२०८२ असोज ३ गते शुक्रवार / Sep 19 , 2025 , Friday
२०८२ असोज ३ गते शुक्रवार
Ads

कर्णालीको प्रवेशद्वारकै बसपार्कको बिजोग

shivam cement
कुलेन्द्र शाही
२०८२ असोज ३ गते ०६:२०
कर्णालीको प्रवेशद्वारकै बसपार्कको बिजोग

सुर्खेत : कर्णाली प्रदेशको मुख्य प्रवेशद्वार हो, सुर्खेतको भेरीगंगा नगरपालिका–१२ छिन्चु । पूर्व–पश्चिम राजमार्गसम्म जोड्ने कर्णाली राजमार्गको धेरै खण्ड यसै पालिकामा पर्छ । सुर्खेत–जाजरकोट भेरी कोरिडोर पनि यसै नगरपालिकामा पर्छ । अन्य प्रदेशमा जान पनि छिन्चु हुँदै जाने गरिन्छ यस अर्थमा छिन्चु कर्णाली प्रदेशकै मुख्य द्वार पनि हो । तर प्रदेशकै महत्वपूर्ण सडक छिन्चुमा सुविधा सम्पन्न बसपार्क परै जाओस्, यात्रुका लागि प्रतीक्षालयलगायत सुविधासम्म छैनन् । अव्यवस्थित पार्किङ र सेवासुविधा नहुँदा यो बसपार्क कर्णालीकोे अनुहार होइन, समस्याको प्रतीक पनि बनेको छ । निर्माणाधीन बसपार्क पनि सुरुवातदेखि नै कछुवाको गतिमा अघि बढिरहेको छ । 

अलपत्र बसपार्कले बजारको सौन्दर्यता नै हराएको छ । बसपार्कको निर्माण समयमै नहुँदा यातायात व्यवसायीहरूले बस पार्किङको समस्या खेप्दै आएका छन् । निर्माणाधीन बसपार्कको काम छिटो नहुँदा स्थानीयहरू पनि आक्रोशित छन् । बसपार्क सञ्चालनमा आएपछि यात्रुहरूलाई सहजता हुने र भेरीगंगाको विकासमा समेत टेवा पुग्ने विश्वास नगरपालिकाले लिएको छ । तर कर्णाली प्रदेशको प्रमुख व्यापारिक नाकासमेत रहेको छिन्चुमा बसपार्क नहुँदा व्यवसायीलगायत सर्वसाधारणलाई समेत निकै सास्ती खेप्नुपरेको छ । 

पार्किङको व्यवस्था नहुँदा बजारको छेउछाउमा जथाभावी गाडी पार्किङ गर्ने गरिएको छ । समय क्रमअनुसार नयाँ सवारीसाधन थपिने तथा धमाधम नयाँ संरचना बन्न थालेपछि पार्किङको समस्या थप जटिल बन्दै गएको छ । सडक छेउछाउमै सवारीसाधन पार्किङ गरिनुका साथै यात्रुले सडकमै टिकट काटेर बस चढ्नुपर्ने बाध्यता रहँदै आएको छ । बसपार्क नहुँदा सडक दायाँबायाँ, होटेल, स्थानीयका घरअगाडि सवारी पार्किङ गर्ने गरिएको छ । सुक्खामा धुलोले र बर्खामा हिलोले बसपार्क अस्तव्यस्त हुन्छ । यहाँ प्रत्येक दिन हजारांै संख्यामा सवारीसाधनको आवागमन हुने गर्छ । यातायात व्यवसायीहरूका अनुसार छिन्चु हुँदै दैनिक १० हजार यात्री ओहोरदोहोर गर्छन् । यति धेरै व्यस्त हुने भए पनि यात्रीका लागि कुनै सुविधा छैन । चालक र सहचालकहरूका लागि समेत यहाँ विश्राम गर्ने ठाउँ छैन । 

बसपार्कको काम तीन वर्षमा आधा 

छिन्चुमा बसपार्क शिलान्यास गरेको करिब तीन वर्ष भयो । २८ मंसिर २०७९ मा तामझामका साथ शिलान्यास गरिएको बसपार्कको काम तीन वर्षसम्म पनि ५० प्रतिशत मात्रै सम्पन्न भएको छ । भेरीगंगा नगरपालिकाका नगरप्रमुख यज्ञप्रसाद ढकाल, उपप्रमुख धनसरा बोहोरा र वडा नम्बर १२ का वडा अध्यक्ष रामबहादुर डाँगीलगायतको उपस्थितिमा सो समयमा बसपार्कको शिलान्यास गरिएको थियो । शिलान्यास क्रममा नगरप्रमुख ढकालले निर्माण कम्पनीलाई समयमै काम सक्न निर्देशन दिएका थिए । उनको निर्देशनको कुनै वास्ता नगरी निर्माण कम्पनीले तीन वर्षसम्म ५० प्रतिशत काम धौधौले पुर्‍याएको छ । बसपार्कको जिम्मा बाँकेको ग्रान्ड डिजाइन एन्ड कन्स्ट्रक्सन प्रालिले जिम्मा लिएको छ । 

सो कन्स्ट्रक्सनले २९ असार २०८१ सम्म निर्माण सम्पन्न गर्नेगरी ११ करोड ७६ लाख रकममा २०७९ असार ३० गते सम्झौता गरेको थियो । दुई वर्षमा सक्ने लक्ष्य राखेको कम्पनीले तीन वर्षमा पनि काम सम्पन्न गर्न नसकेपछि दुईपटक बढी म्याद थप भएको छ । कन्स्ट्रक्सनले हालसम्म काम गरेबापतको ३ करोड ८० लाख रकम भुक्तानी पाइसकेको छ । 

किन निर्माणमा ढिलाइ भयो ?

दुई वर्षमा सक्ने बसपार्कको काम तीन वर्षसम्म पनि सम्पन्न नहुनुमा नगरपालिका र निर्माण व्यवसायीको निकै लापरबाही देखिएको छ । निर्माण व्यवसायीले काम गर्दागर्दै बीचमै छोड्ने सम्पर्कविहीन बन्ने र काममा निकै ढिलासुस्तीले काम बसपार्क समयमै सम्पन्न हुन नसकेको नगरपालिकाका इन्जिनियर गणेश कार्कीले बताए । उनले नगरपालिकाले बारम्बार ताकेता गर्दा पनि व्यवसायीले काममा ढिलासुस्ती गरेको बताए । इन्जिनियर कार्कीले बसपार्कको डिजाइनमा समेत समस्या भएकाले पनि काममा केही ढिलासुस्ती हुन पुगेको बताए । 

उनका अनुसार केही समयमा रोकिएको बसपार्कको काम जेठयता तीव्र गतिमा भइरहेको छ । अबको मंसिरदेखि पुससम्म कम्पनीले बसपार्कको काम सम्पन्न गरेर नगरपालिकालाई हस्तान्तरण गर्ने लक्ष्य लिएको इन्जिनियर कार्कीको दाबी छ । यता नगरपालिकाका प्रमुख ढकालले पनि बसपार्कको काम समयमै सम्पन्न हुन नसक्नु दुःखद भएको बताए । उनले आफूले निर्माण व्यवसायीलाई समयमै सक्न निर्देशन दिँदा पनि कम्पनीले अटेर गरेको बताए । उनले केही समयअघि निर्माण व्यवसायी सम्पर्क विहीन हुँदा नेपालगन्ज गएर खोजेर ल्याएको दाबी गरे । ‘निर्माण व्यवसायी सम्पर्क विहीन भयो, मैलें नेपालगन्ज गएर खोजेर ल्याएँ,’ नगर प्रमुख ढकालले भने, ‘जेठयता काम गरिरहेको छ तर जति तीव्र गतिमा गर्नुपर्ने हो त्यति हुन सकेको छैन ।’ 

उनले नगरपालिकाले बजेटमा कुनै कमी नगर्दा पनि यस निर्माण व्यवसायीले धेरै ठाउँमा कामको जिम्मा लिएको र अन्य ठाउँको काममै व्यस्त हुँदा यहाँको बसपार्कको काममा ढिला गरेको बताए । नगरप्रमुख ढकालले यस चालु आर्थिक वर्षमा बसपार्कको काम सकेर हस्तान्तरण गर्न लगाउने बताए । 

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise