मंगलबार दिनभर देखिएको गतिविधिले सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गम्भीर संकटमा फसेको प्रष्ट हुन्छ । दुई पार्टीकै झल्को आउनेगरी मंगलबार गतिविधि भएको छ । सार्वजनिक अभिव्यक्ति र पार्टी निर्णयहरुमा मात्रै सीमित गुटबन्दी मंगलबार भने छताछुल्ल भयो । एक साता स्थगित गरेर मंगलबार बिहान एघार बजे बोलाइएको स्थायी कमिटी बैठक प्रधानमन्त्री एवम् नेकपाका अध्यक्ष केपी शर्मा ओलीले एक्लौटी निर्णयबाट स्थगित गरिदिए । बालुवाटार हिडिसकेका नेताहरु पनि अनिश्चितकालका लागि स्थगित भएको सूचनासँगै घर फर्किए । तर, दृष्य यतिमा सीमित रहेन ।
अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले २७ स्थायी कमिटी सदस्यको उपस्थितिमा बैठक राखेर निर्णय नै गराए । अध्यक्ष एवम् प्रधानमन्त्री ओलीले एक्लौटी निर्णय गरेर बैठक स्थगित गराउनुलाई बिधिको बिपरीत र अनुचित भएको निर्णय गरेको छ भने ओलीसँग वार्ताका लागि प्रचण्डलाई अधिकार दिएको छ । यसले बालुवाटारमै दुई पार्टीजस्तो गतिविधि देखिन पुग्यो । अर्थात्, अब नेकपा सम्हालिन सकेन भने विभाजन निश्चित जस्तै देखिएको छ ।
दुवै तर्फका नेताहरुको उत्तेजना हेर्दा फेरि सहमति गरी एउटै पार्टी रहने संभावना कम देखिन्छ । यसले नेकपा विभाजन भइ दुई पार्टी बन्ने दिन नजिकिएको भान हुन्छ । तर, यसको असर भने दीर्घकालीन पर्नेमा दुईमत छैन । यदि, नेकपा विभाजन भयो भने संविधान कार्यान्वयनतर्फ नभएर एकले अर्कालाई गम्भीर आरोप लगाउने, आफ्नो पार्टी बलियो बनाउने र सरकारको चलखेल शुरु हुनेछ । त्यस्तो बेला राष्ट्रियता कमजोर हुने र नेपालमाथि बाह्य हस्तक्षेप निम्तने खतरा बढ्नेछ ।
त्यसैले यो बाटो तर्फ नेकपा प्रस्थान गर्दा सवैभन्दा क्षति देशलाई नै पुग्नेछ । संविधान खतरामा पर्नेछ र स्थायित्वको प्रश्न उठ्नेछ । यस तर्फ भने नेकपाका नेताहरुले गम्भीर भएर सोचेको देखिन्न । तर, समय अझै घर्किएको छैन । किनभने, नेकपा गम्भीर संकटमा फसेको हो । विभाजन नै भएको चाहिं छैन । समय बाँकी छ । यसतर्फ नेताहरुले अहिले चिसो दिमागले सोचेनन् भने चाहिं फेरि वर्तमान अवस्थामा फर्कन समय रहने छैन । त्यसबेला मुलुक फेरि प्रतिगमनतर्फ मोडिने खतरा बढी हुनेछ । मुलुकले अकल्पनीय क्षति भोग्नुपर्नेछ । त्यसको ठूलो नोक्सान भने सन्तती पुस्तालाई पर्नेछ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies