काठमाडौं : कोरोना भाइरस संक्रमणका कारण फर्काउनुपर्ने बाध्यात्मक अवस्थामा रहेका वैदेशिक रोजगारीमा गएका कामदार र अन्यमध्ये हालसम्म करिब एक तिहाई स्वदेश फर्किन सफल भएका छन् । सरकारले गत जेठको तेस्रो सातादेखि कोरोना भाइरसका कारण समस्यामा परेका नेपाली कामदारहरुलाई स्वदेश फर्काउन शुरु गरेको थियो । फर्काउनै पर्ने अवस्थामा रहेका ३५ हजारमध्ये आइतबारसम्म ११ हजार ३ सय ७१ जनालाई स्वदेश फर्काइएको छ ।
केही समयअघि बसेको प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले ४ लाख ७ हजार नेपाली स्वदेश फर्किन चाहेका भएपनि तत्काल ३५ हजारको हाराहारीमा फर्काउनुपर्ने बाध्यता रहेको जानकारी दिएका थिए ।
समस्यामा रहेका नेपालीलाई फर्काउन थालिएपछि सबैभन्दा बढी कुवेतबाट आएका छन् । कुवेतबाट आइतबारसम्म २ हजार २ जना नेपाली स्वदेश फर्किएका छन् । उनीहरु कुवेत सरकारले गत अप्रिलमा सञ्चालन गरेको आममाफी कार्यक्रममा सहभागी हुन् । उक्त प्रक्रियामा सहभागी २ हजार ९ सय ९१ मध्ये अन्य ५ सय ९१ फर्किने प्रतिक्षामा रहेका छन् ।
कुवेतले आममाफीमा सहभागी भएकालाई आफ्नै खर्चमा सेल्टरमा राखेको थियो भने फर्काइएका नेपालीको कोरोना परीक्षण पनि निःशुल्क गरिदिएको छ । तर नेपाल फर्किएपछि पिउने पानीदेखि घर पुग्ने आवश्यक पर्ने सबै व्यवस्था कामदार आफैंले गरिरहनु परेको छ ।
यस अवधिमा यूएईबाट २ हजार १७ जना, साउदी अरेबियाबाट १ हजार २ सय १८, मलेसियाबाट ९ सय २१, कतारबाट ६ सय ३८, माल्दिभ्सबाट ६ सय ४, जापानबाट ४ सय ९२, बहराइनबाट ४ सय २०, दक्षिण कोरियाबाट २ सय २८, ओमानबाट ३ सय १३ नेपाली फर्किएका छन् ।
यस अवधिमा वैदेशिक रोजगारबाहेक अन्य काममा गएकामध्ये सिंगापुरबाट १ सय ४६, बगंलादेशबाट ८ सय १५, अस्ट्रेलियाबाट २ सय ६९, थाइल्याण्डबाट ३ सय २६, अमेरिकाबाट ४ सय ८३ र बेलायतबाट २ सय २९, हङकङबाट ८९, पाकिस्तानबाट ७२, म्यानमारबाट २६, अफगानिस्तानबाट १८ र श्रीलंकाबाट ५ जना गरी ११ हजार ३ सय ३१ नेपाली स्वदेश फर्किएका हुन् ।
यसैबीचमा ८७ वटा शव पनि नेपाल ल्याइएको छ । विदेशबाट १ सय २० शव ल्याउन अझै बाँकी छ । हालसम्म विभिन्न मुलुकमा रहेका १ सय २६ शवको गन्तव्यमै अन्तिम संस्कार गरिएको छ । कोरोना भाइरसको संक्रमणपछि विभिन्न मुलुकमा ३ सय ३३ जना नेपाली कामदारहरुकोे मृत्यु भएको वैदेशिक रोजगार बोर्डले जनाएको छ ।
उता गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तले संघ र विदेशस्थित नेपाली दूतावासको संयुक्त पहलमा नेपालीहरु फर्काइएको भन्दै फर्किनेहरु भारतबाहेक २० भन्दा बढी मुलुकका रहेको बताएका छन् । अध्यक्ष पन्तले विदेशमा विभिन्न कारण ज्यान गुमाएका तर लकडाउनका कारण नेपाल ल्याउन नपाएका ८७ वटा शव नेपालमा पठाइएको र बाँकी शव ल्याउन सरकारसँग गैरआवासीय नेपाली संघले आग्रह गरेको उल्लेख गरेका छन् ।
विश्वभर ३७ देशका नेपाली कोरोना भाइरसबाट प्रभावित भएको भन्दै अध्यक्ष पन्तले पछिल्लो तथ्यांक अनुसार १९ देशमा बस्ने नेपालीहरु कोरोना संक्रमणबाट मुक्त भएको उल्लेख गरेका छन् । उनले विगत १० हप्तादेखि विदेशमा कोरोना भाइरसले नेपाली समुदायमा पारेको प्रभावकाबारेमा नियमित तथ्यांक संकलन गर्दै आएको संघद्वारा गठित स्वास्थ्य समिति लगायत विश्वभर छरिएका नेपाली चिकित्सकहरुप्रति आभारसमेत व्यक्त गरेका छन् ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies