काठमाडौं : नेपाल त्रिकोणात्मक टी–२० आई महिला शृंखलाको चौथो खेलमा पनि पराजित भएको छ । मंगलबार भएको खेलमा नेपाल थाइल्यान्डसँग ५ रनले पराजित भयो ।
थाइल्यान्डले प्रस्तुत गरेको १०७ रनको लक्ष्य पछ्याएको नेपालले आठ विकेट गुमाउँदै १०१ रन मात्रै बनाउन सक्यो ।
नेपालका लागि रुविना क्षेत्रीले सर्वाधिक २६ रन बनाइन् । कविता जोशी २४ र पूजा महतो १८ रनमा आउट हुँदा रोमा थापा १९ रनमा अविजित रहिन् । थाइल्यान्ड लागि थिपचा पुत्थावोंगले ४ विकेट लिइन् ।
त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको थाइल्यान्डले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ६ रन बनाएको थियो ।
थाइल्याण्डका लागि चानिदा सुत्थीरुआंगले सर्वाधिक २७ रन जोडिन् । नेपालका लागि मनिषा उपाध्यायले ३ विकेट लिँदा पुजा महतो र रचना चौधरीले समान १-१ विकेट लिए ।
यो हारसँगै नेपालको उपाधि जित्ने सम्भावना समाप्त भएको छ । अपराजित थाइल्याण्डको भने उपाधि जित्ने सम्भावना बलियो बनेको छ ।