हस्तकला भनेको विशुद्ध हातबाट निर्मित उद्यमीहरुको कला र मेहनतको उपज हो । विभिन्न घरेलु सामानहरुको प्रयोग गरेर एउटा निश्चित बस्तु बनाएर बिक्री गर्ने र प्रदर्शन गर्ने हेतुले हस्तकला महासंघ नेपालले यहि मंसिर ३,४ र ५ गते काठमाडौं बौद्धस्थित हायात होटल परिसरमा १६ औं हस्तकला प्रतियोगिता तथा १८ औं हस्तकला मेला आयोजना गरेको छ । प्रस्तुत छ, सोहीसँग सम्बन्धित रहेर १८ औं हस्तकला मेला सन्दर्भमा नेपाल हस्तकला महासंघका बरिष्ठ उपाध्यक्ष तथा मेला समितिका संयोजक रविन्द्र शाक्यसँग मध्यान्ह दैनिकका दिपेन्द्र श्रेष्ठले गरेको कुराकानीको सम्पादित अंश :
महासंघले १८ औं हस्तकला मेला किन आयोजना गर्न लागेको हो ? र यस्को उद्देश्य के रहेको छ ?
कोरोना महामारीले हस्तकलाको बजारलाई धेरै ठुलो असर पारेको छ । त्यसको असरलाई निराकरण गर्न महासंघले हस्तकलाकर्मी तथा उद्यमीहरुको विकास, बजारमा सहज पहुँच पुर्याउन र हस्तकलाका उद्यमीहरुलाई क्रेतासँग सिधै जोड्नको लागी १८ औं हस्तकला मेला अयोजना गर्न लागेका हौं । मेलाले नेपाली हस्तकलाको बजारलाई थप बिस्तार गर्न सहयोग गर्नेछ । मेला कोरोना महामारीबाट थलिएका उद्यमीहरुलाई अघि बढ्ने एउटा महत्वपूर्ण अवसर पनि हुनेछ । मेलाले हस्तकलाका उद्यमीहरुलाई धेरै सकरात्मक उर्जा प्रदान गर्ने विश्वास हामीले लिएका छौ ।
कोरोना महामारीपछि हस्तकलाको पछिल्लो अवस्था कस्तो रहेको छ ?
कोरोना महामारीले हस्तकलाका सबै क्षेत्रमा समान असर गरेन । यसले परम्परागत हस्तकला र उद्योगका कामदारलाई असर गरेको देखियो भने नयाँ हस्तकलामा खासै असर गरेको देखिंदैन । हाम्रो तथ्याङ्क अनुसार धेरै निराश भैहाल्नुपर्ने अवस्था भने छैन ।
हस्तकलाको बजार प्रवर्द्धन गर्न महासंघको भूमिका कस्तो रहेको छ ?
पहिलो कुरा त कोरोना महामारीका कारण सम्पुर्ण हस्तकलाकर्मीहरु आक्रान्त भएको अवस्था छ । निराशाजनक यो अवस्थामा चलायमान बनाउनुपर्छ भनेर नै यो मेला आयोजना गरेका छौं । यो वर्ष हामीले हस्तकला वर्ष भनेर घोषणा ग¥यौं । साथै महत्वपुर्ण कुरा अनलाईन पोर्टल ‘ई–कला नेपाल’ सुरु ग¥यौं । अब देशको जुनसुकै स्थान बाट आफ्नो शिपयुक्त सामान निःशुल्क रुपमा सो ई–कला नेपालबाट बिक्री गर्न सकिने छ । साथै हामीले यो वर्ष भर्चुअल र अन्य विभिन्न सिकाईमुलक कार्यक्रम पनि संचालन ग¥यौं । विगतका वर्षमा मेसिनरी सामान पनि हस्तकला भनेर स्टल ओगटेर बेचेका पनि देखियो । यो वर्ष मेलामा त्यस्तो हुन नदिन विशुद्ध हस्तकलाकै सामान त्यो पनि नेपाली नै हुनुपर्ने नियम राखेका छौ त्यस्तो भएन भने जुनसुकै समयमा स्टल हटाउन सक्ने अधिकार दिएका छौं । त्यसो गर्दा निश्चय नै हस्तकलाको सामाग्रीको राम्रो प्रर्वद्धन हुनेछ ।
हस्तकलाको बजार विस्तारका लागि स्थानीयस्तरमा हस्तकला मेला हुन नसक्नुका कारणहरु के के हुन् ?
प्रमुख त कोरोनाका कारण विभिन्न स्थानीय स्तरमा मेलाहरु हुनसकेका छैनन् । काठमाडौं लगायत देशभर हामीलाई प्रदर्शनी गर्न ठाँउको अभाव छ । हामीले केही दिन अघि उपत्यका संग जोडिएका तिन वटा जिल्ला भित्र उत्पादन भएका हस्तकला सामान भाटभटेनीको पार्किङमा प्रदर्शनी गर्यौं । प्रदर्शनी राम्रो भयो । यसले हामीलाई सकरात्मक उर्जा दिएको छ । त्यसैले हामी अब हायातमा प्रदर्शनी गर्न गइरहेका छौं । त्यहाँ थप राम्रो हुने विश्वास लिएका छौ ।
अहिले हस्तकला र हस्तकलाका सामग्री निर्यातको अवस्था कस्तो रहेको छ ?
हस्तकलाको राम्रो सम्भावना भनेको विदेश निर्यात नै हो । दुई तिन वर्षको अन्तरमा संचारमाध्यमहरुबाट हस्तकलाको राम्रो प्रचार भएको छ । नेपाली बजारमा ढाकाको कपडा, विभिन्न सजावट लगायतका सामाग्री आन्तरिक बजारमा धेरै प्रयोग भएको छ । त्यो हिसाबमा आन्तरिक बजार धेरै नै राम्रो छ । सम्भावना भएर नै आन्तरिक बजार चलायमान भएर आएको छ, भने विदेश निर्यात पनि राम्रो हुँदै गएको छ । उद्यमीहरु आँफै निर्यात गर्न सक्ने बनाउनको लागी हामी प्रयासरत छौं । त्यसको लागि उद्यमी कलाकारहरुलाई परिचय पत्र बाड्ने, उद्यमीलाई करको दायरमा ल्याउने, व्यावसाय दर्ता गर्न लगाउने, निर्यातका लागि एक्जिम कोड लिन लगाउने, भन्सारमा अनलाइन सिस्टम लागू गराउने आदि जस्ता कामहरु भइरहेका छन् ।
आन्तरिक बजार विस्तार गर्न हस्तकला महासंघको भूमिका कस्तो रहेको छ ?
हामीले यहाँसम्म आइपुग्दा धेरै नै काम गरेका छौं । विभिन्न संघ संस्थालाई तालिमहरु दिएका छौं । तालिमपछि रोजगारी बढेको छ । हस्तकला महासंघले ती हस्तकलाका सामान बिक्री गर्न ‘ई–कला नेपाल डट कम’ भन्ने पोर्टल नै निर्माण गरेर हस्तकला सामान बिक्रीको शुरु गरेका छांै । यसले हस्तकलामा नयाँ पुस्तालाई पनि आकर्षित गरेको छ । कोरोनाका कारण हस्तकला मात्र नभएर अन्य व्यवसाय पनि आक्रान्त भएको सर्वविदितै छ । यसले नेपाली अर्थतन्त्रमा धेरै असर परेको छ । सबै निराशा तिर गइरहेको अवस्थामा अलिकति भएपनि चलायमान बनाउनुपर्छ भन्ने मान्यताले हस्तकला उद्यमी र व्यावसायीलाई लक्षित गरी प्रदर्शनीमार्फत व्यावसाय विस्तार गर्न खोजेका छौं ।
हस्तकलाका सामान पाँचतारे होटलमा प्रदर्शनी गर्नुको कारण के हुन सक्छ ?
