आलोक यादव /मध्यान्ह
लहान : सप्तरीको डाक्नेश्वरी नगरपालिका - ७ मा एक १७ वर्षीया किशोरीमाथि भएको बलात्कारको घटनामा संलग्न रहेको आरोपमा प्रदेश २ प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ ।
बलात्कारमा संलग्न रहेको आरोपमा सोही ठाउँ बस्ने १८ वर्षीय बब्लु भन्ने सुमन कुमार मण्डल र २० वर्षीय रन्जित भन्ने सरोज कुमार मण्डललाई बिहीबार मध्यराति भारतीय सीमासँग जोडिएको छिमेकी गाउँपालिका बलान बिहुलबाट पक्राउ गरिंएको हो । २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुरधाम र जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटिएको सन्युक्त प्रहरी टोलीले मण्डल द्वयलाई पक्राउ गरेको हो ।
फरार रहेका चार जना मध्येका दुई मुख्य आरोपीलाई पक्राउ गर्न प्रहरी सफल भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रबक्ता एवं डिएसपी तिलक भारतीले जानकारी दिए ।
फरार दुई जनाको भने खोजी कार्य तिब्र बनाइएको उनको भनाई छ । गत भदौं २९ गते धान खेतमा पानीको अवस्था हेर्न गएकी १७ वर्षीया किशोरी माथि गाउँकै चार जनाले सामूहिक बलात्कार गरेको पीडित किशोरीकी आमा रधियादेबी मण्डलले बताएपछि गाउँमा भदौ ३० गते पंचायती बसेको थियो ।
पंचायतीमा गाउँका केही अगुवाहरुले ५५ हजार रुपैयाँ नगद लिएर घटना मिलापत्र गर्न दबाब दिएपछि त्यही पीडाबाट विक्षिप्त बनेकी बलात्कृत किशोरीले त्यसको भोलिपल्ट घरमै झुण्डिएर आत्महत्या गरेकी थिइन् । प्रहरीले पंचायतीमा रकमको प्रलोभन देखाई बलात्कार जस्तो जघण्य घटना दबाउने ढंगको निर्णयमा सहभागी स्थानीय सत्यनारायण मण्डल, बासुदेव मण्डल र जयकान्त मण्डललगायत तीन जना ‘ पंच’ लाई यसअघि नै पक्राउ गरिसकेको छ ।
प्रहरीले अनुसन्धानको क्रममा उक्त अापराधिक घटनामा आरोपित चार जनामध्ये दुई जना मुख्य अपराधी र दुई जना सहयोगीको रुपमा तथ्य फेला परेको र दुबै मुख्य अपराधी पक्राउ गरिसकिएको डिएसपी भारतीले जानकारी दिए । यता किशोरीको शवको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मंगलबार पोष्टमार्टम सकिएपनि रिपोर्ट भने अझै प्राप्त भइनसकेको डिएसपी भारतीले जानकारी दिए ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies