सुर्खेतः कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले वीरेन्द्रनगर नगरपालिका भित्रका वडाहरुलाई आफ्नै कार्यालयबाट सेवा प्रदान गर्न आग्रह गरेका छन् । उनले आज नगरपालिका भित्रका १ देखि १२ वडाका वडाध्यक्षहरुसँग छलफल गर्दै जेन्जी आन्दोलनका कारण वडा कार्यालयहरुमा आगजनी र तोडफोड गरिएकाे भएपनि अवस्था सामान्य बनिसकेकाले आफ्नै कार्यालयबाट सेवा प्रदान गर्न आग्रह गरेका हुन् ।
वडाहरुले असोज ५ गतेदेखि नागरिकले सहज रुपमा सेवा पाउन् भन्दै एकीकृत सेवा सञ्चालनमा ल्याएका थिए । अवस्था सामान्य बन्दै गएका कारण उनले सबै वडालालाई आफ्नै कार्यालयबाट सेवा प्रदान गर्न आग्रह गरे । मुख्यमन्त्री कँडेलले भने, ‘अब अवस्था सामान्य हुँदै गएकोले एक थान कम्प्युटर राखेर जलेकै भवनबाट भएपनि सेवा प्रवाह गर्नुपर्यो ।’
उनले वडाहरुको अवलोकन गर्दै वडा कार्यालयका संरचनामा भएको आगजनी र तोडफोडपछि सेवा प्रवाहबारे भइरहेको असुविधाबारे पनि वडा अध्यक्षहरूसँग छलफल गरे ।
जेनजी आन्दोलनका क्रममा सुर्खेतको वीरेन्द्रनगर नगरपालिकामा व्यापक तोडफोड र आगजनी भएको थियो । आन्दोलनकै क्रममा नगरपालिकाको भवन, नक्सा शाखा, पूर्वाधार शाखा लगायतका महत्त्वपूर्ण इकाइमा क्षति पुगेको छ । सात वटा वडा कार्यालय पूर्ण रूपमा जलेर खरानी भएका छन् । वडा नम्बर २, ३, ४, ५, ६, १० र ११ का कार्यालय पूर्णरूपमा ध्वस्त भएका हुन् भने वडा नम्बर १, ७, ८, ९ र १२ मा आंशिक क्षति पुगेको छ । यस घटनाले नगरपालिकाको प्रशासनिक संरचनामै ठूलो धक्का पुर्याएको भएपनि मुख्यमन्त्री कँडेलले कठिन समयमा पनि जनताले पाउने सेवा–सुविधा जनताकै घरआँगनबाटै दिनुपर्छ भन्ने सन्देश प्रवाह गर्नुपर्ने बताए।