२०८२ मंसिर २ गते मङ्गलवार / Nov 18 , 2025 , Tuesday
२०८२ मंसिर २ गते मङ्गलवार
Ads

देउवालाई फेरि आइलाग्यो कांग्रेसको गाँठो फुकाउने जिम्मा

shivam cement
जीवन शर्मा
२०८२ मंसिर २ गते ०६:३०
Shares
देउवालाई फेरि आइलाग्यो कांग्रेसको गाँठो फुकाउने जिम्मा

काठमाडौं : असोज २८ गतेबाट सानेपामा जारी नेपाली कांग्रेस केन्द्रीय समिति बैठक अनिर्णयको बन्दी बनेको छ । कार्यवाहक सभापति पूर्णबहादुर खड्कासहित नेताले १५औं महाधिवेशनको मुद्दाबारे टुंगो लगाउन सकेका छैनन् । पार्टीको सम्पूर्ण जिम्मेवारी कार्यवाहक सभापति खड्कालाई सुम्पिएका देउवाकै काँधमा फेरि विवाद मिलाउने जिम्मा आइपुगेको छ । कार्यवाहक सभापति पूर्णबहादुर खड्कासहित नेताहरूले पार्टीको महाधिवेशन चुनाव अघि कि पछि भन्ने विषयमा चर्किएपछि देउवाले नै गाँठो फुकाउनुपर्ने अवस्था आएको हो । 

जेनजी आन्दोलनकारीको आक्रमणमा परेका सभापति देउवा कात्तिक १० गते थप उपचारका लागि सिंगापुुर गएका थिए । उनी सिंगापुरको १८ दिने बसाइपछि शुक्रबार स्वदेश फर्किएलगत्तै पार्टीको विवाद मिलाउने काममा सक्रिय भएका हुन् । सभापति देउवाले आइतबारबाटै पार्टीका शीर्ष नेताहरूसँग भेटघाटलाई तीव्रता दिएका छन् । उनले फरकफरक विचार समूहका नेताहरूसँग धारणा बुझ्ने र समाधानका उपाय खोज्न आफूनिकट नेताहरूलाई परिचालनमा सक्रिय बनाएर लागेको नेताहरूले बताएका छन् । देउवानिकटका नेताहरूले आगामी आमनिर्वाचनअघि महाधिवेशन गर्न नहुने अडान कायमै राखेका छन्  ।  

उता संस्थापनइतर पक्षका नेता डा. शेखर कोइराला समूहका नेता मध्यमार्गी बाटो अपनाएर पनि पार्टीलाई एक ढिक्का राखेर जनतामाझ पार्टीको साख जोगाउने अभ्यासमा छन् । नेता शेखर कोइरालाले विभिन्न जिल्ला सभापति तथा केन्द्रीय नेताहरूलाई आवश्यकताअनुसार सामूहिक र एक्लाएक्लै भेटेर विभाजनमा जानबाट रोक्ने उपायबारे संवादरत छन् । कांग्रेस केन्द्रीय सदस्य डा. गोविन्द्रराज पोखरेलले पार्टी कांग्रेस यति लामो समयसम्म अनिर्णयको बन्दी बनेकोप्रति आश्चर्य व्यक्त गरे । डा. शेखर कोइरालासहितका एकाथरि नेताहरूले पार्टी विभाजनबाट रोक्न मध्यमार्गी उपाय खोजे पनि संस्थापन पक्षका नेताहरू पार्टी कब्जा गर्ने मनोभावनाअनुसार अघि बढेको उनको आरोप छ । ‘सभापति देउवाले स्वदेश आएपछि पार्टीका सबैजसो नेताहरूसँग भेटेर वा टेलिफोनमार्फत संवादलाई बाक्लो बनाउनुुभएको भन्ने सुनेको छु,’ उनले मध्यान्हसँग भने, ‘उहाँकै निर्देशन र सहजीकरणबिना कांग्रेसले निर्णय गर्न नसक्ने रहेछ भन्ने सन्देश गएको छ । नेतृत्वको जिम्मेवारी पाएका नेताहरू आफ्नोे विवेकलाई बन्धक बनाएर कसैले लाए अह्राएको काम मात्रै गर्ने देखिएका छन् ।’ 

सभापति देउवाले असोज २८ गते सक्रिय राजनीतिबाट बिदा लिएको सन्देशसहित उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक दिँदै केन्द्रीय समितिको बैठक हस्तान्तरण गरेका थिए । त्यसयता खड्काले नै केन्द्रीय समितिका चलाउँदै आए पनि खड्काबाट पार्टीमा देखिएको विवाद मिलाउने सम्भावना टरेको छ । यसैबीचमा देउवाले खड्कालाई बैठक चलाउनका लागि मात्रै मौखिक कार्यवाहक छाडेकाले उनीसँग आधिकारिक र लिखित जिम्मेवारीसमेत नरहेको चर्चा छ । खड्काले पाएको जिम्मेवारीलाई अवसरका रूपमा प्रस्तुत गर्न सकेनन् । नेता पोखरेलले भने भने, ‘उहाँहरूले सिंगो कांग्रेस र मुलुकभन्दा एउटा गुुटको हितलाई केन्द्रमा राखेर कांग्रेसलाई निर्णयबाट वञ्चित गराउँदै हुनुहुन्छ । यसले समग्र कांग्रेस र देशको हित हुँदैन ।’ 

देउवाको अनुपस्थितिमा केन्द्रीय समितिबाट निर्णय नआएपछि देउवालाई नै गुहारेर फेरि महाधिवेशनलाई अनिश्चितता धकेल्ने प्रयास भएको नेताहरूले टिप्पणी गरेका छन् । आमनागरिक र पार्टी तहका नेता कार्यकर्ताको भावनाअनुसार प्रतिनिधि सभाको निर्वाचनअघि नै पार्टी महाधिवेशनको कार्यतालिका ल्याउनुुपर्ने पक्षमा केन्द्रीय समितिमा समेत बहुमत पुुगिसकेको छ । तर देउवा आएपछि आफ्ना पक्षका नेताहरूलाई हतारमा केही निर्णय नगर्नु भन्ने देउवाको आदेश आएको बताइएको छ । कार्यवाहक पाएका नेता पूर्णबहादुर खड्काले आफ्नो आधिकारिकतासमेत सार्वजनिक गर्न सकेका छैनन् । यसले उनीमाथि मौखिक कार्यवाहकको जिम्मेवारीबाहेक केही नभएको टिप्पणीसमेत भइरहेको छ ।  

देउवाको अनुपस्थितिमा कार्यवाहक सभापति पूर्णबहादुर खड्काले चुनावअघि नै महाधिवेशन कार्यतालिका सार्वजनिक गरेको भए एउटा समूहले राम्रैसँग नेता मान्ने थियो,’ कांग्रेसका एक पदाधिकारीले भने, ‘तर उहाँको एउटा गुटको बैठकमा बढी सक्रिय हुनुभयो । पार्टीले यो अवस्थामा सबैको साझा धारणा बनाएर निर्णय लिनेगरी प्रयास नै गर्नुभएन । यसले उहाँको क्षमतामाथि प्रश्न उब्जायो ।’ 

महाधिवेशनसहित देशको राजनीतिक अवस्थाबारे ठोस निर्णय गर्न कांग्रेस बैठक बिहीबारलाई सारिएको छ  । 

संस्थापन पक्षभित्रै समेत महाधिवेशनको मुद्दामा चार लाइन देखिएका छन् । सो समूहका २५ केन्द्रीय सदस्यले चुनावअघि महाधिवेशनका पक्षमा देखिए पनि पूर्वपदाधिकारीहरूले समानुपातिक सूचीमा नाम हालेर मात्रै पार्टीको महाधिवेशनमा जाने योजनासहित पार्टीलाई अनिर्णयको बन्धक बनाउन भूमिका खेलेका छन् । महामन्त्री थापाले पुस १६–१९ मा महाधिवेशन गर्ने कार्यतालिका पेस गर्दा उनको काउन्टरमा सहमहामन्त्री महेन्द्र यादवले वैशाख २७–२९ को प्रस्ताव अघि सारेका छन् । पार्टीको विधानको धारा १७(२) अनुसार ४० प्रतिशत प्रतिनिधिको हस्ताक्षरसहित माग गरेमा तीन महिनाभित्र विशेष महाधिवेशन बोलाउनुपर्ने बाध्यकारी व्यवस्था छ । संस्थापनपक्षका सात पूर्वपदाधिकारी निर्वाचन अगाडि विशेष वा नियमित कुनै पनि महाधिवेशन गर्न नहुने पक्षमा दृढ छन् । कार्यवाहक सभापति  खड्काले बहुमत र अल्पमतका आधारमा कुनै निर्णय नगर्ने बताएका छन् । तर उनले यतिका दिनसम्म पार्टीलाई अनिर्णयको बन्दी बनाएको आरोप खेप्दै आएका छन् ।  

महामन्त्री विश्वप्रकाश शर्माले नियमित महाधिवेशन पनि नगर्ने र विशेष महाधिवेशन पनि नबोलाई चुनावपछि महाधिवेशन सार्ने प्रयास भए आफूले महामन्त्रीको पदबाट राजीनामा दिने चेतावनी दिइसकेका छन् । अर्का महामन्त्री गगन थापासमेत चुनावअघि महाधिवेशन वा विशेष महाधिवेशनको निर्णय नभए राजीनामा दिने मनस्थितिमा रहेको उनीनिकट नेताहरूले बताएका छन् । कांग्रेसले विधानसम्मत माग भएको विशेष महाधिवेशन नबोलाएर अन्य निर्णय गर्ने हो भने संसद् विघटन संविधानबाहिर थियो भनेर भन्ने नैतिक धरातलसमेत गुमाउने केन्द्रीय सदस्य मधु आचार्यले बताए । नियमित वा विशेष महाधिवेशनको प्रस्तावलाई केन्द्रीय समितिबाटै अनुमोदन गराउन संस्थापनइतर समूहका नेताहरूले कार्यवाहक सभापति खड्कालाई निरन्तर दबाब दिँदै आएका छन् । यी सबै पक्षलाई मिलाएर निर्णय गर्न सभापति देउवाले नै फेरि अग्रसरता लिने संकेत गरिसकेका छन् । अरू नेताहरू समेत देउवाबाटै निर्णय होस् भन्ने चाहनामा रहेको केन्द्रीय समितिका नेताहरूले बताएका छन् । ‘पार्टीका सबै पक्षको कुरा सुनेर विवाद समाधान गर्दै सर्वसहमतिमा निर्णय लिनुपर्ने कांग्रेसको अहिलेको परिस्थितिलाई सभापतिले नै अग्रसरता लिएर जानु उपर्युक्त हुने नेताहरूको कुरा छ,’ कांग्रेस प्रचार विभाग प्रमुख मीन विश्वकर्माले भने ।

ADV

सम्बन्धित खबर