– अनु विज्ञाति
“बिहे भएको एक हप्ता नपुग्दै, उहाँको व्यवहारमा परिवर्तन आउन थाल्यो । राती अबेर घर आउने, बिहान चाँडो अफिस निस्कने, मसँग कुरै नगर्ने । यो क्रम आज नौ महिना बितिसक्दा पनि चलिरहेको छ । उहाँले मलाई श्रीमतीको दर्जा अहिलेसम्म दिनु भएको छैन । लौ तपाईंहरू नै भन्नुहोस् उहाँसँग म कसरी बस्ने ?” रुबिनाले श्रीमानको व्यवहारप्रति असन्तुष्टी व्यक्त गर्दै छुट्टै बस्ने वातावण मिलाई दिन आग्रह गरिन् ।
न्यायिक समितिका सदस्यहरू बको ध्यानम् उनका कुरा सुनी रहेका थिए । म भने त्यो दृश्य र स्थान दुबैका लागि नौलो थिएँ । मेरो हातमा उनीहरूको मिसिल थियो । अझ भनौ उनीहरुले माग गरेको उनीहरूको भविष्य थियो ।
रुबिनाको शिकायतपछि प्रवेशको सफाईको पालो आयो । न्यायिक समिति संयोजकले प्रवेश तिर फर्किएर प्रश्न गरे– “रुबिनाको कुरा सही हो ?”
प्रवेश बोल्नु भन्दा अघि नै प्रवेशका आफन्तले अनुनय गरे । “बुहारी किन यस्तो कुरा गछ्र्यौ ? हामीले त तिमीहरू बिच कहिल्यै मन मुटाव भएको थाहा पाएका थिएनौं । हो, बिहे गर्न तिमीले पनि मानेकी थिएनौं । प्रवेशले पनि । तर तिम्रा अभिभावक र हाम्रो कुरा मिलेर नै बिहे भएको हो । दुबै राम्रो परिवारका । पढेँ लेखेका । तिमीहरूको भविष्य सुन्दर हुन्छ भन्ने सोचेर नै हामीले तिमीहरूको बिहे गराई दिएका थियौँ । एक जना पाका व्यक्तिले कुरा राखे । उनी प्रवेशका बुवा रहेछन् ।
“होइन तिमीहरू त धेरै दिनदेखि एकान्तमा खासखुस गरिरहेको देख्थेँ । केही महिना अघिदेखि नै बैठक कोठामा भन्दा बढी आफ्नै कोठामा गफिन थालेका थियौ । यसले त तिमीहरूको सम्बन्ध झन् गढा भएको संकेत गर्छ होइन र ? तर आज अचानक ?” अर्की अधवैंसे महिलाले आश्चर्य जनाइन् । उनी प्रवेशकी आमा रहिछिन् ।
प्रवेशले भने आफूलाई लागेको आरोपको कुनै खण्डन गरेन । मात्र यति भन्यो– “उहाँ मसँग बस्न चाहानुहुन्न भने यसमा किन जबरजस्ती गर्ने ? ठीक छ, उहाँलाई छुट्टै बस्ने व्यवस्था गरीदिनु होस् । के भयो र किन भयो तिर अल्झिएर समय बर्बाद गर्नुभन्दा उहाँको मागबमोजिमकै न्याय दिलाई दिनु । दुबैको टन्टै साप ।”
प्रवेशको ग्रीन सिग्नलवाला जवाफ आए लगतै पुनः छुट्टै बस्ने व्यवस्था मिलाई दिन रुबिनाले थप आग्रह गरिन् ।
न्यायिक समिति संयोजकले रुबिनाको माग सम्बोधन गर्दै भने– “कहीले काहीँ जानी नजानी मान्छेबाट गल्ती हुन्छ । कमी कमजोरी हुन्छ । यस्ता कमी कमजोरी सुधार्न हामीले एक अर्कालाई मौका पनि दिनुपर्छ । यसरी बिहे गरेको नौं महिनामै श्रीमान श्रीमतीको सम्बन्ध विच्छेद गर्दै जाने हो भने त यो गाउँका धेरै जना एकल भै सक्नुहुन्थ्यो । त्यसैले दुबैले दुबैका कमीकमजोरी सुधारेर अब नयाँ शिराबाट जीवन जीउनु पर्छ । लौ भन्नुहोस् कस कसले के–के बानीमा सुधार ल्याउनु पर्छ ? हामी त्यही लेखेर तपाईंहरूको सहमति गराई दिन्छौँ ?”
संयोजकको कुरामा कसैको केही प्रतिक्रिया आएन । दुबै चूपचाप बसे ।
समितिका अर्का सदस्यले पुनः दोहोर्याए, “सुधार गर्नु पर्ने बानी भन्नु भएन त दुबैले ? कि दुबैको छुट्टिने बहाना हो यो ?”
अझै पनि दुबै बोलेन् ।
रुबिनाकी आमा र प्रवेशका बुबा आमा उनीहरुलाई मिलेर बस्न अनुनय गरिरहेका थिए । “मात्र नौं महिना भएको छ बिहे भएको । तेत्रो खर्च भएको छ । आज तिमीहरू छुट्टीएर बस्दा जोरीपारीले के भन्लान् ? समाजले के भन्ला ? हामीलाई मुख देखाउननै गाह्रो हुन्छ ।” उनीहरू सम्बन्ध बचाउन घिडघिडाई रहे ।
तर प्रवेश र रुबिनालाई त्यो कुराले कतै छुएन ।
धेरै समय न्यायिक समितिका सदस्यहरूले उनीहरूलाई मिलेर बस्न सम्झाए । उनीहरुका अभिभावकले पनि छुट्टाछुट्टै कोठामा लगेर निक्कै बेर सम्झाए बुझाए । तर कसैको केही सीप चलेन ।
“बिहे गरेको नौं महिनामा नै त्यो पनि आफ्नै राजीखुशीले सम्बन्ध तोड्दा हामीले किन अंश दिनुपर्ने ? बस्दै नबस्ने हो भने जाऊ तर, अंश दाबी गर्न पाउँदिनौ ।” सम्बन्ध बचाउन नसकेपछि सम्पत्ति बचाउन तिर लागे प्रवेशका बुबाआमा ।
रुबिनाले मुख खोल्नु अघि नै प्रवेशले भन्यो– “उसको भाग त दिनैपर्छ नी ! कहाँ त्यसो भनेर हुन्छ ? आजकलका केटीको भर हुन्न । राम्रोसँग नचिनी बिहे गर्दिन । बरु बिहे गर्ने खर्च त मलाई दिनुहोस् । म अष्ट्रेलिया जान्छु भनेकै थिएँ । त्यो बेला तेत्रो खर्च कहाँबाट ल्याउनु भन्नुभो ! जान दिएको भए यति बेला डलर थाप्ने बेला हुन्थ्यो । खुब त्यति पैसाले त बिहे हुन्छ भन्दै बिहे गरिदिनु भयो । अब तिर्नुुस् उल्टै । पैसा पनि गयो । म अष्ट्रेलिया जान पनि पाइन !” सबै दोष आमाबुवालाई खन्याएर रूबिनाको न्यायको लागि अघि सर्यो उ ।
न्यायिक समितिका सदस्यहरू मुखामुख गरे । सम्बन्ध सकिएपछि सम्पत्ति बचाउन तिर नलाग्ने पहिलो केश थियो सायद त्यो उहाँहरुको लागि ।
प्रवेशका बुवाआमा छोराको कुरा सुनेर जिल्ल परे । “तैंले कमाएको छ भने दे । हामी त हाम्रो सम्पति दिँदैनौ । जब घरजम हुँदैन भने अर्कोको सम्पतिमा के आँखा लगाउनु ?” निक्कै बेरपछि प्रवेशका बुवाको वाक्य फुटयो ।
“हामीसँग त्यति सम्पत्ति पनि कहाँ छ र ? जे जति छ त्यो पनि मेरो माइतीले दिएको । त्यो म कसैलाई बड्नेवाला छैन ।” आमाले अड्डी लिइन् ।
फेरी पनि रुबिनाले मुख खोल्नै परेन ।
“मम्मी यही मिलेर खुरुक्क नदिए, बेकारमा अड्डा अदालत धाउनु पर्छ । समाजमा इमेज अझै खराब हुन्छ । उतिनै पैसा सकिन्छ । र अन्तिममा सम्पत्ति पनि दिनैपर्छ । यति झन्झट व्यहोर्नु भन्दा त खुरुक्क उसको भाग दिउँ ।” फेरी पनि प्रवेशले सम्पति दिनुपर्ने कुरालाई जोड दियो ।
निक्कै बेरको छलफल र वादविवाद पछि सबै जायजेथाबाट प्रवेशको भागमा पर्ने सम्पत्ति हिसाब गरियो । र फेरी त्यहाँबाट रुबिनालाई आधा दिने र दुबैले अदालतमा गएर सम्बन्ध विच्छेद गर्ने सहमति भयो ।
प्रवेश र रुबिनाका आमा बुवा निन्याउरो मुख लगाएर बाहिरिए । सायद छोरा छोरीको मञ्जुरी विपरीत गरिएको त्यो विवाह सम्झेर पछुताएका थिए दुबै ।
विवादको निकास निस्किएपछि न्यायिक समितिका सदस्यहरु पनि बाहिरिए । अब इजलासमा म र उनीहरू मात्र रह्यौ ।
मैले प्रवेश र रुबिनालाई सहमति पत्रमा हस्ताक्षर गर्न बोलाएँ । दुबै जना एक साथ मेरो छेउमा आए । जबरजस्ती बाँधिएको दाम्लो चुँडाएर भाग्न सफल भए झैं उनीहरुका आँखामा जीतको चमक छल्किएको थियो । दुबै निक्कै खुसी देखिन्थे ।
हस्ताक्षर गर्ने काम सकिएपछि, दुबैले पल्याक्क पुलुक्क यता उता हेरेँ । कोही नदेखेपछि सायद उनीहरुलाई खुसी साट्न मन लाग्यो । प्रवेशले हात मुड्की पार्दै रुबिना तिर लग्यो । रुबिनाले पनि उसै गरी । त्यो सौहार्दपूर्ण छुटाई र छुट्नुको खुसीमा उनीहरूले चेस गरेको देख्दा म छक्क परे ।
“अब जाँदा हुन्छ ।” मैले उनीहरूलाई बिदा गरे ।
निस्कनु अघि प्रवेशले रुबिनातिर फर्केर भन्यो– “प्लान सक्सेस भयो । अब डीलअनुसार तपाईंले पाएको सम्पत्तीबाट मेरो हिस्सा चाडै दिनु पर्यो । जति सक्दो चाँडो म उनलाई लिएर अस्ट्रेलिया जानेछु ।”
रुबिनाले हुन्छको भावमा टाउको हल्लाउँदै भनिन्, “मेरो त झन् जापानका लागि भिषा नै आईसकेको छ । खाली पैसाको अभावले प्रोसेस अगाडि नबढाएको । आफू त गएर, सेटल भएर, उसलाई तान्नु छ । पैसा कमाएर फेरि पनि दोस्रो डीलअनुसारको पैसा तपाईंलाई फिर्ता गर्नुछ । यताको डिभोर्सको कागज नबनाई उता बिहे दर्ता गर्न मिलेन । धन्न आज सबै भनेजस्तो भयो । अब भने बल्ल आफ्नो जीन्दगी जिउन पाउने कुरामा ढुक्क भएँ ।”
– गोविन्द भट्टराई
बेल्ट टोपीको नोकरी सानो ठूलो जुनै पदमा भएपनि निक्कै कठिनै हुन्छ । बेल्ट टोपी लगाएपछि जिन्दगी बन्धनमा पर्छ । अनुशासनमा बस्नुपर्छ । पङ्चुअल हुनुपर्छ । फिटनेस् राख्नुपर्छ । जनताले नत्र कस्तो भुडे पुलिस वाला रहेछ भनेर कमेन्ट गर्छन् ।
बिहानै चार बजे उठेँ, सिम्सिमे पानी परिरहेको रहेछ र पनि निस्कें मूलसडकमा ‘मरनिङ्ग वाक’ । सडक खाली थियो । सडकमा कालिजका बथान सधैँ जस्तै मसिना ढुङ्गाहरू खोस्रिन्दै आहार खोजिरहेका थिए । सायद मसिना बालुवाका कण खाँदै थिए तर, कसरी पचाएको होला ? अँ मान्छेले पनि धेरै चिज यसरी नै जबर्जस्ती पचाँउछ त । लाज–सरम, बाबु बाबुनीले जनताबाट लिने घूस, भ्रष्टाचारी नेताले जनताको बजेट यिनै कालीजले जस्तै जबर्जस्ती निल्छन् र पचाउँछन् । म सोंच्दै आफ्नै रफतारमा अघि बडिरहेको छु ।
दशै आउँदैछ । मौसम चिसो–चिसो हुँदैछ दिन–दिनै । भदौमा पालुवा फेरेको चिउरीको रूख बाहेक सबै रूखका पातहरू पँहेला हुदैँ जाँदैछन् ।
म सँधै जस्तै किताम फाटकसम्म दौड लगाउँछु र फर्किन्छु । जबदेखि इप्का दवाई कारखानामा कार्यरत छु उसै दिनदेखि ।
त्यसदिन पनि किताम फाटक पुगेँ र केही साधारण व्यायाम गरें ।
अहो ! झट्ट याद आयो ।
आज वर्तमान माननीय मुख्य मन्त्रीको पश्चिम सिक्किमको टूर छ ।
हातमा बाँधिएको घडि हेरे छ बजेछ । सुनेको थिए वहाँको ट बजे जोरथाङ्गमा कार्यक्रम छ । वहाँको वारेमा धेरै सुनेको छु । मलाई कुनि किन उहाँलाई एक सेलुट हान्न मन छ र यो मेरो पहिलेदेखि कै घिडघिडो हो ।
समय कम छ । बैरेक पुगेर तयार हुन मलाई कम्तीमा ४५ मिनट समय लाग्छ त्यसैले पुलिस हो टाइम मेनेज कुदेर हुन्छ । आफ्नो रफतार नै समयको सठिक मेनेजमेन्ट हो ।
धेरै रफ्तारमा दौड लगाए र बैरेक पुगेर हतपत पोशाक लगाएर रोडमा उभिए । टाइममा पुगेको र आज उहाँलाई सेलुट गर्न पाइरहेकोमा मनमनै खुशि महसुस भइरहेको थियो ।
तत्काल कान्भाईको साइरन बज्यो । प्रथमतः कान्भाई कमान्डरलाई जोडले सलाम गरेँ । क्रमशः सबै गाडीलाई सेलुट गर्दै गएँ । मलाई थाहा थिएन कुन गाडीमा माननीय मूख्य मन्त्री सवार हुनुहुन्छ ।
अचानक एउटा गाडी रोकियो ।
गाडीको झ्याल खोलियो । भित्र मुख्यमन्त्री सवार हुनुहुँदो रहेछ ।
फेरि एक सेलुट
“जय हिन्द, सर !”
मेरो अन्तर हृदयबाट कहिले निस्क्यो मलाई नै थाहा छैन ।
म सावधान मुद्रा ठिङ्ग रोड किनारमा उभिएहेको थिएँ । छेउमा बोलाएर नाम सोध्नुभयो र दशैं राम्रोसँग मान्नु है भनेर एउटा पँहेलो लिफा मेरो हातमा राखिदिनु भो ।
मेरो र परिवारको हालचाल जान्नुभयो ।
म अवाक्क बने ।
हात हल्लाउदै जानुभयो ।
उहाँको टाइट सेडुल हुँदा हुँदै पनि सानो मान्छेलाई यति धेरै समय दिनसक्नु पनि टाइम मेनेजमेन्ट हो ।
मलाई त्यो लिफामा के छ भनेर खोतल्नु मन थिएन तर, मेरो एक सेलुटको प्रतिक्रिया यस्तो ढंगमा दिनुहुन्छ भन्नै मलाई कतै थिएन ।
लिफा खोलेँ । एउटा कार्डमा लेखिएको रहेछ– विजय दशमीको हार्दिक मंगलमय शुभकामनासहित यो भेट ।
कूल राशी २० हजार पनि लिफाभित्र रहेछ ।
जुरूक्क उठेँ र मुख्यमन्त्री ज्यूलाई फेरि एक सेलुट ठोके ।
– सूचना घिमिरे
लेखेर अरु र आफ्नाबारे
सावित गर्न खोज्छन् आफ्नो महत्वबारे
लेख्छन् लेखिरहन्छन् अरुलाई देखाउन
पढ्न भुल्छन् आफ्नै मन र भावना
कस्तो होडबाजी हो कमाउने
नाम पनि दाम पनि ।।
बिचमै कतै छुट्छ
मान्छे, भावना र इमान भने
बाँच्छन् प्यास लिएर
जति पिए पनि नमेटिने
अर्काले उछिन्छ कि भन्ने अत्यास लिएर ।।
बाँच्नु पनि सास फेर्नु जस्तो
सागर बिचमा प्यासी फसे जस्तो
सुनौलो भविष्यको कोर्रा
पाउ बिझाउने काँडा
पचाउँछन् यसै
केले रोक्ने यो प्यासलाई
उछिनेर अघि बढ्छन्
उडिदिन्छन् अनि
पछारिन्छन्
मानौँ, रेसमा दौडिरहेका छन् ।।
मान्छे हुन् वा घोडा ?
जित्नु छ जसरी नि
बेलगाम एकोहोरो दौडिरहन्छन्
थकित आत्मा लिएर ।
– विष्णु उप्रेती
१.
स्तर नमिलेपछि त, दोस्ति पनि नहुने रहेछ ।
संसारै हेर स्वार्थको, दलदल सरि नै भएछ ।
सद्भावको पात्र यहाँ, भेटिएन कोहि पनि ।
विश्वास गर्ने त समयनै, अब खै कता गएछ ।
२.
सम्बन्धको त्यो खिरिलो डोरी, चुटायौ तिमीले ।
अमृत भरिघडा यो अनायासै, फुटायौ तिमीले ।
बिना कारणै आएर आफै तिमी आवेशमा
नजानी नजानी सहयोगी हात छुटायौ तिमीले ।
३.
पार्टीहरुको निरंकुश दासतालाई तोडेर जित्यौ ।
पैसा र नाताको चलखेललाई फोडेर जित्यौ ।
त्यसैले धेरै–धेरै बधाई र शुभकामना छ तिमीलाई ।
भ्रष्टाचार गरि, दुनो सोझ्याउने कुरा छोडेर जित्यौ ।
४.
अब गाउँ शहरमा विकासको लहर, लिएर आऊ ।
शासक होइन सेवक हुने, संकेत सबैमा दिएर आऊ ।
भ्रष्टाचार र कमिसनको घिनौलो खेललाई भत्काउदै ।
सपना बोकेको झोला, च्यतिएला राम्रो सिएर आऊ ।
– दीनानाथ पोख्रेल, इलाम
सही याम हेरूँ बुझी घुल्न लागूँ ।
कला सिर्जनामा खुली झुल्न लागूँ ।।
हिमाली धरामा खुल्यो दिव्य मोती ।
हटाएर टन्टा उठी डुल्न लागूँ ।।
उडी व्योम चुम्ने लिऊँ लक्ष्य एक ।
बुनी प्रेममाला सँगै खुल्न लागूँ ।।
छ संगीत धारा नदीमै झुमेको ।
नियाली धरा यो खुली भुल्न लागूँ ।।
वनै झुल्छ लाली कलामा रमेको ।
यिनै सौख्य सारा घरै हुल्न लागूँ ।।
निदाएर मात्रै छ चिन्ता अनेक ।
बनी योग्य कर्मी स्वयम् फुल्न लागूँ ।।
– त्रिपुरा खरेल, सिक्किम
धेरै दिनदेखि कथा लेख्ने विचारमा छ कथाकार । ऊ आफूले लेख्ने कथा संरचनाको लागि विषयवस्तु खोज्ने धुनमा लागेको पनि धेरै वर्ष बितिसकेको थियोे । कथाभित्रको कथाको रहस्य खोज्दै जाने क्रममा उसले कयांै सुखका बसन्त र दुःखका गृष्महरू पार गर्दै गरेको ऊ अहिले जीवनको उत्तराद्र्धको नेटो काट्ने सुरमा छ । यतिबेला जीवन साथी बिनाको ऊ पानी बिनाको माछा जत्तिकै भएको छ । यस्तो अवस्थामा पनि ऊ अर्थात् कृष्ण कथाभित्रको कथा खोज्ने अभिलाषामा बाँचेको छ । धुइँपत्ताल लगाएर कथा खोज्दा पनि अहिलेसम्म कथा भेटेको छैन उसले । हुन पनि उसलाई कथाहरुले झुक्याइरहेका छन् ।
कथाकारलाई स्वर्गका देवता र अप्सराहरुलाई मुख्य पात्र बनाएर कथा लेखेर कथाको रहस्य खोल्ने लहड पनि चलेके थियो । त्यो बेला उसले मसक्क आँट गर्दै फोटोमा झुण्डिएको आफ्नो दाजुलाई भनेको थियो, “दाजु, मेरो कथामा म उर्मिलालाई नायिका बनाएर कथा लेख्छु बुझ्नुभयो ! भरत चौध वर्ष वनबास गएको बेला तिनले भोगेका कठिनाइहरुलाई मेरो कथामा ओगट्छु ।” कयौं वर्षदेखि आफूले खोजेको असली पात्रहरू भेट्टाए जस्तो लाग्यो कथाकारलाई । उसको कलमले उर्मिलाले भोगेका पीडाकर अवस्थालाई लिएर कथा लेख्ने मसक्क आँट गर्यो ।
आशुतोष भित्ताको ठूलो फ्रेमभित्र मुस्कुराइरहेको थियो । उसको अनुहारको भावले उसलाई भनिरहेको थियो, “कृष्ण ! पौराणिक कथाहरूका पात्रहलाई तेरो कथाको पात्रहरूका रुपमा समावेश नगर । उही राम, इन्द्र, परशुरामका कथा लेखिस् भने तेरो कथाले के मान्यता पाउला र ? तेरो कथालाई मूर्तरूप दिनुछ भने तैंले तेरै परिवेशलाई समेटेर एउटा जीवित कथा लेख् ।” भित्तामा झुन्डिएको तस्वीर जोड्ले हाँस्दा झण्डै झरेको, उसले हत्तपत्त समातेर झर्न दिएन ।
“भाइ ! तेरो दाजुलाई एकपल्ट हेर् त, तँबाट केही अपेक्षा राख्दै तेरो अनुहारमा याचनाको भिख माग्ने तेरो एक आँठको दाजु पनि तेरो लागि एउटा सिङ्गो कथा होइन र !”
कृष्णले फोटोको हँसिलो अनुहारलाई पुलुक्क हेर्यो, उसको प्रेरणाको स्रोत, उसको आत्मीय दाजु आशुतोष उसलाई एकटक लगाएर हेरिरहेका थिए । तिनीहरुबीच दुई वर्षको मात्र फरक थियो । दुई दाजुभाई एकअर्कालाई धेरै माया गर्थे । दुबैले स्नातकसम्मको शिक्षा बनारसको वि.एच.यु.बाट एकैसाथ हासिल गरेका थिए । बनारसमा उनीहरु दूधविनायक स्थित नथुनी सरदारको घरमा बस्थे । कलेज डेरादेखि धेरै टाढा भएकोले उनीहरु हिँडेर बाँसफाटक चौखम्बा हुँदै गुदोलिया बजारसम्म पुग्थ्ये त्यसपछि, त्यहाँबाट रिक्सा वा बग्गी चढेर कलेज जान्थे । गुदोलिया बजार गंगाको किनारामा बसेको थियो, वर्षायाममा गंगा नदीमा बाढी आएको बेला बजार डुबाउने गर्थ्यो । त्यसबेला भने उनीहरुलाई कलेज जान निकै मुश्किल पर्थ्यो ।
कृष्ण मेधावी छात्र थियो, आशुतोष भने पढाइमा सामान्य थियो, ऊ पाठलाई घोकेको भरमा परीक्षामा जेनतेन पास चाहिँ हुनेगर्थ्यो । बौद्धिकताको हिसाबले दुबैमा धेरै फरक थियो । बि.ए.मा दुबैले एउटै विषय लिएपनि, आशुतोष हिन्दी माध्यमबाट पढ्थ्यो कृष्णले चाहिँ अंग्रेजी माध्यमलाई रोजेको थियो ।
आशुतोषले डल्लै किताबलाई पानीपानी बनाएर घोक्नसक्थ्यो, कृष्ण आफूले पढेका किताबहरुलाई बुझेर लेख्न सक्थ्यो । किताबदेखि बाहेक ऊ साहित्यिक कार्यक्रममा जाने गथ्र्यो । फुर्सदको बेलामा ऊ साथीभाइसँग भेटघाट गर्न जगदम्बा धर्मशाला, मंगलागौरी, ठठोरी गल्ली आदि ठाउँहरुमा जाने गथ्र्यो । छुट्टीको दिन आशुतोष बिहानैदेखि डेराबाट बाहिरिने गथ्र्यो । ऊ कता र कसकोमा जान्थ्यो कृष्णले खोजखबर गर्दैनथ्यो । अरू विषयलाई लिएर दाजुसित मतभेद नभएपनि आशुतोषको बरालिने स्वभावलाई लिएर भने दुई दाजुभाइमा अलिअलि मतभेद थियो ।
बि.ए.परीक्षाको फाइनल शुरु हुने दिन दुबै दाजुभाइ रिक्सामा चढेर परीक्षा हलतिर लागे । तिनीहरु बसेको ठाउँदेखि परीक्षा हल पुग्न रिक्सालाई एक घण्टा जति लाग्थ्यो ।
“भाइ ! राजनीति शास्त्रको सिद्धान्तको अर्थ र यसका पिता कसलाई भनिन्छ ? यसको परिभाषासहित विस्तृतरूपमा मलाई बुझा त ।”, आशुतोषले भाइतिर हेर्दै प्रश्न गर्यो ।
कृष्ण दाजुको प्रश्नले आत्तियो । उसले राति भोलि पढ्छु भनेर राजनीति शास्त्रको किताब थन्काएको थियो, बिहान घरबेटीले पानीको निहुँमा किचकिच गरेकोले पढ्नुपर्ने विषयलाई छुन पनि भ्याएको थिएन । उसले अँध्यारो मुख लगाएको देखेर आशुतोषले आफूले रटेर कण्ठस्थ पारेको विषय भाइलाई हिन्दीमा सुनाउँदै गयो । विश्व हिन्दु महाविद्यालयको गेटमा आएपछि दुबै दाजुभाइ आ–आफ्नो परीक्षा हलतिर लागे ।
परीक्षा दिएर फर्किदा आशुतोषको अनुहार अँध्यारो देखेर कृष्णले सोध्यो, “दाजुलाई सन्चो भएन कि क्या हो ?”
आशुतोष मौन थियो । दाजु नबोलेको देखेर कृष्णले उसलाई फेरि पनि प्रश्न गर्यो तर उसले कुनै उत्तर दिएन । ऊ धमाधम किताब, गाइड बुक, र कपीहरु पल्टाउँदै थियो । बाटोभरि नै दुबै भाइ चुपचाप थिए । गर्मीले गर्दा पसिनाले भिजेर लतपत भएको रिक्सावालाले रिक्सा चलाउँदाको चुइँचुइँको ध्वनिमात्र आउँदै थियो । हुनपनि गृष्म ऋतुमा बनारसको भीषण गर्मीको कल्पना पनि गर्न सकिदैन । आशुतोषले राजनीति सिद्धान्तबारे परीक्षाको उत्तर न त गाइडमा भेट्यो न किताबमै भेट्यो ।
“भाइ, हामीलाई नपढाएको प्रश्न सोधिएको रहेछ, अब परीक्षा बोर्डलाई उजुरी दिनुपर्छ ।” आशुतोषले आफ्नो काखको किताबलाई बजार्यो । रिक्सा चालकले पछाडि फर्केर दुबै दाजुभाइलाई एकपल्ट पुलुक्क हेर्यो । डेरामा पुगेर दुबै दाजुभाइले नुहाइधुवाइ सकेपछि खाजा खाएर आ–आफ्नो टेबुलमा कपी र किताबहरु सजाए । आशुतोष अहिलेसम्म पनि चुपचाप बसिरहेको थियो । कृष्ण दाजु बसेको कुर्सीको छेउमा बस्यो । दाजु चाहिँले भाइलाई कर्के नजरले हेर्यो । उसको अनुहारमा अझैसम्म पनि असन्तुष्टि छल्किरहेको थियो ।
“दाजु परीक्षा सकेर निस्केदेखि तपाईंको अनुहार चुकघोप्टे जत्तिकै अँध्यारो छ, कि फेरि केटीहरुको कारणले गर्दा लफडामा पर्नुभयो । अस्तिको महिनामा पनि केटीसितकै काण्डमा पर्नुभयो मैले नबचाएको भए तपाईंलाई केटीको दाजुले माथ्र्योे पनि होला । छुट्याउन जाँदा त्यतिखेर मैले पो कुटाइ खाएँ । एकजना बिराउने शाखा पिराउने भने जत्तिकै भयो ।”
“त्यस्तो होइन भाइ, आजको परीक्षामा मैले भनेजस्तो उत्तर लेख्नै सकिनँ । झन् राजनीतिको सिद्धान्तलाई् मैले रटेर पानी बनाएको थिएँ । तिमीलाई बाटोभरि पढाउँदै गएँ, त्यही पो आएन छ । पाससम्म चाहिँ हुन्छु कि !” आशुतोष आजको परीक्षाबाट सन्तुष्ट थिएन । परीक्षामा प्रतिस्पर्धा हुन्छ । एउटै आँतका दाजुभाइ पनि एकअर्काका प्रतिस्पर्धी हुन्छन् । आशुतोष र कृष्ण पनि पढाइ र परीक्षाका लागि मात्र प्रतिद्वन्द्वी थिए । परीक्षाबाट निस्किएपछि तिनीहरुको सम्बन्ध नङ्ग र मासु जत्तिकै थियो ।
उसको कुराले कृष्ण छक्क पर्यो । हिजो दाजुले सुनाएकै प्रश्न आएको थियो, तर प्रश्न भने घुमाएर सोधिएको थियो ।” घोकन्ते विद्या र धावन्ती खेती काम लाग्दैन भन्थे हो रहेछ ।” उसको मुखबाट अस्पष्ट वाक्य निस्कियो । चिन्ताजनक अवस्थामा रहेको आशुतोषले भाइको कुरा बुझेन ।
“दाजु हिजो मलाई रिक्सामा पढाउनु भएको कुरालाई प्रश्नपत्रमा घुमाएर सोधिएको थियो, मैले तपाईंले बुझाएको भरमा उत्तरपुस्तिका भरेर आएँ ।” भाइले बताएपछि उसले प्रश्नपत्र फेरि दोहोर्याएर पढ्यो, प्रश्न घुमाएर सोधिएको रहेछ । उसले आफ्नो धैर्य धारण नगर्ने र कुनै पनि कुरालाई गहन तरीकाले अध्ययन नगरी अतालिने बानीलाई सराप्नसम्म सराप्यो ।
आशुतोष राति ओछ्यानमा पल्टिँदा पनि थकथक मानिरह्यो । भाइले अंग्रेजी माध्यम रोज्दापनि उसले सजिलैसँग उतीर्ण हुने लोभमा हिन्दी भाषालाई पढाइको माध्यम बनाएको थियो । पढाइमा दुबैको स्तर आकाश र पातालबीचको भिन्नता भए झैं चरित्रमा पनि तिनीहरु बीचमा भिन्नता थियो । दाजु चाहिँको झुकाउ मोजमज्जा, ऐश आराममा थियो । उसलाई लुगा, रक्सी र केटी बदल्नमा उत्तिकै सौख थियो । ऊ कहिलेकाहीँ आफूलाई देवदास भन्दै रक्सी भरिएको गिलाससँगै नाच्ने गथ्र्यो । उसका साथीहरू उसको बावुको रुपियाँमा मोज गर्थे ।
बि.ए.को परीक्षा सकिएपछि दुबै दाजुभाइले रिजल्ट पर्खिएर अरु तीन महीना बनारसमै बस्ने निधो गरे । कृष्णले यो समयलाई भाषा साहित्यका लागि खर्च गर्ने निश्चय गर्यो । आशुतोषले भने तीन महीनाको खाली समयलाई मनोरञ्जनका लागि खर्चने निर्णय गर्यो । आशुतोषको चारित्रिक पाटोलाई हेरेर उसलाई नराम्रो र बरालाको संज्ञा दिन भने मिल्दैन थियो । उसमा मानवीय गुणहरु प्रशस्तै थिए । ऊ दाजुको रुपमा कलियुगको राम थियो, आज्ञाकारी छोरा थियो अनि समाजको लागि असल र इमानदार पुरुष थियो । उसको कमजोरी भनेको चाहिँ ऊ पत्नीको लागि असल पति कहिले बन्न सकेन । कृष्णले हातको कलमलाई मुखले टोकेर आफ्नो दाजुको फोटोलाई गौरसित हेर्यो ।
त्यतिबेलाको समयमा छोराछोरीको कम्ति उमेरमै बिहे गरिदिने चलन थियो । अशुतोषका पिताले पनि अठार वर्षको उमेरमा उसको विवाहा पहाडकी कान्तिसँग गरिदिएका थिए । तिनको रङ्ग रुपको प्रसंशा नगर्ने कोही थिएनन् तर तिनले आफ्नो रुपले वंशीकृत गरेर पतिको मायालाई जित्न सकिनन् । नपढ्नु नै तिनको वैवाहिक जीवनमा अभिशाप भइदियो । दुई नव दम्पतीबीचको शारीरिक सम्बन्धलाई आशुतोषले तृष्णा मेटाउने तत्वमात्र ठान्यो । उनीहरुका तीन सन्तान जन्मिदा पनि उसले पत्नी धर्म निभाउन सकेको थिएन । उसलाई बावुआमाको करकापमा परेर बिहे गरेकी पत्नीसँग घरमा बस्नु थिएन, त्यसैले भाइ कृष्णसँग बनारसतिर हानियो । उसको पिताले छोरोलाई रोक्न सकेनन् । उता गएर उसले पढेका केटीहरुमा आफ्नो आत्मसन्तुष्टि खोज्नथाल्यो ।
कृष्णले झुन्डिएको फोटोमा हेर्यो, आशुतोषको निधारमा लामो खत प्रष्ट देखिन्थ्यो । परीक्षा सकेको चौथो दिनको साँझमा ऊ कोठामा बसेर आफूले लेख्दै गरेको कथालाई अन्तिम चरणमा लाने विषयमा सोच्दै थियो, उसको ढोकामा कसैले लात्तीले हानेको जस्तो आवाज आयो । कृष्णले ढोका खोल्ने बित्तिकै प्रायः अचेत अवस्थामा रहेको आशुतोषलाई बोकेका मान्छेहरू उसको कोठामा ह्वात्तै पसे । तिनीहरुले उसको दाजुलाई ओछ्यानमा फ्याक्दै भने, “तेरो दाजुले अर्काकी चेलीबेटीलाई फेरि पनि हातपात गर्यो भने उसको लास भेट्ने छैनस् । तेरो दाजुलाई सम्झाउनु ।”
तिनीहरु गइसकेपछि कृष्णले दाजुको निधारबाट बग्दै गरेको रगत पुछपाछ गरिदियो । उसको होश आएपछि अपरिचित मान्छेहरुले धमास दिएर गएको कुराको वृतान्त सुनायो । उसले कुनै प्रतिक्रिया बिना भाइको कुरा सुनिरह्यो । कृष्णले आशुतोषलाई अस्पताल लगेर उपचार गराइसकेपछि तुरुन्तै दाजुलाई लिएर घरतिर हानियो । घर फर्किएपछि आशुतोष जागिरको खोजीमा राजधानीतिर लाग्यो । “दाजुले जागिरको बहानामा मलाई छोडेर किन गएका होलान् ?” कृष्णलाई दाजुसँग बस्ने बानी बसिसकेको थियो । दाजु राजधानी लागेपछि उसलाई पट्यार लाग्न थाल्यो । उता कृष्णको दाजु भने जागिरको बहानामा काठमाडौँमा बसेर आफ्नो तृष्णा मेटाउनका लागि कुवा खोज्ने काममा व्यस्त थियो ।
कृष्णलाई उसका साथीहरुले चिट्ठीमार्फत उसको दाजुको खबर नबिराइकन पठाउने गर्थे । राजधानीमा ऊ भाडामा बसेको घरमा घरबेटीकी एम.ए. पास गरेकी एउटै छोरी रहिछिन् । तिनलाई बिहान बेलुका साइकल सिकाउने काम आशुतोषको रहेछ । चिठी पढ्दै गर्दा ऊ एक्लै बोल्यो, “दाजु कहिले नसुध्रिने रहेछन्, फेरि कसको हातबाट कुटाइ खाने हुन् ।” उसलाई आफू बसेको कुर्सीसँगै आफूपनि भासिएको जत्तिकै भयो ।
यता कृष्ण भने बि.ए. परीक्षाको नतिजा कुर्दै आफ्नै पुख्र्यौली थलोमा बसेर प्रगतिशील समाजको गठन गर्न लाग्यो । उसले यता आएर पनि साहित्य लेखन कार्यलाई द्रुतगतिमा अघि बढाइरह्यो । यसैबीच परीक्षाको परिणाम पनि निस्कियो । आशुतोष पासमात्र भयो, कृष्ण भने प्रथम दर्जामा उत्तिर्ण भयो ।
आशुतोषले आफ्नो पढाइमा पूर्णविराम लगाउने निर्णय गर्यो भने कृष्ण भारतको कलकत्तामा गएर एम.ए. पढ्ने भयो । यही बीचमा कृष्णले पनि बिहे गर्यो ।
कलकत्ता जाने बेलामा पनि दाजुभाइको भेट भएन । आफ्नो घर परिवारको मायालाई हृदयमा बोकेर ऊ कलकत्तातिर लाग्यो । त्यतिबेला फोन आदिको सुविधा थिएन । उसले घरको हालखबर चिठीमार्फत मात्र थाहा पाउँथ्यो । उसको हातमा चिठी पुग्दा त्यो खबर पुरानो भइसक्थ्यो । दाजुले साइकल विद्या सिकाउँदा सिकाउँदै तिनै युवतीलाई कान्छी स्वास्नी बनाएर घरमा भित्र्याएछन् । अहिले तिनी राजधानीदेखि बाहिरको ठाउँमा सरकारी नोकरी गर्दैछन् रे । कान्छी स्वास्नी पनि उसकै साथमा छ रे ! कृष्णले चिठीबाट यी सबै कुराहरुको जानकारी पायो । उसलाई आफ्नी भाउजूको माया लाग्यो, बाबुको मायाको लागि तड्पिएका भतिजीहरुको बेहाल भएको कल्पनाले उसलाई धुरुधुरु रुवायो ।
कृष्ण एम.ए.को परीक्षा सकेर आफ्नो घर फर्कियो । बृद्ध अवस्थाले गर्दा अशक्त रहेका बुवाको कारण कृष्णलाई पनि नोकरी गर्ने बाध्यता पर्यो । ऊ पनि आफ्नो पुख्र्याैली घर छोडेर सपरिवार शहर भासियो । ऊ चाडपर्व र कुनै विशेष काममा घर आउने गथ्र्यो । बुवा आमाको उदास अनुहार र भाउजूको फुङ्ग उडेको अनुहार देख्दा विचलित हुन्थ्यो । भतिजीहरुले बावुलाई भुलिसकेका थिए । केटाकेटीहरुलाई कुनै घटना भुल्नमा केही समय लाग्दैन । सायद समयले उनीहरूलाई यसो गर्न सिकाएको होला ।
छुट्टीमा घर आउँदा भाउजूको आँशु रित्तिएको आँखामा असंख्य वेदनाहरु कृष्णले देख्थ्यो । उसलाई भाउजूको घाउ कोट्याउन उचित लाग्दैनथ्यो । दुई हप्तासम्म घर बसेर ऊ फेरि आफ्नो कर्मस्थलतिर लाग्थ्यो । छुट्टीको समयमा बाबुआमा र दाजुका परिवारका लागि घर नआई उसको चित्त बुझ्दैन थियो ।
कृष्ण कलेजबाट फर्किएर पसिना ओभाउन कुर्सीमा बसेको मात्र थियो, उसकी पत्नीले हातमा उसको दाजुले लेखेको चिट्ठी थमाइ दिई । चिट्ठीमा उसले लेखेको रहेछ, “मेरो भाइ, आफ्नी विवाहित स्वास्नीको पवित्र प्रेमलाई लत्याएर कान्छी स्वास्नी भित्र्याउने तिम्रो दाजुलाई क्षमा गर । तिम्री भाउजूको मप्रतिको विश्वासलाई मैले घात गरेको छु । भाइ म विश्वासघातक हुँ । भाइ, मेरो जीवनमा आएको उतारचढावले मेरो दैनन्दिनीमा परिवर्तन आएको कुराको अनुभव म आफैं महसुस गर्दैछु । तिम्री भाउजू र छोराछोरीलाई बिल्लिबाठ पारेर पढेकी तरुनीलाई अवैधानिक रुपमा मेरो जीवनमा भित्र्याउनु नै ठूलो भूल गरेछु । यसको पाप मलाई अवश्य लाग्नेछ । मैले आफ्नो परिवार र भरत जस्तो प्यारो भाइलाई मन दुखाएँ, त्यसको लागि क्षमा चहान्छु । भाइ, मे ....री ..कान्छी स्वास्नी भनाउँदी आफ्नो पूर्व प्रेमी डक्टर उदय प्रसादसँग गई । मैले पारपाचुकेको लागि अदालतमा कागजपत्र पेश गरिसकेको छु । हिजोदेखि म तेरी भाउजू र छोरीहरूसँग छु । मलाई माफ गरिदिनु । मेरो प्यारो भाइ ! अब म परिवारलाई कहिले धोका दिनेछैन ।” कृष्णले चिट्ठी पूरा गर्न सकेन । उसका आँखाबाट आँसुको अविरल वर्षा हुन थाल्यो ।
“ढिलै भएपनि दाजुले प्रायश्चित गर्नुभयो ।” ऊ स्वास्नीको काँधमा टाउको अड्याएर केटाकेटी सरह धेरै बेरसम्म रोइरह्यो । मन अलि हलुको भएपछि मुखधुन धारातिर लाग्यो । कृष्ण कलेजको काम र साहित्यिक कार्यक्रममा व्यस्त भएकोले गर्दा घर जान पाएको थिएन ।
शनिबारको दिन बिहानैदेखि घरमा मान्छेहरूको आवतजावत चल्दैथियो । “कस्तो मान्छे ! एकदिनको छुट्टीमा पनि आफ्ना परिवारलाई समय नदिने ।” स्नेहलताभित्र भान्सामा भकभक उम्लेको चियाको ध्वनिसित आफ्नो रिस पोख्दै थिइन् । तिनले कृष्णलाई हप्तामा शनिबारको दिन परिवारको लागि माग्दै आएकी थिइन् तर, उसले आफ्नी पत्नीको मागलाई पूरा गरिदिन सकेको थिएन ।
टिन...टिन..टिन... बाहिर कान खाने गरेर साइकलको घण्टी बज्यो । कृष्ण पाहुनासँग गफ गर्दै थियो । स्नेहलता बाहिर निस्किन्, हुलाकी रहेछ । उसले तिनको हातमा आवा थमाइदियो । आवामा तिनको जेठाजु मरेको खबर रहेछ । तिनलाई रिङ्टा छुट्यो । दाजु मरेको खबरले कृष्ण धेरै दुःखी भयो । उसलाई संगीतमय जीवन पनि उराठ लाग्न थाल्यो । बिछोडपछिको मिलन के हो भन्ने आनन्दलाई बुझ्न नपाउँदै तिनकी भाउजू विधवा भइन् । छोरीहरू बाल्यकालमै टुहुरी भए । उताबाट हुलाकीले आवा ल्याएको केही घण्टामै आशुतोषको मृत्युको खबर लिएर भान्दाइ आएका थिए । उनले घटनाको एकएक कुराको विवरण कृष्णलाई दिएका थिए ।
प्रजातन्त्र दिवसको दिन घरमा ममबत्ती बालेर रात्रि भोजमा गएका आशुतोषलाई अपरिचित मान्छेहरूले बेहोसीको हालतमा बोकेर घर ल्याएका रहेछन् । भाउजू त्यतिबेला एक्लै भएकीले लोग्नेलाई ल्याउने मान्छेहरूलाई कुनै प्रश्न गर्न सकिन छिन् । उनको दाजुको मृत्युको विषयलाई लिएर पनि व्यक्तिपिच्छे बेग्लाबेग्लै कुरा थिए । कसैले सानेबाबु हो कि, ठूले बाबुले खानामा विष दिएको कुरा गर्छन् । कसैले उनैका आफन्तले रक्सी बेसी खान्छ अलि टहलाइदिनु भन्दा तिनै पहुँचवाला साने बाबु र ठूलेबाबुले बेसी नै टहलाउने हुँदा मर्म पर्ने ठाउँमा लागेर मरेको भन्छन् । तर उसको दाजुको मृत्युमा पक्कै पनि सानेबाबु र ठूलेबाबुको हात छ भन्ने कुराचाहिँ पक्का थियो । दसी प्रमाणको अभावमा हत्यारा यही हो भनेर समाउन सकेनन् । प्रमाण नभेटेपछि उसको अप्राकृतिक मृत्यु पनि प्राकृतिक बन्न गयो ।
भित्ताको फोटो जोडले हल्लीरहेको थियो । फोटोमा आशुतोषको अनुहारमा सन्तोषको झलक देखिन्थ्यो । कृष्णलाई, आफूलाई कसैले बोलाइएको भान भइरहेको थियो । कृष्णले आफूले लेख्दै गरेको “फ्रेमभित्रको कथा”को पन्नाहरू टेबुलभरि फिँजाएको थियो । अब कथा चरमोत्कर्षमा पुगेर सकिने तरखरमा थियो ।
“भाइ, आज म तिमीदेखि अत्यन्तै खुशी छु । मलाई विष खुवाएर मार्ने सानेबाबु र ठूलेबाबु दसी प्रमाण नहुँदा जेल पर्न सकेनन् । उनीहरूले सजाय नपाएकाले मेरो दुखी आत्मा अहिलेसम्म स्वर्ग जान सकेको छैन । तिमी लेखक भएको हुनाले तिमीले हत्याराको नाम आफ्नो कथामा लेखिदिने छौ भन्ने आशामा थिएँ । आज सानेबाबु र ठूलेबाबु माटोमा मिलिसके तर, तिमीले आफ्नो कथामा तिनीहरू नै मेरा हत्यारा हुन भनेर लेखिदियौ । भड्किएको मेरो आत्माले अब स्वर्गमा बास पाउने भयो । भाइ आजदेखि तिमीसँग सधैँको लागि विदा भएँ ।” एक्कासी झ्याल बाहिरबाट आएको हावाको झोक्काले भित्तामा झुण्डाएको फोटो भुइँमा झारिदियो । सिसाको फ्रेम चकनाचुर भयो ।
– बलराम तिमिल्सिना
जब श्रीपेचलाई देखेपछि
शिर झुकायो र ढोग्यो
मेरो भनेको गणतन्त्रुले
एकाएक अचम्म भयो !
आफैप्रति आशंका भयो
जब सजिलै छिमेकीलाई चिन्यो
र हिन्दीमा सलाम गर्यो
अचम्मै अचम्म भयो !
म प्रसुती पनि भएकै हो
जन्माएकै हो बच्चा मैले
मेरो कोख साँक्षी छ
तर किन मिल्दैन बच्चाको डिएनए ?
बाऊको नमिलेको भए
भन्न सकिन्थ्यो तलमाथि पर्यो होला
यहाँ त आमासँगै मिलेन
क्या फसाद भयो, क्या अचम्म भयो !
यसरी दुःखद अचम्म भयो !
किन न्वारन गर्न कसिन्छ छिमेकी ?
किन मुख बिगार्छन् घर परिवार ?
किन मिल्दैन डिएनए बच्चाको ?
सायद प्रसब मुच्र्छनामा हुँदा म
कसैले साट्यो मेरो बच्चा
र राखिदियो कसैले अर्कै
र त यो बच्चा म जस्तै छैन ।
अर्कै मतिको छ, अगतिको छ !
कति माया गरेर बोलाउँथे म –
‘प्यारो गणतन्त्रु !’
ऊ माझी औंलो देखाउँथ्यो मलाई
गिज्याउँथ्यो÷होच्याउँथ्यो
लगातार यस्तो भएपछि
सरदर आमाले सोच्नै नसक्ने
यौटा भयानक निस्कर्षमा छु म –
यो बच्चा मेरो होइन
यो अरु नै कसैको बच्चा हो
खै मेरो गणतन्त्रु ?
यो श्रीपेच ढोग्ने असती
मेरो गणतन्त्रु हुन सक्दैन
एक सक्दैन
दुई सक्दैन
तीन सक्दैन
एउटी आमाको कठोर निष्कर्ष हो यो–
यो बच्चा मेरो होइन !
कतै म थाहै नपाई
सेरोगेट मदर त भइँन
यो बेमान बच्चाको ?
इतिहासले कति भद्दा मजाक गर्छ !
आई रियल्ली फिलिङ–
सेरोगेट मदर !
एम आई राइट ?
– गणेश लोहनी, चितवन (हाल : पोल्याण्ड)
१.
चिनी मात्र किन र नुन पनि बन्द गर
ढोँगी बाबाको भेष धुन पनि बन्द गर
साँध सीमाना चेप्छौ भूमि कब्जा गर्छौ
निशाचर ‘रअ’८ को बैगुन पनि बन्द गर ।
२.
अहंकारको शिखरमाथि चढि चढि खोक्छन्
नअघाउने अगस्तिहरू भेटे जति धोक्छन्
शरीरले साथ छोड्यो विवेक बास बसिसक्यो
अन्ध भक्तहरू भने काँधैमाथि राखि बोक्छन् ।
३.
के गर्दैछौ भनि नसोध मस्तिमा जिइरहेछु
जता जताबाट फाट्छ उतै उतै सिइरहेछु
जमाउने कोसिसमा झनै पन्यालो बनेको
तरल जिन्दगी घुट्को घुट्कोमा पिइरहेछु ।
४.
जनताले जिताउँछन् राजिनामा लिन्छन् नेता
“पार्टी हितमा कामगर्नु” निर्देशन दिन्छन् नेता
राजिनामा स्वीकृतिको त्यान्द्रोले बाँधिएकाका
दृष्टिमा अविवेकी निरंकुश ठानिन्छन् नेता ।
– बिमुन्स पौडेल, पोखरा कास्की
निर्दयीताको रूप भयंकर छनक नपाई
निर्बल अबला यसरी फँस्छिन् बेचिनलाई ।।
बन्दछ प्रेमी बाँड्दछ माया अतुल किसिमको
प्रतिदिन उसले गोप्य तवरले खन्दछ खाई ।।
जीवन चोर्यो हरदम लुक्दै उसले सजिलै
लाज चिहायो डगरडगरमा ढोल बजाई ।।
बोक्दै छ विम्ब सागर जस्तै प्रश्न हियामा
बिचलित पार्ने उत्तर देऊ भन्दछ आई ।।
बग्दछ आँखा असफलताको धाप पिएर
दुस्मन हाँस्दै सुखद प्रहरको दिन्छ बधाई ।।
– रुक्मिणी शर्मा, असम, भारत ।
भाविको लेखन कसले पो टाल्न सक्छ र ? कसै गर्दा मन बुझाउन सकिदैन । हिजोसम्म सपरिवारले परिपूर्ण भएको रत्ने दाईको घरमा आज चारैतिर निःस्तब्ध छ । कसैको मुखबाट एउटा शब्द पनि निस्केको छैन । रत्ने दाई दुई/चार दिनदेखि अलिक बिरामी भएका थिए । असारको महिना मुठि खाएर मानो कमाउने बेला । उनीहरुको वर्ष दिनको खोराकी, चाडवाडको खर्च, तेल–नुन खाने, नानीहरूलाई स्कूल पढाउने, लुगाफाटा आदि सबै थोकको खर्च त्यही खेतको धानले पु¥याउनुु पर्ने थियो । र खेति उठाएर मात्र अस्पताल जान्छु भन्दै घरमै जुवानाको झोल, तुलसी पातको रस, नीम पत्ताको गोली एस्तै के–के औषधि बनाएर खादै खेतमा काम गर्ने गर्दछन् । कहिले सन्चो हुन्छ कहिले हुँदैन यस्तै चलिरहेको थियो । जसै तसै खेति उठाएर अस्पताल जँचाउन भन्दै छोरीको साथ लागेर गए ।
डक्टरले मिर्गौला, मुटु र सुगरको जाँच गर्नुपर्छ, अनि मात्र औषधि दिइन्छ भने । उनीहरूले जाँच गराउछन् तर, बिरामीको केही पत्तो लाग्दैन । दुई÷चार थोक भिटामिन, ग्याष्ट्रिकको औषधि दिएर डक्टरले भन्छन्, “यति खाए पछि जाति हुन्छ, चिन्ता गर्नु पर्दैन ।” डाक्टरको सल्लाहअनुसार औषधि लिएर घर फिर्ता हुन्छन् । औषधि खाँदा पनि बिरामीलाई राम्रो भएको छैन । रत्नेलाई झन् शरिर कमजोर लाग्न थाल्यो, खाने कुराको कोही स्वाद आउदैन हात खुट्टा चल्न छोडे ।
त्यो दिन शनिबार थियो, साँझ पर्दै गयो रत्नेदाईको टाउको सहन नसक्ने गरि दुख्न थाल्यो । ज्वरो बेस्सरी आयो । सेक, ताप गरेर जसै तसै उज्यालो भयो र आमा छोरी भएर अस्पताल लिएर गए । डाक्टरले ‘कोभिड–१९’ जाँच गराउनु पर्छ भन्दै ‘लेव’ तिर लिएर गए । जचाए पछि त साच्चै नै ‘कोभिड–१९’ भएको भेटियो । आमा छोरी डरले थुरथुरि हुन थाल्ये । के गर्नु र कसो गर्नु केही भेउ नपाउने जस्ता भए ।
त्यत्तिकैमा डक्टरले, “अब बाबुलाई क्वारेन्टाइन सेन्टरमा भर्ना गर्नुपर्छ, तपाईँहरु घर फिर्ता जाँदा हुन्छ । उहाँको हेरचाह हामी गर्छौं” भने । तर छोड़ेर फर्किनु कसरी ? आमा र छोरी बिलखबन्दमा परे । तैपनि मुटुमा ढुङ्गो राखेर घर फिर्ता हुन आँटे । मन मान्दैन पाइला चल्दैनन् । निरुपाय भएर छोरीले फेरि सोधिन्, “के–कस्तो होला डक्टर साहेव..? कति दिन राख्नुपर्छ ?” उनलाई बाबु अर्काको हातमा सुम्पिदाँ दिएर जान मन छैन । तैपनि खेरि खेरि सोध्दा डक्टर भन्छन्, “सात दिन पछि जाँच गर्दा मात्र थाहा पाइन्छ अनि हामी हजुरहरुलाई खबर दिन्छौं ।”
डाक्टर नर्सले दिन रात एकाएक गरेर चिकित्सा गरे । तर केही सीप चलेन । चार दिन पछि रत्नेदाईको देहान्त भयो । हेरत.. कस्तो बिडम्बना ...त्यसै दिन छोरीको १२ कक्षाको रिजल्ट निस्कियो । उनी ९० प्रतिशत नम्बर लिएर पास भएकी रैछिन । यता अस्पतालबाट बाबुको शव ल्याएर आँगनमा तुलसाको मठ नेर राखेको हुन्छ ।
छोरी सरासर भित्र जान्छिन् र उनको मार्कसिट ल्याएर बाबुको छातीमा राखेर रुँदै भन्छिन्, “बाबु .... तपाईं मेरो जन्म दिनमा आशीर्वाद दिँदै भन्नु हुन्थ्यो, राम्रो रिजल्ट गर्नु । आजको विद्यार्थी, समाज तथा देशको भविष्य हो । तिमी मेरो सपना हौ, अन्यायको अघि नझुक्नु र सत्यमा कहिल्यै पछि नसर्नु भनेर । हेर्नु आज मैले राम्रोगरि पास गरे । तपाईँ हामीबाट टाढिएर गएता पनि ‘म’ तपाईंको सपना निश्चय साकार गर्ने छु । तपाईंको आशीर्वाद शिरोधार्य छ ।”
Bagbazar Kathmandu
Phone : 014226366, 014228298
Mobile : 9841293261, 9841206411
Email : [email protected]
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2022 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies