२०८३ मंसिर ५ गते शनिवार / Nov 21 , 2026 , Saturday
२०८३ मंसिर ५ गते शनिवार

कथा : फर्किने टिकट

राति सुत्नुअघि छोरीले बाबाको तस्बिर काखमा राखी र सोधी, ‘आमा, ठुलो भएपछि म पनि विदेश जानुपर्छ र ?’ अनुले छोरीलाई आफ्नो छातीमा टाँसिन्

Nada
खेमराज सुवेदी
२०८३ मंसिर ५ गते ०८:१७
Shares
कथा : फर्किने टिकट

विमानस्थलको प्रस्थान कक्षमा पस्नुअघि सागरले एकपटक पछाडि फर्केर हे¥यो । पत्नी अनुको काखमा चार वर्षकी छोरी थिई । छोरीले बाबुलाई ‘बाई बाबा’ भन्दै हात हल्लाई । बाबा कहाँ र किन जाँदै हुनुहुन्छ भन्ने उसलाई थाहा थिएन । बाबा कतै टाढा जाँदै हुनुहुन्छ र फर्किंदा ठुलो पुतली ल्याइदिनुहुन्छ भन्ने मात्र ऊ बुझ्थी ।
‘बाबा, मेरो जन्मदिनमा आउनुहुन्छ नि ?’ छोरीले सोधी ।
सागरले छोरीलाई काखमा उठायो ।
‘आउँछु नानी । तिम्रो अर्को जन्मदिन हामी सँगै मनाउनेछौं ।’
अनुले केही बोलिनन् । उनले पतिको हातमा एउटा सानो खाम थमाइदिइन् । खामभित्र छोरीले बनाएको चित्र थियो । चित्रमा घरको छेउमा एउटा रुख, आँगनमा तीनजना मानिस र माथि ठुलो सूर्य देखिन्थ्यो । चित्रको कुनामा छोरीले बांगाटिंगा अक्षरमा लेखेकी थिई, ‘हाम्रो परिवार’ ।
सागरले खाम झोलामा राख्यो । त्यही बेला उसको फोनमा विमानको बोर्डिङ सुरु भएको सूचना आयो ।
उसले एकपटक फेरि पछाडि हे¥यो । अनु मुस्कुराउने प्रयास गरिरहेकी थिइन् । त्यो मुस्कानभित्र घर बनाउने अधुरो सपना, सहकारीको ऋण र बुबाको उपचार खर्च लुकेको सागरले स्पष्ट देख्यो ।
ऊ साउदी अरब जाँदै थियो ।
सागरलाई विदेश जाने रहर थिएन । स्नातकसम्म पढेको उसले आफ्नै ठाउँमा काम गर्ने धेरै प्रयास गरेको थियो । कहिले निजी विद्यालयमा पढायो, कहिले साहुको पसलमा हिसाबकिताब राख्ने काम ग¥यो । आम्दानी अनियमित हुँदै गएपछि घर चलाउन धौधौ हुन थाल्यो ।
एक दिन सागरको पुरानो साथीले उसलाई फोन ग¥यो ।
‘साउदी अरबमा एउटा राम्रो कम्पनी छ । तलब पनि ठीक छ । बस्ने र खाने व्यवस्था छ । दुई वर्ष काम गरिस् भने ऋण तिरिसक्छस्, घर पनि बनाउन सक्छस् । आउने भए भन् ।’
सागरले घरमा कुरा सुनायो । अनु सुरुमा तयार भइनन् ।
‘यहीँ केही गरौं न । थोरै कमाएर भए पनि सँगै बस्न पाइन्छ,’ अनुले आफ्नो प्रस्ताव राखिन् ।
‘थोरै कमाएर कति दिन चल्छ र अनु ? छोरी पनि ठुली हुँदै छे । उसको भविष्य सोच्नुपर्दैन र ?’
सागर विदेश जाने प्रस्तावबाट पछि हट्न सकेन । अनुसँग यसको कुनै उत्तर थिएन ।
भोलिपल्ट उनीहरू म्यानपावर कार्यालय पुगे । सफा कार्यालय, भित्तामा टाँसिएका बिदेसी सहरका तस्बिर, कम्प्युटरमा व्यस्त कर्मचारी र टेबलमाथि राखिएको रोजगार सम्झौताका नियमले सागरलाई आफ्नो सन्तानको भविष्य उज्यालो हुँदै गएको विश्वास दिलाए ।
उसलाई काम, तलब, आवास र अन्य सुविधाबारे बताइयो । सम्झौतामा हस्ताक्षर गराइयो । आवश्यक कागजात तयार भए । अभिमुखीकरण तालिम पनि पूरा भयो । फोनमा श्रम स्वीकृति जारी भएको जानकारी आयो ।
सबै कुरा कानुनी प्रक्रियाअनुसार अघि बढिरहेको जस्तो देखिन्थ्यो ।
तर भर्ती प्रक्रियामा लागेको केही रकमको स्पष्ट रसिद उसले पाएको थिएन । खर्चको विषयमा प्रश्न गर्दा एक कर्मचारीले भनेका थिए, ‘सबैको यस्तै हो । काम राम्रो छ । त्यहाँ पुगेपछि पैसा उठिहाल्छ ।’
सागरलाई शंका लागेको थियो । तर त्यतिन्जेल उसले घर धितो राखेर ऋण लिइसकेको थियो ।
कहिलेकाहीँ मान्छेले आफ्नो शंका गलत भएकाले होइन, परिवारको जीवनयापनका लागि अर्को विकल्प नभएकाले राम्रा र नराम्रा दुवै सर्त चुपचाप स्वीकार गर्छ ।
साउदी पुगेको पहिलो रात सागरले भिडियो कल ग¥यो ।
‘यहाँ त राति पनि उज्यालै हुँदो रहेछ,’ उसले हाँस्दै भन्यो ।
अनुले फोनको क्यामेरा छोरीतिर फर्काइदिइन् ।
‘बाबा, मेरो पुतली खोइ ?’ छोरीले सोधी ।
‘पहिलो तलब आएपछि किनिदिन्छु,’ सागरले छोरीलाई फकायो ।
छोरी खुसी भई ।
सागरले क्यामेरा घुमाएर बाहिर देखायो । टाढासम्म फैलिएका सडक, अग्ला भवन र रातमा चम्किरहेका बत्तीहरू देखेर अनु पनि केही बेर मौन भइन् ।
‘राम्रोसँग बस्नु है,’ उनले भनिन् ।
‘चिन्ता नगर । सबै ठीक छ,’ सागरले भन्यो ।
तर, केही पनि ठीक थिएन ।
सम्झौतामा भनिएको काम र वास्तविक जिम्मेवारीबीच फरक थियो । उसलाई एउटा सेवा प्रदायक कम्पनीमार्फत विभिन्न भवनमा सरसफाइ तथा मर्मतसम्भारसम्बन्धी काममा खटाइयो । काम गर्ने समय पनि उसले कल्पना गरेभन्दा लामो हुन थाल्यो ।
सुरुमा उसले यसलाई नयाँ ठाउँको कठिनाइ सम्झियो । केही समयपछि सहज होला भन्ने आशा ग¥यो ।
पहिलो महिनाको तलब ढिलो आयो । दोस्रो महिनामा पनि समस्या दोहोरियो । अतिरिक्त समय काम गरेको पैसा सोध्दा सुपरभाइजरले हिसाब पछि मिलाउने बताए ।
सागरले परिवारलाई यी कुरा सुनाएन ।
घरबाट आउने प्रत्येक फोनमा एउटै प्रश्न हुन्थ्यो, ‘काम कस्तो छ ?’
