काठमाडौं : काठमाडौंमा जारी त्रिकोणात्मक महिला टी–२० आई सिरिजमा नेपाल नेदरल्याण्ड्ससँग १० विकेटले पराजित भएको छ । जारी श्रृंखलामा नेपालको यो लगातार पाँचौं हार हो ।
नेपालले दिएको १ सय ४६ रनको लक्ष्य नेदरल्यान्ड्सले १९ ओभर बलमा एक विकेट पनि नगुमाइ पूरा गर्यो । नेदरल्यान्ड्सका स्टेर कालिसले ९८ र पेबे मोलकेनबोरले ४८ रन बनाए ।
यसअघि कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको नेपालले २० ओभरमा ४ विकेट गुमाएर १ सय ४५ रन बनाएको थियो ।
नेपालका लागि पूजा महतोले अर्धशतकीय इनिङ खेलिन् । उनले ५१ बलमा नटआउट ६२ रन जोडिन् । उनले ४३ बलमा चार चौकाको मद्दतमा अर्धशतक पूरा गरेकी थिइन् । उनी त्रिवि त्रिकेट मैदानमा अन्तर्राष्ट्रिय टी-२० क्रिकेटमा अर्धशतक बनाउने पहिलो महिला खेलाडी बनिन् ।
यस्तै कप्तान इन्दु बर्माले ३९, रुबिना क्षेत्रीले २० रन बनाए । नेदरल्यान्ड्सकी आइरिस ज्विलिङ्गले २ विकेट लिइन् ।
नेपाल यसअघिका ४ वटै खेलमा पराजित भएको थियो । यसअघि नेपाली महिला टोली नेदरल्यान्ड्स र थाइल्यान्डसँग २/२ पटक पराजित भएको थियो । थाइल्यान्ड ४ वटै खेल जित्दै ८ अंकसहित तालिकाको शीर्ष स्थानमा छ । नेदरल्यान्ड्स ५ खेलमा ६ अंकसहित दोस्रो स्थानमा छ । नेपाल अंकविहीन हुँदै पुछारमा छ । लिग चरणमा शीर्ष स्थानमा रहने टोलीले शृंखालाको उपाधि जित्नेछ ।