
दुई दशकअघि नेपाली कांग्रेसमा विभाजनको जग हालेर आएको तत्कालीन विग्रह पक्षधर नै अहिले कांग्रेसको संस्थापन कित्तामा छ । नेपाली कांग्रेसलाई फुटाएर नेपाली कांग्रेस प्रजातान्त्रिक गठन गरेका शेरबहादुर देउवा सिंगो कांग्रेस पार्टीका सभापति छन् । उनी विगत १० वर्षदेखि मूल कांग्रेसकै नेतृत्व गर्दै आएका छन् । पार्टी विभाजनमा देउवालाई साथ दिएकाहरू नै यतिबेला कांग्रेसभित्र बोलवाला नेताको पहिचानमा छन् । तर उनीहरू जनता र आमकार्यकर्तामाझ विस्तारै अलोकप्रिय बन्दै गएका छन् । तैपनि आफूलाई परम्परागत कोणबाट हेरेर अझै अब्बल नै छु भन्ने ठानेका गरेका छन् । यद्यपि पार्टीमा नयाँ पुस्ताको जबर्जस्त उदयले फरक धार निर्माण गरिसकेको छ ।
देश र कांग्रेस दुवैको अवस्था बिग्रँदै गएको नेपालको पछिल्लो राजनीतिमा कांग्रेसले नै नेतृत्व गरेर निकास खोज्नुपर्ने थियो । मुलुकको सबैभन्दा ठुलो र लोकतान्त्रिक वैचारिक धारको नेतृत्व पनि कांग्रेसले गर्दै आएको छ । इतिहासलाई पल्टाउँदा, हरेक परिवर्तनकारी आन्दोलनको नेतृत्व कांग्रेसबाटै भएको छ । कांग्रेसबाटै प्राप्त उपलब्धि संस्थागत गर्ने काम पनि भएको छ । तर पछिल्लो जेनजी आन्दोलनले भने कांग्रेसको मथिंगल हल्लाइदिएको छ । किनकि यो आन्दोलनको स्वरूपले यस्तो भयावह अवस्था निम्त्याउने कसैले सोचेकै थिएन ।
भ्रष्टाचारविरोधी शान्तिपूर्ण आन्दोलन एकाएक हिंसात्मक बनेपछि मुलुकको शासन–सत्ता मात्रै ढलेन, सयौं वर्ष पुराना र धरोहर, राज्यका भौतिक संरचनादेखि व्यक्तिगत र व्यावसायिक संरचनासमेत ध्वस्त भए । आन्दोलनकै नाममा ७६ जना नागरिकका अभिभावकको कोख रित्तियो । कति बालबच्चाहरू टुहुरा भए । अप्रत्याशित भएको यो घटनाबाट केही उपलब्धि भने भएका छन् । तर ती उपलब्धि संस्थागत हुने कुरा निकै चुनौतीपूर्ण छन् ।
आन्दोलनलाई अहिंसात्मक बनाउँदै उपलब्धिको अंश अझै बढाउन सक्ने सामथ्र्य नेपाली कांग्रेसले राख्नुपथ्र्यो । जुन अपेक्षा परिवर्तनका हरेक आन्दोलनमा कांग्रेसले खेलेको नेतृत्वदायी भूमिकाले देखाउँथ्यो । तर यतिबेला कांग्रेस शून्यतामा पुगिसकेको रहेछ । भदौ २३ र २४ को जेनजी आन्दोलन र त्यसपछिका राजनीतिक घटनाक्रमले कांग्रेसको हैसियत देखाइसकेको छ । एउटा जिम्मेवार लोकतान्त्रिक पार्टीमाथि देश र जनताको ठुलो भरोसा रहन्छ । त्यसै भरोसाबाटै आमनिर्वाचनमा कांग्रेसलाई नागरिकले न्याय गर्दै आएका थिए ।
जेनजी आन्दोलन र त्यसपछिको विकसित राजनीतिक घटनाक्रमले कांग्रेसको निर्णय र नेतृत्वदायी भूमिका पर्खिरहेको थियो । तर आज कांग्रेस यी दुवै (निर्णय र नेतृत्व)बाट आफैँ च्युत भएको छ । एक हिसाबले भन्दा त्यो भारी बोक्न सक्ने क्षमता कांग्रेसले गुमाएको देखिन्छ । यसको एउटै कारण हो– पार्टीमा कुनै नीति, विचार, सिद्धान्त र जिम्मेवारीबोधको भावना नै छैन । नेतृत्व र तिनका वरिपरि घुम्नेहरूको सोच केवल पार्टी कब्जामार्फत राज्यको शासन–सत्ता कब्जा गर्ने मात्र देखिँदै आएको छ । जेनजी आन्दोलनपछि कांग्रेसलाई वैचारिक, संगठित र जनप्रिय पार्टी बनाउने योजनासहित रूपान्तरणको योजना बनाउनुपर्ने पार्टीमा अन्तरकलहले विग्रहको संकेत देखाएको छ । केन्द्रीय समितिको बैठक सुरु भएको एक महिनामा पनि निर्णयमा पुग्न सकेन । बिग्रँदो राजनीतिक परिस्थिति सम्हाल्न यतिबेला सबै दललाई राष्ट्रिय मुद्दामा बहस गराउनुपर्ने कांग्रेसले आफ्नै मुद्दा मिलाउन नसकेर हैरानीमा पर्नु राम्रो संकेत होइन । जेनजी मुभमेन्टले कांग्रेसलाई पुनर्जागृत हुन सन्देश दिए पनि पुराना नेताहरू परम्परावादी चरित्रमै रमाइरहेका छन् । पार्टी–सत्ता कब्जामा राखेर राज्य–सत्तामा पुग्ने भर्याङको खोजीमा छन् ।
सभापति शेरबहादुर देउवाले पार्टी राम्रो बनाउन सुम्पिएका कार्यवाहक सभापति र अन्य सहयात्री अन्तिमपटक जे जति खान सकिन्छ, त्यसका लागि अन्तिम बल प्रयोग गर्नुपर्ने मानसिकतामा देखिए । यद्यपि उनीहरूको योगदानलाई यहाँ अवमूल्यन गर्न खोजिएको पक्कै होइन । उनीहरूको योगदानमा आएको वर्तमान राजनीतिक व्यवस्था किन मासिँदै छ भन्ने कुरामा स्वयं नेताहरू गैरजिम्मेवार बन्नु किमार्थ राम्रो होइन । देश, जनता र पार्टीको अवस्था तथा परिस्थिति मूल्यांकन गरेर ती नेताहरूले एउटा निर्णयमा पुग्नै पथ्र्यो । समयअनुसार पार्टी रूपान्तरण, पुस्तान्तरण र पुनर्जागरणको अभियानका नेताहरू अझै निरिह बनेर अल्पमतमा रहनु परेको छ । अझै कांग्रेसमा सभापति देउवा र उनका निकटस्थहरूबाट बामे सर्न खोज्दै छन् । यस्ता बामेसराइले कांग्रेस दौडने र अरूलाई जित्ने कल्पना बाहिरको कुरा हो । यही विषयमा गम्भीर बनेका आमकार्यकर्ता अहिले निराश छन् । पार्टीको नियमित हुनुपर्ने १५औँ महाधिवेशनको विषयलाई लिएर कांग्रेस देशकै राजनीतिक अनिर्णयको बन्दी बनेको छ । कांग्रेसमा अहिले देखिएको तीनवटा धार सक्रिय छ । एउटा परम्परावादी जडसूत्रधार, अर्को पक्ष लोकतान्त्रिक चरित्रलाई मर्न नदिई बहुमतमा पनि अल्पमतको सम्मान हुनेगरी सबैलाई मिलाएर लैजाने मध्यमार्गी धार र तेस्रो बढी क्रान्तिकारिताको माध्यमबाट बदलिँदो परिवेशअनुसार सबैखालका माध्यमहरू प्रयोग गरेर जबर्जस्त पार्टी–सत्ता आफ्नो हातमा ल्याउने पक्ष सशक्त भएर उदाएको छ । यिनै तीन धारबीचको लडाइँले कांग्रेसको केन्द्रीय समिति बैठक एक महिनादेखि अनिर्णीत छ ।
जसमा पहिलो (परम्परावादी जडसूत्रवादी) धारको नेतृत्व कार्यवाहक सभापति पूर्णबहादुर खड्काले गरेका छन् । त्यो समूहमा नेताहरू कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंह, गोपालमान श्रेष्ठ, विमलेन्द्र निधी, डा. शशांक कोइराला, डा. प्रकाशशरण महतलगायत पछिल्लो पुस्ताका नेताहरू समेत छन् । उक्त समूहमा नेपाली कांग्रेस प्रजातान्त्रिक (फुटका पक्षधर)कै सहयात्रीहरू बढी छन् ।
दोस्रो लोकतान्त्रिक चरित्रलाई मर्न नदिई बहुमतमा पनि अल्पमतको सम्मान हुनेगरी सबैलाई मिलाएर लैजाने पक्षमा वरिष्ठ नेता डा. शेखर कोइराला, सहमहामन्त्री जीवन परियार, बलबहादुर पाँडेसहित नेता छन् । उनीहरूले पार्टी हितमा रहेर विभाजनबाट बचाउने र महाधिवेशनलाई चुनावअघि नै गर्न सहकार्य–सहजीकरण गर्ने भन्नेमा एकमत छन् ।
तेस्रो धार (क्रान्तिकारिता)को नेतृत्व महामन्त्री गगन थापाले गरेका छन् । उक्त समूहमा अर्का महामन्त्री विश्वप्रकाश शर्मासहित केन्द्रीय समितिका नेता छन् ।
पार्टीका करिब ५५ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले हस्ताक्षर गरेर विशेष महाधिवेशनको माग गर्दै कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई बुझाउनेहरूको नेतृत्व महामन्त्रीहरूले गरेका छन् । यदि कांग्रेसमा विशेष महाधिवेशन भएमा पार्टी नै विभाजनको अवस्थामा पर्न सक्ने सम्भावना छ । तर त्यसलाई रोक्न वर्तमान नेतृत्वले चाल्न सकेको छैन ।
यो नेतृत्वसँग आमरूपमा मुलुकको स्थिति के हुँदै छ र अब कसरी अघि बढ्छ भन्ने आँकलन छैन । उनीहरूले २५–३० वर्षअघिकै राजनीतिक अवस्थालाई सम्झिरहेका छन् । यो केवल उनीहरूका लागि मात्र होइन, सिंगो पार्टी र पार्टी पंक्तिमा रहेका आमकार्यकर्ताका लागि दुर्भाग्यपूर्ण हुन जान्छ । यसका लागि समयमा (आमचुनावअघि) नियमित महाधिवेशनको कार्यतालिका सार्वजनिक गर्न कांग्रेसले ढिला गर्ने समय छैन ।
पार्टीको विधानको धारा २७ (२) ले विशेष महाधिवेशनको व्यवस्था गरेको छ । सोही व्यवस्थाअनुसार गत असोज २९ मा बुझाइएको ५५ प्रतिशत महाधिवेशन प्रतिनिधिको मागलाई सम्बोधन गर्न पुस मसान्तभित्र नियमित महाधिवेशन गर्नुपर्ने हुन्छ । नत्र सोही समयभित्रै विशेष महाधिवेशन कसैले रोक्नै सक्दैन । विशेष महाधिवेशनतिर कांग्रेसलाई संस्थापन पक्षले नै लैजान खोजेको छ ।
के विशेष महाधिवेशनका नाममा बहुमत र अल्पमतको जोड–घटाउमा कांग्रेस फस्यो भने सग्लो रहला ? यो आजको मूल प्रश्न बनेको छ । विशेष महाधिवेशनले कांग्रेसमा रूपान्तरण होइन विभाजनको बिउ रोप्ने निश्चित छ । त्यसको नेतृत्व कांग्रेसका सभापति शेरबहादुर देउवा (तान्त्रिक कांग्रेस) को निर्देशनमा वर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्कासहित नेताहरू विमलेन्द्र निधी, प्रकाशमान सिंह, प्रकाशशरण महत, गोपालमान श्रेष्ठ, डा. शशांक कोइरालालगायत नेताहरूले गरेका छन् ।
उनीहरू आफैं एकातिर विशेष महाधिवेशनले पार्टी फुटको अवस्थामा जाने भनेर वक्तव्य दिँदै आएका छन् भने अर्कोतिर नियमित महाधिवेशन रोकेर केन्द्रीय समितिको कार्यकाल थप्ने योजनाबाट पछि हटेका छैनन् । यिनै नेताहरूका कारण विधानतः विशेष महाधिवेशनको निर्विकल्प बाटो तय हुने स्थिति बनेको छ । यो बाटोले कांग्रेसको संस्थापन पक्ष (तत्कालीन तान्त्रिक) समूहले फेरि पार्टी विभाजनको बिउ रोप्ने संकेत देखाएको छ । कतिपय नेताहरूका औपचारिक–अनौपचारिक अभिव्यक्तिले पार्टी विभाजन सामान्य हो भन्ने सन्देश दिने गरेका छन् । यो विषयमा समयमै नेताहरू सचेत भएर समस्याको समाधान गर्ने र कांग्रेसलाई जीवित राख्ने उपायको खोजी गर्न सकेनन् भने कांग्रेस सग्लो नदेखिन सक्छ ।