उसको उत्तर पनि एउटै हुन्थ्यो, ‘राम्रो छ ।’
त्यही एउटा शब्द बिस्तारै उसको जीवनको सबैभन्दा नराम्रो पक्ष बन्न थाल्यो ।
दिनहरू बित्दै गए ।
सागरको कोठामा विभिन्न देशबाट आएका कामदारहरू थिए । भाषा फरक थिए, तर उनीहरूको समस्या लगभग एउटै थियो– महिनाको अन्तिममा प्राप्त हुने तलब र घर पठाउनुपर्ने पैसा ।
कसैको घरमा आमाबुबा बिरामी थिए । कसैले बहिनीको विवाहका लागि ऋण लिएका थिए । कसैले छोराछोरीको पढाइ खर्च जुटाउन विदेश रोजेका थिए । सबैले भविष्यका लागि वर्तमान खर्च गरिरहेका थिए ।
एक रात सागरले साथीलाई भन्यो, ‘हामीले यहाँ कमाउने पैसा घरमा पुगेपछि ठुलो हुन्छ । तर यहाँ बसेर हेर्दा आफ्नै जिन्दगी सानो हुँदै गएको जस्तो लाग्छ ।’
साथीले हाँस्दै भन्यो, ‘धेरै नसोच् । पैसा कमाएर फर्किने हो ।’
सागर पनि हाँस्यो ।
तर घर फर्किने कुरा गर्दा उसको अनुहारमा देखिने उज्यालो पहिलेको जस्तो हुँदैनथ्यो ।
छोरीले फोनमा विद्यालयको नयाँ पोसाक देखाउँथी । अनु घरखर्चको हिसाब सुनाउँथिन् । बुबाको औषधि किन्ने पैसा पुगेन भने सागर आफ्नै आवश्यकता घटाउँथ्यो ।
उसले पुरानो मोबाइल फेरेन । नयाँ जुत्ता किनेन । शुक्रबार बिदाको दिनमा पनि अतिरिक्त काम खोज्थ्यो ।
हरेक महिना ऋण केही घट्दै थियो, तर उसले छोरीसँग बिताउन नपाएको समय बढ्दै थियो ।
मोबाइलको ग्यालरीमा छोरीका तस्बिरहरू थपिइरहेका थिए । कुनैमा ऊ विद्यालय जाँदै गरेकी हुन्थी, कुनैमा जन्मदिनको केक काट्दै गरेकी त कुनैमा पुरस्कार समातेर मुस्कुराउँदै गरेकी ।
सागर ती तस्बिरहरू हेरेर खुसी हुन्थ्यो । तर फोन बन्द गरेपछि आफू ती तस्बिरमा कतै नभएको कुरा सम्झिन्थ्यो ।
एक दिन कार्यस्थलमा सागरले प्रयोग गरिरहेको उपकरणमा समस्या देखियो । उसले सम्बन्धित व्यक्तिलाई जानकारी गरायो ।
‘यो ठीक छैन । फेर्नुपर्छ ।’
‘आजको काम सकाऊ । भोलि हेर्छौं,’ सुपरभाइजरले भन्यो ।
सागरलाई असहज लाग्यो ।
काम रोक्दा विवाद हुन सक्थ्यो । यसअघि पनि उसले काम र तलबका विषयमा प्रश्न उठाएको थियो । आफूलाई समस्याग्रस्त कर्मचारी ठानिएला भन्ने डर थियो । उसलाई रोजगारदाताको जिम्मेवारी र आफ्नो अधिकारबारे केही जानकारी थियो, तर त्यसलाई व्यवहारमा प्रयोग गर्न आवश्यक सहयोग र आत्मविश्वास ऊसँग पर्याप्त थिएन ।
त्यही साँझ उसले अनुलाई फोन ग¥यो ।
‘म अर्को महिना केही दिन बिदा मिलाउने प्रयास गर्छु,’ सागरले फोनमा भन्यो ।
‘साँच्चै ?’ अनु आश्चर्यचकित भइन् ।
‘नानीको जन्मदिन आउँदै छ । उसलाई यसपालि झुटो आश्वासन दिन मन छैन ।’
‘पहिला बिदा पक्का गराउनु । टिकट महँगो होला,’ अनुले भनिन् ।
‘टिकटको चिन्ता नगर । यसपटक जसरी पनि आउँछु ।’
छोरीले कुरा सुनिरहेकी रहिछे ।
‘बाबा, म पुतलीलाईभन्दा हजुरलाई कुरेर बसेकी छु ।’
सागर केही बेर बोल्न सकेन ।
‘म आउँछु,’ उसले बिस्तारै भन्यो ।
त्यो रात उसले मोबाइलमा घर फर्किने हवाई टिकटको मूल्य हे¥यो । एउटा सम्भावित उडानको विवरण सुरक्षित ग¥यो । तर टिकट काटेन ।
बिदा स्वीकृत हुन बाँकी थियो ।
भोलिपल्ट बिहान सागर काममा गयो । दिउँसो कार्यस्थलमा दुर्घटना भयो ।
मर्मतसम्भारको काम गरिरहेका बेला ऊ उचाइबाट खस्यो । साथीहरूले सहयोग गरे । एम्बुलेन्स आयो । उसलाई अस्पताल पु¥याइयो ।
दुर्घटनाको सम्पूर्ण परिस्थिति, सुरक्षा व्यवस्थाको अवस्था र जिम्मेवारीबारे जाँच हुनुपर्ने थियो । तर ती प्रश्नको उत्तर खोजिनुअघि नै सागरको जीवनसँग जोडिएका सबै योजना अनिश्चित भइसकेका थिए ।
अस्पतालमा उपचारका क्रममा उसको मृत्यु भयो ।
त्यस रात नेपालमा अनु छोरीलाई खाना खुवाउँदै थिइन् ।
उनको फोनमा घण्टी बज्यो ।
फोनको स्क्रिनमा अपरिचित नम्बर देखियो ।
पहिलोपटक फोन उठाउँदा उनले सबै कुरा बुझिनन् । बोल्ने व्यक्तिले सागरको नाम लियो, कम्पनीको नाम भन्यो र दुर्घटनाबारे जानकारी दियो ।
अनुले दोहो¥याएर सोधिन्, ‘अस्पतालमै हुनुहुन्छ ? म उहाँसँग कुरा गर्न सक्छु ?’
उनले अधीर हुँदै सोधिन् ।
उताबाट केहीबेर कुनै जवाफ आएन । त्यसपछि आएको उत्तरले उनको जीवनलाई दुई भागमा बाँडिदियो– त्यो फोन आउनुअघि र त्यसपछि ।
अनुको हातबाट मोबाइल खस्यो ।
छोरी डराई ।
‘आमा, के भयो ?’ छोरीले सोधी ।
अनुले केही भन्न सकिनन् ।
छोरीले मोबाइल उठाई र स्क्रिनमा बाबाको भिडियो खोज्न थाली ।
सागरको मृत्यु भएको खबर गाउँमा फैलिन धेरै समय लागेन । आफन्त आए । छिमेकी आए । सबैले सान्त्वना दिए ।
तर अनुका अगाडि सान्त्वनाभन्दा धेरै सागरसँग सम्बन्धित प्रश्न थिए ।
शव कहिले आउँछ ? बाँकी तलब कसरी प्राप्त हुन्छ ? दुर्घटनाको अनुसन्धान कसरी अघि बढ्छ ? बिमा तथा कल्याणकारी सहायता पाउन के प्रक्रिया पूरा गर्नुपर्छ ? ऋण कसले तिर्छ ?
कसैले दूतावासमा सम्पर्क गर्न भन्यो । कसैले म्यानपावर कार्यालय जान सुझायो । कसैले वैदेशिक रोजगार बोर्डको प्रक्रिया बुझ्न सल्लाह दियो ।
यी संस्थाहरूका आ–आफ्ना जिम्मेवारी थिए । कानुनले विभिन्न सहायता र दाबीका बाटा पनि व्यवस्था गरेको थियो । तर शोकमा डुबेकी अनुका लागि कुन कागज कहाँ बुझाउने र कुन अधिकार कसरी माग्ने भन्ने कुरा सजिलो थिएन ।
सागरले विदेश जानुअघि सावधानीपूर्वक राखेका कागजात खोज्न थालिन् । राहदानीको प्रतिलिपि, श्रम स्वीकृति, बिमाका विवरण र रोजगार सम्झौता एउटा पुरानो फाइलमा भेटिए ।
फाइल खोल्दा छोरीले सोधी, ‘आमा, बाबाको टिकट पनि यहीँ छ ?’
अनुले छोरीलाई अँगालो हालिन् ।
‘छोरी, बाबा आउनुहुन्छ ।’
त्यसपछि उनी केही बोल्न सकिनन् ।
केही दिनपछि सागरको शव नेपाल आइपुग्यो ।
जुन विमानस्थलबाट ऊ सपना बोकेर उडेको थियो, त्यही विमानस्थलमा बाकसमा बन्द भएर उसको शव अवतरण गरेको थियो ।
अनुले बाकसमा राखिएको नाम पढिन् ।
नाम ठीक थियो । ठेगाना ठीक थियो । कागजात ठीक थिए । तर फर्किएको मान्छे जीवित थिएन ।
सागरका साथीहरूले पछि पठाएको व्यक्तिगत सामानभित्र केही कपडा, पुरानो मोबाइल, एउटा घडी र छोरीले बनाएको चित्र थियो ।
अनुले चित्र निकालिन् ।
त्यसमा तीनजना मानिस अझै घरको आँगनमा उभिएका थिए । रुख उस्तै थियो । सूर्य उस्तै थियो ।
चित्र बनाएको दिन छोरीले कल्पना गरेको परिवारमा कुनै परिवर्तन आएको थिएन । परिवर्तन वास्तविक जीवनमा मात्र भएको थियो ।
अनुले सागरको मोबाइल खोलेर हेरिन् । त्यसमा अझै केही सन्देश थिए । अधुरा कुरा, परिवारसँग भएका पुराना संवाद र घर फर्किने सम्भावित उडानको विवरण ।
उसले खोजेको हवाई टिकटको मिति नजिकिँदै थियो । अनुले मोबाइल बन्द गरिन् ।
सागरको मृत्युपछि अनुले छोरीको पढाइ रोकिन दिइनन् । विभिन्न निकायमा कागजात बुझाउने, बाँकी पारिश्रमिक र उपलब्ध हुन सक्ने सहायता प्राप्त गर्ने प्रक्रिया अघि बढाइन् । केही ठाउँबाट सहयोगको आश्वासन आयो, कतिपय प्रक्रियाका लागि थप प्रमाण मागियो ।
‘कानुनमा अधिकार लेखिएको हुनु र पीडित परिवारले समयमै त्यो अधिकार प्राप्त गर्नु एउटै कुरा रहेनछ,’ भन्ने कुरा अनुले बिस्तारै बुझ्दै गइन् ।
सागरको घटनाबारे अनुसन्धान, रोजगारदाताको सम्भावित जिम्मेवारी र परिवारले पाउन सक्ने सहायता अलगअलग कानुनी प्रक्रियाका विषय थिए । तर अनुको जीवनमा ती सबै एउटै दुःखका फरक नाम थिए ।
कहिलेकाहीँ उनी सोच्थिन्, विदेश जानुअघि भर्ती गर्दा लागेको खर्चको स्पष्ट हिसाब भएको भए, वास्तविक कामको अवस्था राम्ररी बुझ्न पाएको भए, काम गर्ने ठाउँमा जोखिमबारे उठाएको प्रश्न समयमै सुनिएको भए अवस्था फरक हुन्थ्यो कि ?
यी प्रश्नको निश्चित उत्तर उनीसँग थिएन । तर यति कुराचाहिँ स्पष्ट थियो– सागरले विदेश जाने निर्णय परिवारको जीवन सुरक्षित बनाउन गरेको थियो । उसले आफ्नो ज्यान जोखिममा राख्ने निर्णय गरेको थिएन ।
एक वर्ष बित्यो । छोरीको जन्मदिन फेरि आयो ।
अनुले बजारबाट एउटा सानो पुतली किनेर ल्याइन् । छोरीले पुतली समाती, केही बेर खेली र त्यसलाई बाबाको तस्बिरअघि राखिदिई ।
‘आमा, बाबाले ल्याउने भनेको पुतली पनि यस्तै थियो होला है ?’
‘सायद,’ अनुले छोटो उत्तर दिइन् ।
‘बाबा फर्केर किन आउनुभएन ?’ छोरीले सोधी ।
अनुले छोरीको कपाल सुमसुम्याइन् ।
‘बाबा फर्किनुभयो नि, नानी !’
छोरीले आमाको अनुहारमा हेरिन् ।
‘तर बाबाले मलाई किन बोलाउनुभएन ?’
अनुसँग उत्तर थिएन ।
घरबाहिर सूर्य पश्चिम दिशामा बास बस्ने तर्खर गर्दै थियो । सडकमा गाडीहरू गुडिरहेका थिए । घरका छानामाथि अनेकौं तार तन्किएका थिए । मानिसहरू मोबाइलबाट विदेश जाने अवसर खोजिरहेका थिए । विमानस्थलतर्फ जाने बसमा कर्णधार युवाहरू आफ्ना झोलाभरि सपना बोकेर यात्रा गरिरहेका थिए ।
सागरको गाउँबाट पनि त्यही दिन दुईजना युवक वैदेशिक रोजगारीमा जान निस्किएका थिए ।
उनीहरूको हातमा राहदानी थियो । मोबाइलमा श्रम स्वीकृति थियो । परिवारले राम्रोसँग काम गर्न र सुरक्षित फर्किन आग्रह गरेका थिए ।
कोही तलमाथि हुँदैमा समाजको यात्रा कहाँ रोकिन्छ र ?
सागरको घरमा भने समय रोकिएको थियो ।
राति सुत्नुअघि छोरीले बाबाको तस्बिर काखमा राखी र सोधी, ‘आमा, ठुलो भएपछि म पनि विदेश जानुपर्छ र ?’
अनुले छोरीलाई आफ्नो छातीमा टाँसिन् ।
‘तिमीले जहाँ मन लाग्छ, त्यहीँ काम गर्न पाउनुपर्छ । विदेश जान मन लागे जानू, यहीँ बस्न मन लागे यहीँ बस्नू ।’
‘अनि म जहाँ गए पनि फर्किन पाउँछु नि ?’
छोरीको थप प्रश्नले अनुलाई आँखाको कुनो पुछ्न बाध्य बनायो ।
‘पाउनुपर्छ, छोरी । सबैले फर्किन पाउनुपर्छ ।’
छोरी निदाई । उसको एउटा हातमा अझै पुतली थियो ।
अनु बत्ती निभाउन उठिन् । दराजको तल्लो खण्डमा सागरको पुरानो मोबाइल राखिएको थियो । उनले चार्जर जोडिन् । केही बेरपछि स्क्रिन उज्यालो भयो ।
सुरक्षित गरिएको उडानको विवरण अझै त्यहीँ थियो । मिति, समय, मूल्य । तल ‘टिकट काट्नुहोस्’ लेखिएको बटन । सागरले त्यसलाई कहिल्यै थिचेन ।
उनले म्यासेज बक्स खोलिन् । सबैभन्दा माथि नपठाइएको एउटा सन्देश थियो ।
‘अनु, म तिमीलाई एउटा कुरा भन्न चाहन्थेँ । यहाँ सबै...’
वाक्य त्यहीँ टुंगिएको थियो ।
अनुले त्यसलाई धेरै बेर हेरिन् । सागर प्रत्येक रात फोनमा ‘राम्रो छ’ भन्थ्यो । यो अधुरो वाक्य उसले पठाउन सकेन । यसलाई पूरा गर्ने कोसिस अनुले पनि गरिनन् ।
उनले मोबाइल बन्द गरिन् । सिरानीमा राखिएको चित्र निकालेर एकपटक हेरिन् । रुख, आँगन, ठुलो सूर्य र त्यसमुनि उभिएका तीनजना । चित्रको कुनामा बांगाटिंगा अक्षरमा लेखिएको थियो, ‘हाम्रो परिवार’ ।
उनले चित्र पट्याएर फेरि छोरीको सिरानीमुनि राखिदिइन् ।
त्यही समयमा बाहिर आकाशमा एउटा विमान कर्कश आवाज निकाल्दै उड्यो । अनु बरन्डामा निस्किइन् र त्यसको बत्ती आकाशमा नहराउन्जेल हेरिरहिन् ।
भोलि पनि कोही विदेश जाँदै हुनेछ । कुनै आमाले छोरालाई बिदाइ गर्दै हुनेछिन् । कुनै छोरीले बाबासँग पुतली माग्दै हुनेछिन् । र कुनै घरमा फेरि कसैले प्रार्थना गर्दै हुनेछ, ‘मेरा आफ्ना सकुशल फर्किऊन् ।’
कहिलेसम्म प्रार्थनाकै भरमा मान्छे पठाइरहने ? कहिलेसम्म फर्किएका बाकस गन्दै बस्ने ?
उत्तर कुरेर बस्नेहरूको लाइन पहिले नै लामो थियो । अब त्यसमा अनु पनि थपिइन् ।
धरान–१५, सुनसरी । हाल ः दोहा, कतार ।

laxmi recruitement

ताजा खबर

सम्बन्धित खबर