सिरहा : सिरहाको भगवानपुर गाउँपालिका–५, इनर्वा गाउँका ब्लड क्यान्सरबाट पीडित बालक अक्षय कुमार पासवानको उपचारका लागि ७० हजार रुपैयाँ आर्थिक सहयोग प्रदान गरिएको छ ।
वैदेशिक रोजगारीमा रहेका भगवानपुर गाउँपालिका–३ का राम शंकर यादव र बलराम यादवको पहलमा उक्त रकम संकलन गरिएको हो । उनीहरूले आफ्नो कम्पनीमा कार्यरत साथीहरूसँग मिलेर संकलन गरेको रकम खातामार्फत भगवानपुर गाउँपालिकाका पूर्वअध्यक्ष बेचनप्रसाद यादवलाई पठाएका थिए ।
मंगलबार आयोजित एक कार्यक्रममा पूर्वअध्यक्ष यादवले संकलन गरिएको उक्त रकम पीडित बालकका बुवा राजेश पासवानलाई हस्तान्तरण गरे ।
कार्यक्रममा यादवले श्रम गरेर कमाएको रकमबाट सहयोगी मनहरूले संकलन गरेको रकम हस्तान्तरण गर्न पाउँदा खुसी लागेको बताए । उनले भने, “मेरो पहलमा पठाइएको यो सहयोगले पीडित परिवारलाई केही राहत मिल्ने विश्वास छ ।”
पीडित बालकका बुवा राजेश पासवानले छोराको उपचारका लागि विदेशमा रहेका नेपालीहरूले गरेको सहयोगप्रति आभार व्यक्त गरे । उनले यो सहयोगले छोराको उपचारमा ठुलो सहायता पुग्ने बताए ।
यो सहयोगले क्यान्सरजस्तो जटिल रोगसँग लडिरहेको बालकको उपचारमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ ।