२०८१ माघ १ गते मङ्गलवार / Jan 14 , 2025 , Tuesday
२०८१ माघ १ गते मङ्गलवार
Ads

प्रधानमन्त्रीको अभिव्यक्तिले संशय

ADV
अस्मिता बम
२०८१ पुष २७ गते ०६:४५
प्रधानमन्त्रीको अभिव्यक्तिले संशय

काठमाडौं : २ सत्तारूढ दल नेकपा एमाले र नेपाली कांग्रेसका नेताहरू एकअर्काको सहकार्यप्रति संशय व्यक्त गर्न थालेका छन् । तत्काल संविधान संशोधन नहुने प्रधानमन्त्री एवं एमालेका अध्यक्ष केपी शर्मा ओलीको अभिव्यक्तिसँगै २ दलका बीचमा भावी सहकार्यलाई लिएर नेताहरूले संशय व्यक्त गर्न थालेका हुन् । 

प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीको केन्द्रीय कमिटी बैठकमा २०८७ सालमा मात्र संविधान संशोधन हुने बताएका थिए । त्यसपछि सरकार संविधान संशोधनको सहमतिबाट ब्याक भएको भनेर सत्तारूढ दल कांग्रेसकै कतिपय सांसदहरूले आपत्ति जनाइरहेका छन् ।

लगत्तै, झापाको कचनकवलमा आयोजित पार्टीको कार्यक्रममा बोल्दै कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले २ पार्टीका बीचमा ७ बुँदे समझदारी गर्दा संविधान संशोधन अहिलेकै आवश्यकता भएको जिकिर गरेका थिए ।

बिहीबार कांग्रेसका सांसद अर्जुननरसिंह के. सी.ले प्रधानमन्त्री ओलीको अभिव्यक्तिले सरकारको औचित्य नै समाप्त भएको आफ्नो दृष्टिकोण रहेको बताए ।

‘२०८७ नभई संविधान संशोधन नै हुन सक्दैन भन्ने प्रधानमन्त्रीको भनाइले यो सरकार २ वटा ठूला–ठूला दलबाट जो बनेको छ, त्यसको ७ बुँदे सहमतिमाथि अपमान भएको छ र यो सरकारको औचित्य पनि समाप्त भएको छ भन्ने मेरो आफ्नो दृष्टिकोण छ’, सांसद के. सी.ले भने । 

कांग्रेस नेता एनपी साउदलगायतले पनि प्रधानमन्त्रीको अभिव्यक्तिको विरोध गर्दै आएका छन् । एमालेका नेताहरू भने ओलीको बचाउमा छन् । 

एमालेका केन्द्रीय सदस्य विष्णु रिजाल २ पार्टीका अध्यक्षहरूबीच उच्चस्तरको समझदारी रहेको र २ पार्टीका बीचमा उच्चस्तरीय राजनाीतिक संयन्त्र रहेको बताउँछन् । 

यहीँनेर उनी भन्छन्, ‘तर, कांग्रेसका केही जिम्मेवार साथीहरूले एमालेका बारेमा बीचबीचमा झ्यारझ्यार गरिरहेको त्यति श्रवणीय छैन ।’ 

व्यवसायी मीनबहादुर गुरुङले एमालेले पार्टी कार्यालय बनाउन जग्गा दिएको विषयमा कांग्रेसका नेताहरूले विरोध गरेकामा पनि रिजालले विरोध गरेका छन् । आफ्नो पार्टीको विधानअनुसार अनुशासनका विषयमा निर्णय गर्दा पनि कांग्रेसले विरोध गरेको भनेर उनले अन्तुष्टि जनाएका छन् ।

सरकारका प्रवक्तासमेत रहेका संचार तथा सूचना, प्रविधिमन्त्री पृथ्बीसुब्बा गुरुङ भने संविधान संशोधन गर्ने गृहकार्यमा सरकार रहेको बताउँछन् । 

शुक्रबार मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा उनले भनेका छन्, ‘संविधान संशोधन हुन्छ, गर्छ, गर्ने हो किनभने हाम्रो ७ बुँदे राजनीतिक सहमतिमा पनि यही कुरा थियो ।’

छलफलमा प्रचण्ड, माधव र  लिङ्देन

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारका सन्दर्भमा राजनीतिक सक्रियता बढाएका छन् । संविधान संशोधनको विषयलाई लिएर कांग्रेस र एमालेबीच खटपट सुरु भएको र नेताहरूले नै सत्ता सहकार्यको भविष्यबारे टिप्पणी गर्न थालेपछि दाहालले सक्रियता बढाएका हुन् ।

अध्यक्ष दाहालले बिहीबार नेकपा समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग भेट गरेका थिए । भेटमा संविधान संशोधनको विषयमा विपक्षी दलहरू एकजुट हुने भन्नेबारे छलफल भएको थियो । साथै, समाजवादी मोर्चालाई सक्रिय बनाउने विषयमा पनि २ नेताबीच छलफल भएको थियो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश ल्याउने तयारी गरेको बेलामा अध्यक्ष नेपालको सक्रियतामा यी भेटवार्ता भएको बताइन्छ । 

त्यसै सन्दर्भमा शुक्रबार पनि २ नेताबीच भेटवार्ता भएको छ । सिंहदरबारस्थित माओवादीको संसदीय दलको कार्यालयमा भएको भेटमा जनता समाजवादी पार्टीका नेता राजेन्द्र श्रेष्ठ पनि सहभागी थिए ।

उनी बाहिरिएपछि राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन मिसिएका थिए । भेटवार्तामा नेताहरूबीच भएको कुराकानी खुलाइएको छैन । तर, सत्ता साझेदार दल कांग्रेस र एमालेमा खटपट पैदा भएको भन्ने हल्लाकै बीचमा यसरी विपक्षी दलका नेताहरू तारन्तार भेट्नुलाई भने अर्थपूर्ण रूपमा हेरिएको छ ।
राप्रपा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठका अनुसार पृथ्वी जयन्(तीको अवसरमा आयोजित पार्टीको चियापान समारोहको निम्तो दिन लिङ्देनले प्रचण्ड र नेपाललाई भेट गरेका हुन् ।

नेपालको शंका : संसद् भंग गर्छन् कि !

३ नेताको भेटपछि अध्यक्ष प्रचण्डले अप्राकृतिक ढंगले बनेको ओली सरकार अब नरहने प्रतिक्रिया दिएका छन् । ३ नेताको भेटपछि सिंहदरबारबाट बाहिरिने क्रममा यो सरकार फेल हुने बेला भइसकेको हो ? भन्ने संचारकर्मीको जिज्ञासामा अध्यक्ष प्रचण्डले भने, ‘यो गठबन्धन अप्राकृतिक, अलोकतान्त्रिक, अपारदर्शी छ भन्ने कुरा गम्भीर रूपले सदनमा भनेको सुन्नुभएकै छ, अप्राकृतिक भएकाले अब यो चल्दैन ।’

नेकपा एसका अध्यक्ष नेपालले भने ओलीले २०८७ सालसम्म कार्यकाल लम्ब्याउने र चुनाव नगराउने खेल खेल्न सक्ने आशंका गरे । ‘२०८७ सम्म बस्ने उहाँको चाहना होला । हेरौं, २०८७ सम्म चुनावै नगरीकन बस्ने हो कि ! त्यसलाई पनि मान्छेले प्रश्न उठाएका छन् । संसद् नै भंग गर्ने मान्छेहरू हुन्, ठेलेको ठेल्यै गरेर अझै ६ वर्ष बसांैला भन्ने सोच्नुभएको छ कि !’, उनले भने ।

ADVADV

सम्बन्धित खबर

Advertise