काठमाडौं : ओमानले नेपाली कामदारहरूको संख्या बढाउन इच्छुक रहेको बताएको छ । त्यहाँका सुल्तानद्वारा नवनियुक्त श्रममन्त्री डा. महद बिन सईद बिन अलि बाउइलेलाई बधाइ दिन पुगेकी ओमानका लागि नेपाली राजदूत शर्मिला पराजुली ढकालसँग नवनियुक्त मन्त्री बाउइले आफू नेपाली कामदारको कार्यशैलीबाट प्रभावित भएको भन्दै आगामी दिनमा ओमानमा नेपाली कामदारको रोजगारी वृद्धि गर्न पहल गर्ने आश्वासन दिएको त्यहाँस्थित नेपाली दूतावासले जनाएको छ ।
हाल ओमानमा ७ हजार नेपाली कामदार कार्यरत रहेका छन् । त्यसमध्ये कोभिडका कारण आधा स्वदेश फर्किने आँकलन वैदेशिक रोजगार बोर्डको छ । राजदूत ढकाललाई त्यहाँका श्रममन्त्रीले आफ्नो मुलुकको श्रम तथा परराष्ट्र नीतिबारे जानकारी दिँदै भविश्यमा नेपालसँग निकटमा रहेर काम गर्ने ईच्छा रहेको जानकारी गराएका थिए ।
त्यस अवसरमा राजदूत ढकालले ओमानमा रहेका नेपाली कामदारहरूको अवस्थाका बारेमा श्रममन्त्रीलाई जानकारी गराउँदै यसै वर्षको शुरुमा नेपालको संसदीय समितिद्वारा ओमानसम्बन्धी पेश गरेको प्रतिवेदनको बारेमा पनि जानकारी गराएको दूतावासले जनाएको छ ।
उक्त अवसरमा नेपाल र ओमानबीच हुने श्रम सम्झौता तयारीको पछिल्लो अवस्थामा पनि छलफल भएको र दुवै तर्फबाट श्रम सम्झौतामा हालसम्मको प्रगतिको प्रशंसा गर्दै आगामी दिनमा सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरिएको बताइएको छ । उक्त भेटमा ओमानको श्रम मन्त्रालयका उच्च अधिकारीहरू र नेपाली दूतावासका द्वितीय सचिव सोमेश थापा र श्रम सहचारी दिनेश ढकालको पनि उपस्थिति रहेको थियो ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies