स्याङ्जाः स्याङ्जाको गल्याङ–१ मालुङ्गा उत्तरबाहिनीमा प्राकृतिक चिकित्सालयको भवन निर्माण थालिएको छ । प्राकृतिक चिकित्सा पद्धतिबाट गरिने उपचार प्रभावकारी बन्दै गएपछि दीर्घकालीन रोगका बिरामीलाई सेवा दिने उद्देश्यले चिकित्सालयको निर्माण थालिएको हो ।
चिकित्सालयको बिहीबार नेपाली कांग्रेसका केन्द्रीय उपसभापति एवं प्रतिनिधिसभा सदस्य धनराज गुरुङले शिलान्यास गर्दै निर्माणाधीन भवन समयमै सम्पन्न हुने विश्वास व्यक्त गरे । उनले चिकित्सालयको थप व्यवस्थापनका लागि आफूले पहल गर्ने प्रतिबद्धता जनाएका थिए ।
आकस्मिक र भाँच्चिएका वा तत्कालै सेवा लिनुपर्नेबाहेकका दीर्घकालीन रोगका बिरामीको उपचारलाई लक्षित गरी चिकित्सालय निर्माण थालिएको कालीगण्डकी प्राकृतिक अस्पतालका संरक्षक एवं कालीगण्डकी ज्ञान विज्ञान प्रतिष्ठानका अध्यक्ष चैतन्य कृष्णले बताए ।
एलोपेथिक उपचारभन्दा फरक तरिकाले औषधिको प्रयोगबिना नै विभिन्न रोगको प्राकृतिक पद्धतिद्वारा उपचार गरिने उनले जानकारी दिए । ‘औषधिविहीन विभिन्न पद्धतिको प्रयोग गरेर उपचार गर्नका लागि चिकित्सालय निर्माण थालिएको हो, पछिल्लो समय प्राकृतिक चिकित्सा पद्धति प्रभावकारी हुँदै जाँदा दीर्घकालीन रोगका बिरामी यस पद्धतिमार्फत उपचार गर्न आकर्षित भएका छन्’, अध्यक्ष कृष्णले भने ।
फिजियोथेरापी, अङ्कुपञ्चर, अङ्कुप्रेसर, मसाज, पञ्चतत्व, योग, स्टिमबाथलगायतका पद्धतिमार्फत बिरामीलाई उपचार गरिने उनले बताए । सहरी विकास मन्त्रालय काठमाडौं तथा गल्याङ नगरपालिकाको दुई करोड १२ लाखको लागतमा चिकित्सालय निर्माण हुने भएको हो ।
आगामी असार मसान्तसम्म निर्माण सम्पन्न हुने उक्त चिकित्सालय पहिलो चरणमा एक तलाको हुनेछ । कुल १२ कोठा र दुईवटा ट्रस हुने अध्यक्ष कृष्णले बताए । चिकित्सालय निर्माण भएसँगै उपचारका लागि टाढा–टाढा जानुपर्ने बाध्यता हट्ने भएपछि स्थानीय खुसी छन् ।
उक्त चिकित्सालय कालीगण्डकी नदीको किनारमा अवस्थित ४२ रोपनी क्षेत्रफलमा फैलिएको छ । प्राकृतिक चिकित्सा पद्धतिबाट हुने उपचार विशेषगरी दीर्घकालीन समस्या भएका बिरामीलाई बढी प्रभावकारी हुने गरेकाले आकर्षण बढ्दै गएको छ ।
बागलुङः बागलुङको तमानखोला गाउँपालिकाका स्थानीयले स्वास्थ्यचौकी र सामुदायिक स्वास्थ्य एकाइमा उपचार गराउँदै आएका छन् । यहाँ अहिलेसम्म ठूलो अस्पताल बनेका छैनन् ।
सरकारको ‘एक पालिका, एक आधारभूत अस्पताल’को नीतिअनुसार वडा नम्बर ५ को खुङ्खानीमा तमानखोला आधारभूत अस्पताल निर्माणाधीन अवस्थामा छ । दुई वर्ष अगाडिदेखि निर्माण शुरु भएको उक्त अस्पताल ठेकेदारको लापरवाहीका कारण अहिलेसम्म सम्पन्न हुनसकेको छैन ।
निर्माणाधीन अस्पताल अहिले अलपत्र बनेको छ । गाउँमै पालिकास्तरीय अस्पताल बन्न थालेपछि खुसी भएका स्थानीय लामो समयदेखि काम नहुँदा निराश बनेका छन् । अस्पताल निर्माणका लागि वि.सं. २०७७ असार २० गते ज्ञान ज्योति÷कुँवर आयोजना जेभीले रु. १३ करोड लागतमा निर्माणको जिम्मा पाएको थियो । हालसम्म १२ वटा पिलर ठड्याउनु बाहेक अरु काम हुन सकेको छैन । यतिबेलासम्म निर्माण सम्पन्न हुनुपर्नेमा करिब १० प्रतिशतमात्रै काम सकिएको स्थानीयको भनाइ छ ।
गाउँमा स्वास्थ्य संस्था भए पनि जटिल रोग लागे उपचारका लागि अन्य ठूला अस्पतालमा जानुपर्ने बाध्यता रहेको स्थानीय पूर्णबहादुर विकले बताए । निर्माणाधीन अस्पताल सम्पन्न भइ सञ्चालनमा आएपछि सामान्य रोगको उपचार गराउन टाढा जानु नपर्ने उनको भनाइ छ । ‘गाउँमा स्वास्थ्यचौकी त छन् तर, यहाँ खासै उपचार हुँदैन, केही बिरामी परिहाले बुर्तिबाङ जानुपर्छ, यहाँ अस्पताल बन्न लागेको दुई वर्ष भयो, अहिलेसम्म थोरै मात्र काम भएको छ, यो बन्ला भन्ने आश नै मर्न लाग्यो’, विकले भने ।
निर्माण कम्पनीले वि.सं. २०८० पुस २० सम्ममा निर्माण सम्पन्न गर्ने गरी पहिलोपटक म्याद थपेको छ । तमानखोला गाउँपालिका–५ का अध्यक्ष हीराबहादुर विकले निर्माण कम्पनीलाई पटक–पटक काम गर्न आग्रह गरे पनि विभिन्न बहाना बनाएर काम नगरेको बताए ।
‘निर्माण कम्पनीसँग बसेर छलफल गरियो, निर्धारित समयभित्र काम सक्छौँ भने पनि फिल्डमा काम गर्न आउँदैनन्, विद्युत्, खानेपानी र कामदारका लागि बस्ने व्यवस्थापनसमेत गरेका थियौँ, अस्पताल समयमै बनोस् भन्ने चाहेका छ’, अध्यक्ष विकले भने ।
अस्पताल सङ्घीय सरकारले विनियोजन गरेको बजेटबाट निर्माण हुन लागेको हो । सघन सहरी तथा भवन निर्माण आयोजना कार्यालय बागलुङकी प्रमुख सुनिता श्रेष्ठले थपेको म्यादसम्म काम नगरे ठेक्का रद्द गर्ने बताइन् । लामो समयसम्म काम नगरेपछि जनप्रतिनिधि र ठेकेदारसँग बैठक बसी तत्काल काम शुरु गर्ने निर्णय भएको प्रमुख श्रेष्ठको भनाइ छ ।
काठमाडौंः मुलुकमा शान्ति होस् भन्ने कामनाले पशुपति क्षेत्रमा गरिएको देशोद्धार पूजासहितको वत्सलेश्वरी जात्रा समापन गरिएको छ ।
आर्यघाट जाने बाटोस्थित वत्सलेश्वरी मन्दिर परिसरबाट फागुन ३० गते शुरु भएको जात्रा पशुपति क्षेत्रका सबै टोलमा घुमाइएको छ । पशुपति क्षेत्रभर घुमाएपछि बिहीबार राति जात्रा सकिएको पशुपति क्षेत्र विकास कोष अमालकोट कचहरीका द्वारे पूर्ण डङ्गोलले जानकारी दिए ।
चैत्र कृष्ण अष्टमीका दिन फागुन ३० गते पशुपतिका भट्टले नै जात्रामा उपत्यकाका मुख्य देवदेवी एवं स्थानीयलाई जात्रा हेर्न आउनु भनी निमन्त्रणा गरेका थिए । योत्रामा यसरी निमन्त्रणा दिने लिच्छविकालदेखिको परम्परा रहेको जनाइएको छ । उपत्यकाका देवदेवीलाई निमन्त्रणा गरेपछि देशोद्वार पूजासमेत भनिने यो जात्रा शुरु भएको थियो ।
जात्राअघि बज्रेश्वरी, वत्सलेश्वरी, आकाशभैरव, पशुपति क्षेत्रका नौ शक्तिपीठलगायत स्थानमा देशोद्धार पूजा सम्पन्न गरिएको हो । चैत्र शुक्ल द्वितीयाका दिन बिहीबार राति सिन्दुर जात्रा गरी वत्सलेश्वरी जात्रा समापन गरिएको हो । एघार दिनसम्म चल्ने यो जात्रा पशुपति क्षेत्रका लामो जात्रामध्येको एक हो ।
मुलुकमा शान्ति होस् भन्ने कामनाले पूजा एवं जात्रा गरिएकाले दूध खाने बालक पनि यो जात्रा हेर्न आउँछन् भन्ने विश्वास पशुपति क्षेत्रमा गरिन्छ । देशोद्धार पूजा र जात्रामा चार थरका मानिस प्रत्यक्षरूपमा संलग्न हुने गरेका छन् । उपाध्याय, वैद्य, डङ्गोल र सङ्गत गरी चार थर प्रत्यक्षरुपमा सहभागी हुने गरेको उनले सुनाए ।
वत्सलेश्वरीलाई नक्साल भगवतीको दिदीकारुपमा पूजा आराधना गरिन्छ । भगवान् शिवको पत्नीका रूपमा पूजिने वत्सलेश्वरीलाई पशुपतिबाट निकालेको भन्ने किंवदन्तीका आधारमा बिहीबार नक्साल भगवतीको जात्रा पनि पशुपति क्षेत्रमा लगिएको थियो । नक्साल भगवतीले भगवान् शिवको ध्यानाकर्षण गराउन बिहीबार बेलुकी रथले पशुपतिको मूलढोकामा तीनपटक ठोकाएर फर्काउने प्रचलन रहिआएको छ ।
बहिनीले श्रीमानको ध्यानाकर्षण गराएपछि वत्सलेश्वरी माता भने चैत्र शुक्ल प्रतिपदा अर्थात् बुधबार राति छोरा चन्द्रविनायककहाँ बस्न जाने परम्परा छ । यसै परम्पराअनुसार बिहीबार वत्सलेश्वरीको रथ तानेर चावहिल गणेशसमेत भनेर पूजिने चन्द्रविनायकमा लगिएको थियो ।
त्यहाँबाट बिहीबार पशुपति क्षेत्रका विभिन्न स्थानमा घुमाएर पशुपति अमालकोटमा ल्याई सिन्दुर जात्रा गरेपछि ११ दिन लामो जात्रा समापन गरिएको छ । प्रत्येक वर्ष यो जात्रा मनाएमा जनतामा रोग व्याध नलाग्ने, सुख, शान्ति हुने विश्वास रहेको छ । यसै विश्वासले बालबालिका पनि जात्रा हेर्न पशुपति क्षेत्रमा आउने गरेका छन् । रासस
लमजुङः लमजुङका भेँडीगोठमा रहेका भेँडाका बथान यतिबेला पुनः लेक पुगेका छन् । चिसो छल्न बेँसी ल्याइएका घुम्ती भेँडीगोठ गर्मी बढेसँगै पुनः चरन क्षेत्र लेक तथा उच्च हिमाली भेग पुगेका हुन् ।
यतिबेला उच्च हिमाली भेगका चरन क्षेत्रमा गोठालाले आ–आफ्ना भेडाका बथान पुर्याएको भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख डा. रुपेश श्रेष्ठले बताए । उनका अनुसार जिल्लामा तीन सयभन्दा बढी घुम्ती भेँडीगोठ रहेको र अधिकांश भेँडीगोठ लेक तथा हिमाली भेगमा पुगिसकेका छन् ।
सिउरुङ, घलेगाउँ, भुजुङ, सिङ्दी, घनपोखरा, इलमपोखरी, दूधपोखरी, पाचोक, बन्सार, फलेनी, ढोडेनी, ताघ्रिङ, भुलभुलेलगायतका ग्रामीण क्षेत्रमा भेँडीगोठ छन् । विशेष गरी गुरुङ समुदायको पुर्ख्यौली पेसा तथा चलनकारुपमा भेडीगोठलाई हेरिन्छ । भेँडीगोठ बर्सेनि छ महिना लेक र छ महिना बेँसीमा राख्ने गरिन्छ ।
लमजुङका भेँडीगोठ लमजुङ, मनाङ र कास्कीको सिमाना दूधपोखरी नजिकै थुर्जु तथा लमजुङ हिमालको काखलगायत ठाउँसम्म पुग्ने गरेको भेँडीगोठालाको भनाइ छ । पसगाउँको भेँडीगोठ लमजुङ र कास्कीको सिमाना डाँडा तिङ्जेमा पुग्ने गर्दछ । उत्तरी लमजुङको ताघ्रिङका बासिन्दाको भेँडीगोठ लके थुर्जु नजिकै पुगेको छ । अधिकांश भेँडीगोठ लेकतर्फ लागिसके पनि घलेगाउँका भेँडीगोठ भने बेँसीमै रहेको स्थानीय दीर्घराज घलेले बताए ।
उनका अनुसार घलेगाउँको दुई भेँडीगोठ रहेका छन् । ती भेँडीगोठ वैशाख लागेपछि लेक जाने भएका छन् । यहाँका भेँडीगोठ लमजुङ हिमालको काखमै रहेको ठूले लेकमा पुग्ने गर्दछन् । दोर्दी गाउँपालिकामा करिब आठ घुम्ती भेँडीगोठ रहेका छन् । अधिकांश भेँडीगोठ बेँसीबाट यतिबेला इलमपोखरी पुगिसकेको पालिकाको पशुपन्छी शाखाका कर्मचारी पवन रेग्मीले बताए ।
बेँसीमा रहेको बेलामा भेँडीगोठबाट निस्किएको मल खेतबारीमा प्रयोग गर्ने गरिन्छ भने भेँडाको ऊन निकालेर विभिन्न राडीपाखी, बख्खुलगायत बनाउनका लागि प्रयोग हुने गर्छ । जिल्लाभर २३ हजार भेडाबाख्रा रहेका छन् । वार्षिक १० हजार किलो ऊन निस्कने र ऊनको प्रतिकिलो तीन सय मूल्य रहेको छ । त्यस्तै वार्षिक एक सय ६० मेट्रिक टन भेडाको मासु उत्पादन हुने गरेको बताइएको छ ।
मासु बिक्रीबाट आठ करोड आम्दानी हुने गरेको उक्त केन्द्रका प्रमुख डा. श्रेष्ठले बताए । उनका अनुसार वार्षिक घुम्ती भेँडीगोठमा रहेका बाख्राको मासु एक सय २० मेट्रिक टन तथा घुम्ती र घरमा पालिएका बाख्रा गरी वार्षिक एक हजार दुई सय मेट्रिक टन मासु उत्पादन हुँदा रु. ६० करोड आम्दानी हुने गरेको छ । जिल्लामा रहेका अधिकांश गुरुङ बस्तीका समुदायमा अझै पनि भेँडाको ऊनबाट विभिन्न सामग्री बनाएर बिक्री वितरण गर्ने तथा प्रयोग गर्ने प्रचलन कायम छ । रासस
बाँकेः बाँकेको विभिन्न १२ सामुदायिक वनमा वैज्ञानिक वन व्यवस्थापन शुरु भएको छ । तीमध्ये पनि ११ सामुदायिक वनमा पुराना र बुढा रुखको कटान र नयाँ रुखको संरक्षण हुने गरी काम शुरु भएको छ ।
जिल्ला वन कार्यालय, बाँकेका सहायक वन अधिकृत गणेश खड्काका अनुसार स्थानीयरुपमा रोजगारी सिर्जना गर्ने, वनको उत्पादन र उत्पादकत्व बढाउने लक्ष्य छ । वैज्ञानिक वन व्यवस्थापन शुरु भएको वनमा स्थानीय उपभोक्ताले पुराना रुख कटानको काम गरिने छ ।
वन व्यवस्थाबाट दाउरा सहज उपलब्ध हुने, स्थानीय वन पैदावरको संरक्षण हुने र वनको स्वच्छ र हराभरा हुने विश्वास लिएको उल्लेख गर्दै सहायक वन अधिकृत खड्काले सो वन व्यस्थापनबाट नयाँ वनको परिकल्पना गरिएको बताए । वि.सं. २०७३ मा बाँकेका १७ सामुदायिक वनमा लागू भएको वैज्ञानिक वन व्यवस्थापन अहिले १२ सामुदायिक वनमा मात्र लागू भएको छ ।
वन व्यवस्थापनमा कुन सामुदायिक वनमा कति रुख कटान गर्ने भन्ने निश्चित गरेर कटानको काम शुरु भएको छ । जय दुर्गा भवानी सामुदायिक वनमा तीन सय ७४ रुख कटान हुने र १५ हजार चार सय २७ दशमलव छ क्युफिट काठ र ४५ दशमलव ७८, कोटहीदेवी सामुदायिक वन उपभोक्ता समितिमा तीन सय २५ रुख कटान हुने र १५ हजार छ सय ९२ दशमलव ३२ काठ र ४९ दशमलव ९९ क्युफिट काठको व्यवस्थापन हुनेछ ।
हरलाफाँटा सामुदायिक वनमा ९४ रुख कटान हुने तीन हजार ९७६ दशमलव ६१ क्युफिट काठ र ११ दशमलव ६२ क्युफिट, सिद्धसाई कुमारी समुदायिक वनमा एक सय ३८ रुख कटान हुने छ हजार ३५ दशमलव ५२ क्युफिट काठ र १७ दशमलव सात क्युफिट तथा जनकल्याण सामुदायिक वनको एक सय ३९ रुख कटान हुने आठ हजार २५१ दशमलव ६० क्युफिट काठ र ३० दशमलव ३० क्युफिट दाउरा निस्कने बताइएको छ ।
यस्तै लालीगुराँस सामुदायिक वनको दुई सय १८ रुखको कटान हुने ११ हजार एक सय दुई दशमलव २२ क्युफिट काठ र ३६.६३ दाउरा, मधुवन सामुदायिक वनको एक सय ६० रुख कटान हुने छ हजार पाँच सय ४० दशमलव ३३ क्युफिट काठ र २० दशमलव २२ क्युफिट दाउरा, त्रिशक्ति सामुदायिन वनको दुई सय दुई रुख कटान हुने र आठ हजार पाँच सय ९५ दशमलव ९२ क्युफिट काठ र २८ दशमवल ६९ क्युफिट दाउराको व्यवस्थापन हुनेछ । अशोक सामुदायिक वनको तीन सय १५ रुख कटान हुने १४ हजार एक सय २९ क्युफिट काठ र ३५ दशमलव ३० क्युफिट दाउरा निस्कनेछ ।
जनमुखी सामुदायिक वनको दुई सय ९७ रुख कटान हुने २२ हजार ८३ दशमलव ७६ क्युफिट काठ र ७३ दशमलव ५१ क्युफिट दाउराको व्यवस्थापन हुनेछ । हरियाली सामुदायिक वनमा दुई सय ३४ रुख कटान हुने १३ हजार नौ सय ८४ दशमलव ९० क्युफिट काठ र ४१ दशमलव ९७ क्युफिट दाउरा उत्पादन हुनेछ । जिल्ला वन कार्यालय, बाँकेका अनुसार वैज्ञानिक वन व्यवस्थापनको काम राप्तीसोनारी गाउँपालिकामा मात्रै लागू छ । रासस
काठमाडौंः पशुपति क्षेत्रमा मनाइने वत्सलेश्वरी जात्राका अवसरमा श्री पशुपतिनाथ भण्डार तहविलबाट विचार पूजा सम्पन्न गरिएको छ ।
मुलुकमा शान्ति होस् भन्ने कामनाले पशुपति क्षेत्रमा गरिने वत्सलेश्वरी जात्राका क्रममा पशुपतिनाथका मूल भट्टले रकमी तथा कर्मचारीलाई पगरी बाँध्ने काम पनि सम्पन्न भएको पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिए । यसअघि अमालकोट कचहरीबाट बाजागाजासहित पशुपतिनाथका मूलपुजारी निवासमा गएका थिए । चैत्र कृष्ण अष्टमीका दिन फागुन ३० गते काठमाडौं उपत्यका देवीदेवतालाई पूजा आराधना गरी पशुपति क्षेत्रमा वत्सलेश्वरी एवं बज्रेश्वरी जात्रा शुरु भएको उनले बताए ।
आर्यघाट जाने बाटोस्थित वत्सलेश्वरी मन्दिर परिसरबाट शुरु भएको जात्रा पशुपति क्षेत्रका सबै टोलमा घुमाउने परम्परा रहेको कोष अमालकोट कचहरीका द्वारे पूर्ण डङ्गोलले जानकारी दिनुभयो । चैत्र कृष्ण अष्टमीका दिन पशुपतिका भट्टले नै जात्रामा उपत्यकाका मुख्य देवदेवी एवं स्थानीयलाई जात्रा हेर्न आउनु भनी निमन्त्रणा दिने लिच्छविकालदेखिको परम्परा रहेको जनाइएको छ ।
जात्राका क्रममा बज्रेश्वरी, वत्सलेश्वरी, आकाश भैरवलाई पशुपति क्षेत्रका नौ शक्तिपीठलगायत स्थानमा देशोद्धार पूजा सम्पन्न गरिएको थियो । पूजा सम्पन्न गरी बज्रेश्वरी जात्रा शुरु गरिएको हो । वत्सलेश्वरी जात्रा आइतबारदेखि तीन दिनसम्म मनाइन्छ । चैत्र शुक्ल द्वितीयाका दिन आज सिन्दुर जात्रा गरी वत्सलेश्वरी जात्रा समापन गरिँदैछ ।
मुलुकमा शान्ति होस् भन्ने कामनाले पूजा एवं जात्रा गरिएकाले दूध खाने बालक पनि यो जात्रा हेर्न आउँछन् भन्ने विश्वास पशुपति क्षेत्रमा गरिन्छ । देशोद्धार पूजा र जात्रामा चार थरका मानिस प्रत्यक्षरुपमा संलग्न हुने गरेका छन् । उपाध्याय, वैद्य, डङ्गोल र सङ्गत गरी चार थर प्रत्यक्षरुपमा सहभागी हुने गरेको उनले सुनाए ।
वत्सलेश्वरीलाई नक्साल भगवतीको दिदीका रुपमा पूजा आराधना गरिन्छ । भगवान् शिवको पत्नीकारुपमा पूजिने वत्सलेश्वरीलाई पशुपतिबाट निकालेको भन्ने किंवदन्तीका आधारमा आज नक्साल भगवतीको जात्रा पनि पशुपति क्षेत्रमा लगिन्छ । नक्साल भगवतीले भगवान् शिवको ध्यानाकर्षण गराउन रथले पशुपतिको मूलढोकामा तीनपटक ठोकाएर फर्काउने प्रचलन रही आएको छ ।
बहिनीले श्रीमान्को ध्यानाकर्षण गराएपछि वत्सलेश्वरी माता भने चैत्र शुक्ल प्रतिपदाको राति छोरा चन्द्रविनायककहाँ बस्न जाने परम्परा छ । यसै परम्पराअनुसार वत्सलेश्वरीको रथ तानेर चाबहिल गणेशसमेत भनेर पुजिने चन्द्रविनायकमा लगिन्छ । त्यहाँबाट पशुपति क्षेत्रका विभिन्न स्थानमा घुमाएर पशुपति अमालकोटमा ल्याई सिन्दुर जात्रा गरेपछि १० दिन लामो जात्रा सकिने परम्परा छ ।
प्रत्येक वर्ष यो जात्रा मनाएमा जनतामा रोग व्याध नलाग्ने, सुख, शान्ति हुने विश्वास रहेको छ । यसै विश्वासले बालबालिका पनि जात्रा हेर्न पशुपति क्षेत्रमा आउने गरेका छन् । जात्राका क्रममा जयवागेश्वरीको नवाली टोलमा वत्सलेश्वरी माताको रथलाई राखिएको थियो । सिफलचौरमा रथ घुमाएर जात्रा गरिन्छ । सिफल ढोकामा पशुपतिका कोटवालाले चमर पङ्खा हम्केर मातालाई आह्वान गर्ने विधि छ ।
यो जात्राका लागि पशुपति क्षेत्रलाई झकिझकाउ बनाइएको छ । जात्रामा पशुपति क्षेत्रका साथै स्वदेश एवं विदेशका पर्यटकको पनि आगमन हुने गरेको काठमाडौँ महानगरपालिका–८ अध्यक्ष आशामान सङ्गतले जानकारी दिए । पशुपति क्षेत्रको यो जात्रा शुरु भएपछि नै असनमा पाहाँचह्रे जात्रा भएको हो । हाँडीगाउँमा गहना खोज्ने जात्रा पनि पशुपति क्षेत्रको यो जात्रापछि नै गर्न निमन्त्रणा गरिएको छ । रासस
दिपकराज भट्ट/मध्यान्ह
डडेल्धुरा, ८ चैत । सुदूरपश्चिम प्रदेशका सात पहाडी जिल्लाको केन्द्रकारुपमा रहेको जिल्ला हो डडेल्धुरा । यहाँबाट बसाइँसराइ जानेहरुको संख्या बर्सेनि बढिरहेकोछ । त्यसको कारण हो, विकासका पूर्वाधार । पहाडका जिल्लामा भन्दा तराईमा विकासका पूर्वाधार राम्रो भएकाले जिल्लावासीलाई तराईले आकर्षण गर्नेगरेको छ ।
गाउँगाउँमा प्राचिन शैलीका घरहरु (माटो, ढुङ्गा र पत्थर)बाट बनाइएको हुन्थ्यो । तर प्रविधिको विकाससँगै पक्की घरहरु बन्नेक्रम बढेको छ । पहिलेपहिले कच्ची घरहरु हुन्थे, अहिले देविदेवता बस्ने घर(भण्डार) लगायत मठमन्दिर पनि पक्की बन्न थालेको बताउँछन् भागेश्वर ४ का ७० वर्षीय शिवराज भट्ट । पक्की घरहरु देख्दा पनि राम्रा र सुन्दर हुने भएकाले त्यसप्रतिको आकर्षण बढेको उनी बताउँछन् ।
रोजगारीका लागि युवाहरु विदेशीने र उनीहरुले कच्ची घर भन्दा पक्की घरनै मन पराउने भएकाले पक्की घर नै बनाउन बाध्य भएको भागेश्वर ४ का लाल पन्तले बताए । गाउँबाट शहर जानेहरु बढेसँगै प्रविधिको विकास पनि गाउँतिर रुपान्तरण हुँदै गएको छ । युवा पुस्ताको आकर्षणले गर्दा परम्परागत शैलीका घरहरु विस्थापित हुने अवस्थामा पुगेका छन् ।
सामुदायिक वनहरुको लगानी
भागेश्वर गाउँपालिका ४ मा रहेको कुएली सामुदायिक वनले गत आर्थिक वर्ष २०७८÷८९ को सामुदायिक वनको काठ विक्री गरिएको रकमबाट दाउराका चुल्हो विस्थापित गर्नका लागि ग्यास चुलोहरु वितरण गरेको थियो । सामुदायिक वन संरक्षणमा सहयोग पु¥याउने उद्देश्यले चुल्हो र सिलिण्डर वितरण गरेको कुएली सामुदायिक वन उपभोक्ता समितिका अधिकारीहरुले बताए । यो सँगै पछिल्लो समयमा आगलागीका घटनाहरु कम गर्नका लागि पनि यस्तो नीति लागु गरेको समितिले जनाएको छ ।
मठमन्दिरमा पनि शैली परिर्वतन
भागेश्वर गाउँपालिकामा शिक्षा, स्वास्थ्य, सडक पछिको प्राथमिकतामा धार्मिक क्षेत्रहरु रहेको पाइन्छ । तर अधिकांश मठमन्दिरहरमा सिमेन्ट नै प्रयोग गरिएको छ । पहिलेका मन्दिरहर कलात्मक शैलीमा बनेका भएपनि पछिल्लो समयमा बनेका मन्दिरहरुमा कलातमक शैलीको न्यून प्रयोग गरिएको छ ।
पुराना मन्दिरहरुमा माटो, ठूलाठूला ढुङ्गाहरुका साथमा ढुङ्गामाथि कोरिएका भगवानका मूर्तिहरुको प्रयोग हुने गरेको थियो । तर अहिले सिमेन्टका संरचनाहरु बनाइन थालिएको छ ।
यसरी बनेका संरचनाहरुले युवा पुस्तामा प्राचीन शैलीका बारेमा जानकारी कम हुँदै गएकाले स्थानीय ठगीराम टमटाको बुझाई छ । यसले पर्यटकहरु समेत घट्ने उनको भनाइ छ । ‘पहिले तामाका मूर्तिहरु बनाएर फलामका त्रिशुलहरु बनाउने चलन थियो, अहिले मूर्तिहरु पूरै सिमेन्टको बन्ने गरेका छन्’, उनले भने ।
परम्परागत शैलीलाई मर्न नदिन स्थानीय सरकारले छुट्टै नीति बनाउनुपर्ने उनको भनाइ छ ।
उत्तमकुमार थापा/मध्यान्ह
बझाङ, ७ चैत । जिल्लाको बुङ्गल नगरपालिका वडा नम्बर ९ का डम्बर धामीको परिचय थियो ‘जड्याहा मान्छे’ । उनको यो परिचय करिब २७/२८ वर्षसम्म कायम रह्यो । उनलाई गाउँघरका स–साना बालबालिकादेखि जेष्ठ नागरिकले पनि यही परिचयबाट चिन्ने गरेका थिए ।
तर अहिले उनको परिचय बदलिएको छ । उनी एक सफल कृषक बनेका छन् । अहिले उनको परिचय मात्रै बदलिएको छैन, उनको जीवनस्तर पनि बदलिएको छ । दलित सहयोग समाजले ५० हजार रुपैयाँ बराबरको बाख्रा खरिद गरेर उनलाई हस्तान्तरण गर्यो ।
करिब तीन दशक ‘जड्याहा मान्छे’को उपनामले परिचित धामीलाई समाजले बाख्रा हस्तान्तरण गर्नु भनेको एक हास्यास्पद कार्य थियो । समाजको यस्तो निर्णयलाई स्थानीयहरुले प्रत्यक्ष अप्रत्यक्षरुपमा खिसीटिउरी गरिरहेका थिए । छिमेकीहरुको त्यो खिसीटिउरीलाई उनले शक्तिमा बदले । अहिले उनीसँग करिब २ लाख बराबरका बाख्रा रहेका छन् । उनले १९ वटा बाख्रा बिक्री वितरण गरिसकेका छन् ।
५२ वर्षका धामीका २ छोरी, २ छोरा र श्रीमति छन् । आफ्नो परिवारको खर्चदेखि शिक्षा दिक्षामा उनले यही व्यवसायबाट धानीरहेका छन् । दलित सहयोग समाजले बाख्रा हस्तान्तरण गरेपछि आफूलाई परिवर्तन हुने उर्जा मिलेको धामीले बताए ।
दलित सहयोग समाजका कार्यकारी निर्देशक सुनिल दमाईसँग उनले आफूमा आएको परिवर्तनबारे जानकारी गराए । समाजको सहयोगले आफूमा परिर्वतन आएको बताउँदै उनले यस प्रकारको सहयोगले धेरैको जीवन परिवर्तन हुने विश्वास व्यक्त गरे ।
दलित सहयोग समाजले बुङ्गल नगरपालिकाको वडा नम्बर १, ३, ५, ९, १० र ११ गरी ६ वटा वडामा काम गर्दै आएको छ । समाजले आर्थिकस्थिति कमजोर रहेका व्यक्तिहरुलाई बाख्रा मात्रै नभएर भैंसी पनि वितरण गर्दै आएको छ । युनाइटेड मिसन टु नेपाल एमडिपी र दलित सहयोग समाजको संयुक्त आयोजनामा समाज रुपान्तरणका लागि विभिन्न बस्तीहरुमा जनचेतनामूलक कार्यक्रमहरु गर्दै आएको समाजले जनाएको छ ।
कन्चनपुरः परम्परागत सीपको प्रयोग गरी थारु समुदायले हस्तकलाका आकर्षक सामग्री बनाउँदै आएका छन् । दैनिक जीवनमा प्रयोग हुने हस्तकलाका सामग्रीलाई घरायसी प्रयोजनका लागि मात्रै सीमित राखिने गरिएको छ । पुस्तौँदेखि बनाइँदै आएका सामग्रीलाई परिमार्जन गरी बजारमा बिक्री गर्न सकिए सहजरुपमा थारु समुदायले आयआर्जन गर्न सक्ने थारु अगुवा शुक्लाफाँटा नगरपालिका–१० का हवल्दार चौधरीले बताए ।
डेल्वा, ढक्या, पनछोपनी, छिटुवा, छतरी, पङ्खा, सुप्पा, मच्या, भौका, गोन्द्री, गाग्री, करुवा, डोरी, सिकहर, व्याना, मच्या, खटौलीलगायतका स्थानीय साधन स्रोतको प्रयोग गरी थोरै लागतमा निर्माण गरिने घरायसी काममा प्रयोग हुने सामग्रीको व्यावसायिक उत्पादन गरी थारु समुदायले गतिलो आम्दानी लिन सक्ने उनले बताए ।
‘सीप भएर पनि थारु समुदायले पुर्खाँदेखि पुस्तान्तरण हुँदै आएको सीपको प्रयोग गरी बनाइँदै आएका सामग्री घरभित्रै सीमित राखिएका छन्, केही सामग्री बूढापाकाको ढल्किँदो उमेरसँगै ओझेलमा पर्न थालेका छन्, युवा पिँढीको सिक्ने उत्सुकता नहुनु र बूढापाकाको सिकाउने चाहना नहुँदा पुराना हातैले निर्माण गरिने सामग्री लोप हुने अवस्थामा पुग्न थालेका छन्’, उनले भने ।
हाल घर सजावट गर्ने चलन चलेको छ । घर सजावटका सामग्री विदेशबाट आयात हुने गरेका छन् । घर सजावटका लागि थारु समुदायले धेरै पहिलेदेखि बनाउँदै आएका सामग्री विकल्प हुनसक्ने थारु अगुवाहरुको भनाइ छ ।
‘हस्तकलाका सामग्री बनाउने सीप भए पनि थारु समुदायका अधिकांश व्यक्तिको आर्थिक अवस्था कमजोर हुँदा व्यावसायिक उत्पादन गर्न सक्ने अवस्थामा छैनन्, थारु समुदायलाई घरायसी प्रयोगमा आउने गरेका वस्तु बजारमा बिक्री गरेर आम्दानी गर्न सकिन्छ भन्ने व्यासायिक सोचको विकास गर्न जरुरी छ, यसका लागि स्थानीय तहले उत्प्रेरित गर्नुपर्छ’, थारु बुद्धिजिवी वीरबहादुर राजवंशीले भने ।
घरमा वर्षौंदेखि बनाइँदै आएका सामग्री बनाएर बजारमा बिक्री गरेर आम्दानी हुन्छ भन्ने कुराको ज्ञान नभएर पनि व्यावसायिकरुपमा थारु समुदाय अगाडि सर्न नसकेको उनले उल्लेख गरे । परम्पारगत सीपलाई परिमार्जन गरी आधुनिक तरिकाका बुट्टा भर्ने, चित्र बनाउने, डिजाइन गर्नेलगायतका सीप सिकाएर थारु समुदायका महिला–पुरुष दुवै जनालाई व्यावसायिक बनाउन सकिने थारु अगुवा दानसिंह दहितले बताए ।
घरायसी सामानसँगै थारु समुदायका महिलाले लगाउने गहना, पहिरनले विस्तारै बजार लिन थालेको छ । केही व्यक्तिले थारु समुदायका महिलाले लगाउने पहिरनको व्यावसायिक उत्पादन गरी बजारमा ल्याउन लागे पनि त्यो सङ्ख्या थोरैमात्रै रहेको दहितले बताए । कारिगर नहुँदा परम्परागत गहना लोप हुने सङ्घारमा पुगेको उनी बताउँछन् ।
थारु समुदायका थोरै लागतमा आकर्षक ढङ्गबाट कलात्मक बुट्टा भरेर बनाइने गहना बनाउने कारिगरलाई व्यावसायिक बनाएमात्रै गहना जोगाउन सकिने उनले बताए । स्थानीय तहले परम्परागत सीपलाई आधुनिक बनाउन तालिम, बजार प्रवर्द्धनसँगै लगानीको वातावरण बनाउन भूमिका खेल्नुपर्ने धनबहादुर कुश्मी बताउँछन् ।
‘स्थानीय तहले थारु समुदायका महिलाले लगाउने लेहङ्गा, चोली बनाउने तालिम दिने गरेका भए पनि त्यो तालिम सकिएपछि सबैले बिर्सने गरेका छन्, व्यावसायिक योजना बनाई लगानीको वातावरण कायम गरिनुपर्छ, नजिकको सरकार भनेकै स्थानीय तह भएकाले त्यसको महत्वपूर्ण भूमिका रहन्छ, तालिम लिएकालाई व्यावसायिक कार्यमा संलग्न गराउनका लागि आवश्यक पूँजीको व्यवस्थाका लागि बैंक तथा वित्तीय संस्थासँग सहजीकरण गरिदिने, बजारको खोजी गरिदिए परम्परागत सीपमा आधारित व्यवसायलाई जीवन्त राख्न सकिन्छ’, उनले भने ।
थारु समुदायका गहना, पहिरन घरायसी प्रयोगमा ल्याउने हस्तकलाका सामग्रीलाई आधुनिक बनाउन, संरक्षण गर्न र व्यावसायिक बनाउन स्थानीय तहले हालसम्म कुनै पनि कार्यक्रम ल्याउन नसकेकामा रतनबहादुर राना चिन्ता व्यक्त गर्छन् ।
‘तराईका भूमिपुत्रकारुपमा रहेका थारु समुदायको कला, संस्कृति र त्यससँग जोडिएका वस्तुको संरक्षण गर्ने कर्तव्य स्थानीय तहको हो, त्यसका लागि चासो दिने गरिएको छैन, थारु समुदायको नयाँ पिँढीलाई परम्पारगत वस्तुको महत्वका बारेमा बुझाउन थारु अगुवाहरु अगाडि सर्नुपर्ने हुन्छ’, उनले भने ।
ताप्लेजुङः ताप्लेजुङको प्रसिद्ध पाथीभरा क्षेत्रमा दोस्रोपटक हिमपात भएको छ । गए राति वर्षासँगै हिमपात भएको हो ।
सोमबारदेखि वर्षा हुँदा जिल्लाका हिमाली क्षेत्रमा हिमपात हुन थालेको छ । पाथीभरा क्षेत्र विकास समितिका कर्मचारी राजेन्द्र महतका अनुसार पाथीभरा मन्दिर क्षेत्रमा अहिले पनि सामान्य हिमपात भइरहेको छ । ‘अहिले म पाथीभरा मन्दिर क्षेत्रमा छु । सामान्य हिमपात हुने क्रम जारी छ । मन्दिर क्षेत्रमा दुई फिटको हाराहारीमा हिउँ जमेको छ’, उनले भने ।
तीन हजार सात सय ९४ मिटर उचाइ रहेको प्रसिद्ध तीर्थस्थल पाथीभरा क्षेत्रको तल्लो फेदी काफ्ले पाटीसम्मै हिउँ परेको उनले जानकारी दिए । सामान्य हिमपात भएकाले पूजापाठ गर्ने क्रम चलिरहेको छ । अहिले करिब एक हजार पाँच सय भक्तजनले पूजापाठ गरिरहेको समितिले जनाएको छ । उच्च हिमाली क्षेत्रमा निकै बाक्लो हिउँ परेको छ । यस्तै फक्ताङ्लुङ गाउँपालिका–६ लेलेपको घुन्सा, फले, वडा ७ ओलाङ्चुङगोला, याङ्मालगायत जिल्लाको हिमाली बस्तीमा एक फिट बढीसम्म हिउँ परेको स्थानीयले बताएका छन् ।
घुन्साका टाँसी छिरिङ शेर्पाका अनुसार करिब डेढ फिटसम्म हिउँ परेको छ । यस्तै ओलाङ्चुङगोलामा पनि हिउँ परेको स्थानीय तेन्जिङ वालुङले जानकारी दिए । ओलाङ्चुङगोलाकै याङ्मामा भने दुई फिटसम्म हिउँ परेको जनाइएको छ । चार हजार दुई सय मिटर उचाइ रहेको याङ् जिल्लाकै उच्च बस्ती हो ।
यसैगरी तेह्रथुम, सङ्खुुवासभासँगको सीमावर्ती क्षेत्र तथा मैवाखोला गाउँपालिकाको शिर तीनजुरे मिल्के जलजले (एमजे) क्षेत्रमा पनि हिमपात भएको छ । जिल्लाको मिक्वाखोला गाउँपालिका–५ पापुङ, सिदिङ्वा गाउँपालिकाको कालीखोला, सिरिजङ्घा गाउँपालिकाको याम्फुदिन, मामाङ्खे गाउँको उच्च भागमा पनि हिमपात भएको स्थानीयले बताएका छन् ।
ताप्लेजुङको हिमाली क्षेत्रमा यस वर्ष पहिलोपटक गत फागुन १५ गते हिमपात भएको थियो । गत वर्ष भने पुसको दोस्रो सातादेखि नै हिमपात हुन शुरु भएको थियो । यस वर्ष विगतका तुलनामा खासै हिमपात भएको छैन ।
यस वर्षको हिउँद मौसम बित्न लाग्दा हिमपात र वर्षा भएपछि किसान भने हर्षित भएका छन् । मकैलगायत खाद्यान्न बाली लगाउने समयमा हिमपात र वर्षा हुँदा किसानले राहतको महसुस गरेका हुन् । त्यस्तै नगदे बाली अलैँची, तरकारीलगायतका बालीका लागि पनि हिउँ र वर्षाले राहत मिलेको किसानको भनाइ छ । रासस
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2023 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies