काठमाडौं : नेपाल वैदेशिक रोजगार व्यवसायी संघको निर्वाचन सत्तारूढ दल नेकपा एमाले र नेपाली कांग्रेसले गठन गरेको २ दलीय राजनीतिक संयन्त्रमा प्रवेश गरेको छ । कांग्रेस र एमालेको सरकार गठन भएपछि सरकारलाई सफल र प्रभावकारी बनाउन भन्दै प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा ८ सदस्यीय संयन्त्र बनाइएको थियो ।
संयन्त्रको कार्यदलमा कांग्रेसका तर्फबाट उपसभापति पूर्णबहादुर खड्का, गृहमन्त्री रमेश लेखक, महामन्त्री गगनकुमार थापा, परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा गरी ४ जना र एमालेबाट बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखरेल र उपमहासचिव विष्णु रिमाल गरी ४ जना सदस्य छन् ।
आगामी २ फागुनमा हुने संघको निर्वाचनमा उम्मेदवार तोक्ने विषयमा कांग्रेस निकट नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनमा देखिएको असमझदारी २ दलीय राजनीतिक संयन्त्रमा प्रवेश गरेको र संयन्त्रका सदस्यहरूले तत्कालका लागि निर्वाचन स्थगन गराउन आ–आफ्ना पार्टी प्रतिनिधिमार्फत छलफल चलाएको चर्चा छ । तर, शुक्रबार साँझ अबेरसम्म ठोस निर्णय भने भएको छैन ।
नेपाल वैदेशिक रोजगार व्यवसायी संघले पनि चुनाव सार्ने पुष्टि गरेको छैन । संघका अध्यक्ष राजेन्द्र भण्डारीले २ फागुनका लागि तोकिएको निर्वाचनको मिति सार्न धेरैतिरबाट सुझाव आएको भन्दै शुक्रबार आफू कुलपूजाका लागि धादिङ गएका कारण चुनाव सार्ने विषयमा घटक संस्थाहरूसँग कुनै ठोस छलफल पनि नभएको बताए ।
उनले यस विषयमा छलफल गर्न सम्भव भए शनिबार नै र नभए आइतबार कार्यसमितिको बैठक बस्ने बताए । तोकिएको निर्वाचन सार्ने विषयमा कुनै पनि घटक संस्थाहरूले संघलाई लिखित आग्रह गरेका छैनन् ।
संघको नयाँ कार्यसमिति निर्वाचनका लागि सबै घटक संस्था तयारी अवस्थामा रहेका बताएका छन् । एमाले निकट प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च नेपालले वैदेशिक रोजगार व्यवसायी एकीकृत संगठनसँग गरेको तालमेलअनुसार आइतबार ७ पदाधिकारी र १७ सदस्य गरी निर्वाचन हुने सबै १७ जनाको प्यानल घोषणाको तयारीमा रहेको बताएको छ ।
असमझदारीका बाबजुद एसोसिएसनका संस्थापन र विद्रोही दुवै पक्षले पूरै प्यानल उम्मेदवारी सार्वजनिक गर्ने तयारीमा रहेको बताएका छन् । तर, शुक्रबार दिउँसोदेखि २ फागुनका लागि निर्धारित निर्वाचन सर्ने गाइँगुइँ भएपछि अन्योल सुरु भएको व्यवसायीहरूले बताएका छन् ।
प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) निकट वैदेशिक रोजगार व्यवसायी गणतान्त्रिक मञ्चले कुनै पनि अवस्थामा २ फागुनमै नयाँ कार्यसमितिको निर्वाचन हुनुपर्ने बताएको छ । संघ राजनीतिक दलको भ्रातृ संगठन नभएको भन्दै मञ्चका अध्यक्ष धनलाल जैशीले २ फागुनमा नयाँ कार्यसमितिको निर्वाचन नभए संघको कार्यालयमा तालाबन्दी गरी विरोधमा उत्रिने बताए । उनले भने, ‘संघको वर्तमान कार्यसमितिको अवधि सकिएको छ । यसैलाई निरन्तरता दिने विषयमा हाम्रो सहमति रहने छैन ।’