पोखरा : पोखरामा सुरु भएको २४औं आहारारा पोखरा गोल्ड कपमा विभागीय टिम नेपाल पुलिसले विजयी सुरुआत गरेको छ । मंगलबार पोखरा रंगशालामा भएको उद्घाटन खेलमा नेपाल पुलिस क्लबले आयोजक सहारा क्लबलाई १–० ले पराजित गरेको हो ।
खेलको ३६औं मिनेटमा उज्वल राईले हानेको कर्नर सिधै गोल भएको थियो । सोही बल नै निर्णायक बन्न पुग्यो । उज्वलले माथि उठाएर कर्नर हानेका थिए । सहाराका गोलकिपर सन्तोष महतले बल रोक्ने कुनै अवसर नै पाएनन् ।
योसँगै नेपाल पुलिस क्लब क्वाटरफाइनलमा प्रवेश गरेको छ । पुलिसले अब सेमिफाइनल प्रवेशका लागि ब्रिगेड ब्वाइज क्लब युकेसँग २६ माघमा खेल्नेछ । प्रतियोगितामा बुधबार एपीएफ एफसी र मछिन्द्र एफसीबीच खेल हुनेछ ।
प्रतियोगितामा आयोजक सहारा, नेपाल पुलिस क्लब, थ्री स्टार क्लब, मच्छिन्द्र फुटबल क्लब, सङ्कटा क्लब, ब्रिगेड ब्वाइज क्लब, एन आरटी फुटबल क्लब, अपी पावर चर्च ब्वाइज युनाइटेड फुटबल क्लब सहभागी छन् ।
यसैगरी नेपाली सेनाको त्रिभुवन आर्मी क्लब, सशस्त्र प्रहरी बलको नेपाल एपिएफ क्लब र आयोजक सहारा क्लब गरी स्वदेशका ९ टोलीले प्रतिस्पर्धा गर्दैछन् । विदेशी टोली युकेको बिग्रेड ब्वाइज फुटबल क्लब, भारतको थन्डरबोल्ट नर्थ युनाइटेड र उज्वेकिस्तानको ब्ल्याक बुल्स फुटबल क्लब प्रतियोगितामा सहभागी छन् ।
प्रतियोगितामा सहभागी १२ टोलीलाई २ समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा ब्रिगेड ब्वाइज, आयोजक, पुलिस, एनआरटी, चर्च ब्वाइज र आर्मी रहेका छन् भने समूह ‘बी’ थ्री स्टार, एपिएफ, मच्छिन्द्र, भारतको थन्डरबोल्ट, सङ्कटा र उजेकिस्तानको टोली छन् । सहभागीमध्ये २ विदेशी टोली ब्रिगेड ब्वाइज र उज्वेकिस्तानको टोलीसँगै थ्री स्टार तथा आर्मी वाई पाएर सिधैँ क्वार्टरफाइनल खेल्नेछन् ।
प्रतियोगिताको विजेताले १२ लाख रुपैयाँसहित सिल्ड, मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गर्दा उपविजेताले ६ लाख रुपैयाँसहित सिल्ड, मेडल र प्रमाणपत्र पुरस्कार पाउनेछन् । यसैगरी सो प्रतियोगिताको सर्वोकृष्ट खेलाडीलाई स्कुटर पुरस्कार प्रदान गरिने छ । प्रतियोगितामा विधागत रूपमा सर्वाधिक गोलकर्ता, उत्कृष्ट डिफेन्डर, गोलरक्षक, मिडफिल्डर, स्टाइकर र प्रशिक्षकले २५ हजार रुपैयाँसँगै ट्रफ्री पुरस्कार पाउँदा फेएर प्लेको रूपमा एक टोलीलाई पुरस्कृत गरिने सहाराका महासचिव रामजीप्रसाद अधिकारीेले जानकारी दिए ।