काम चलाउ सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार माओवादीका पूर्वलडाकूहरुसँग छलफल गरेका छन् । ओलीले आफ्नै सरकारी निवासमा बोलाएर पूर्व लडाकूहरुलाई विश्वास दिलाउने प्रयास गरे । राजनीतिक रुपमा वास्तविक निकास दिने भन्दै ओलीले कुनै चिन्ता नगर्न आग्रह गरे । नेकपा विभाजन लगत्तैबाट ओलीले पूर्वलडाकूबारे चासो र महत्व दिदै आएका छन् । पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड तर्फ लक्षित गरी ओलीले पूर्वलडाकूहरुलाई आशस्त पार्ने गरेका छन् । प्रचण्डले आफ्ना परिवारलाई मात्रै हेर्ने गरेको, तर पूर्वयोद्धाहरुलाई वास्ता नगर्ने गरेको आरोप ओलीले लगाउने गरेका छन् । शनिवार पनि पूर्वलडाकूहरुलाई प्रचण्डले जस्तो बेवास्ता नगर्ने आश्वासन दिए । पूर्वलडाकू तर्फ ओलीको ध्यान जानुमा भने गृहमन्त्री रामबहादुर थापाको साथ पाउनु नै हो ।
नत्र, ओली जनयुद्ध प्रति नै घृणाभावले अभिव्यक्ति दिने गरेका थिए । पार्टी विभाजन पछि ओलीले जनयुद्ध शब्द समेत प्रयोग गरेका हुन् । पूर्वलडाकू र जनयुद्धलाई ओलीले तिखो कटाक्ष गर्ने गरेका थिए । आकर्षक प्योकज दिएर पूर्वलडाकूहरुको मन जित्ने प्रयासमा देखिएका ओलीको प्रष्ट रणनीति भने आफू बलियो बन्नु नै हो । अझ पार्टी विभाजनपछि छिमेकी भारतको बलियो साथ पाएको दावी र आरोपका बीच जनयुद्धलाई स्वीकार गर्नेगरी ओलीले कदम चाल्न लागेका छन् । एक तर्फबाट हेर्दा पूर्व लडाकूहरुलाई आकर्षक प्याकेज र प्रबन्ध न्यायसंगत विषय नै हो । तर, माओवादी जनसेना समायोजनका बेला ओलीले नै लिएको अडान पनि भुल्न हुन्न । जनसेना समायोजन वा व्यवस्थापनमा ओली रुखो रुपमा प्रस्तुत हुने गरेका थिए । अहिले प्रचण्डलाई देखाउनकै प्रयोजनले ओलीले जस्तो कदम चाल्दैछन् । यसले अर्को प्रश्न पनि प्रकट भएकोछ ।
शान्ति सम्झौताको डेढ दशक पुग्न लाग्दा सत्य निरुपण तथा मेलमिलापले उल्लेख्य प्रगति समेत गर्न गर्न सकेको छैन । घाइते र बेपत्ता हुनेहरुले यतिका वर्षसम्म न्याय पाउन सकेका छैनन् भने पूर्व लडाकू र तिनका कमाण्डरहरुलाई सधैं यही विषयले सताउने गरेको छ । कतिपयले नेताहरुलाई जनयुद्धकालीन मुद्दाले राम्रोसँग निदाउन समेत दिएको छैन । तर, यस्तो बेला पूर्वलडाकूहरुको भावना माथि राजनीति गर्ने र न्याय निरुपणको विषय भने अगाडि नबढाउने जस्तो प्रपञ्च हुँदैछ, यसको प्रष्ट संकेत हो– सरकार उल्टो यात्रामा छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies