फुङ्लिङः प्रकृतिक सुन्दरताको आनन्द लिन लोदेन घुम्न जानका लागि काठमाडौंमा योजना बनाएर अनिल खड्का र लोकेश लिवाङ ताप्लेजुङ पुगे । फुङ्लिङबाट आवश्यक सामग्री आफैंले बोकेर मिक्वाखोला गाउँपालिकाको प्राकृतिक सुन्दरताले भरिपूर्ण क्षेत्र लोदेन पुगे ।
कठिन यात्राले गर्दा अनिलको तन भारी भए पनि प्राकृतिक सुन्दरताले मन चङ्गा जस्तै उच्च पहाडी क्षेत्रको हावासँगै डुलिरहेको थियो । पदमचाल (केन्जो) फूल देख्नेबित्तिकै त्यसमा उनको आँखा पर्यो । अनौठो र सुगन्धित त्यस फूल नजिकै गएर एक चुम्मन गरे ।
ढकमक्क पदमचाल फूलले सझिएको फाँटहरु देख्दा जो कोही पनि मोहित हुने गर्दछन् । केही छिनमै कुहिरो छोपिंदिदा पृथ्वीको कुनै एक कुनामा हराएको जस्तो अनुभूति हुने गर्दछ । केही क्षणमा ढपक्क कुहिरोले ढाक्ने र विस्तारै उड्दै जाँदा दुलहीले लजाउँदै घुम्टो उघारे जस्तै लाग्दछ । रोमाञ्चक मौसम र ढकमक्क फूलले स्वर्गीय आनन्द प्राप्त हुन्छ । फूलको सौंन्दयताका लागि वा फूलप्रतिको प्रेम भावले सबैलाई आनन्द दिन्छ ।
यतिखेर जिल्लाको उच्च पहाडी क्षेत्रहरु गरगहानाले दुलही सजिए जस्तै यस फूलका गुच्छाले ढकमक्क सजिएको पाइन्छ । पत्रैपत्र परेको पिरामिड जस्तो यो फूल देखेर मोहित नहुने सायदै छन् । कतिपय प्रत्यक्ष देखेर मख्ख पर्छन् भने कतिपय फोटो भिडियो हेरेर लोभिन्छन् । केन्जो प्रत्यक्ष देख्नलाई उच्च पहाडी क्षेत्र पुग्नुपर्छ । चट्टान भएको भिरालो पहाडमा फूलेको केन्जोनजिक पुग्न केही कठिन त हुन्छ नै । पछिल्लो समयमा विभिन्न क्षेत्रहरुमा तस्बिरको प्रयोग बढ्दै गएको छ । होटल रेस्टुरेन्ट विभिन्न क्षेत्रहरुमा पनि यस फूलको आकर्षक तस्बिर राखेको देख्न सकिन्छ ।
उच्च पहाडी क्षेत्रमा कतिपयले पदमचाल फूललाई फूलहरुको रानी पनि भन्ने गर्दछन् । मिक्वाखोला गाउँपालिका लुम्बासुम्बाको उच्च पहाडी क्षेत्रमा केञ्जो पूmल प्रशस्त देख्न पाइन्छ । मिक्वाखोला गाउँपालिका—५ लोदेन, तोक्पेगोला र फक्ताङलुङ गाउँपालिका—७ सिङजेमा, देउमा, माउमा क्षेत्रमा कमैरुपमा पाइने कञ्चनजङ्घा संरक्षण क्षेत्रका कार्यक्रम सहायक जितेन चेम्जोङले बताए । यहाँका उच्च डाँडाहरुमा पहराहरुमा सेताम्य फुल्ने यो फूलको बनावट धरहरा जस्तै ठाडो हुन्छ । केन्जो एक दुर्लभ प्रजातिको फूल हो । लेकाली चौर र अग्ला डाँडामा निकै आकर्षक देखिने गरी फूलेको भेटिन्छ ।
यस फूलको व्याख्या पहिलोपल्ट ब्रिटिस वनस्पतिविद् सर जोसेफ टाल्टन हुकरले ‘हिमालयन जर्नलस नोट्स आफ न्याचुरलिस्ट’मा गरेका थिए । उनले पुस्तकमा लेखेका छन्, ‘पदमचाललाई मैले पहिलो पल्ट एक माइल टाढाबाट देखें । लाछेन उपत्यकाको १४ हजार फिट उचाइमा अवस्थित कालो पहाडलाई यसले अत्यन्त सुन्दर बनाएको थियो । अप्ठ्यारा ठाउँमा थिए । तीन फिट जति अग्लो यस वनस्पति पिरामिड टावरको रूपमा ठिङ्ग उभिएको थियो ।’
संस्कृत भाषामा यसलाई रेवाचिनी, अम्लसार, बेतसाम्ल, फलाम्ले, गन्धिनी भनेर पनि चिनिन्छ । पोलिगोनेसी वनस्पति परिवारभित्र पर्ने यो फूल नेपालको तीन हजार मिटरदेखि चार हजार मिटरसम्मको उच्च पहाडी भेगमा आफैं उम्रिएका हुन्छन् । व्यावसायिक खेती भने हालसम्म भएको देखिंदैन । यसको बोटलाई अचारका रुपमा पनि प्रयोग गरन मिक्वाखोला गाउँपालिका—५ तोक्पोगालाका तेन्जिङ शेर्पाले बताउँछन् ।
उच्च पहाडी भेगमा फिरफिरे, ठींग्रे वा गोब्रे सल्ला इत्यादि भएका जङ्गलको छेउछाउमा, थुम्कामा, खुला ठाउँमा र ढुङ्गाको अन्तरमा हुर्किन्छ । एकदेखि दुई मिटरसम्म अग्लो हुने पदमचाल जरा र जमिनमुनि रहने काण्ड कसिएको गठिलो हुन्छ भने बाहिरी भाग चाउरी परेको हुन्छ । यसबाट सुगन्धित वासना आउँछ । स्वाद भने पिरो, टर्रो र केही मात्रामा अमिलो पनि हुन्छ । जमिनबाटै पलाएर आएका लामा डाँठ भएका यसका पातहरू ३० सेमि चौडा हुन्छन् ।
विरुवाका माथिल्लो भागमा तल्ला पातहरूको दाँजोमा साना हुन्छन् । एउटै फूलमा भाले तथा पोथी दुवै योनी पाइन्छन् । विरुवा काण्डका टुक्राहरूबाट अथवा बीउबाट उमारिन्छ । विरुवाहरूलाई वसन्त ऋतुमा सार्नुपर्दछ । यसका बिरुवालाई १।५ मी। दूरीमा रहेको खाल्टोमा मल जल गरेर सार्न सकिन्छ ।
कञ्चनजङ्घा संरक्षण क्षेत्र कार्यालयका संरक्षण अधिकृत आदर्श क्षेत्रीका अनुसार पदमचाल फूल विशेषतः नेपालको हिमाली भेग दोलखा, गोरखा, लमजुङ, म्याग्दी, हुम्ला, बाजुरा, जुम्ला, पर्वत, रुकुम, बागलुङलगायतका जिल्लामा पाइन्छ । यसलाई व्यावसायिक रुपमा लगाएर आर्थिक लाभ लिन सकिने उनको भनाइ छ ।
यस फूलको औषधीय महत्व पनि रहेको बताइन्छ । आयुर्वेदमा यसलाई एक महत्वपूर्ण जडीबुटीको रुपमा लिने गरिन्छ । कब्जियत, पखला लागेको, ज्वरो आएको अवस्थामा पदमचालको प्रयोग गर्न सिकन्छ । त्यस्तै, शरीरमा जलन भए यसको रस जुसको रुपमा पिउँदा शरीरलाई शीतलता प्रदान गर्छ । डाँठलाई सुकाएर जुनसुकै समयमा प्रयोग गर्न सकिन्छ । खाना अपच भएको अवस्थामा एक गिलास पानीमा यसको सुकाएको धुलो एक चम्चा मिसाएर खाँदा यसले स्वास्थ्यलाई निकै फाइदा पुर्याउँछ ।
शरीरको कुनै भाग सुन्निएको छ वा मर्केको, भाँचिएको अवस्थामा यसको जरा कुटेर गाईको गहुँतसँग मिसाई लगाउनाले फाइदा गर्दछ । साथै यस फूलको पात, डाँठ, फूललाई अचार तथा तरकारीमा पनि प्रयोग गरिन्छ । दिलकुमार लिम्बू/रासस
गण्डकीः ढोरपाटन विश्वप्रख्यात सिकार गन्तव्य भए पनि नेपालीका लागि भने त्यहाँको सिकार अनुभव लिनु धेरै टाढाको विषय बनेको छ । नेपाली सिकारीलाई लक्ष्य गरी बँदेलको वैधानिक सिकार खुला गरिएकामा आवेदन नै नपर्नुले नेपालीका लागि ढोरपाटन सिकार आरक्षमा सिकार खेल्न सहज छैन भन्ने देखाउँछ ।
लाखौँ रुपैयाँ राजस्व तिरेर गरिने नाउर र झारलको सिकार त नेपालीका लागि झनै पहुँचबाहिर छ । गत आवको पहिलो सिकार याम (असोज–मङ्सिर(मा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले सिकारमा नेपालीलाई आकर्षित गर्न पहिलोपटक ११ बँदेलको सिकार कोटा तोकेको थियो ।
उक्त याममा तीन नेपालीले बोलपत्रको प्रक्रियामा भाग लिए पनि पछि सिकार खेल्न भने गएनन् । आरक्षका प्रमुख संरक्षण अधिकृत वीरेन्द्रप्रसाद कँडेलले गत आवको दोस्रो सिकार याम (फागुन–वैशाख)मा पनि बँदेलको सिकार हुन नसकेको बताए । चालु आवको पहिलो सिकार याममा पनि बँदेलका लागि नेपाली सिकारीबाट आवेदन नपरेको उनको भनाइ छ ।
नाउर र झारल सिकारका लागि भने यही असोज १८ गतेदेखि विदेशी पेसेवर सिकारी आरक्ष क्षेत्र पुग्दैछन् । ‘महँगो शुल्क र झन्झटिलो प्रक्रियाका कारण बँदेल सिकारमा नेपालीको रुचि देखिएन’, प्रमुख संरक्षण अधिकृत कँडेलले भने, ‘नेपालीलाई सिकार खेल्न हतियारको पनि समस्या छ ।’
विदेशीलाई सिकार खेलाउँदै आएको सिकार कम्पनी ट्रयाक एन्ड ट्रेभल्सका प्रतिनिधि दीपक थापाले लामो दूरीमा प्रहार गर्न सक्ने हतियार नेपालीसँग नरहेको बताए । ‘बँदेललाई पछ्याउन गाह्रो हुन्छ, टेलिस्कोपसहितको हतियार चाहिन्छ’, उनले भने, ‘नेपालीका लागि शुल्क पनि महँगो भयो, बँदेल सिकार प्रभावकारी हुन सकेन ।’
विभागले बँदेलका लागि सिकार आवेदनमा पाँच हजार, सिकार अनुज्ञापत्र लिँदा रु. १० हजार र एक हप्ताका लागि सिकार ब्लक रिजर्भ गर्दा रु. १५ हजार शुल्क तोकेको थापाले बताए । ‘राजस्वबाहेक यातायात, खाना र बासको व्यवस्था गर्नुपर्छ, एउटा बँदेलको सिकार खेल्दा झन्डै एक लाख खर्च हुन्छ’, उनले भने, ‘सौखिन र खर्च गर्न सक्ने नेपालीलाई पनि बँदेल सिकार त्यति सहज छैन, बँदेल प्रायः साँझ र रातिमा सक्रिय हुने हुँदा ट्र्याक गर्नै गाह्रो हुन्छ, नेपालीसँग आधुनिक हतियार पनि छैन ।’
थापाका अनुसार नाउर र झारल सिकार गर्ने विदेशी सिकारीले प्याकेजमा बँदेल पनि सिकार गर्न पाइने भए पनि खासै रुचि नदेखाउने गरेको बताए । ‘विदेशीहरु नाउर र झारलको सिकारका लागि महँगो शुल्क तिरेर आएका हुन्छन्, उनीहरु त्यसमै रमाउँछन्, नेपालीलाई बँदेल सिकारमा आकर्षित गर्ने हो भने शुल्क घटाउनुपर्छ र प्रक्रिया पनि सहज बनाउनुपर्छ’, उनले भने ।
शुरुमा केही नेपाली सिकारीले सिकार खेल्न चाहेको भए पनि पछि सम्पर्कमा नआएको उनले उल्लेख गरे । सिकार कम्पनीहरुले विभागसमक्ष बँदेलका लागि तोकिएको शुल्क कम गर्नुपर्ने माग गर्दै आएका छन् । नाउर र झारलको महँगो सिकार नेपालीको पहुँचमा नरहेकाले बँदेल सिकारमार्फत आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने ध्येयले विभागले बँदेलको सिकार खुला गरेको प्रमुख संरक्षण अधिकृत कँडेलले बताए ।
बँदेलको व्यवस्थित सिकार हुन सके स्थानीय बासिन्दा र आरक्षबीचको सम्बन्धमा पनि सहजता थपिने विश्वास लिइएको उनको भनाइ छ । ‘बँदेलले किसानको खेतीबाली खाइदिने गर्छ, सिकारले पनि त्यसलाई केही हदसम्म नियन्त्रण गर्न सघाउने ठानिएको छ’, उनले भने, ‘वैधानिक रुपमा सिकार गराउँदा राज्यले राजस्व पनि आर्जन गर्छ ।’
नाउर र झारल सिकारबाट विभागले बर्सेनि कराडौँ रुपैयाँ राजस्व उठाउँदै आएको छ । आरक्षमा अहिलेसम्म कोही पनि नेपाली वैधानिक सिकारका लागि नपुगेको स्थितिमा विभागले गत वर्ष पहिलोपटक नेपालीलाई लक्ष्य गरि बँदेलको सिकार खुला गरेको थियो । विदेशी पेसेवर सिकारीले मात्र आरक्षमा सिकार खेल्दै आएका छन् । बोलपत्रको प्रतिस्पर्धाबाट छानिएका सिकार कम्पनीले बर्सेनि दुई याममा सिकार खेलाउने गर्छन् ।
