सुर्य प्रकाश बुढा मगर/मध्यान्ह
रोल्पा : रोल्पाको परिवर्तन गाउँपालिकाले आधारभूत तह (कक्षा ८) को नतिजा सार्वजनिक गरेको छ । सार्वजनिक नतिजा अनुसार जम्मा परीक्षार्थीमध्ये करिब ८.०३ प्रतिशत मात्रै उत्तीर्ण भएका छन् । परीक्षामा सहभागी भएका १७ विद्यालयका ४६९ जना विद्यार्थीमध्ये जम्मा ३८ जना विद्यार्थी उत्तीर्ण भएका छन् ।
कक्षा ५ र ८ को परीक्षा व्यवस्थित गर्न र सिकाइ गुणस्तर बनाउन प्रयास भइरहेको गाउँपालिकाका शिक्षा शाखा प्रमुख बालाराम वलीले बताए । उनले भने, ‘हामीले परीक्षा व्यवस्थित गराउन र सिकाइ गुणस्तर बढाउन अलि मेहनत गरिरहेका थियौं । अर्को वर्षदेखि नतिजामा सुधार आउँछ भन्नेमा हामी विश्वस्त छौं ।’
गाउँपालिकाले दुई विषयसम्म एनजी ल्याउने विद्यार्थीलाई ग्रेडवृद्धि परीक्षा दिन पाउने व्यवस्था गरेको शाखा प्रमुख वलीले बताए । उनका अनुसार २२९ जना विद्यार्थीले ग्रेडवृद्धि परीक्षा दिन पाउनेछन् ।
शुक्रबार परीक्षाको नतिजा सार्वजनिक गरेको गाउँपालिकाले ११ र १२ वैशाखमा हुने ग्रेडवृद्धि परीक्षाका लागि आवेदन फारम भर्न सूचित गरेको छ । साथै नतिजामा चित्त नबुझेको अवस्थामा पुनःचेक कपी हेर्न सकिने समेत गाउँपालिकाले जनाएको छ । परिवर्तन गाउँपालिकाले चैत ५ देखि १३ गतेसम्म परीक्षा सञ्चालन गरेको थियो ।
सरकारले गत वर्षदेखि विद्यालय तहमा लेटर ग्रेडिङ निर्देशिका,२०७८ लागू गरेको छ । निर्देशिका अनुसार विद्यार्थीले सैद्धान्तिक ५० पूर्णाङ्क परीक्षामा १७.५ अंक नल्याए विद्यार्थी फेल हुने व्यवस्था छ । त्यस्तै कुनै विषयमा १७.५ प्रतिशतभन्दा कम अंक ल्याए प्रमाणपत्रमा एनजी (नन ग्रेडेड) उल्लेख हुनेछ । विद्यार्थीले कुनै पनि विषयमा एनजी ल्याएको अवस्थामा माथिल्लो कक्षा पढ्न पाउँदैनन्–वलीले भने।आधारभूत तह (कक्षा ८ र ५) लाई परिवर्तन गाउँपालिकास्तरीय समेत बनाइएको छ । आधारभूत तह (कक्षा ५)को भने परीक्षा नतिजा आउन बाँकी रहेको परिवर्तन गाउँपालिका शिक्षा शाखाले जानकारी दिएको छ ।
सुर्य प्रसाद भुसाल/मध्यान्ह
अर्घाखाँची : अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वडा नं. ४ साविक वाङ्गलास्थित वैकुण्ठपुरी संग्रहालय अहिले सबैको घुम्ने र मन बहकाउने स्थलको रुपमा विकसित हुँदै गएको छ ।
बिदाको दिन होस् वा अन्य कुनै दिन त्यहाँ भिडभाड नभएको दिन नहुने स्थानीयबासीहरु बताउँछन् । मेला पर्व तथा अन्य बिदाको दिन त्यहाँ आउने, घुम्ने, नाच्ने, गाउने र भिडियो बनाउनेको भिड लाग्ने गर्दछ । परम्परागत मौलिक संस्कृति, संस्कार र जीवनशैली चिनाउने वैकुण्ठपुरी संग्रहालयमा आजभोलि घुम्न आउने आन्तरिक पर्यटकको संख्या दिनानुदिन बढ्दै गएको जनप्रतिनिधि चोपनारायण श्रेष्ठले बताए ।
मोबाइल र डिजिटल ग्याजेटनै सवैथोक हो भन्नेहरुलाई इतिहास र जीवन सिकाउने सामग्री अवलोकन गर्ने थलो वैकुण्ठपुरीले आन्तरिक पर्यटनलाई प्रवर्द्धन गरेको पत्रकार महासंघका अध्यक्ष अशोक खनाल बताउँछन् । उनले भने, ‘हाम्रो पुर्खाहरूले सामग्रीहरूको तत्कालीन अवस्थामा कसरी प्रयोगमा ल्याइन्थ्ये, त्यसको जटिलता, उपयोगिता, सामाजिक सद्भाव, सामूहिक क्रियाकलापमा संलग्नता जस्ता महत्वपूर्ण बारेमा स्पष्ट ज्ञान पाउन सकिने छ ।’
पत्रकार महासघ अर्घाखाँचीका पूर्वअध्यक्ष निमबहादुर रिजालको सक्रियतामा सन्धिखर्क नगरपालिका–४ वाङ्लाको आमडाँडामा स्थापित संग्रहालयमा लोप हुने अवस्थामा रहेका पुराना भाँडाकुँडा तथा प्रयोग गर्ने सामान राखिएको छ ।
ज्येष्ठ नागरिक जिल्ला संघ अर्घाखाँचीले बाबु–बाजेले प्रयोग गरेका पुराना वस्तु लोप हुन थालेकाले यसलाई भावी पुस्तामा जानकारी गराउने उद्देश्यले संग्रहालय स्थापना गरिएको रिजालले बताए ।
पहिला बाबुबाजेले प्रयोग गरेका तर अहिलेका पुस्ताले नदेखेका सामग्री उक्त संग्रहालयमा राखिएका रिजालको दावी छ ।
कपडा राख्ने काठको मदुस, घ्यू राख्ने हर्पे, तेल राख्ने चौठी, मोही पार्ने काठको ठेको, मदानी, दही जमाउने काठको आरी संग्रहालयमा राखिएको व्यवस्थापक उमा रिजालले बताइन् । यसैगरी उखु पेल्ने काठको कोल, तेल पेल्ने काठको कोल, धान कुट्ने ढिकी, मकै पिस्ने जाँतो, खेतबारी जोत्ने हलो, असारमा हिलोमा लगाउने खोक, काठको दूध निकाल्ने डाडु, काठका चप्पललगायत वस्तु संग्रहालयको मुख्य आकर्षणको रूपमा रहेका छन् ।
उनका अनुसार पानी आउँदा ओढ्ने सिउ, धर्मशालामा राखिने घैँटो, भजनमा बजाउने खैँजडी, डाला, सुपा, तमाखु खान प्रयोग गरिने हुका, चिलिम, पुराना टेपरेकर्डर, भोटे ताल्चा, दाउ, बाँसको काइँयो लगायतका थुप्रै वस्तु संग्राहलयमा राखिएको छ । यस्तै, रुखमा बनाइएको घर र घरमै पालेको कछुवा तथा कमलको फुल पनि आकर्षणको केन्द्रको रूपमा रहेका छन् । यसलाई अझैँ थप व्यवस्थित बनाउने काममा लागिपरेको पत्रकार रिजालको भनाइ छ ।
झुला, पिङ्ग, ट्री हाउस, स्विमिङ पुल, अम्रेला रोड, सेल्फी क्षेत्र, मन्दिर, मूर्ति, माछा तथा कमल पोखरी लगायतका विभिन्न आकर्षक स्थल निर्माण गरेकोले पनि आकर्षकको केन्द्र बनेको छ । ‘संस्कृति र प्रकृति हाम्रा जननी र रक्षक हुन्, यिनको बचाऊ गर्नु हामी सबैको कर्तव्य हो’ भन्ने मान्यताका साथ पुराना सामग्री खोजी संग्राहलय बनाउने सोच आएको बताउने निम बहादुर रिजाललाई पहिले छिमेकीहरूले कवाडी समेत भन्थे, तर अहिले उनीहरू नै टिकट काटेर अवलोकन गर्न आउँदा खुशी लाग्ने रिजालले बताए ।
त्यति मात्र होइन त्यहाँ परम्परागत तथा जातीगत भेषभूषा झल्किने पोशाक, धार्मिक तथा वैदिक कार्यमा प्रयोग हुने सामग्रीहरू, मूर्ति, बाजागाजा लगायत विभिन्न सामग्रीको संकलन तथा संयोजनले धेरै आकर्षक बनेको छ । भएका जग्गा जमिन, सम्पत्ति र सामग्रीहरू सिन्कीको भाउमा मिल्काएर बजार तथा शहरमा बसोबास गर्नेहरू नै अहिले घुम्न आउने गर्दछन् । सोच विचार र लगाव हुने हो भने हामीले प्रयोग गरेर फालेका सामग्रीहरुले धेरै कुरा बताउन र सिकाउन सक्ने त्यहाँ गएर बुझ्न सकिन्छ । सन्धिखर्क मुख्य बजारबाट करिब २० मिनेटमा पक्की सडकको माध्यमबाट पुग्न सकिने वैकुण्ठपुरी संग्रहालय एक पटक पुग्नै पर्ने स्थल बनेको छ ।
सरु भुसाल/मध्यान्ह
अर्घाखाँची : अर्घाखाँचीको शितगंगा नगरपालिकाले नगरपालिकाभित्रका १४ वडामा रहेका स्वास्थ्य चौकीहरुमाफर्त गर्भवती महिलाका लागि निःशुल्क भिडियो एक्सरे सेवा प्रदान गर्ने भएको छ ।
नगर प्रमुख छबिलाल पौडेलका अनुसार नगरपालिकाले शुरु गर्ने ग्रामीण अल्ट्रासाउण्ड कार्यक्रम अन्तर्गत सम्पूर्ण गर्भवतीका लागि भिडियो एक्सरे सेवा उपलब्ध गराउन लागिएको हो । नगरप्रमुख पौडेलले गर्भवती तथा गर्भमा रहेका शिशुको स्वास्थ्य अवस्थाको जाँच गर्न ठाडा प्राथमिक स्वास्थ्य केन्द्र तथा अन्य स्वास्थ्य संस्था धाउनुपर्ने बाध्यताको अन्त्य भएको बताए ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माले भौगोलिक हिसाबले जटिल सबै वडामा यातायातको सहज पहुँच भएपनि गर्भवती महिलाहरुलाई कठिन हुने र कपिलवस्तु, रुपन्देही, दाङका अस्पतालसम्म धाउनुपर्ने बाध्यता भएकाले गाउँमै भिडियो एक्सरे सेवामार्फत सेवा दिन लागिएको बताए । ग्रामीण अल्ट्रासाउण्ड कार्यक्रम वैशाख २ गतेदेखि २४ गतेसम्म सञ्चालन गर्ने गाउँपालिकाले जनाएको छ ।
नगरपालिकाका योजना अधिकृत नुमलाल खनालले यस कार्यक्रमले गाउँका गर्भवती महिला र शिशुको स्वास्थ्य अवस्था जानकारी लिन सजिलो भएको बताए ।
ओबराज शाही/मध्यान्ह
हुम्ला : हुम्लाको मध्य भेगमा रहेको सर्केगाड गाउँपालिका वडा ८ रादेउमा एक जना पुरुषको आगलागीबाट मृत्यु भएको छ । रादेउगाउँबाट २ घण्टा टाढा दुरीमा रहेको कुरिल्ला लेखमा रहेको आफ्नै भेडीगोठमा आगलागी हुँदा ५५ वर्षीय हर्के ऐडीको बिहीबार राति आगलागीमा परेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी निरीक्षक नरेन्द्र चन्दले जानकारी दिए । रातिको समय आगो हावाले उडाएर भेडीगोठमा पुर्याएको थियो ।
ऐडीको आगलागीमा परेर मृत्यु भएको जानकारी पाउनसाथ सर्किदेउ प्रहरीचौकीबाट ८ घण्टाको पैदल हिँडेर प्रहरीको टोली घटनास्थलमा पुगेको थियो । यस्तै भेडीगोठको आगलागीमा परेर ६० वटा भेडा समेत जलेर मरेका छन् ।
ओबराज शाही/मध्यान्ह
हुम्ला : हुम्लाको सिमकोट गाउँपालिकाले रैथाने बाली तथा फलफुल बाली लगाउने जग्गाको माटो परीक्षण शुरु गरेको छ । गाउँपालिका मातहत पर्ने आठ वटै वडामा रैथाने बालि लगाउने जग्गाको माटो परीक्षण गरेर बाली लगाउने प्रवद्र्धन मिलाउने कृषि विकास शाखा प्रमुख नेत्र बहादुर शाहीले बताए । माटो परीक्षण गरेर कुन रैथाने बालि लगाउन उपयुुक्त हुन्छ त्यहि बालि तथा फलफुल लगाउन माटो परीक्षण शुरु गरिएको उनको भनाइ छ ।
सिमकोट गाउँपालिकामा कोदो, फापर, चिनो, कागुने, लट्टे रैथाने बालि, आलु, पिँडालु, प्याज, लसुन जस्ता तरकारी उत्पादन गर्दै आएको तर त्यसको किसानले सोचे जस्तो प्रतिफल नपाउने हुँदा पहिलो पटक गाउँपालिकाको निर्णयमा माटो परीक्षण गरेर किसानलाई कुन माटोमा कुन बाली उपयुक्त छ भन्ने विषय पनि जानकारी दिने गरिँदै आइएको छ ।
माटो परीक्षण गर्दा मलिलो, चिस्यान, पियजमानको पनि परीक्षण गरेको कृषि विकास शाखाले जनाएको छ । किसानलाई पनि माटो परीक्षण गर्न सिकाइएको छ । माटो परीक्षण गर्दा सहभागी नभएका किसानहरुलाई माटो परीक्षण रिपोर्टका बारेमा अभिमुखीकरण पनि दिएको छ ।
त्यस्तै माटो परीक्षण गर्दा उपयुक्त बाली हुने र स्वास्थ्य सुधारमा पनि टेवा पुर्याउने हुँदा गाउँपालिकाले माटो परीक्षण शुरु गरेको हो । सिमकोट गाउँपालिकाका १ सय २० जना किसानको माटो परीक्षण गरिएको छ भने माटो परीक्षण ल्याव पनि स्थापना गरिएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत सुवास आलेले जानकारी दिए ।
प्रचण्ड खत्री/मध्यान्ह
रुकुम पश्चिम : रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका वडा नम्बर १० को सिरुगैराका आगलागी पीडितलाई वडा कार्यलयले राहत सामग्री वितरण गरेको छ । २८ गतेका दिन आगलागी भएकोको वडा कार्यलयले जनाएको छ ।
आगलागी पीडित सिरुगैराका स्थानीय प्रदीप विष्ट र धनमाया विष्टको परिवारलाई ४ थान कम्बल, २ थान त्रिपाल, ३ थान म्याट, ५ थान लत्ता कपडा र ५ रोल डोरी वितरण गरिएको वडा अध्यक्ष हरि चन्दले बताए ।
पीडितहरुलाई केही राहत होस् भन्ने उद्देशले राहत सामग्री वितरण गरिएको अध्यक्ष चन्दले बताए । गत २८ गते आगलागी हुँदा २ वटा घर र घरभित्रका सामान जलेर नष्ट भएको थियो ।
आबिद हुसेन/मध्यान्ह
वीरगञ्ज : नेपाली मुस्लिम समाज पर्साले जिल्ला प्रशासन कार्यालय पर्सामार्फत प्रधानमन्त्री र गृहमन्त्रीलाई ज्ञापनपत्र बुझाएका छन् । मुस्लिम धर्मावलम्बीमाथि आक्रमण गर्ने खालका खबर सम्प्रेषण गरेकोमा आपत्ति जनाउँदै मुस्लिम समाज पर्साले पर्साका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसााललाई ज्ञापनपत्र बुझाएको हो ।
नेपाली मुस्लिम समुदायले सामाजिक हित, राष्ट्रहित, लोकतन्त्र र परिवर्तनका लागि खेलेको भूमिकालाई नजरअन्दाज गर्दै सरकारले पनि मुस्लिमसँग सौतेलो व्यवहार गरेको ज्ञापन पत्र बुझाउन गएका मुस्लिम अगुवा जफर अन्सारीले बताए । रोजाको अवसरमा सामाजिक सञ्जालमा आपत्तिजनक कुराहरु लेखेर मुस्लिम समुदायलाई आँच आउने काम गरेकोमा ज्ञापनपत्रमार्फत आपत्ति जनाउँदै उनीहरुले कारबाहीका लागि गृहमन्त्रीको ध्यानाकर्षण गराएका छन् ।
२८ चैतमा सामाजिक सञ्जालमार्फत सर्वाेच्च अदालतका निवर्तमान न्यायाधीश कमलनारायण दासले लेखेको कुराले मुस्लिम समुदायमाथि ठेस पुगेको ज्ञापनपत्रमा उल्लेख छ । ‘संविधानको भाग ३ मा उल्लेखित मौलिक हक र कर्तव्यको उल्लंघन भएको छ । प्रत्येक नेपालीले वर्तमान संविधानलाई हृदयले मानेको अवस्थामा कमलनारायण दास संविधानको खिलाफ जानुभएको छ’, ज्ञापनपत्रमा लेखिएको छ ।
मुस्लिम समुदायका ईश्वरीय दूत पैगम्बर मुहमद स.को चरित्र हत्या गर्ने व्यक्तिउपर आवश्यक कारबाही गर्न गृहमन्त्रीसँग माग गरिएको छ । साथै मुस्लिम समुदायको संवैधानिक जिउज्यानको सुरक्षा गर्न तथा मस्जिद, मदरसालगायतका धार्मिकस्थलको सुरक्षा गर्न पनि ज्ञापनपत्रमार्फत माग गरिएको छ ।
शान्तिपूर्वक बाँच्न पाउने तथा आस्थाअनुसारको कार्य गर्ने वातावरणको सिर्जना गरिदिन पनि माग गरिएको छ । ज्ञापनपत्र बुझाउनका लागि जफर अन्सारी, मेहबुब अलि, रेयाज अहमद, शेष मन्सुर, अनवर हुसेन, अब्बास मंसुरीलगायत जिल्ला प्रशासन कार्यालय पुगेका थिए ।
यसै विषयमा मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै कमलनारायण दासको नामबाट भएको पोस्टप्रति आपत्ति जनाएका छन् । मुस्लिम समुदायको पवित्र रमजान महिनामा पर्ने रोजालाई इंगित गर्दै मुस्लिम समुदाय, इस्लाम धर्म र इस्लाम धर्मका प्रवर्तकसमेतलाई अनादर र अपमानित गर्ने नियतले झुटा र भ्रामक तथा कपोकल्पित कुराहरु पोस्ट गरी धार्मिक र सामाजिक सद्भाव बिथोलेको आयोगको विज्ञप्तिमा उल्लेख छ । धार्मिक सहिष्णुता र सामाजिक सद्भाव खल्बल्याउनेलाई कानूनी कारबाही गर्न पनि विज्ञप्तिमार्फत माग गरिएको छ ।
सुर्य प्रसाद भुसाल/मध्यान्ह
अर्घाखाँची : नेपाल राष्ट्रिय शिक्षक संगठन अर्घाखाँचीले विभिन्न कार्यक्रम आयोजना गरेर ४५औं शिक्षक दिवस मनाएको छ । संगठनले शिक्षक दिवसको अवसरमा जिल्ला परिषद, प्रशिक्षण, शिक्षक सम्मानलगायतका कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रममा मन्तव्य राख्दै नेपाल राष्ट्रिय शिक्षक संगठनका केन्द्रीय सदस्य रामप्रसाद ढकालले शिक्षकका अधिकारप्रति राज्य उदासिन भएको आरोप लगाए । मुलुकको राजनीतिक परिवर्तनमा महत्वपूर्ण योगदान पुर्याएका शिक्षकहरुले अहिले पनि आफूलाई सुरक्षित महसुस गर्न नसकेको भन्दै उनले पेशागत सुरक्षा र शैक्षिक सुधारका निम्ति सबै शिक्षकहरु एकजुट भएर अगाडि बढ्नुपर्ने बताए । नेपाल राष्ट्रिय शिक्षक संगठन राजनीतिक अधिकारसहितको ट्रेड युनियन अधिकारको पक्षमा दृढ रहेको भन्दै ढकालले ठूलो त्याग र बलिदानबाट प्राप्त उपलब्धिको रक्षाका निम्ति आफूहरु जस्तोसुकै संघर्ष गर्न पछि नपर्ने चेतावनी दिए ।
उनले शिक्षकसँग भएका सम्झौता अक्षरशः लागू गर्नुपर्ने भन्दै सम्झौताअनुसार शिक्षा ऐन जारी नभए स्वीकार्य नहुने चेतावनी दिए । केन्द्रीय सदस्य ढकालले कतिपय पालिकाले शिक्षकमाथि ज्यादती गर्ने गरेको आरोप लगाउँदै एक पटक काठमाडौंको आन्दोलन सम्झन आग्रह गरे ।
नेकपा एमालेका जिल्ला अध्यक्ष पीताम्बर भुसालले मुलुकमा राजनीतिक परिवर्तन भएपनि आर्थिक, सामाजिक र सांस्कृतिक परिवर्तन हुन नसकेको बताए । राजनीतिक परिवर्तनका निम्ति ठूलो योगदान पुर्याएका शिक्षकहरुले गणतन्त्रको स्थापना भएपछि पनि आफूलाई असुरक्षित महसुस गर्नु दुःखद कुरा भएको भन्दै उनले नेकपा एमाले शिक्षकका समस्याप्रति गम्भीर र चिन्तित रहेको बताए । संघीय शिक्षा ऐन शिक्षकमैत्री ल्याउनका निम्ति आफ्नो पार्टीले पहल गर्ने उनको भनाइ थियो ।
नेपाल राष्ट्रिय शिक्षक संगठनका जिल्ला अध्यक्ष ध्रुव केसीको अध्यक्षता, उपाध्यक्ष सिता बन्जाडेको स्वागत मन्तव्य र सचिव पानबहादुर खत्रीको सञ्चालनमा सम्पन्न कार्यक्रममा नेपाल राष्ट्रिय शिक्षक संगठन लुम्बिनी प्रदेश समितिका महासचिव सुरेश गौतम, पेशागत महासंघ नेपालका महासचिव नेत्रप्रसाद पोख्रेल, नेपाल राष्ट्रिय शिक्षक संगठनका पूर्वअध्यक्ष बाबुराम आचार्य, नेकपा एमालेका नेता तथा पूर्वशिक्षक कमल घिमिरेलगयतले मन्तव्य राख्दै शिक्षा क्षेत्रमा आमूल परिवर्तनको खाँचो रहेको बताए । उनीहरुले व्यवहारिक र जनवादी शिक्षाका निम्ति सरकार गम्भीर बन्नुपर्ने बताए ।
कार्यक्रममा माध्यमिक र निम्न माध्यमिक तहमा सिफारिस भइ आएका १ दर्जन बढी शिक्षकहरुलाई सम्मान गर्नुका साथै शिक्षक संगठनले आगामी १ वर्ष गर्ने कामको योजनासमेत निर्माण गरिएको थियो ।
प्रचण्ड खत्री/मध्यान्ह
रुकुम पश्चिम : रुकुम पश्चिमको बाँफिकोट गाउँपालिकाको छिनखेतमा सामाजिक विकास कार्यालय रुकुम पश्चिमको आयोजनामा अपांगता महिला, दलित तथा जनजातिहरुका लागि क्षमता विकास कार्यक्रमका सम्पन्न भएको छ । छिनखेतमा भएको तालिममा १० जना अपांगता भएका व्यक्तिको सहभागिता रहेको थियो । तालिमको जिल्ला समन्वय समिति रुकुम पश्चिमका उपप्रमुख देबबहादुर बिकले उद्घाटन गरेका थिए ।
तालिममा विभिन्न कार्यालय र स्थानीय तहबाट सेवा सुविधा लिनबाट वञ्चित अपांगता भएका व्यक्तिलाई सेवा कसरी दिने भन्ने विषयमा सिकाइएको थियो । अपांगता भएका व्यक्तिलाई गर्ने व्यवहार तथा अपांगमैत्री कसरी बनाउन सकिन्छ भन्ने विषयमा पनि सिकाएको थियोे ।
बाँफिकोट गाउँपालिकाका अध्यक्ष जनककुमार बाठाको अध्यक्षतामा भएको कार्यक्रममा समन्वय समिति उपप्रमुख बिकको प्रमुख आतिथ्यता रहेको थियो । त्यस्तै पूर्वगाउँपालिका अध्यक्ष धर्मबहादुर केसी, गाउँपालिका उपाध्यक्ष तारा बुढा केसी, सामाजिक विकास कार्यालय रुकुम पश्चिमका कार्यलय प्रमुख धनन्जय आचार्यलगायतको सहभागिता रहेको थियो भने कार्यक्रमको सञ्चालन बाँफिकोट गाउँपालिका अन्तर्गत महिला तथा बालबालिकाका शाखा प्रमुख पुष्षा ददेलले गरेकी थिइन् । कार्यक्रमको बारेमा कार्यालय प्रमुख आचार्यले प्रष्ट पारेका थिए । कार्यक्रमको सहजीकरण अपांग अधिकारकर्मी गणेश बहादुर केसीले गरेका थिए ।
लक्ष्मण यादव/मध्यान्ह
सर्लाही : सर्लाहीका १८ स्थानीय तह अझै दमकलविहीन छन् । जिल्लाका २० स्थानीय तहमध्ये २ वटामा मात्रै दमकल रहेका छन् । दमकल नभएका स्थानीय तहमा आगलागी भएमा अन्य स्थानीय तहसँग मागेर काम चलाउनुपर्ने बाध्यता रहेको छ ।
जिल्लाको सदरमुकामसमेत रहेको मलंगवा नगरपालिका र मलंगवादेखि ३५ किलोमिटरको दुरीमा रहेको हरिवन नगरपालिकासँग मात्र वारुणयन्त्र छ । जिल्लाका ८ लाख ६२ हजार ४ सय ७० जनसंख्यालाई विपद (आगलागी)को बेला सेवा दिनका लागि जम्मा दुई वटा वारुणयन्त्र रहेको छ । पुरानो संरचना भएको बेला नै मलंगवा नगरपालिकाले आगो निभाउने उद्देश्य राखेर वारुणयन्त्र खरिद गरी सञ्चालनमा ल्याएको थियो भने नयाँ संरचना हुँदा हरिवन नगरपालिकाले वारुणयन्त्र खरिद गरेको छ ।
दमकल सञ्चालन गर्न हरिवन नगरपालिकाले बागमती, लालबन्दी, इश्वरपुर हरिपुर र बरहथवा नगरपालिकासँग वार्षिकरुपमा ३/३ लाख रुपैयाँ लिने गरी सम्झौता गरेको हरिवनका नगर प्रमुख रमेश बुढाथोकी (कमल)ले बताए । उनले सम्झौता गरेका स्थानीय तहमध्ये बरहथवा र लालबन्दी नगरपालिकाले गत आर्थिक वर्षदेखिको रकम नदिएको बताए । सम्झौता नभएको स्थानीय तहलाई सहयोग स्वरुप नि:शुल्क सेवा दिइरहेको उनको भनाइ छ ।
त्यस्तै, मलंगवा नगरपालिकाले भने कुनैपनि स्थानीय तहसँग सम्झौता नगरी नि:शुल्क सेवा प्रदान गर्दै आइरहेको मलंगवा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत होमनाथ सुवेदीले जानकारी दिए । सर्लाहीमा १३ नगरपालिका र ७ गाउँपालिका गरी २० स्थानीय तह छन् ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies