२०८१ फागुन २८ गते बुधवार / Mar 12 , 2025 , Wednesday
२०८१ फागुन २८ गते बुधवार
Ads

बढ्दो लागुऔषध कारोबार

hardik ivf
जीवन शर्मा
२०८१ फागुन २४ गते ०६:३०
बढ्दो लागुऔषध कारोबार

काठमाडौं : शुक्रबार सप्तरी प्रहरीले राजविराजस्थित एक घरमा अवैध लागुऔषध गाँजाको गोदाम नै राखेर भारतमा तस्करी गर्ने एक भारतीय नागरिकलाई सार्वजनिक गरेको छ । १९ फागुनमा राजविराज नगरपालिका– ९ मलेठस्थित राजनारायण साहको गोदाम घरमा छापा मार्दा प्रहरीले २ हजार ४५१ दशमलव ५ किलो गाँजा बरामद गरेको थियो । 

सप्तरी प्रहरी प्रमुख प्रहरी उपरीक्षक ढकेन्द्र खतिवडाका अनुसार उक्त गोदाममा बस्दै आएका भारत बिहार राज्य मधुवनी ग्राम पञ्चायत कुकुरदौरा– १० का ६६ वर्षीय रामनारायण यादवलाई २१ गते सोही गोदामघर अगाडिबाट पक्राउ गरी अनुसन्धानका लागि हिरासतमा राखिएको छ । यादवले भारत तस्करी गर्ने प्रयोजनका लागि गाँजा भण्डारण गरेको खुलेको प्रहरीले बताएको छ ।

त्यस्तै, २१ फागुनमा काठमाडौं, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयको चेकिङ एरियाबाट गाँजाको धुलो जस्तो देखिने २२ किलोग्राम अवैध लागुऔषधसहित २ जना भारतीय नागरिक पक्राउ परे । थाई एयरवेजको उडानद्वारा बैंककबाट काठमाडौं आएका उनीहरूलाई भन्सार कार्यालयको चेकिङ एरियामा जाँच गर्ने क्रममा व्यागभित्र चकलेटको प्याकेटको फल्स बटम बनाई राखेको अवस्थामा उक्त पदार्थ फेला पारी दुवै जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

उनीहरूलाई आवश्यक अनुसन्धान एवं कारबाहीका लागि लागुऔषध नियन्त्रण ब्युरो पठाइएको छ । 

२३ फागुनमा अवैध लागुऔषध गाँजासहित भक्तपुर, मध्यपुर थिमी नगरपालिका– ५ बाट अवैध लागुऔषध गाँजासहित १ जना, सुनसरीबाट ८५ मिलिग्राम ब्राउनसुगर, ६ नाइट्राभेट  ट्याब्लेटसहित २ जनालाई पक्राउ गरेको थियो । भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरूलाई उक्त लागुऔषधसहित पक्राउ गरेको प्रहरीको भनाइ छ । 

कैलाली र कन्चनपुरबाट खैरो हेरोइनलगायत अवैध लागुऔषधसहित ६ जनालाई पक्राउ गरेको थियो भने धनुषाबाट १ जना पक्राउ परेका थिए । २२ फागुनमा रुपन्देही, कैलाली, बाँके, चिवतन, बारा, सुनसरीबाट अवैध लागुऔषधसहित दर्जन व्यक्तिहरू प्रहरीले पक्राउ परेको थियो ।

गत २० फागुनमा बाराबाट ५ जना भारतीय र कैलाली, बर्दिया, दाङ, मकवानपुर, रुपन्देही, सुनसरीबाट १२ जना विभिन्न देशका नागरिक अवैध लागुऔषध गाँजा, चरेस तथा विभिन्न औषधिहरू र नगदसहित पक्राउ परे ।  

लागुऔषध कारोबारीका यी घटनाहरू पछिल्ला केही उदाहरण मात्र हुन् । फागुन महिनामा मात्र अवैध लागुऔषध कारोबार गर्ने ३०० व्यक्तिहरू प्रहरी हिरासतमा छन् । प्रहरीको नजर नपुगेका यस्ता घटनाहरू अझै धेरै भएका प्रहरीको आँकलन छ । 

लागुऔषधका रूपमा लिइएको गाँजा कारोबारले आतंकवाद, संगठित अपराध, सम्पत्ति शुद्धीकरण जस्ता अपराधले प्रश्रय पाउने विज्ञहरूले बताएका छन् । यद्यपि, गाँजालाई वैधानिक रूपमा खेती गर्न दिनुपर्ने माग पनि उठ्दै आएको छ ।

गाँजा खेतीलाई मुलुकको आर्थिक विकाससँग जोडेर वैधानिकता दिनका लागि सरकारले यसको सम्भाव्यता अध्ययनका लागि २०८० कात्तिकमा गृह मन्त्रालयका तत्कालीन सहसचिवको संयोजकत्वमा कार्यदलसमेत गठन गरेको थियो । तर, उक्त योजनाले मूर्त रूप नपाउँदा गाँजालाई अवैध लागुऔषधबाट हटाइएको छैन ।

नेपाल प्रहरीको तथ्यांकअनुसार वार्षिक करिब ४ हजारभन्दा बढी लागुऔषध कारोबारीहरूमाथि मुद्दा चल्दै आएको छ, जसमा सबैभन्दा बढी गाँजा कारोबारी छन् ।  

चालू आर्थिक वर्ष (साउन–माघ)सम्म अवैध लागुऔषध कारोबार गर्ने ४ हजार २४६ जना पक्राउ गरेकामा २ हजार ७५२ जनामाथि मुद्दा चलाएको छ । गत साउनदेखि माघ महिनासम्म २३ हजार १३९ किलो गाँजा बरामद गरेको नेपाल प्रहरीका सूूचना अधिकारी प्रहरी नायब महानिरीक्षक दिनेशकुमार आचार्यले जानकारी दिए । सोही अवधिमा ३६४ किलो चरेस, १ किलो हेरोइन, ४७ किलो अफिम, १५ किलो कोकिन, ११ किलो पोल्यान्ड बरामद गरेको आचार्यले बताए । 

चालू आ. व.मा फेनारगन, ब्रुफिनुर्फिन, डाइजेपाम, नाइट्रोभेट, स्पास्मोलगायत १ लाख ८६ हजार ट्याब्लेट बढी औषधिजन्य लागुऔषध प्रहरीले बरामद गरेको छ । विगत ३ वर्षको तथ्यांक हेर्ने हो भने लागुऔषध कारोबारमा गाँजाको कारोबार अत्यधिक बढी देखिन्छ ।

आर्थिक वर्ष २०७८/०७९ मा ११ हजार ७९ किलो गाँजा बरामद भएकामा २०७९/०८० मा २० हजार ६६९ किलो गाँजा बरामद भएको थियो । २०८०/०८१ मा आइपुग्दा २६ हजार किलो गाँजा बरामद भएको प्रहरीको तथ्यांकमा उल्लेख छ ।

यसरी हेर्दा आर्थिक वर्ष २०७८/०७९ देखि ०८१ माघसम्म ८० हजार ९३२ किलो गाँजा बरामद भएको पाइएको छ । ३ वर्षयता प्रहरीले १ हजार ९७० किलो चरेस, १०० किलो हेरोइन र १९९ किलो अफिम बरामद गरेको छ । अन्य औषधिजन्य लागुऔषध १५ लाख ३४ हजार ट्याब्लेट बरामद भएको तथ्यांक प्रहरीसँग छ । 

३ वर्षको अवधिमा लागुऔषध कारोबार गर्ने २२ हजार ९३५ जना प्रक्राउ भएकामा १५ हजार १०८ माथि मुद्दा चलाइएको प्रहरी प्रवक्ता आचार्यले बताए । लागुऔषध कारोबारीमा धेरैजसो भारतीय मूलका नागरिक छन् ।

नेपाललाई ट्रान्जिट बनाएर हुने अवैध लागुऔषध कारोबार नियन्त्रणका लागि प्रहरीले विशेष योजना बनाएको जनाएको छ । यस्ता घटनाको अनुसन्धान एवं कारबाहीका लागि प्रहरीको लागुऔषध नियन्त्रण ब्युरो क्रियाशील रहेको प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले बताएका छन् ।

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise