२०८२ असोज ८ गते बुधवार / Sep 24 , 2025 , Wednesday
२०८२ असोज ८ गते बुधवार
Ads

सर्लाहीमा बस र ट्रक ठोक्किँदा सात जना घाइते

shivam cement
घनश्याम बलम्पाकी
२०८२ असोज ८ गते १७:२८
सर्लाहीमा बस र ट्रक ठोक्किँदा सात जना घाइते

सर्लाही : पूर्व–पश्चिम राजमार्गअन्तर्गत सर्लाहीको बाँके जंगलमा यात्रुबाहक बस र ट्रक ठोक्किँदा सात जना घाइते भएका छन् । ईश्वरपुर नगरपालिका–१३ नजिकै भएको यो दुर्घटनामा काठमाडौंबाट विराटनगरतर्फ जाँदै गरेको बागमती प्रदेश ०१–००६ ख ६३०६ नम्बरको रात्रि बस र महोत्तरीको बर्दिवासबाट चामल बोकेर भैरहवातर्फ गइरहेको ना ६ ख २९२८ नम्बरको ट्रक आपसमा ठोक्किएका हुन् ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरका अनुसार दुर्घटना दिउँसो २:४५ बजे वर्षा भइरहेको समयमा भएको थियो । बसमा ३९ जना यात्रु सवार थिए । ठक्करपछि बस र ट्रक आ–आफ्नो साइडमा पल्टिएका छन् ।

दुर्घटनामा मोरङको विराटनगर महानगरपालिका–४ बस्ने २९ वर्षीया सविक्षा राई, मोरङको रङ्गेली नगरपालिका–९ बस्ने ४० वर्षीया लालकुमारी श्रेष्ठ, उनकी छोरी १५ वर्षीया युनिष्का राउत, विराटनगर महानगरपालिका–३ बस्ने ३९ वर्षीया सविता रेग्मी, उनकी छोरी आठ वर्षीया प्रिसा भट्टराई, भारतको बिहार कटैया पञ्चायत वडा नं. ३ दरभङ्गा घर भइ काठमाडौं त्रिपुरेश्वर बस्ने रामशरण मण्डल र मोरङको सुन्दरहरैचा नगरपालिका–९, बस्ने ५२ वर्षीया लोकबहादुर विक घाइते भएका छन् । प्रहरीका अनुसार एक जनाको लालबन्दीमा र बाँकी छ जनाको महोत्तरीको बर्दिवासमा उपचार भइरहेको छ ।

प्रहरीका अनुसार रात्रि बस मुग्लिन–नारायणगढ सडकखण्डमा तीन दिनसम्म जाममा परेपछि आज विराटनगरतर्फ जाँदै थियो । वर्षाका कारण सडक चिप्लो भएको अवस्थामा दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुमान छ ।

दुर्घटनापछि राजमार्गमा यात्रा गरिरहेका अन्य यात्रु र प्रहरीले घाइतेको उद्धार गरेका थिए । इलाका प्रहरी कार्यालय लालबन्दीका प्रहरी निरीक्षक वीरेन्द्रसिंह जोहारीले बसका यात्रुका सामानहरू प्रहरी चौकी फूलजोरमा सुरक्षित राखिएको र यात्रु तथा आफन्तहरूले सम्पर्क गरी सामान बुझिरहेको जानकारी दिए ।

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise