
ललितपुर : एकैदिन ललितपुरका विभिन्न पाँच स्थानमा चोरी गरी फरार रहेका एक व्यक्तिलाई प्रहरीले चोरीका सामानसहित पक्राउ गरेको छ ।
ललितपुर महानगरपालिका–२८, हरिसिद्धीस्थित रिना महर्जनको घरबाट साउन २२ गते सुनचाँदीका गरगहना चोरी भएको सूचना पाएपछि प्रहरीले अनुसन्धान थालेको थियो । प्रहरी वृत्त सातदोबाटोबाट खटिएको टोलीले घटनास्थल आसपासका सीसीटीभी फुटेजको अध्ययन गर्ने क्रममा चोरीमा संलग्न व्यक्तिको पहिचान गरेको हो ।
प्रहरीका अनुसार सोही दिन अन्य चार स्थानमा समेत चोरी गरेर फरार रहेका ललितपुरको गोदावरी नगरपालिका–१४, टौखेलका ३३ वर्षीय सुरज महर्जनलाई मोटरसाइकलमा भाग्दै गरेको अवस्थामा पक्राउ गरिएको हो ।
प्रहरीले उनलाई बा ९० प २७६४ नम्बरको मोटरसाइकलमा भाग्दै गरेको अवस्थामा रोकेर जाँच गर्दा ‘क्याट’ लेखिएको कालो झोलाभित्र चोरीका गरगहना तथा चोरीमा प्रयोग भएका विभिन्न औजार फेला पारेको जनाएको छ ।
प्रहरीले महर्जनको साथबाट सुनजस्तो देखिने धातुका विभिन्न गरगहना, चाँदीजस्तो देखिने गरगहना, हिराजस्तो देखिने औँठी, पुराना तथा नयाँ सिक्का, नगद ११ हजार ३९० रुपैयाँ, विभिन्न कम्पनीका झोला तथा पर्स, सुनका बिल र मोबाइल फोन बरामद गरेको छ ।
त्यस्तै चोरीमा प्रयोग भएको कैँची, पेचकस, रेन्ची, पिलास र चक्कुसहित विभिन्न औजार पनि बरामद गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार बरामद भएका सुनजस्ता देखिने गरगहनामध्ये पोतेसहितको नौगेडी, हार, झुम्का, औँठी, सिक्री, तिलहरी तथा चुरा–बाला रहेका छन् । चाँदीजस्ता देखिने गरगहनामा औँठी, चाबी झुन्ड्याउने रिङ, हार, हनुमानको लकेटसहितको सिक्री, ब्रासलेट र पाउजु रहेका छन् । प्रहरीले विभिन्न कम्पनीका पाँचवटा मोबाइल, पावर बैंक, स्पिकर, एयरपड तथा अन्य सामग्रीसमेत बरामद गरेको छ ।
पक्राउ परेका महर्जनविरुद्ध चोरी मुद्दामा ललितपुर जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर ललितपुरका प्रहरी उपरीक्षक तथा सूचना अधिकारी गौतम मिश्रले जानकारी दिए । प्रहरीले बरामद भएका गरगहनाको वास्तविक धातु तथा मूल्य पहिचानका लागि थप परीक्षण तथा अनुसन्धान भइरहेको जनाएको छ ।