झापा : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीको चर्को आलोचना गरेका छन् । प्रधानमन्त्री ओलीको गृहजिल्ला झापामा आयोजित खबरदारी सभालाई सम्बोधन गर्दै प्रचण्डले ओलीमाथि गम्भीर आरोप लगाए ।
उनले ओलीलाई देशकै ‘जाली, झेली, कपटी र बेइमानी’ भनेर टिप्पणी गरे । जालझेल बाहेक प्रधानमन्त्री ओलीको दिमागमा अरु केही नभएको उनले उल्लेख गरे । उनले बिर्तामोडको गिरिबन्धु टी स्टेटमा ओलीले गरेको बदमासीलाई पर्दाफास गरेरै छाड्ने दाबी गरे ।
सम्बोधनको क्रममा प्रचण्डले आफूलाई अलोकतान्त्रिक र तानाशाही ढंगबाट हटाइएको जिकिर गरे ।
प्रचण्डले नुवाकोटको शेरादरबारको जग्गा सरकारको नाममा ल्याउन चुनौती पनि दिए ।प्रचण्डले झण्डै १२–१५ वर्षअघि आफ्नो पार्टी छाडेका व्यक्तिको नाम जोडेर गलत प्रचार भइरहेको जिकिर गरे ।
पृथ्वीनारायण शाहको शीतकालीन दरबारको रुपमा परिचित नुवाकोटको शेरा दरबारको १६३ रोपनी १३ आना जग्गा निजी कम्पनीबाट जफत गरेर सरकारको नाममा ल्याउन केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले सिफारिस गरेको थियो ।