अघिल्ला वर्षहरुमा भृकुटी मण्डपमा हस्तकला प्रदर्शनी गर्दा सरकारी र कुटनीतिक क्षेत्रका सरोकारवालाहरु नआउने अवस्था भयो । त्यहाँको संरचनामा पार्किङको अवस्था राम्रो नभएको, शौचालयको समस्या भएको, आदी विभिन्न कारणले गर्दा सरकारी उच्च पदस्थ व्यक्तित्वहरु, नेपालस्थित कुटनीतिक नियोगका पदाधिकारीहरु नआईदिने परिस्थिति झेल्नुपर्यो । अब त्यस्तो नहोस र देश विदेशका सबैलाई राम्रो वातावरणमा अवलोकन गराउन पाइयोस भनेर नै हायात होटलमा प्रदर्शनी गर्न लागेका हौं । हाम्रो हस्तकलाको गुणस्तर र क्षमता देश विदेश सम्म पु¥याउन पायौं भने आफ्नो देशमा प्रचार–प्रसार गरिदिन्छन् र विदेशबाट थप मागहरु पनि आउन सक्छन् ।
हस्तकलाको बजार विस्तारका लागि सरकारले कस्तो किसिमको योजना ल्याउन आवश्यक छ ?
सरकारले हस्तकलाको क्षेत्रमा धेरै काम गर्न सक्छ । नेपाल सरकारले बार्षिक ४ अर्ब रुपैयाँको पुरस्कार र उपहार दिएको भन्ने तथ्याङ्क छ । त्यसरी दिने पुरस्कार र उपहारमा नेपाली हस्तकलाको सामान प्रयोग गर्न सकिन्छ । हामीहरुले पुरस्कारमा हाम्रै उत्पादन हस्तकलाको सामान किन प्रयोग नगर्ने ? नेपाली व्युरोक्र्याटमा रहेको चार पाँच लाख कर्मचारी सबैलाई एउटा कोट नेपाली लगाउने व्यवस्था गरौं । झण्ड्याउने परिचय पत्र ढाकाको कपडाले बनाइदिउँ । विदेशी कपडा लगाउँदा पैसा विदेशमा गयो । पिविसी कार्डमा परिचय पत्र छाप्नु भन्दा नेपाली कागज प्रयोग गरौं । हस्तकलाको आन्तरिक बजार बढाउने यो महत्वपुर्ण उपाय हुनसक्छ ।
हस्तकलाको विकासको निम्ति सरकारी नीति कस्तो छ ? सरकारको तर्फबाट कस्तो किसिमको सहयोगको अपेक्षा गर्नु भएको छ ?
नेपाल सरकारले वार्षिक १० अर्ब निर्यात हुने हस्तकलालाई प्राथमिकता नै दिएको छैन् । कच्चा पदार्थको ठुलो अभाव छ । नीतिगत रुपमा कुनै व्यवस्था छैन् । निजी क्षेत्रले जे जति कच्चा पदार्थ ल्याउन सक्छन्, त्यसकै भरमा चलेको छ । तर उत्पादनको विषयमा हामी एकदमै सक्षम छौं । गुणस्तरयुक्त सामान बनाएका पनि छौं । तर सरकारको सहि नीति नभएको कारण हस्तकलालाई पहिचान दिन सकिएको छैन । हस्तकला हेर्ने कुनै सरकारी कार्यालय छैन् । हामीले धेरै मेहनत गरेर देशभरका सबै संस्थाहरुलाई जम्मा गरेर हस्तकलाको नीति बनाएर सरकारलाई बुझाएको आज आठ दश वर्ष भइसक्यो । तर सरकारी बेवास्ताले होला, हस्तकलामा कुनै नीति आउन सकेन् । हस्तकला हेर्ने मन्त्रालय, विभाग नहुँदा हाम्रो बारे बुझने र समस्या सुन्ने अवस्था छैन् । हाम्रो समस्या हेर्न एउटा सरकारी निकाय खडा गरिदिन जरुरी छ । सम्भव भए मन्त्रालय, नभए विभाग खडा गर्न जरुरी छ ।
नेपाली हस्तकलाको माग बजारमा कति छ ?
नेपाली हस्तकलाको मागको अवस्था राम्रो रहेको छ । आन्तरिक बजार स्थिर नै छ । चाड पर्वमा हरेक वर्ष राम्रो खपत हुने गरेको छ । विदेशीले पनि नेपाली हस्तकलालाई उत्तिकै मन पराउँछन् । टेक्सटाइल प्रडक्टहरुको विदेशमा तिन गुणासम्म माग बढेर आएको छ भने चीनमा धातुकला मूर्तिकलाको माग धेरै छ । हाम्रो समस्या भनेको सामान विदेश निर्यात गर्नमा रहेको छ । फ्लाइट चार्टड गरेर सामान निर्यात गर्दा महंगो पर्न जान्छ । भएको सामान नै निर्यात गर्न नसक्दा अरु थप सामान उत्पादन गर्न समस्या भएको छ । त्यसैले हामीले मेलाको मुख्य उदेश्य नै यहि विषयलाई बनाएका छौं ।
नेपाली सामानको आफ्नै ट्रेडमार्क छैन, त्यसैले विश्व बजारमा गुणस्तर मापन गर्न, चिन्न र प्रतिस्पर्धा गर्न गाह्रो छ भनिन्छ नि ?
०७८ सालको मौद्रिक नीतिमा एकिकृत ट्रेडमार्कमा जाने कुरा आएको छ । व्यक्तिगत रुपमा ट्रेडमार्कमा जान नसके पनि हामी हस्तकलाकर्मीहरुले सामुहिक रुपमा जाने योजना बनाएका छौं । हामीले यसलाई एउटा अवसरका रुपमा पनि लिएका छौं । मंशिर महिना भित्रमा ट्रेडमार्कमा जान सकियो भने राम्रो हुन्छ । डकुमेन्ट बनाउन सुरु भइसकेको छ । नीतिमा, प्याकेजिङ र लेबलिङमा समस्या छ । लाखौं पर्ने हस्तकलाको सामान सामसुङ टिभीको कभर बाकसमा प्याक गरेर पठाइरहेका छौं । लेबलिङ र प्याकेजिङ कसले गर्ने ? यो सबै नीति नभएर भइरहेको छ । भोली विदेशी कम्पनीले हाम्रो सामान कपी गरे हामीले दाबी गर्न सक्छौं । ट्रेडमार्क हुँदा हामी अन्तराष्ट्रिय संस्था वाइपामा आफै रजिष्टर हुन्छौं । त्यसमार्फत कपीराइटको मुद्दामा लड्न सक्छौं । यो सबै काम निजी क्षेत्रले एक्लै सक्दैन । सरकारसँग मिलेर गर्नुपर्छ । तर सरकारलाई हामीले यो विषय बुझाउन सकिरहेका वा बुझाए पनि सरकारी बेवास्ताले काम हुन सकेको छैन ।
अहिले गर्न लाग्नुभएको प्रदर्शनीमा कति सहभागीको अपेक्षा गर्नुभएको छ ?
विगतको समयमा भृकुटीमण्डपमा गरिने प्रदर्शनीमा झण्डै दुई तीन लाख दर्शकले अवलोकन गर्ने गर्दथे । अहिले कोरोनाको अवस्था सकिइनसकेको अवस्थालाई हामीले स्विकार गर्नुपर्दछ । यो समयमा कम्तिमा दैनिक २० देखि २५ हजार जनाले अवलोकन गरे भने हामीले प्रदर्शनी सफल भएको मान्नेछौं ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies