तेजबहादुर बन/मध्यान्ह
इटहरी : कोरोना भाइरस ( कोबिड –१९ ) संक्रमणका कारण बिगत नौ महिनादेखि थला परेको चलचित्र घरहरू गत पुस २२ गतेबाट सञ्चालनमा आएका छन् । प्रदेश एकमा चलचित्र घरहरू सञ्चालनमा आएपनि दर्शकहरू नपाउँदा र समयमै फिल्महरू नपाएपछि हल सञ्चालकहरू अहिले मासिक लाखौ रूपैया घाटा बेहोर्न बाध्य बनेका छन । कोरोनाको त्रास जनमानसबाट हटदै गएपनि पर्याप्त शुचना नपाउदा र तिन वटै निकायका सरकारहरूले सिनेमा घरहरू प्रति बेवास्था गरिदिएको कारण हल सञ्चालकहरू मारमा परेको फिल्म निर्देशकहरूले बताउदै आएका छन ।
सिनेमा घरहरू खुलेर सञ्चालनमा आए तर दर्शक हलसम्म आउन अझै डराउने गरेकोले हल सञ्चालकहरू प्रत्यक्ष मारमा परेको इटहरीका कुशल चलचित्र निर्देशक तथा नेपाल चलचित्र कर्मी महासंघ प्रदेश १ का पूर्व सल्लाहाकार भिम लामाले मध्यान्हलाई बताए ।
इटहरीमा अत्याधुनिक र सेवा सुविधा सम्पन्न तीनवटा सिनेमा घरहरू मध्ये २ वटा पूर्णरूपमा सञ्चालन हुदै आएका छन् । इटहरीको आइतबारेमा चर्चित फिल्म निर्माता एवम निर्देशक छवि ओझाले सञ्चालनमा ल्याएका इलाइट सिनेमा घर र इटहरीकै मुख्य चौकको पूर्वदिशामा ब्यवसायी राजेश श्रेष्ठद्वारा निर्मित सेन्ट्रल प्लाजाको पॉचौं तलामा सिने फ्लेक्स सिनेमा घर सञ्चालनमा रहेको छ भने इटहरीकै पूर्व दिशामा टेंग्रा खोला छेउ बनेको इटहरी मलद्वारा सञ्चालित आइसिनेमा भने बिगत एक वर्ष देखि नै बन्द अवस्थामा रहेको छ ।
सञ्चालनमा रहेका दुइवटा हलहरू पनि अहिले दर्शक नपाएर प्रत्यक्ष मारमा परेका छन् । बिगत नौ महिनादेखि बन्द अवस्थामा रहँदा करोडौंको घाटा ब्यहोरी सकेको सिनेमा घरहरूले अहिले हलहरू सञ्चालनमा आइसक्दा पनि लाखौ घाटा ब्यहोर्नु परिरहेको आइतबारे स्थित इलाइट सिनेमा घरका सञ्चालक नवराज केसीले बताए ।
उनका अनुसार हलसंगै केहि नयॉ चलचित्रहरू पनि प्रदर्शनमा आएको तर दर्शकहरू सिनेमा घरसम्म आउन अझै डराएको कारण आफुहरु घर घर पुगेर टिकट बिक्री गर्नुपर्ने अवस्था आइपुगेको बताए । यसो गर्दा पनि मरेर ३० देखि ४० जना मात्र दर्शक हलसम्म आउने गरेको उनको भनाइ छ ।
यता इटहरीमा मात्र नभइ प्रदेश एकमा सञ्चालित सबै हलहरूको अवस्था पनि यस्तै रहेको छ । करीब २ दर्जन भन्दा बढी हलहरू रहेका भएपनि प्रदेश एकमा अहिले सिनेमा घरसम्म पुगेर फिल्म हेर्ने दर्शक अभाव देखिएको छ ।
दर्शक आउने आशमै हालै सेन्टी भाइरस चलाइयो तर मुस्किलले ३० जना मात्रै आइपुगे, यसरी कसरी चल्छ सिनेमा घर ? सुनसरीको झुम्कास्थित म्याजिक थ्रिडी चलचित्र हलका सञ्चालक एवम कलाकार परशुराम चौधरी प्रश्न गर्छन् । यता भर्खरै मात्र प्रदर्शनमा आएको नेपाली चलचित्र ‘एउटा यस्तो प्रेम कहानी’को प्रदेश एकमा प्रिमियर शो सम्पन्न गरिएको छ ।
कलाकार शिव श्रेष्ठ सहितको टोली प्रदेश एकको बिभिन्न सिनेमा घरहरू पुगेर फिल्म हेर्न अनुरोध गरेपनि दर्शक नपाउँदा आफै खिन्न बनेर काठमाण्डौ फर्किएका छन् । उनले प्रदेश एकको सिनेमाहलहरू बाटै तीनवटै सरकारले सिने क्षेत्रका लागि पनि राहत प्याकेज ल्याउनुपर्ने जस्ता जायज मागहरु राख्दै काठमाण्डौ फर्केका छन् ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies