तिलु शर्मा पौडेल/मध्यान्ह
दोहा, कतार : दैनिकरूपमा नेपालभित्र विभिन्न भाषाका गीत संगीतको बजार हेर्ने हो भने करोड रुपैयाँ बराबरको लगानी रहने गरेको छ । करोडौं लगानी रहने गीत संगीतमा नेपाली लोक तथा दोहोरी क्षेत्रमा पनि राम्रै रकम लगानी हुँदै आएको छ । बजारमा आएका अधिकतम गीतले लगानी उठाउँदैनन् । यद्यपि दैनिक नयाँ गीत बजारमा आउन रोकिएका भने छैनन् ।
बुधवार साँझबाट नेपाली सांगीतिक जगतमा नयाँ लोक तथा दोहोरी गीत आएको छ । ५३ टुक्कालाई २० जना गायक गायिकाले आवाज भरेको ‘कलधारा पानीको’ लोक दोहोरी गीत बजारमा आएको हो । प्रत्यक्ष दोहोरीमा बाहेक लोक दोहोरीमा पहिलो पटक ४१ मिनेट लामो अडियो र संवादसहित ५२ मिनेट लामो भिडियो अमेरिकामा बसोबास गर्दै आएका बागलुङका राजन क्षेत्रीले सञ्चालन गर्ने ई–नेपाल रोधी घरको युट्युबबाट आएको हो ।
माया प्रेमको जाल, देश विदेशका दुखसुख, मुखिया, लाहुरे गाउँलेदेखि भरिया, नारीका पीडा, सिन्दूर र जडियासहित खाडीबाट फर्केको युवाको बिहे गराउन गरिएको नाटकीय रूपदेखि विवाहसम्मलाई गीतले समेटेको छ । बालकुमार श्रेष्ठले कोरेका शब्दलाई माया गुरुङले भाका भरेकी हुन् भने कृष्ण केसीले संगीतबद्ध गरेका छन् ।
गीतमा श्रेष्ठ र गुरुङसहित शिला आले, रेजिना परियार, सुमन परियार, रबी कार्की, श्याम राना, रबिन लामिछाने, सागर बिसी, अस्मिता डल्लाकोटी, रेनुका भट्टराई, श्याम बुर्लाकोटी, इब्सल सन्ज्याल, बालिका तामाङ, सबिना बुढा मगर, निशा रणपाल, नवराज काप्री, कृष्ण भट्टराई र मनोज गिरीले आवाज भरेका छन् । गीतको भिडियोमा गायक गायिकासहित विजय शर्मा, रमेश चालिसे ‘सार्थक’, गीता परियार, देव नारायण भण्डारी, हुम भण्डारी, प्रेम पाठक, परशुराम आचार्य र तारा आचार्यले साथ दिएका छन् ।
गाउँमा नामी नाम चलेको ‘हुन्छ प्रसाद’ले समेत बिहे गराउन नसकेका पात्र भट्टराईको बिहे गाउँकै मुखियाले गराइदिएसँगै निर्देशक तथा सम्पादक विष्णु शर्माले भिडियोको कथालाई बिट मारेका छन् । गीत रिलिज भएको २४ घण्टामै साढे दुई लाख दर्शकको नजरमा परेको गीतलाई राजेश घिमिरे र सुरेश श्रेष्ठले मिलेर खिचेका हुन् ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies