बुटवल : नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले कांग्रेस र एमालेको वर्तमान सरकार सत्ताकै लागि मात्रै बनेको टिप्पणी गरेका छन् । नेकपा एकीकृत समाजवादी रुपन्देहीको शनिबार बुटवलमा बसेको बैठकलाई सम्बोधन गर्दै महासचिव भुसालले सत्ताको स्वार्थसँग जोडिएर बनेको सरकारले केही काम गर्न नसक्ने बताए ।
उनले कांग्रेस र एमालेले संविधान संशोधनको कुरा गरेपनि त्यो गर्नका लागि नभइ सत्तामा पुग्नका लागि मात्रै गरिएको बताए । ‘संविधानको कुरा या त नसोचेर ल्याए, या त झुक्याउन ल्याए’ उनले भने । उनले संविधान सन्तुलित रहेकाले यो संशोधन गर्न दुई दल मात्रै मिलेर सम्भव नै नरहेको बताए ।
‘हाम्रो संविधान भयंकर सन्तुलन छ, यो संविधान संशोधन कांग्रेस र एमालेले चाहेर मात्रै सम्भव नै छैन’ महासचिव भुसालले भने, ‘एउटा भारतसँग रिसाएको छ, कांग्रेसलाई विआरआइको नाम लिने बित्तिकै ज्वरो आएको छ ।’
उनले वर्तमान सरकार विभिन्न काण्डहरुको स्वार्थसँग जोडिएकाले सत्ता जोगाउने वाहेक केही नगर्ने बताए । उनले सरकारले रास्वपाका सभापती रवि लामिछानेको सन्दर्भममा एकै ठाउँमा मुद्दा चलाए हुनेमा बढी दुःख दिएको भान जनताले गरेको बताए । उनले राज्यले व्यक्तिगत बदला लिन नहुने बत(ाउँदै सरकारकै कारण सडकमा गैरजिम्मेवार व्यक्तिहरुको आन्दोलन सुरु भएको बताए । ‘वर्तमान सरकारले नालयकी गर्छ, नालयकीको विरोध हुन्छ, त्यसले गैरजिम्मेवार व्यक्तिहरु अगाडि आउन सक्छन्’ महासचिव भुसालले भने ।
अगुवा कार्यकर्ताहरु समेत भएको बैठकमा महासचिव भुसालले अब नेकपा एकीकृत समाजवादी पार्टीलाई आन्दोलनबाट स्थापित गर्ने बताए । उनले स्थानीय, जिल्ला र प्रदेश हुँदै राष्ट्रिय स्तरका समस्यालाई आन्दोलनका रुपमा अगाडि बढाएर ८४ को निर्वाचनसम्म स्पष्ट मुद्दा बोक्ने पार्टीका रुपमा स्थापित गर्ने प्रतिबद्धता जनाए । उनले राष्ट्रिय पुँजीको विकास गरी सुदृढ मुलुक बनाउनुपर्ने बताउँदै त्यसका लागि अब कांग्रेस एमालेको विकल्पमा आफुहरुको पार्टीले नयाँ कार्यक्रम ल्याएर जनताको बी(चमा आउने दाबी गरे ।
बैठकमा नेकपा एकीकृत समाजवादीका पोलिटब्यूरो सदस्य एवं रुपन्देही इन्चार्ज नन्दलाल बन्जाडेले प्रस्ताव र केन्द्रीय समितिको सर्कुलका बारेमा जानकारी दिएका थिए । बैठकमा केन्द्रीय सदस्यहरु सिद्धिचरण भट्टराई, बाबुलाल यादव, उमा काफ्ले, भगवती अधिकारीसहित प्रदेशका, जिल्ला र जनवर्गीय संगठनका पदाधिकारीहरुको उपस्थिति थियो ।