
काठमाडौँ : नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विस्तृत शान्ति सम्झौतालाई नेपालको राजनीतिक इतिहासमा युगान्तकारी रूपान्तरण र राष्ट्रिय एकताको महत्वपूर्ण दस्तावेजका रूपमा व्याख्या गरेका छन् ।
शान्ति सम्झौताको पूर्ण कार्यान्वयन र द्वन्द्वपीडितलाई न्याय सुनिश्चित गर्नु सबैको साझा जिम्मेवारी भएको उनले बताएका छन् ।
विस्तृत शान्ति सम्झौता भएको दिन (मङ्सिर ५) को अवसरमा आज एक सन्देश जारी गर्दै उनले सङ्क्रमणकालीन न्यायको प्रक्रियालाई निष्कर्षमा पुर्याउनु आजको राष्ट्रिय आवश्यकता भएको बताएका हुन् ।
२०६३ मङ्सिर ५ गते तत्कालीन नेपाल सरकारका तर्फबाट प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र विद्रोही नेकपा (माओवादी)का तर्फबाट अध्यक्षका रूपमा आफूले शान्ति सम्झौतामा हस्ताक्षर गरेको स्मरण गर्दै संयोजक दाहालले उक्त सम्झौता नेपाली जनताको त्याग, बलिदान र सङ्घर्षबाट निर्मित राष्ट्रिय सहमतिको दस्ताबेज भएको उल्लेख गरेका छन् ।
उनले भनेका छन्, “विस्तृत शान्ति सम्झौताकै जगमा संविधानसभाको निर्वाचन, सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थापना, समावेशी लोकतन्त्र र संविधान निर्माणजस्ता ऐतिहासिक उपलब्धि हासिल भए । तर, सम्झौताका सबै प्रतिबद्धता अझै पूर्ण रूपमा कार्यान्वयन हुन सकेका छैनन् ।”
विशेषगरी द्वन्द्वपीडितलाई न्याय, सत्य निरूपण तथा मेलमिलाप, बेपत्ता पारिएका व्यक्तिको अवस्था सार्वजनिक गर्ने कार्य र सङ्क्रमणकालीन न्यायका बाँकी काम पूरा गर्ने दायित्व अझै बाँकी उनको भनाइ छ । शान्ति सम्झौताको मर्म द्वन्द्वको अन्त्य मात्र नभई पीडितलाई न्याय, समाजमा मेलमिलाप र सुशासनसहितको समृद्ध राष्ट्र निर्माण गर्नु रहेको उनले स्पष्ट पारेका छन् ।
संयोजक दाहालले संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि जीवन आहुति दिने सहिद तथा बेपत्ता योद्धाहरूप्रति उच्च सम्मान व्यक्त गर्दै शान्ति प्रक्रियामा योगदान पुर्याउने राजनीतिक दल, नागरिक समाज, सुरक्षाकर्मी र आम नागरिकप्रति आभार प्रकट रेका छन् ।
उनले शान्ति सम्झौता राष्ट्रिय प्रतिबद्धता भएकाले यसको पूर्ण कार्यान्वयन गर्नु सबैको साझा जिम्मेवारी भएको सन्देशमा उल्लेख गरेका छन् ।