शिव विक/मध्यान्ह
काठमाडौं : कतारी राजा शेख तमिम बिन हमाद अल थानीले नेपाल भ्रमण गर्दैछन् । परराष्ट्र मन्त्रालयका अनुसार कतारी थानीले यहि वैशाख ११ र १२ गते नेपाल भ्रमण गर्न लागेका हुन् ।
नेपालीहरुको प्रमुख श्रम गन्तव्य मुलुकबाट हुन लागेको यो अहिलेसम्मकै उच्चस्तरीय भ्रमण हो । १९ वर्षअघि अर्थात् सन् २००५ मा नेपाल र कतारबीच श्रम सम्झौता भएको थियो । त्यसयता समेत ठुलो संख्यामा नेपालीहरु कतार पुगेका छन् । कतारी राजाको भ्रमणका अवसरमा नयाँ श्रम सम्झौता गर्ने तयारी भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
नेपाल भ्रमणका क्रममा कतारी राजा शेख तमिमको राष्ट्रपति रामचन्द्र पौडेल लगायत अन्य उच्चस्तरीय भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ । यसअघि गत कात्तिकमा हुने भनिएको कतारी राजाको नेपाल भ्रमण इजरायल–हमास युद्धका कारण स्थगित भएको थियो । कतारी राजा शेख तमिमले सन् २०१३ देखि कतारको शासनसत्ता सम्हाल्दै आएका छन् ।
कतारी राजाको शेख तमिमका उच्चस्तरीय भ्रमणले नेपाल र कतार सम्बन्ध नयाँ उचाइमा पुग्ने विश्वास लिइएको छ । भ्रमणका क्रममा ब्यापार, लगानी र संस्कृति आदनप्रदान गर्ने लगायतका विषयहरुमा समेत छलफल हुनेछ ।
नेपालको कृषिमा, भौत्तिक पूर्वाधार र मानव विकासमा कतारको लगानी भित्र्याउनका लागि कुराकानी हुन सक्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । दुई देशका जनताका बीचमा सम्बन्ध स्थापित गर्ने र यसमार्फत् अगाडि बढ्ने कतारको समेत चाहना रहेको बताइन्छ । यसका लागि आवश्यक सम्झौताहरु हुन सक्ने पनि बताइएको छ ।
तर कतारबाट हुन लागेको उच्च स्तरको भ्रमणबारे आवश्यक तयारी सरकारले गरेको देखिदैन । जबकी कतारी राजा नेपाल आउने समय अब केही दिन मात्रै बाँकी छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies