
नेपालगन्ज : १२औँ धारा नेपालगन्ज म्याराथनको उपाधि पहिलोपटक विदेशी खेलाडीले जितेका छन् । शनिबार सम्पन्न प्रतियोगितामा केन्याका धावक जुलियस मुरिउकीले निर्धारित दूरी २ घण्टा २० मिनेट २५ सेकेन्डमा पूरा गर्दै उपाधि जितेका हुन् ।
उपाधिसँगै मुरिउकीले नगद दुई लाख रुपैयाँ, ट्रफी र पदक प्राप्त गरे । नेपाली धावक कुलबहादुर बस्नेत दोस्रो र कृष्णबहादुर तेस्रो भए । कुलबहादुरले २ घण्टा २३ मिनेट १ सेकेन्ड तथा कृष्णबहादुरले २ घण्टा २४ मिनेट २९ सेकेन्डमा दौड पूरा गरेका थिए । उनीहरूले क्रमशः एक लाख र ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गरे ।

म्याराथनमा करन रावल, भूपेन्द्र चालिसे, कर्णबहादुर रोका मगर, एल्काना किमेली, राजन चौधरी, कमलराज तिमल्सिना र निरज भट्ट क्रमशः चौथोदेखि दशौँ स्थानसम्म रहे। शीर्ष दश स्थान हासिल गर्ने खेलाडीलाई आयोजकले नगद पुरस्कार प्रदान गरेको थियो ।
महिला हाफ म्याराथनतर्फ जुम्लाकी राज्यलक्ष्मी रावत च्याम्पियन बनिन् । उनले निर्धारित दूरी १ घण्टा २७ मिनेट ३४ सेकेन्डमा पूरा गरिन् । सम्झना लिम्बु १ घण्टा २८ मिनेट २८ सेकेन्डसहित दोस्रो र सरस्वती भट्टराई १ घण्टा ३० मिनेट ३५ सेकेन्डसहित तेस्रो भइन् । अगा लिम्बुले पाँचौँ स्थान हासिल गरिन् । हाफ म्याराथनका शीर्ष चार खेलाडीले क्रमशः ७५ हजार, ५० हजार, २५ हजार र १० हजार रुपैयाँ प्राप्त गरे ।

दश किलोमिटर खुला पुरुष दौडमा गणेश रावत पहिलो, बलबहादुर राई दोस्रो र बुद्धिराम भुसाल तेस्रो भए। उनीहरूले क्रमशः २५ हजार, १५ हजार र १० हजार रुपैयाँ पुरस्कार पाए ।
पाँच किलोमिटर खुला पुरुषतर्फ दामोदर बस्नेत, रितेश घर्ती मगर र प्रकाश यादवले क्रमशः पहिलो, दोस्रो र तेस्रो स्थान हासिल गरे । महिला खुलातर्फ स्वस्तीका शाही पहिलो, सरिता राना दोस्रो र अप्सरा बम ठकुरी तेस्रो भए। दुवै विधाका शीर्ष तीन खेलाडीलाई क्रमशः १० हजार, पाँच हजार र दुई हजार रुपैयाँ प्रदान गरियो ।

ह्वीलचेयर दौडतर्फ यज्ञबहादुर खत्री, मनकुमारी परियार, देवकुमारी थारु, श्यामकली थारु र थमन थारुले शीर्ष पाँच स्थान हासिल गरे । उनीहरूलाई क्रमशः पाँच हजार, तीन हजार, दुई हजार र एक हजार रुपैयाँ पुरस्कार प्रदान गरिएको थियो ।
कर्पोरेट रनतर्फ इन्जिनियर प्रवीण बस्नेत पहिलो भए । डा. विश्वनाथ शर्मा दोस्रो, इन्स्योरेन्स म्यानेजर नवीन शर्मा तेस्रो र डा. जोसन न्यौपाने चौथो भए ।
यस वर्षको पाँच किलोमिटर विद्यालयस्तरीय दौडलाई प्रतिस्पर्धारहित बनाइएको थियो । सानै उमेरका बालबालिकालाई जितहारको मनोविज्ञानबाट मुक्त राख्ने उद्देश्यले सहभागी सबैलाई पदक प्रदान गरिएको आयोजकले जनाएको छ ।

विजयी खेलाडीलाई मिस नेपाल वर्ल्ड दीपमाला ढकाल, केएल दुगड ग्रुपका निर्देशक सौरभ दुगड र दिव्या दुगड, शिखर प्लाईकी निर्देशक कुसुम दुगड, केएल दुगड ग्रुपका प्रमुख कार्यकारी अधिकृत प्रदीप छाजेड, नेपालगन्ज म्याराथनका संस्थापक अध्यक्ष टीएस ठकुरी, संस्थापक सदस्य जनक नेपाल, पूर्वउपमेयर उमा थापा तथा लुम्बिनी प्रदेश खेलकुद परिषद्का पूर्वसदस्यसचिव भीम ओलीलगायतले पुरस्कार वितरण गरेका थिए ।
नेपालगन्ज उपमहानगरपालिकाका मेयर प्रशान्त विष्टले म्याराथनको उद्घाटन गरेका थिए । बाँकेका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङसहित सुरक्षा निकायका अधिकारीहरू स्वयं उपस्थित भएर सडक व्यवस्थापनमा सहयोग गरेका थिए ।

१२औँ संस्करणमा पहिलोपटक विदेशी धावकले उपाधि जितेसँगै नेपालगन्ज म्याराथनले अन्तर्राष्ट्रिय सहभागिता र प्रतिस्पर्धाको नयाँ आयाम थपेको छ ।