भालुवाङ : लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले जेनजी आन्दोलनका क्रममा दाङ जिल्लामा आगजनीबाट प्रभावित कार्यालयहरुको अनुगमन गरेका छन् । उनले सोमबार तुलसीपुर उपमहानगरपालिका क्षेत्रमा आगजनीले प्रभावित सरकारी तथा पार्टी कार्यालयहरुको निरीक्षण गर्दै सेवाग्राहीलाई तत्काल सेवा प्रवाह निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे ।
मुख्यमन्त्री आचार्यले उच्च अदालतदेखि लिएर आगजनीमा परेका सबै सरकारी कार्यालय र राजनीतिक दलका पार्टी कार्यालयहरुमा पुगेर अनुगमन गरे । अनुगमनका क्रममा उनले टेन्ट टाँगेर भएपनि सेवा प्रवाहलाई अगाडि बढाइने बताए । साथै, कर्मचारी र सेवाग्राहीको मनोबल उच्च बनाउन अनुगमन सुरु गरिएको जानकारी दिए ।
सञ्चारकर्मीहरुसँगको कुराकानीमा मुख्यमन्त्री आचार्यले भने, ‘जेनजीको नाममा घुसपैठ गरेर राज्यलाई नै समाप्त गर्ने गरी आगजनी गरियो । यो घटनाले ठूलो नोक्सानी भएको छ । प्रत्यक्ष नागरिकको दैनिक कामसँग जोडिएका कार्यालयहरु खरानी भएका छन्, जसबाट सेवा प्रवाह गर्न कठिनाई हुने निश्चित छ । मालपोत कार्यालय, नापी कार्यालय जलेका छन् । ती कार्यालय जल्दा धेरै महत्वपूर्ण कागजपत्र पनि खरानी बनेका छन् । अब पुनः कागजपत्र बनाउन निकै दुःख हुने देखिन्छ ।’
उनले राज्यलाई कमजोर पार्ने गरी भएको आगजनीले कसैलाई फाइदा नहुने स्पष्ट पारे । ‘टेन्ट टाँगेरै भए पनि सेवा अगाडि बढाउनुपर्छ भनेर हामीले भनिरहेका छौं । सबै कार्यालयहरुमा पुगेर कर्मचारीहरुको मनोबल उठाउने र सेवाग्राहीलाई कसरी सेवा पुर्याउन सकिन्छ भन्ने छलफललाई पनि केन्द्रित गरेर अघि बढिरहेका छौं,’ उनले भने ।
जेनजीको नाममा घुसपैठ गरेर सरकारी सम्पत्तिको विनाश मच्चाउने काम भएको भन्दै मुख्यमन्त्री आचार्यले ती घटनाको कडा निन्दा गरे ।
अनुगमनका क्रममा दाङका प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुख, स्थानीय तहका प्रमुख तथा जनप्रतिनिधि, सरोकारवाला पक्ष लगायतको उपस्थिति थियो ।
मुख्यमन्त्री आचार्यले तुलसीपुर उपमहानगरपालिका, उच्च अदालत तुलसीपुर, उच्च सरकारी वकिलको कार्यालय, पार्टी कार्यालय, कोमल रिसोर्ट, मालपोत कार्यालय, लोकसेवा आयोग, आन्तरिक राजश्व कार्यालय, भू तथा जलाधार कार्यालय लगायतका प्रभावित संरचनाहरुको अवलोकन गरेका थिए ।
भदौ २४ गते जेन्जी आन्दोलनका क्रममा लुम्बिनी प्रदेशमा मात्रै १ सय ३२ सरकारी कार्यालयमा तोडफोड, आगजनी र लुटपाट भएको थियो । त्यस्तै, ६७ निजी सम्पत्तिमा तोडफोड, ५२ राजनीतिक दलका पार्टी कार्यालय र १४ वटा प्रहरी इकाइमा समेत आगजनी तथा तोडफोड भएको तथ्यांक लुम्बिनी प्रदेश प्रहरी कार्यालयले सार्वजनिक गरेको छ ।
आन्दोलनका क्रममा लुम्बिनी प्रदेश अन्तर्गत सबैभन्दा बढी क्षति दाङ जिल्लामा भएको छ । दाङमा मात्रै ७० वटा संरचनामा तोडफोड र आगजनी गरिएको विवरण प्रहरीले यसअघि नै सार्वजनिक गरिसकेको छ ।