नाउर र झारल सिकारका लागि विदेशी सिकारी लाखौँ रुपैयाँ खर्चेर ढोरपाटन पुग्ने गर्छन् । चालु आवको पहिलो सिकार याम (असोज–मङ्सिर)मा एउटा नाउरको न्यूनतम पाँच लाखदेखि बढीमा रु. १३ लाखसम्म राजस्व बुझाएको आरक्ष कार्यालयले जनाएको छ । झारल सिकारमा भने बढीमा रु पाँच लाखसम्म राजस्व तिर्न कम्पनी तयार भएका थिए ।
यो याममा विभागले नौ नाउर र सात झारलको सिकार अनुमति दिएको छ । हतियार र बन्दोबस्तीसहित सिकारमा जाने तयारीमा कम्पनी छन् । ट्र्याक एण्ड ट्रेल्र्सका प्रतिनिधि थापाले आफूहरु कात्तिक पहिलो हप्ता आरक्ष क्षेत्रमा पुग्ने बताए । उहाँको कम्पनीमार्फत जमर्न र बेलारुसका सिकारी ढोरपाटन पुग्दैछन् ।
उनीहरुले तोकिएको सिकार ब्लकमा दुई नाउर र दुई झारलको सिकार खेल्ने कम्पनीले जनाएको छ । सिकारीसहित कम्पनीका प्रतिनिधि, आरक्षका कर्मचारी, पथप्रर्दशक, भरिया लगायतका टोली सिकार ब्लकमा पुग्ने गरेका छन् । आरक्षमा सुर्तिबाङ, फागुने, बार्से, सेङ, दोगाडी, घुस्तुङ र सुनदह गरी सात सिकार ब्लक छन् । आरक्षमा नेपाल ट्राभल एक्पिडिसन, ग्लोबल सफारिज, हिमालयन सफारिज, हिमालयन वाइल्ड लाइफ आउटफिटर, ट्रयाक एन्ड ट्रेभल्सगायत सिकार कम्पनीले सिकार खेलाउँदै आएका छन् ।
विदेशीहरु ‘हन्टिङ ट्रफी’का लागि नाउर र झारलको सिकार खेल्न आउने गरेको ट्रयाक एन्ड ट्रेल्र्सका प्रतिनिधि थापाले बताए । आरक्षमा रतुवा मृग, चरालगायत अरू वन्यजन्तु र पक्षीको समेत सिकार गर्न पाइने भए पनि अहिलेसम्म माग नआएको आरक्ष कार्यालयले जनाएको छ । सौखिन र खर्चिला विदेशी सिकारीको रोजाइमा ढोरपाटन पर्ने गरेको छ । उनीहरु हेलिकप्टर चार्टर गरेर सिकार आरक्ष पुग्छन् । आरक्ष बागलुङ, म्याग्दी र रुकुमको उच्च पहाडी र हिमाली भू–भागमा फैलिएको छ । विसं २०३९ मा स्थापना भएको आरक्ष देशकै एकमात्र वैधानिक सिकार गन्तव्य हो । रोमाञ्चक र साहसिक सिकार पर्यटनका लागि ढोरपाटन विश्वमै प्रख्यात छ । रामबहादुर थापा/रासस
बागलुङः गलकोट नगरपालिका–५ को उच्च पहाडको शिरमा छ टेउवा । यहाँ पछिल्लो समय आन्तरिक पर्यटकको चहलपहल बढ्न थालेको छ । प्राकृतिक सुन्दरताले भरिएको टेउवामा मानवनिर्मित संरचना र विभिन्न किसिमका मूर्तिले गलकोटको नयाँ पहिचान बनाउन थालेको छ ।
चार वर्ष अगाडिसम्म सुनसान देखिने टेउवा विसं २०७६ मा स्थापना भएसँगै आन्तरिक पर्यटकको आवागमन हुन थालेको स्थानीय बताउँछन् । टेउवामा मूर्तिकला निर्माण भएसँगै अहिलेसम्म हजारौँ आन्तरिक तथा बाह्य पर्यटक अवलोकनका लागि यहाँ आउने गरेका स्थानीयको भनाइ थियो । मूर्तिकला गलकोटको पहिचान बन्दै गएको उनीहरु बताउँछन् ।
टेउवाको प्रचारप्रसार र भौतिक संरचना निर्माणका लागि सरकारले पनि बर्सेनि लगानी गर्दै आएको नगरपालिकाका प्रवक्ता हिमबहादुर भण्डारीले बताए । उनका अनुसार यहाँ बनेका मूर्तिकला अवलोकन गर्न आउने आगन्तुकलाई लक्षित गरी नगरपालिका र केन्द्र सरकारले दुई वर्ष अगाडिदेखि सडक स्तरोन्नति र पार्क निर्माण थालेका छन् ।
हरिचौर बजारदेखि करिब छ किलोमिटर सडक स्तरोन्नति गर्न र पार्क निर्माणका लागि नगरपालिका र केन्द्र सरकारले बहुवर्षे योजनाअन्तर्गत छ करोड विनियोजन गरेको भण्डारीले जानकारी दिए । उनका अनुसार आर्थिक वर्ष २०७७/७८ को योजनाअन्तर्गत अहिले टेउवामा संरचना निर्माण भइरहेका छन् ।
‘समुद्री सतहदेखि १९८० मिटरको उचाइमा रहेको टेउवामा अन्तर्राष्ट्रिय मूर्तिकारले शीलामा कुँदेर मूर्ति बनाएका छन्’, प्रवक्ता भण्डारीले भने, ‘मूर्तिको संरक्षणसँगै बाह्य पर्यटकलाई आकर्षण गर्न यहाँ पर्यटन पूर्वाधार निर्माण गर्न थालिएको छ ।’ मूर्ति निर्माण भएको क्षेत्रको प्रवद्र्धन गर्न नगरपालिकाले प्रचारप्रसार र भौतिक संरचना निर्माणमा जोड दिएको उनको भनाइ थियो ।
अन्य पर्यटकीय क्षेत्रभन्दा टेउवामा पर्यटकले अवलोकन गर्ने पृथक वस्तु र मनमोहक प्रकृति रहेकाले आकर्षण बढेको प्रवक्ता भण्डारीले बताए । उनका अनुसार यस क्षेत्रको विकासका लागि नगरपालिकाले प्रदेश र केन्द्र सरकारसँग सहकार्य गरी आवश्यक पूर्वाधार निर्माणमा जोड दिएको छ ।
‘गलकोटलाई थप चर्चित बनाउन टेउवामा निर्मित मूर्तिकलाले महत्वपूर्ण भूमिका निर्वाह गरेको छ । यस क्षेत्रको प्रचारप्रचार भयो भने यहाँ घुम्न आउनेको कमी हुदैन । पहिले सडकको अवस्था खराब थियो, अहिले स्तरोन्नति भइसकेको छ’, प्रवक्ता भण्डारीले भने, ‘यहाँबाट सुन्दर दृश्यावलोकन गर्न सकिन्छ, मूर्तिकलाको सेरोफेरोमै पार्क पनि बन्दै छ, सडकको स्तरोन्नति र पार्क निर्माणपछि यहाँ अझै धेरै पर्यटक आउने हामीले अपेक्षा गरेका छौँ, पर्यटकका लागि शौचालय, खानेपानी र विश्रामस्थल पनि बन्दैछन्, त्यसले आगन्तुकलाई थप सहज हुनेछ ।’
मूर्तिकलासम्म पुग्ने सडक र पार्क निर्माणका लागि विसं २०७८ को भदौमा चार करोडमा सम्झौता गरी काम थालिएको निर्माण कम्पनीका प्रमुख योगेश भण्डारीले बताए । विसं २०७९ फागुनसम्म सक्ने गरी जिम्मा लिएकामा विविध कारणले ढिलाइ भएको बताउँदै उनले हालसम्म ८० प्रतिशत काम सम्पन्न भएको जानकारी दिए ।
सडकको सबै काम सकिएको भन्दै भण्डारीले पार्क र घेराबारको केही काम बाँकी रहेको बताए । काम गरेको भुक्तानी नहुँदा बाँकी काम गर्न समस्या भएको उनको भनाइ थियो ।
‘योजना नगरपालिका र केन्द्र सरकारको लगानीमा भएकाले नगरपालिकाले भुक्तानी दिए पनि केन्द्रबाट भुक्तानी आएको छैन । काम सकिन लाग्दासम्म रकम पाउन बाँकी छ, सडकको सबै काम सकिएको छ, मूर्तिको संरक्षणका लागि घेराबार र र्पाक निर्माणको केही काम बाँकी छ । यसका लागि धेरै समय लाग्दैन’, उनले भने ।
ऐतिहासिक गलकोट दरबारको शिरमा रहेको मूर्तिकला अवलोकन गर्न आउने पर्यटकले अन्य पर्यटकीय क्षेत्रको सहज रुपमा अवलोकन गर्न सक्छन् । छेउमै गाईघाट झरना र बाटैमा गलकोट दरबार रहेको हुँदा यहाँ पनि पर्यटक घुम्न आउने गरेका छन् ।
हरिचौरदेखि मूर्तिकलासम्मको सडक स्तरोन्नति भएपछि यहाँ आउने पर्यटकको सङ्ख्या दैनिक बढिरहेको वडा नं ५ का वडाध्यक्ष पवन हमालले बताए । बर्खाको समयमा पनि टेउवामा आउने पर्यटकको कमी नभएको उनको भनाइ थियो । टेउवा पुग्ने पर्यटकले हटियार बजार, हरिचौरको गलकोट दरबार र नजिकै रहेको गाईघाट झरना ‘प्याकेज’ मै घुम्न सक्ने हुँदा आगन्तुको सङ्ख्या बढेको उनले बताए ।
‘पहिला टेउवाको डाँडा खुल्ला र खाली थियो, अहिले मूर्ति र विभिन्न संरचनाले भरिएको छ, ठाउँ सुन्दर भए नि ओझेलमा परेको थियो । अहिले पर्यटक घुम्न आउने ठाउँ बन्यो’ अध्यक्ष हमालले भने, ‘यहाँ पर्यटक घुम्न आउने दिन खाली हुँदैन, चाडवाड शुरु भयो, अब झन् धेरै पर्यटक यहाँ आउँछन्, अहिले मूर्तिकला वरपर घाँस पलाएको छ, त्यसलाई सरसफाइ गरेर व्यवस्थित बनाउँछौँ ।’
उनका अनुसार टेउवामा विसं २०७६ फागुन ५ देखि २१ सम्म अन्तर्राष्ट्रियस्तरका मूर्तिकारको सम्मेलन गरी १० देशका १५ जना मूर्तिकारले १७ वटा मूर्ति तयार गरेका छन् । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मूर्तिकारले बनाएका ती मूर्ति खुल्ला सङ्ग्रहालयमा राखिएका छन् । मूर्तिकारले ढङ्गामा जल, जङ्गल, जमिन, पहाड, लगायतका आकृति तयार गरेका छन् । रासस
बाँकेः विद्युतीय रिक्सा सञ्चालनमा आएसँगै नेपालगञ्जमा परम्परागत पाइडल रिक्सा विस्थापित हुँदै गएका छन् । करिब दुई दशकदेखि परम्परागत रिक्सा चलाएर घरपरिवार पाल्दै आएका नेपालगञ्ज उपमहानगरपालिका–१२ का मुस्लिम खाँ अहिले आफ्नो रिक्सामा यात्रु बस्न नचाहने गरेको बताउँछन् ।
‘सबैजना अटोमै चढ्न मन पराउँछन्, हाम्रो रिक्सामा मान्छे बस्नै मन पराउदैनन्, यो रिक्सा चलाएर गुजारा चलाउन गाह्रो भएको छ, अब अरु कुनै काम गर्ने सोचमा छु’, उनले भने । रिक्सामा यात्रु नपाएपछि ९० प्रतिशतले पेसा परिवर्तन गरेको खाँको भनाइ छ । पैसा जोहो गर्न सक्ने धेरैले विद्युतीय रिक्सा किनेर चलाउने गरे पनि अधिकांशले अन्य कामधन्दा गर्ने गरेको उनी बताउँछन् ।
नेपालगञ्जमा काम नपाएपछि अहिले परम्परागत पाइडल रिक्सा चालकले जमुनाह नाकामा समान ओसार्ने काम गर्दै आएका छन् । जमुनाहबाट भारतीय बजार रुपैडिहा जाँदा–आउँदा दुवै देशका सुरक्षाकर्मीले दुःख दिने गरेको नेपालगञ्ज–१३ का रिक्सा चालक गङ्गाराम रैदास बताउँछन् ।
नेपालगञ्जमा विद्युतीय रिक्सा सञ्चालन नहुँदा दैनिक एक हजारसम्म कमाइ हुने गरेकामा अहिले मुस्किलले दुई सयदेखि तीन सयसम्म हुने गरेको उनको भनाइ छ । सीमावर्ती जमुनाह क्षेत्रमा यात्रु पाइने भए पनि अन्यत्र नपाइने रैदास बताउँछन् । एकदशक अघिसम्म नेपालगञ्जको भरपर्दो सवारीसाधनको रुपमा रहेको परम्परागत रिक्सा अहिले नेपाल–भारत सीमा नाका जमुनाह क्षेत्रमा सीमित हुन पुगेको छ ।
एक दशक अघिसम्म तीन वटा रिक्सा भाडामा लगाउँदै आएका नेपालगञ्ज–१२ का पुत्तन होलीले आम्दानी नभएपछि अहिले पेसानै परिवर्तन गरेका छन् । रिक्सा भाडामा लगाएर आफूले रिक्सा मर्मतको काम गर्दै आएको उनी विद्युतीय रिक्सा आए पनि भाडासमेत उठ्न नसकेका कारण आफूले पेसा परिवर्तन गर्नुपरेको गुनासो गर्छन् । रिक्सा मर्मत गर्ने पसलमा अहिले उनले पानको पसल सञ्चालन गरेका छन् ।
नेपालगञ्जबाट विस्थापित भएका परम्परागत पाइडल रिक्सा सीमावर्ती जमुनाह क्षेत्रमा थुप्रिएका छन् । सिमावर्ती भारतीय बजार रुपैडिहामा विद्युतीय रिक्सा प्रवेशमा रोक लगाएकाले जमुनाहदेखि रुपैडिहासम्म र रुपैडिहादेखि जमुनाहसम्म यात्रु तथा समान ओसारपसारमा परम्परागत रिक्साको भीडभाड हुने गरेको जमुनाहइलाका प्रहरी कार्यालयका प्रमुख वरिष्ठ प्रहरी नायब निरीक्षक मीनबहादुर विष्ट बताउँछन् । रासस
वीरगञ्जः मूर्ति विर्सजनका क्रममा सर्लाहीको मलगङ्वामा दुई पक्षबीचको विवादलाई लिएर वीरगञ्जमा पनि तनाव उत्पन्न भएपछि आज धार्मिक सद्भाव र्याली निकाल्न लागिएको छ ।
वीरगञ्ज महानगरपालिकाको अगुवाइमा सोमबार धार्मिक सद्भाव र्याली निकाल्ने तयारी गरिएको छ । केहीबेरमा वीरगञ्जको आर्दशनगरमा रहेको स्वीमिङपुलबाट निस्किने धार्मिक सद्भाव र्यालीमा सहभागी हुन राजनीतिक दल, सङ्घसंस्था, धार्मिक सङ्घसंस्था, कर्मचारी, बुद्धिजीवीलगायत सबैपक्षसँग महानगरपालिकाले अपिल गरेको छ ।
सर्लाहीको मलङ्गवामा दुई पक्षबीचको विवादका कारण वीरगञ्जमा पनि बन्द, हडताल र प्रदर्शन हुन थालेपछि सामाजिक सद्भाव कायम राख्न धार्मिक सद्भाव र्याली निकाल्न लागिएको महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेलले जानकारी दिए । यसअघि जिल्ला प्रशासन कार्यालय पर्सामा आइतबार बसेको सर्वपक्षीय बैठकमा सबै धर्म र समुदायबीच आपसी सद्भाव कायम राख्ने सर्वपक्षीय सहमति भएको थियो ।
राजनीतिक दलका प्रतिनिधि, नागरिक समाज, विभिन्न धार्मिक समुदायका अगुवा लगायतको उपस्थितिमा बसेको बैठकमा अबदेखि शान्तिसुरक्षा, अमञ्चयनमा असर पर्नेगरी धार्मिक एवं सामुदायिक प्रकारको र्याली, जुलुश, प्रदर्शन र बन्द हड्ताल नगर्ने सहमति भएको पर्साका निमित्त प्रमुख जिल्ला अधिकारी शिवप्रसाद लम्सालले जानकारी दिए ।
जनकपुरधामः राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार जनकपुरधामस्थित जानकी मन्दिरमा पूजाआजा एवं दर्शन गरेका छन् । सोही अवसरमा उनले जानकी मन्दिरमा अखण्ड दीप प्रज्ज्वलन गर्नुका साथै सीता माताको माइतीघर दर्शन, अखण्ड कीर्तन दर्शन एवं प्रसाद ग्रहण गरेका हुन् ।
राष्ट्रपतिलाई जानकी मन्दिरमा मूल महन्त रामतपेश्वर दासले स्वागत गरेका हुन् । राष्ट्रपति पौडेललाई जनकपुर विमानस्थलमा मधेस प्रदेश प्रमुख हरिशङ्कर मिश्र, मुख्यमन्त्री सरोज यादव, पूर्वउपप्रधानमन्त्री विमलेन्द्र निधि, सङ्घीय सांसद, नगरप्रमुख तथा सुरक्षा निकायका प्रमुखले स्वागत गरेका थिए ।
राष्ट्रपति पौडेलले जनकपुरधाममा निर्माण भएको महेन्द्रनारायण निधि मिथिला संस्कृति केन्द्र सभाहलको आज दिउँसो समुद्घाटन कार्यक्रम रहेको छ । सोही सभाहलमा जनकपुरधाम उपमहानगरपालिकाका तर्फबाट आयोजना गरिने नागरिक अभिनन्दन उनले ग्रहण गर्नेछन् ।
राष्ट्रपति पौडेललाई विशेष सम्मानसहित नागरिक अभिनन्दन गर्न लागिएको जनकपुरधाम उपमहानगरपालिका प्रमुख मनोजकुमार साहले जानकारी दिए ।
म्याग्दीः नेपाल विद्युत् प्राधिकरणद्वारा निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजना निर्माण शुरु भएको १४ वर्षमा ६० प्रतिशत काम सकिएको छ ।
भारतीय आयात निर्यात (एक्जीम) बैंकको ६७ मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण तथा प्राधिकरण र सरकारको संयुक्त लगानीमा विसं २०६६ मा सो आयोजना निर्माण शुरु भएको थियो ।
कमजोर आर्थिक अवस्थाका कारण २०७२ मा पुरानो ठेकेदार आइभिआरसिएलसँगको ठेक्का तोडेर कम्पनीको अवधारणा र इञ्जिनियरिङ प्रक्युमेन्ट एन्ड कन्ट्रयाक्ट (इपिसी( प्रारुपमा सो आयोजना निर्माण अघि बढाइएको थियो ।
पहिलेको कार्यतालिका र सम्झौताअनुसार राहुघाट विसं २०७० मा निर्माण सकिनुपर्ने थियो । विसं २०७४ मङ्सिरमा सम्पन्न गर्नेगरी छ अर्बमा ठेक्का सम्झौता गरेको भारतको सिभिल ठेकेदार जयप्रकाश एशोसियट् (जेपी)ले पनि निर्धारित समयभित्र आयोजना निर्माण सम्पन्न गर्न सकेको छैन ।
आयोजनाका व्यवस्थापक राज विष्टले हालसम्म समग्रमा ६० प्रतिशत भौतिक र ४५ प्रतिशत वित्तिय प्रगति भएको बताए । ‘पैँतालिस महिनाको ठेक्का सम्झौताको म्याद भएको आयोजना सन् २०२३ जनवरीदेखि सञ्चालनमा ल्याउने लक्ष्य थियो’, उनले भने, ‘कोरोना महामारी र विपद्का कारण ठेकेदार कम्पनीले लक्ष्यअनुसार काम गर्न नसकेका कारण सन् २०२४ को अक्टोबर १७ सम्म ठेक्का सम्झौताको म्याद थप भएको छ ।’
पुरानो ठेकेदार आइभिआरसिएलले आठ वर्षमा १० प्रतिशत काम गरेको थियो । विसं २०७५ असारमा पहुँचमार्ग र विसं २०७६ असारमा सुरुङ खन्न शुरु गरेको जेपी कम्पनीले हालसम्म पिप्लेमा ६१ मिटर गहिरो सर्चसाफ्ट, तीन सय २९ मिटर वटम प्रेसर साफ्ट, छ सय ५४ मिटर लामो चारवटै अडित (मुख्य सुरुङमा पुग्ने पहुँचमार्ग) र एक सय ९६ मिटर ठाडो सुरुङ निर्माण गरिसकेको छ । अडिट एकबाट बाँधतर्फ जाने ७५ मिटर लामो सुरुङ जोडिएको छ ।
छ किलोमिटर दुई सय ७० मिटर लामो सुरुङमध्ये हालसम्म पाँच हजार एक सय ६२ मिटर निर्माण सकिएको छ । एक हजार एक सय आठ मिटर सुरुङ खन्न बाँकी छ । बाँध निर्माण स्थलमा अडिट एक, अधेरीखोलामा अडिट दुई, पिप्लेमा अडिट तीन र तिल्केनी चौरमा अडिट नं ४ खन्ने कार्य सम्पन्न गरी ती अडिटहरुबाट सुरुङ निर्माणलाई तीव्रता दिइएको आयोजनाले जनाएको छ ।
रघुगङ्गा गाउँपालिका–४ दग्नाम र ५ नम्बर वडा झिँको सिमानामा १७ मिटर अग्लो र ३१ मिटर लामो अर्धजलाशययुक्त (पिआरओआर) प्रविधिको बाँध निर्माणको काम ६० प्रतिशत सकिएको छ । तिल्केनीचौरमा विद्युत्गृहको संरचना निर्माण तीव्रताका साथ भइरहेको छ ।
घुमाउनेतालदेखि ११ किलोमिटर पहुँचमार्ग र एक वटा ट्रस प्रविधिको मोटर चल्ने पुल निर्माण गरी विद्युत्गृह र बाँधलाई सिधा सडकले जोडिएको छ । यसअघिका दुई वर्ष बुग्लको पहिरोका कारण बर्खायामको चार महिना बाँध निर्माणको काम रोकिएको थियो । यस वर्ष बर्खायाममा पनि बाँध, सुरुङ र विद्युत्गृह निर्माणले निरन्तरता पाएको आयोजनाका व्यवस्थापक गणेश केसीले बताए ।
प्राकृतिक विपद्, कोरोना (भाइरस)को महामारी र कालीगण्डकीबाट नदीजन्य निर्माण सामग्री उत्खनन गर्न नपाउनुलाई ठेकेदारले ढिलाइको कारण भएको जनाएको छ । विसं २०७६ कात्तिकमा एक करोड दुई लाख ९३ हजार २२दशमलव ३५ अमेरिकी डलरमा इलेक्ट्रोमेकानिकल ठेक्का सम्झौता गरेको भारत हेभी इलेक्ट्रिकल्स लिमिटेड (भेल)ले विद्युत्गृहका उपकरण आयात गर्न थालेको छ ।
भेलसँगको ठेक्का सम्झौताको म्याद सन् २०२४ नोभेम्बर महिनासम्म थपिएको छ । उक्त आयोजनाले सन् २०२३ को जनवरी ३१ देखि वार्षिक चौबिस करोड पाँच लाख ९३ हजार ३४ युनिट विद्युत् उत्पादन गर्ने लक्ष्यसहित २०७५ चैतमा विद्युत् खरिद बिक्री सम्झौता ९पिपिए० गरेको थियो ।
राहुघाटबाट उत्पादन हुने विद्युत् केन्द्रीय ग्रिडमा जोड्न कालीगण्डकी करीडोरअन्तर्गत २२० केभी (डबल सर्किट) क्षमताको दाना–कुश्मा प्रसारण लाइनमा जोड्न लुप इन लुप आउट (लिलो)को चार टावर तयार भएको छ ।
केही दिनअघि आयोजना निरीक्षण गरेका गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रीसँग आयोजनाका अधिकारीहरुले नदीजन्य निर्माण सामग्रीको अभावका कारण निर्माण कार्यमा असर पर्न थालेको जानकारी गराएका थिए । सर्वोच्च अदालतले विसं २०७८ असारमा कालीगण्डकी नदीबाट ढुङ्गा, गिटी र बालुवा उत्खनन तथा निकासी गर्न रोक लगाएको थियो ।
मन्त्री जुग्जालीले राहुघाट जलविद्युत् आयोजना निर्माणमा भएको ढिलाइले म्याग्दी जिल्लालाई मात्र नभएर समग्र देशलाई नै नोक्सानी भएको बताए । वैकल्पिक स्रोत पहिचान गरी आयोजनालाई नदीजन्य निर्माण सामग्रीको अभाव हुन नदिन सहजीकरण गर्ने प्रतिबद्धता जनाउँदै उनले थप भएको आगामी एक वर्षभित्र नै आयोजना सञ्चालन हुने वातावरण बनाउन आयोजना, निर्माण कम्पनी र परामर्शदातालाई निर्देशन दिए । रासस
गण्डकीः उत्तरतर्फ हिमाल दिनानुदिन खुल्दै गएको छ । वरपरका पाखापखेरामा छाएको हरियाली हेर्न लायक छ । प्रकृतिको मनमोहक दृश्यले सजिएको मध्यपहाडी पदमार्ग मिलेनियम ट्रेक (सहश्राव्दी पदमार्ग) क्षेत्रमा पर्यटनको नयाँ याम शुरु भएसँगै यहाँका पर्यटन व्यवसायी पर्यटकको आमगमन बढ्ने आशाले उत्साहित बनेका छन् ।
कोरोनालगायत विविध कारण विगतका केही वर्ष यस क्षेत्रको पदयात्रामा पर्यटक आउने क्रम घटे पनि आगामी दिनमा पर्यटकको आगमन बढ्ने आशा पलाएको मिलेनियम ट्रेक व्यवस्थापन समितिका महासचिव हर्क गुरुङले बताए । कोरोना महामारीपछि सुस्ताएको यहाँको पर्यटन व्यावसायमा पछिल्ला दिनमा उत्साह थपिँदै गएको बताउँदै उनले नयाँ याम शुरु हुँदै गर्दा युरोपियन राष्ट्रका विभिन्न छ समूहले अग्रिम बुकिङ गरिसकेको जानकारी दिए ।
‘पदयात्रा गर्नका लागि दिनानुदिन आउने गरेका सोधपुछका कारण पनि हामी उत्साहित छौँ’, गुरुङले भने, ‘युरोपियन राष्ट्रकै पदयात्री पर्यटकको एउटा समूह यतिखेर मिलेनियम ट्रकमा पदयात्राकै क्रममा छ ।’ सुस्ताएको पर्यटनलाई गति दिने उद्देश्यले समितिको आयोजना एवम् नेपाल पर्यटन बोर्डको प्रवर्द्धनमा गत जेठ २६ गतेदेखि ३२ गतेसम्म उक्त क्षेत्रमा पर्यटन व्यवसायी, सञ्चारकर्मी तथा पदयात्रामा खटिने पथप्रदर्शकसहित सरोकारवाला समेतको प्रवर्द्धनात्मक भ्रमण गराइएको उनले बताए ।
तनहुँको दुलेगौडाबाट स्याङ्जाको रामबाछा जोडिने उक्त पदमार्ग २०५६ सालदेखि सञ्चालनमा आएको हो । यस पदमार्गको पहिलो नक्शाङ्कन विसं २०६४र६५ मा गरिएको थियो । ‘समुद्री सतहबाट चार सय २० मिटरदेखि एक हजार सात सय १५ मिटर उचाइसम्ममा रहेको यस पदयात्रा मार्ग उच्च पहाडी स्थानमा जान नसक्ने तर पदयात्राको इच्छा राख्नेका लागि पनि उपयुक्त मानिन्छ’, गुरुङले भने, ‘पूरै पदयात्रा सम्पन्न गर्न एक हप्ता लाग्ने भए पनि बीचबीचमा छोटो दुरीमा एक दिने हाइकिङदेखि दुई तीन दिनका छोटो दूरीका पदयात्राका लागि पनि यो आकर्षक गन्तव्य हो ।’
दुलेगौँडादेखि रामबाछासम्म जोडिएको पदमार्गको लम्बाई ७२ किलोमिटर रहेको मिलेनियम भैँसेगौँडा सामुदायिक होमस्टेका अध्यक्ष बालकुमार गुरुङले बताए । ‘दुलेगौँडाबाट गाछेपानीस्थित रक गार्डेन, च्यवनधामको दर्शन गर्दै ढोरबाराही मन्दिरबाट अघि बढ्ने यस पदयात्रा मार्गमा ऐतिहासिक ढोर मूलकोट दरबार, रजस्थल, घरेडी, मिलेनियम गुफा, काल्खु, राइपुर, कोल्मा हुँदै भैँसेगौँडा पुग्न सकिन्छ’, उनले भने, ‘भैँसेगौँडाबाट चन्द्रकोट, गैरीस्वाँहारा, बानेथोक, भञ्ज्याङ, देउपुजे ढुङ्गा, सिङ्गारकोट, बुढाकोट, राम्चे, गहते मनकामना, सुन्तलाबारी हुँदै स्याङ्जाको रामबाछा पुगी पदयात्रा सम्पन्न हुन्छ ।’
कम उमेरका बालबालिकादेखि ज्येष्ठ नागरिकले समेत यस क्षेत्रमा पदयात्रा गर्न सक्ने अध्यक्ष गुरुङले बताए । उनका अनुसार पदयात्री पर्यटकलाई लक्षित गरी यस मार्गका विभिन्न १७ स्थानमा होमस्टे (घरवास) सञ्चालनमा आएका छन् । पछिल्लो समयमा पदमार्ग क्षेत्रमा रिसोर्ट एवम् अन्य विभिन्न पूर्वाधार थपिने क्रममा रहेका छन् ।
पदयात्रासँगै यहाँबाट उत्तरतर्फ देखिने लस्करै हिमाल, तलतिर सुरौदी खोला, वरपरको हरियाली पहाड हुँदै पारीतर्फ भरतपोखरीको ऐतिहासिक मल्लकालीन कोटभैरव मन्दिर, हुडिकोट, बरपाण्डेथुम निर्मल पोखरी, कृष्ति आदिका मनोरम भूभागले यहाँ आउने पर्यटकको मन लोभ्याउने अध्यक्ष गुरुङको भनाइ थियो । यहाँबाट देखिने मनोरम हिमाली तथा पहाडी दृश्यका साथै पदमार्ग क्षेत्रमा ऐतिहासिक एवम् धार्मिक सम्पदालाई विश्व पर्यटन बजारमा अझै पुर्याउन नसकिएको उनले बताए ।
प्राकृतिक सुन्दरतासँगै पदमार्गमा विभिन्न गाउँमा जोगाइएका प्राचीन मौलिक संस्कृतिले पनि यहाँको आकर्षण थपेको अध्यक्ष गुरुङले बताए । कोरोना महामारीअघि यस पदमार्गमा चहलपहल बढ्दै गएकामा कोरोनापछि भने पर्यटकको आगमन सुस्ताएको उनको भनाइ थियो ।
पदयात्रासँगै यस क्षेत्रमा अवलोकन गर्न सकिने झन्डै तीन सय वर्ष पुरानो ढोर मूलकोट दरबारसहित यहाँका गढी, शक्तिपीठ, देउती बज्यैको थान, टक्सार घरलगायत क्षेत्र यहाँको आकर्षक गन्तव्य रहेको ढोरमूलकोट दरबार व्यवस्थापन समितिका अध्यक्ष विक्रम खाडले बताए । ढोरदरबार सहितका ऐतिहासिक स्थललाई पदयात्रा पर्यटनसँग जोडिएको उनले बताए ।
‘पदयात्रा मार्गकै चन्द्रकोटस्थित सतौँ राजाको ‘समरप्यालेस’ यहाँको अर्को महत्वपूर्ण आकर्षण हो’, खाडले भने, ‘चन्द्रकोट दरबारले नेपालका बाइसेचौबिसे राजाको पालाका सतौँ राजाको हिउँदे दरबारका रूपमासमेत ख्याति कमाएको छ ।’ उनका अनुसार भिरकोट कालिका, यहाँस्थित किल्ला, मिलेनियम गुफा, राइपुरस्थित जन्तेढुङ्गा, गहते मनकामना, देउपुजे ढुङ्गादेखि एक हजार सात सय नौ मिटर उचाइको ऐतिहासिकस्थल बुढाकोटलगायत स्थानले पदमार्गको महत्व बढाएका छन् ।
पदयात्राको नयाँ याम शुरु हुँदै गर्दा पछिल्ला समयमा मिलेनियम ट्रेकका सम्बन्धमा आउने गरेका सोधपुछ एवम् अग्रिम बुकिङले आगामी दिनमा ठूलो सङ्ख्यामा पर्यटकले यहाँको पदयात्रा गर्ने अपेक्षा गरिएको अध्यक्ष गुरुङले बताए । रासस
काठमाडौंः नेपालमा यतिखेर मुख्य पर्यटकीय सिजन शुरु भएको छ । मनसुन सकिएर पर्यटकीय सिजन सुरु हुनै लाग्दा पर्यटन क्षेत्रमा चहलपहल बाक्लिएको छ ।
यस वर्ष गत जेठ ३१ गते प्रवेश गरेको मनसुन यही असोज १५ गते सकिँदैछ । मनसुनपछि पर्यटकीय गतिविधि बढ्नुका साथै दसैँ तिहार, छठलगायत महत्वपूर्ण पर्वले पर्यटन क्षेत्रमा बेग्लै रौनक ल्याउँने गर्दछ ।
अहिले पदयात्राका लागि उपयुक्त मौसम पनि हो । मनास्लुलगायत हिमाल तथा चुली आरोहणमा स्वदेशी तथा विदेशी आरोही गन्तव्यमा लम्किरहेका छन् । पदयात्राका लागि विभिन्न मुलुकबाट आउने विदेशी पर्यटकको सङ्ख्या विस्तारै बाक्लिदै छ ।
प्रमुख पर्यटकीय क्षेत्र काठमाडौंको ठमेल, पोखरा, चितवनलगायत गन्तव्यमा आन्तरिक तथा बाह्य पर्यटक गन्तव्यमा निस्किन चाँजोपाँजो मिलाइरहेका छन् । यस सिजनमा मुख्यगरी पदयात्री पर्यटकका अत्यावश्यक सामग्रीको व्यापार बढी हुने व्यापारीहरु बताउँछन् । पदयात्रामा चाहिने सामग्री र उपकरण खरिद गरी आवश्यक बन्दोबस्ती गर्नेको भीड लाग्ने गर्दछ ।
साहसिक पर्यटनलाई लक्षित गर्दै आवश्यक पोसाक, उपकरणलगायत सामग्री एकै थलोबाट उपलब्ध गराउने उद्देश्यले नेपालमा चिनियाँ ब्राण्ड ‘होम्तो’ आउटडोर स्पोर्टस काठमाडौंमा शुरु भएको छ । नयाँसडकस्थित नेपा कम्प्लेक्समा आज शुभारम्भ गरिएको उक्त ब्राण्डको नेपाली अल्ट्रा धाविका मीरा राई, तेक्वान्दो खेलाडी आयशा शाक्य र राष्ट्रिय फुटबल टोलीका सदस्य बिकेस कुथुले उद्घाटन गरे ।
चर्चित ‘केलमी’ नेपालमा भित्र्याएको आधिकारिक विक्रेता ‘कुमारी इङ’ प्रालिले होम्तो ब्राण्ड भित्र्याएको हो । कुमारी इङमार्फत जाल्पा इन्टरनेसनल विजनेश ग्रुपले उक्त ब्राण्डको व्यवस्थापन गर्नेछ । विश्वका ४० भन्दा बढी मुलुकमा आफ्नो उपस्थिति जनाइसकेको होम्तोले नेपालमा पनि सेवा विस्तार गरेको हो ।
दरबारमार्ग ठमेल, पोखरालगायत स्थानमा ब्राण्डको शाखा विस्तार गरिने योजना रहेको होम्तो नेपालका अध्यक्ष सुदर्शन न्यौपानेले बताए । उचित मूल्यमा गुणस्तरीय अन्तर्राष्ट्रिय ब्राण्ड नेपाली उपभोक्तालाई पुर्याउने उद्देश्यले नेपालमा होम्तो भित्र्याइएको उनले बताए । उनका अनुसार कम्पनीले विशेष गरेर पदयात्राका लागि आवश्यक जुत्ता, कपडा, बोतल, पाललगायत सामग्री उत्पादन गर्ने गरेको छ ।
मनाङः नेपालीहरुमा अहिले भ्रमण गर्ने प्रचलन बढ्दै गएको छ । यसले गर्दा पर्यटकीय स्थलको खोज, अनुसन्धान र स्थानीय पर्यटकीय क्षेत्रको पनि प्रवर्द्धन हुने गरेको छ । प्राकृतिक सौन्दर्यताले भरिपूर्ण हिमाली जिल्लामा पर्यटक आउने क्रम अझै बढ्दो छ । मनाङका विभिन्न स्थान नै प्राकृतिक छटाले भरिपूर्ण भएकाले यहाँ आउने पर्यटक बढ्दै गएको स्थानीय बताउँछन् ।
विगतमा बाह्य पर्यटक बढी आउने यस स्थानमा हाल आन्तरिक पर्यटकको पनि आगमन हुने गरेको अन्नपूर्ण क्षेत्र संरक्षण आयोजना कार्यालय (एक्याप) मनाङले जनाएको छ । सो कार्यालयका अनुसार बाह्य पर्यटकको सङ्ख्या सङ्कलन गर्ने भए पनि आन्तरिक पर्यटकको सङ्ख्या टिपोट गरिएको हुँदैन ।
बाह्य पर्यटकले पदयात्रा बढी मन पराउँछन् भने आन्तरिक पर्यटक सवारी साधनमार्फत यहाँ आउने गर्दछन् । विदेशी पर्यटक पदयात्राकै क्रममा यहाँको मनमोहक दृश्यमा रमाउन रुचाउँछन् । विदेशीले बिरामी भएमा मात्रै सवारी साधन प्रयोग गर्ने गरेको पाइएको एक्यापले जनाएको छ ।
पर्यटन व्यवसायी सङ्घ मनाङका अध्यक्ष विनोद गुरुङले बेमौसममा कम मात्रामा यहाँ बाह्य पर्यटक आउने गरेको जानकारी दिए । उनले भने, ‘याम शुरु भयो, अब पर्यटक आउने क्रम बढेको छ, बाह्यसँगै आन्तरिक पर्यटकको आगमन पनि बढ्ने क्रममा रहेको छ ।’
अझै मध्य याममा यहाँ पर्यटक बढ्ने उनले बताए । मनाङ पर्यटकको ‘हब’का रुपमा विकास हुँदै गएको गुरुङले बताए । मनाङ पर्यटकको हबमा विकास हुँदै गर्दा यहाँ पर्यटक रहनका लागि व्यवस्थापनमा स्थानीयको जोड छ ।
मनाङ ङिस्याङ गाउँपालिका–१ पिसाङ निवासी ७९ वर्षीय याङदुङ गुरुङले विदेशी पर्यटकसँगै यस याममा यहाँ आन्तरिक पर्यटक बढी आउने समय भएको बताए । उनले भने, ‘पहिले विदेशी मात्रै हुन्थे, अहिले विदेशीसँगै नेपाली पर्यटक धेरै आउँछन्, मौसममा पिसाङमा रहेका ४८ होटल पूरै भरिन्छन् ।’ याम शुरु भएकाले पर्यटक दैनिक रुपमा बढ्दै गएका उनले बताए ।
दैनिक रुपमा यहाँ पर्यटक आउने क्रम बढ्दै गएको छ । अन्नपूर्ण क्षेत्र संरक्षण आयोजना कार्यालय (एक्याप)का प्रमुख ढकबहादुर भुजेलले दैनिक रुपमा मनाङमा पर्यटक आउने क्रम शुरु भएको जानकारी दिए । उनका अनुसार यहाँ दैनिक रुपमा ७० भन्दा बढी पर्यटकको आगमन हुने गरेको छ । उनले भने, ‘विस्तारै यहाँ आउने पर्यटक बढ्दै गएका छन्, यहाँका होटल पूर्ण रुपमा भरिभराउ हुने गर्दछन् ।’
दुई सिजन गरी मनाङमा पर्यटक घुम्न आउने गर्दछन् । हिमाल, उच्च पहाडका दृश्यावलोकन, मनाङवासीको रीतिरिवाज, प्राकृतिक सुन्दरता अवलोकन गर्नुका साथै मनाङबाट थोराङ्ला भञ्ज्याङ पार गरी कोही मुस्ताङ त कोही पोखरा जान अन्नपूर्ण पदमार्गमा पर्यटक आउने गर्छन् । अन्नपूर्ण पदमार्गको प्रवेशद्वार लमजुङको बेँसीसहर नगरपालिका–७ मनाङ्गे चौताराबाट पदयात्राको शुरुवात हुन्छ ।
अन्नपूर्ण पदमार्ग लमजुङसहित मनाङ, मुस्ताङ, म्याग्दी र कास्की गरी पाँच जिल्लामा जोडिएको छ । काठमाडौंदेखि बेँसीसहरसम्म सवारी साधनमार्फत पर्यटक आउने गर्दछन् भने पदमार्गबाट मनाङका विभिन्न पर्यटकीय स्थलको अवलोकन गर्दै यात्राको शुरुवात गर्दछन् । रासस
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2023 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies