काठमाडौं : खाडीका दुई मुलुक यूएई र साउदी अरेबियास्थित नेपाली दूतावासले बढ्दो मोबाइल बैंकिङ स्क्यामहरू (ठगी)बाट बच्न नेपाली कामदारहरूलाई सचेत गराएका छन् । रोजगारीका लागि गएका नेपाली कामदारको खाता दुरुपयोग गर्न सक्ने खतरा औंल्याउँदै राजदूतावासले सचेत गराएको हो ।
दूतावासले पछिल्ला दिनमा साउदी अरेबियाका केही दुरसचार कम्पनीका प्रतिज्ञा–पत्रहरूका प्रावधान कार्यान्वयनका नाममा विभिन्न प्रकारका ठगी भइरहेको र कतिपय नेपाली आफूले लिँदै नलिएको दायित्वको झमेला र कानुनी कारबाहीमा पर्दै आएको बताएको छ ।
साउदी अरेबियास्थित नेपाली राजदूतावासले अब्सोर खाताको जानकारी सुरक्षित राख्न भन्दै आफ्नो अब्सोर खाताको वानटाइम पासवर्ड (ओटीपी) कसैलाई नदिन आग्रह गरेको छ । उक्त खाता अपडेट वा पासवर्ड परिवर्तन गर्न अरूलाई नलगाउन र कोही सहयोग गर्छु भन्दै आएमा सहयोग नलिन, रोजगारदाता अर्थात स्पोनसर, कम्पनीको ह्युमन रिसोर्स म्यानेजरलाई समेत आफ्नो फोन प्रयोग गर्न नदिन र अनलाइन सपिङ र अन्य कारोबारमा सावधानी अपनाउन पनि राजदूतावासले आग्रह गरेको छ । त्यस्तै राजदूतावासले ठगीपूर्ण प्रतिज्ञा–पत्रको शिकार भएको भए तत्कालै दूतावासमा सम्पर्क गर्न पनि आग्रह गरेको छ ।
त्यस्तै राजदूतावासले नचिनेको अज्ञात कल रिसिभ नगर्न, आफ्नो व्यक्तिगत विवरण र जानकारी सुरक्षित राख्न र नयाँ मोबाइल खरिद गर्दासमेत व्यक्तिगत विवरण सार्वजनिक हुने खतरा रहने भन्दै सचेत गराएको छ ।
राजदूतावासले यूएईमा कार्यरत तथा बसोबास गर्ने नेपालीहरूलाई बैंकिङ कारोबारका अतिरिक्त दैनिक जीवनमा कानुन, नियम र सामाजिक मर्यादाको पूर्ण पालना गर्न आग्रह गरेको छ । अत्यधिक मदिरा सेवन, आवासीय नियम उल्लंघन तथा दुव्र्यवहारका कारण नेपालीहरू निष्कासन अर्थात् डिपोर्ट हुने घटना बढ्दै गएको भन्दै राजदूतावासले सचेत रहन र कुनै समस्या वा उजुरी परेमा सम्बन्धित निकायमार्फत उचित प्रक्रिया अपनाएर समाधान खोज्न सुझाव दिएको छ । साथै, इमिरेट्स आईडी र आवश्यक कानुनी कागजात सधैं साथमा राख्न पनि राजदूतावासले सबै नेपालीलाई अनुरोध गरेको छ ।