएतापनि राजनीतिक भविष्यको संकेत हुने भएकाले रास्वपा र पुराना दलहरुले उपनिर्वाचनलाई प्रतिष्ठाको विषय बनाएका हुन् । नयाँ दलहरुसँगै पहिचानवादीले पनि उपनिर्वाचनलाई प्रतिष्ठाको विषय बनाएका छन् ।
निर्वाचन परिणामले राजनीतिक दलहरुको र पहिचानवादी मुद्दाको भविष्य समेत जोडिने भएकाले सबैको साझा मुद्दा पहिचान स्थापित गर्ने हुन पुगेको छ ।
४ मंसिर ०७९ को आमचुनावमा २० सिट ल्याएको रास्वपा उपनिर्वाचनबाट २१ पुगेको र इलाम २ मा जितेर २२ पुर्याउने ध्याउन्नमा छ । इलाम २ जिते २०८४ मा बहुमत आउने पुष्टि हुने भनी प्रचारमा रहेको रास्वपाको क्रेज रोक्न एमाले र कांग्रेस सक्रिय भएर लागेका हुन् ।
गत आम चुनावबाट निर्वाचित सदस्य सुवासचन्द्र नेम्वाङको २६ भदौमा निधन भएपछि रिक्त इलाम २ मा उपनिर्वाचन हुन लागेको हो । २०४८ सालदेखि लगातार जित्दै आएको निर्वाचन क्षेत्र भएकाले एमाले विरासत जोगाउने प्रयासमा छ भने कांग्रेस एमालेको विरासत तोड्न चाहन्छ । तर यो बेला रास्वपा प्रचारमा हावी भएपछि कांग्रेस र एमाले दुवै झस्किएका छन् । रास्वपा भने इलाम २ मा चुनाव जितेर पूर्वी नेपालमा पनि आफ्नो प्रभाव स्थापित गर्न चाहन्छ ।
अर्कोतर्फ उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी, डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी र धरानका मेयर हर्क साङपाङको समर्थन पाएका स्वतन्त्र उम्मेदवारमार्फत पहिचानवादी आफ्नो एजेन्डा स्थापित गर्ने रणनीतिमा लागेका छन् ।
एमाले उम्मेदवार सुहाङ नेम्वाङलाई माओवादी केन्द्र र विप्लव नेतृत्वको नेकपाको समर्थन छ । अन्य दलबीच गठबन्धन छैन । सत्ता गठबन्धनमा रहेका दल एमाले, रास्वपा र एकीकृत समाजवादीका भिन्दाभिन्दै उम्मेदवार छन् ।
अद्यावधिक नामावलीअनुसार इलाम २ मा एक लाख १५ हजार आठ सय ८९ मतदाता छन् । इलाम २ मा कांग्रेसका डम्बरबहादुर खड्का उम्मेदवार छन् । गत चुनावमा खड्का एमालेका सुवास नेम्वाङसँग ११४ मतले पराजित भएका थिए । अघिल्लो हारको बदला लिने खड्काको दाउ छ ।
रास्वपाका तर्फबाट मिलनकुमार लिम्बू उम्मेदवार छन् । पत्रकारिता पृष्ठभूमिका लिम्बुले रास्वपा प्रवेश गर्दै विकास र पहिचानको एजेन्डा बनाएका छन् । स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह लिम्बूलाई पहिचानवादी शक्तिले समर्थन गरेका छन् ।
उम्मेदवारहरु चुनावी प्रचारमा छन् । उम्मेदवारसँगै नेता÷कार्यकर्ता गाउँ–गाउँमा गएर भोट मागिरहेका छन् । स्थानीयहरु इलाम २ मा कांग्रेस, एमाले र रास्वपा बीच त्रिपक्षीय प्रतिस्पर्धा हुने बताउँछन् । पहिचान पक्षधरले नतिजा प्रभावित पार्न सक्ने कतिपयको आंकलन छ ।
केही समय अगाडिसम्म कांग्रेस र एमालेले एक–अर्कालाई प्रतिस्पर्धी ठानेका थिए । पछिल्लो समय रास्वपाको चुनावी प्रचारले कांग्रेस र एमाले नै झस्किएका छन् । कतिपय स्थानीयका अनुसार रास्वपाले एमालेलाई आफ्नो मुख्य प्रतिस्पर्धी ठानेको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies