काठमाडौं : ‘पर्यटक कलाकारको स्वागत सत्कार, नेपाली लोक संस्कृतिको आधार’ भन्ने मूल नारासहित आयोजना भएको १२औं अन्तर्राष्ट्रिय लोक सांस्कृतिक मेला सम्पन्न भएको छ । फागुन १८ गतेदेखि २७ गतेसम्म देशका विभिन्न भागमा आयोजना गरिएको मेला फागुन १९ गते काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा उद्घाटन समारोहबाट शुरुवात भएको थियो । कार्यक्रममा ११ देशका ३५० भन्दा बढी कलाकारको सहभागिता रहेको थियो ।
काठमाडौंमा उद्घाटन कार्यक्रमपछि मेला दाङको घोराही, पोखराको लेकसाइड हुँदै काठमाडौं फर्किएको थियो । ११ देशका कलाकारले बसन्तपुर दरबारक्षेत्र तथा काठमाडौंको मनमैजुस्थित लालीगुराँस नेशनल एकेडेमीमा आफ्नो प्रस्तुति दिएका थिए ।
दाङको घोराही बजार, काठमाडौंको असन इन्द्रचोक हुँदै बसन्तपुर दरबारक्षेत्र, पोखराको लेकसाइड तथा मनमैजु क्षेत्रमा अष्ट्रिया, बेल्जियम, बोत्सवाना, इस्टोनिया, जर्मनी, नेपाल, भारत, इन्डोनेसिया, मलेसिया, पोल्याण्ड र दक्षिण अफ्रिकाका सहभागी कलाकारहरूले आ–आफ्नो देशको संस्कृति झल्काउँदै संगीत र नृत्यप्रतिको साझा प्रेम झल्किने झाँकी प्रदर्शन गरेका थिए । उक्त मेला १० लाखभन्दा बढीले प्रत्यक्ष अवलोकन गरेको एभरेष्ट नेपाल कल्चरल ग्रुपले जानकारी दिएको छ ।
विगत दुई दशकदेखि प्रत्येक दुई वर्षमा विश्वका विभिन्न देशलाई निमन्त्रन्णा गरी आयोजना गरिने यस मेला एभरेष्ट नेपाल कल्चरल ग्रुपको आयोजनामा सम्पन्न गरिएको हो ।
उद्घाटन सत्रमा ग्रुपका संस्थापक अध्यक्ष तथा १२औं अन्तर्राष्ट्रिय लोक सांस्कृतिक मेलाका साथमा नेपाल टेलिकमका संयोजक डा. आरसी कोइराला ‘रामचन्द्र’ले भने, ‘हामी सबै फरक पृष्ठभूमिबाट आएका छौं, तर नृत्य र संगीतमा हाम्रो साझा लगावले आज हामीलाई यहाँ जोडेको छ । यस्ता सांस्कृतिक आदानप्रदान कार्यक्रमले विभिन्न देशबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउने हामीले विश्वास लिएका छौं ।’
१२औं अन्तर्राष्ट्रिय लोक सांस्कृतिक मेलाको स्थानीय आयोजक दाङ उद्योग वाणिज्य संघ, नेपाल उद्योग वणिज्य महासंघ गण्डकी प्रदेश, बज्र कला कुञ्ज, लालीगुराँस नेशनल एकेडेमी, नेपाल टेलिकम, बुढानीलकण्ठ नगरपालिका, पोखरा महानगरपालिक, ललितपुर महानगरपालिक, नेपाल संगीत नाट्य एकेडेमीका साथै विभिन्न अन्तर्राष्ट्रिय संघसस्थाहरु, विभिन्न सञ्चारगृह, सञ्चारमाध्यमलगायत प्रत्यक्ष तथा अप्रत्यक्ष सहयोग गर्ने सम्पूर्णलाई ग्रुपले धन्यवाद ज्ञापन गरेको छ । १३औं अन्तर्राष्ट्रिय लोक सांस्कृतिक मेलामा पुनः भेट्ने गरी सम्पूर्ण कलाकारहरुलाई बिदा गरिएको ग्रुपले बताएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies