सुर्य प्रसाद भुसाल/मध्यान्ह
सन्धिखर्क : पहिले–पहिले परालको गुन्द्री नभएको घर नै हुँदैन थियो । पछिल्लो समय गुन्द्री बिरलै देख्न पाइन्छ । परालको गुन्द्री वर्षभरि ओछ्याउन, बस्न, अन्न सुकाउन, केही ठाँउमा मृत्यु हुँदासमेत घाटमा नयाँ गुन्द्री लैजाने र जलाउने चलन थियो । चारवटा किला गाडेर जुटको तानमा (साचो) हतासो राखेर परालको गुन्द्री बुन्ने गरिन्छ । धान काटेपछि अलि लामो पराल छुट्याएर गुन्द्री बुन्ने चलन गाउँघरमा कम मात्र देख्न पाइन्छ ।
पछिल्लो समय कम मूल्यमा बजारमा प्लाष्टिकबाट बनेका गुन्द्री पाइन थालेपछि परालबाट बनेका गुन्द्रीको महत्व हराउँदै गएको स्थानीयहरु बताउँछन् । यस्तै नयाँ पुस्ताले यो पुरानो शैलीको गुन्द्री तयार गर्ने सीप सिक्न जाँगर नगर्नु मुख्य कारण भएको अर्घाखाँचीको मालारानी गाउँपालिका वडा नम्बर ४ कि ७० वर्ष कटेकी गोपा रिजालको भनाइ छ ।
पहिला पहिला रातभर तान बाटेर गुन्द्री बुन्ने चलन थियो ।आजभोलि बजारमा गुन्द्री बुन्नका लागि विभिन्न थरीका धागोहरु आएका छन् । जति सुविधा आयो मान्छोमा त्यति जागँर हराउँदै गएकाले गुन्द्री बुन्ने परम्परा लोप हुँदै गएको गोपाको भनाइ छ ।
गाईभैंसीलाई घाँसमा प्रयोग हुने बाबियो बाटेर ताना बाटेर गुन्द्री बुन्ने चलन पनि रहेको थियो । बाबियाको डोरी नबनाए पनि जुटको डोरी प्रयोग गरेर हरेक वर्ष गुन्द्री बुन्दै आएको भूमिकास्थान नगरपालिका वडा नम्बर ९ ढिकुराकी विस्नी भट्टराईले बताइन् । ‘गुन्द्रीले धेरै न्यानो बनाउँछ । खाटमा होस् वा पलङमा हामी यसलाई ओछ्याएपछि मात्र बिस्तारा लगाउँछौँ,’ उनी भन्छिन्, ‘अहिले पनि यो नओछ्याई निन्द्रै लाग्दैन ।' नयाँ पुस्ताले परम्परागत वस्तुहरूको उत्पादनमा ध्यान नदिने हो भने मौलिक परम्परा संरक्षण गर्न कठिनाइ हुने उनले बताइन् ।
बजारमा सजिलै पाइने प्लास्टिकका गुन्द्री र म्याटको बढ्दो प्रयोगसँगै परम्परागत परालको गुन्द्री बुन्ने चलन हराउँदै गएको छ । गाउँघरमा केहीले मात्र आफूलाई आवश्यक पर्ने गुन्द्री बुन्दै आएका छन् ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies