काठमाडौँ : भदौ २४ गते जेनजीको आन्दोलनका क्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य अनिल रुंगटाको घरमा अराजक समूहले गरेको आगजनीमा जलेर गम्भीर घाइते भएकी एक महिलाको उपचारका क्रममा मृत्यु भएको छ ।
रुंगटाको घरमा घरेलु कामदारका रूपमा कार्यरत पर्साको सखुवा प्रसौनी गाउँपालिका-२ की ४५ वर्षीया सोशीलादेवी हजाराको उपचारका क्रममा सोमबार मृत्यु भएको हो । काठमाडौँको कीर्तिपुर बर्न अस्पतालमा उपचारका क्रममा सोमबार १०: २२ बजे उनको मृत्यु भएको हो ।
वीरगन्ज महानगरपालिका-१३ मा रहेको रुंगटाको निवास परिसरमा रहेका भवनहरू जेनजी आन्दोलनले तोडफोड र लुटपाट गर्दै आगजनी गरेका थिए । त्यस बेला घरको तेस्रो तल्लाको छतमा रहेकी हजारा र अर्का एक युवकलाई जलेर गम्भीर भएको अवस्थामा महानगरपालिकाको वारुण यन्त्रको भर्याङको सहयताबाट उद्धार गरिएको थियो ।
गम्भीर घाइते हजरालाई तत्कालै वीरगन्जस्थित नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा लगेर भर्ना गरिएको थियो । तर, त्यहाँ उनको स्वास्थ्य अवस्थामा सुधार नभएपछि उनलाई थप उपचारका लागि काठमाडौँको कीर्तिपुरस्थित बर्न अस्पतालमा पठाइएको थियो । त्यही उपचारका क्रममा सोमबार उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।