मनीषा अवस्थी/मध्यान्ह
काठमाडौं : गत वर्षसम्म तरलताको उच्च अभाव रहेको नेपाली बैंकिङ्ग प्रणालीमा यतिबेला तरलता (पैसा) थुप्रिएको छ । गत वर्ष बैंकहरूले साना साना कर्जा मागमा फाइलहरू फिर्ता गर्ने गरेको सूचना आउथ्यो । यति मात्रै होइन, सर्वसाधारणले आफैले बैंकमा राखेको निक्षेप झिक्न पनि सीमा तोकिएको थियो । यसको अर्थ बैंकहरुसँग पैसा नै थिएन ।
तर पछिल्लो तथ्यांकअनुसार यतिबेला बैंकहरूले पर्वाह गरेको कर्जा भन्दा ११ खर्ब भन्दा बढी रकम जम्मा भएर बसेको छ । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार यही साताको आइतबारसम्ममा बैंकिङ्ग प्रणालीमा ६१ खर्ब ९४ अर्ब रुपैयाँँ निक्षेप छ । यस मध्ये वाणिज्य बैंकहरूमा मात्र ५४ खर्ब ८१ अर्ब रुपैयाँँ छ भने विकास बैंक र फाइनान्स कम्पनीहरूमा ७ खर्ब १३ अर्ब रूपैयाँँ छ ।
तथ्यांकअनुसार बैंकिङ प्रणालीबाट ५० खर्ब ८२ अर्ब रुपैयाँँ मात्रै कर्जा पर्वाह भएको छ । यसमध्ये वाणिज्य बैंकले ४४ खर्ब ९५ अर्ब र विकास बैंक तथा फाइनान्स कम्पनीले ५ खर्ब ८७ अर्ब रूपैयाँँ लगानी गरेका छन् ।
यो तथ्यांकले निक्षेप र कर्जाबीचको अन्तर ११ खर्ब १२ अर्ब रूपैयाँ देखिन्छ । अहिले निक्षेप र कर्जाबीचको अनुपात (सीडी रेसियो) ७९ दशमलव ६७ प्रतिशत छ । तर नेपाल राष्ट्र बैंकले बैंकहरूले ९० प्रतिशत सिडि रेसियो कायम राख्ने ब्यवस्था गरेको छ । यसको अर्थ बैंकहरूले निक्षेपको १० प्रतिशत रकम सुरक्षाका लागि राख्नुपर्ने हुन्छ । अहिलेको तथ्यांक हेर्दा १० खर्ब रूपैयाँ लगानीयोग्य रकम बैंकहरूमा नै थन्किएको छ ।
चक्रिय समस्यामा बैंकहरू
बैंकहरूमा रकम थन्किदै गएपछि पछिल्लो समय घरजग्गा किनबेचका क्षेत्रमा फेरी लगानी बढ्न थालेको छ । तर उद्योगी ब्यवसायीहरूले पर्याप्त लगानी गर्न सक्ने अवस्था नहुँदा बैंकहरू समस्यामा भने परेका छन् । यद्यपि बैंकिङ्ग प्रणालीमा तरलता कहिले घट्नु वा कहिले बढ्नुलाई अस्वभाविक होइन । यो बैंकिङ चक्र नै भएको विश्लेषकहरू बताउँछन् । तर, लामो समय सानो पूँजी पनि लगानी गर्न नसकेको बैंकहरूमा लगानीयोग्य पूँजी हुँदा धमाधम लगानी हुनुपर्ने सामान्य बुझाइ छ । यसो किन हुन सकेन त ? त्यसले कति प्रभाव पारेको छ, भन्ने कुरा महत्वपूर्ण भएको अर्थविज्ञ युवराज भुषल बताउँछन् ।
उनको बुझाइमा अहिले बजारमा रहेको अधिक तरलताको जग अघिल्लो वर्षको तरलता अभाव नै हो । यसको अर्थ कारोना महामारीपछि नेपाली अर्थबजारमा देखिएको संकटले धराशायी बनेका उद्योष्हरू माथि उठ्नै सकका छैनन् । कतिपय त बन्द नै भएका छन् ।
त्यो समय बैंकहरूले लगानी गर्न नसकेकै कारण कयौं नयाँ उद्योगहरू धरासायी बने भने अहिले तिनै उद्योगले लगानी गर्न नसक्दा बैंकहरू समस्यामा परिरहेका छन् । यसरी बजारमा लगानी गर्ने वातावरण नै बिग्रदै गएपछि फेरि बैंकहरूमा रकम जम्मा भएर थुप्रिन थालेको हो ।
‘समस्या बढ्न सक्छ’
अर्थतन्त्र चलायमान बनाउने नै पैसाले हो । जसको आधिकारिता बैंकहरूसँग मात्रै हुन्छ । यस्तो अवस्थामा बैंकहरूले सन्तुलन कायम गर्न नसक्दा अर्थतन्त्रमा समस्या देखिनु स्वभाविक हो । अहिले पनि अर्थबजारमा थुप्रिदै गएको अधिक तरलताले अर्थतन्त्रमा जोखिम बढ्न थालेको विश्लेषण हुन थालेको छ ।
अहिले बैंकिङ प्रणालीमा तरलता बढ्दै गएपछि पछिल्ला ब्याजदर घट्ने पर्खाइमा लगानीकर्ता छन् । बजारमा आवश्यकताभन्दा बढी तरलता अर्थात् बढी पैसा भयो भने बैंकहरूले ब्याज घटाएर कर्जा बढाउनुपर्ने बैंक बजारमो आधारभुत सिद्दान्त हो । अहिले बैंकहरूले पनि धमाधम ब्याज घटाइरहेका छन् । यस्ता कव्यक्ति वा संस्थामार्फत एकैसमय धेरै रकम बाहिरिने र अनुत्पादक क्षेत्रमा लगानी बढ्ने खतरा हुनेतर्फ सरोकारवालाको चिन्ता छ ।
यही कारण अर्थतन्त्रले सन्तुलन पनि गुमाउन सक्ने खतरा रहेको अर्थविद् भुषल बताउँछन् । उनी भन्छन्, ‘राष्ट्र बैंकले बैंकिङ्ग प्रणालीमा तरलताको निश्चित सीमा नाघ्नु दिनु हुँदैन । यसले अर्थतन्त्रमा थप समस्या निम्त्याउन सक्छ ।’
यस्तै अवस्था रहे खासगरी नेपालमा पछिल्लो दशकमा निकै फस्टाएको घरजग्गा तथा रियलस्टेट क्षेत्रमा फेरि लगानी वृद्धि हुने जोखिम बढ्ने पनि विश्लेषण हुन थालेको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies