काठमाडौं : पूर्वउपराष्ट्रपति नन्दकिशोर पुन पासाङ सक्रिय राजनीतिमा फर्किएका छन् । सोमबार माओवादी केन्द्रको पदाधिकारीको बैठकमा उपाध्यक्षको हैसियतमा सहभागी भएका पासाङले जिम्मेवारी समेत लिए । नेताहरूका अनुसार कार्यविभाजन गर्दा पासाङलाई उनको रुचि अनुसारकै उत्पादन क्षेत्रको जिम्मेवारी दिइएको छ ।
यसअघि गत पुस २३ मा सम्पन्न पार्टीको केन्द्रीय समितिको बैठकमा पासाङ उपाध्यक्षको लहरमा बसेका थिए । तर, उनको पदको विषयलाई लिएर औपचारिक निर्णय भएको छैन । पार्टीमा पदको जिम्मेवारी औपचारिक रुपमा नपाएका पासाङले उत्पादन क्षेत्रको जिम्मेवारी भने औपचारिक रुपमै पाएका हुन् । पार्टीमा औपचारिक रुपमै जिम्मेवारी लिएसँगै राजनीतिमा पासाङको सक्रियताले समेत औपचारिकता पाएको छ ।
अर्थात, झण्डै एक दशकपछि पासाङ राजनीतिमा सक्रिय भएका हुन् । पासाङ २०७२ सालमा उपराष्ट्रपतिमा निर्वाचित भएपछि माओवादीबाट अलग भएका थिए । २०७९ को निर्वाचनपछि आफ्नो दोस्रो कार्यकाल सकिएपछि पासाङ निष्क्रिय थिए । उपराष्ट्रपतिबाट भएपछि पार्टी राजनीति छोडेको एक दशकपछि पासाङ पुनः पार्टीको जिम्मेवारीमा फर्किएका हुन् ।
दुई कार्यालय राष्ट्रपति भएकी विद्यादेवी भण्डारीसमेत नेकपा एमालेको राजनीतिमा फर्किन लागेको चर्चा हुँदै आएको छ । यही बेला पासाङ पार्टी राजनीतिमा सक्रिय भएका हुन् । पासाङको कदमले भण्डारीलाई समेत सहज गरिदिएको कतिपयको बुझाई छ ।
२०२२ कात्तिक ७ गते राङ्सी–९ रोल्पामा जन्मिएका पासाङ ६० वर्षका भए । उमेर भएकाले राजनीतिमा सक्रिय हुन्छु भन्ने पासाङको चाहना रहेको माओवादी नेताहरू बताउँछन् ।
माओवादी केन्द्रका उपमहासचिव शक्ति बस्नेतका अनुसार पासाङलाई उपाध्यक्ष वा अन्य जिम्मेवारी दिने विषयमा छलफल भएको छ । तर, निर्णय भएको छैन ।
राज्यको सम्मानित पदमा पुगेको व्यक्ति फेरी पार्टीको सक्रिय राजनीतिमा आउने चर्चाले बाहिर राम्रो सन्देश नभएको भन्दै केन्द्रीय समिति बैठकमा नेताहरूले आलोचना गरेका थिए । आलोचना हुँदा पनि पासाङ केन्द्रिय समितिमा मौन रहे । बरु पासाङमाथि उठेका प्रश्नको जवाफ माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दिएका थिए । अध्यक्ष प्रचण्डले आफूले नभएर पासाङ आफैँले राजनीतिमा सक्रिय हुने चाहना राखेको बताएका थिए ।
पासाङ राजनीतिमा सक्रिय भएकोमा पूर्वराष्ट्रपति भण्डारी भने खुसी भएको कति(पयको बुझाई छ । यही १४ माघमा विराटनगरमा पत्रकारहरुसँग कुरा गर्दै भण्डारीले राजनीतिमा पासाङको सक्रियताले आफूलाई खुसी लागेको भन्दै शुभेच्छा प्रकट गरेकी थिइन् ।
पूर्वराष्ट्रपति भण्डारीले भनेकी थिइन्, ‘उहाँ युवा हुनुहुन्छ, अनुभव छ । राजनीति गरेर आउनु भएको हो । म राष्ट्रपति, उहाँ उपराष्टपति भएर सात वर्ष सहकार्य गरेको हो । खुसी नै लागेको छ, मेरो शुभेच्छा छ ।’
आफ्नो राजनीतिक सक्रियताबारे भने भण्डारी खुलेकी छैनन् । उनले भनेकी छन्, ‘म नेकपा एमालेबाट हुर्किएकाले जाँदा त्यहाँ नै हो । तर छलफलको चरणमा प्रवेश गरेको छैन ।’