२०८२ असोज ८ गते बुधवार / Sep 24 , 2025 , Wednesday
२०८२ असोज ८ गते बुधवार
Ads

राजस्व बढाउन अनुगमन

shivam cement
सूर्यप्रसाद भुसाल
२०८२ असोज ८ गते २०:५६
राजस्व बढाउन अनुगमन

अर्घाखाँची : जिल्लास्तरीय अनुगमन समितिले पाणिनि गाउँपालिकामा राजस्व संकलनका लागि विभिन्न योजना तथा खोला–खोल्सीको ढुंगागिट्टी–बालुवामा हुने टेन्डर प्रक्रियामा सक्रियता बढाएको छ ।

समितिले अनुगमनलाई कडाइ गरेपछि विगतमा हुने चोरी निकासी नियन्त्रणमा आएको स्थानीय नागरिकले बताएका छन् । 

हाल अर्घाखाँचीका तीन नगरपालिका र तीन गाउँपालिकामा योजनाको टेन्डर प्रक्रिया अघि बढाउँदा अनिवार्य रूपमा जिल्लास्तरीय समितिले अनुगमन गर्ने कानुनी प्रावधान रहेको पाणिनि गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवर्ण खनालले जानकारी दिए ।

हालै सौर्य, वागी र दुर्गा खोलामा जम्मा भएको ढुंगागिट्टी–बालुवा तथा विकास निर्माणका अन्य योजनाको गुणस्तर जाँच गर्न समितिले फिल्ड अनुगमन गरेको हो ।

अनुगमन टोलीमा जिल्ला समन्वय प्रमुख जीवनारायण कोईराला, गाउँपालिका अध्यक्ष टेकराज न्यौपाने, उपाध्यक्ष नर्मदा गौतम, प्रमुख प्रशासकीय अधिकृत खनाल, डिएसपी दिवस बहादुर जिसी, पत्रकार महासंघ अध्यक्ष गणेश खनाललगायत सुरक्षा निकायका प्रतिनिधि र सञ्चारकर्मी सहभागी थिए ।

अनुगमनपछि निर्माण व्यवसायी र उपभोक्ता समितिहरू पनि सचेत बन्दै गएको स्थानीय प्रमोद गौतमले बताए । चोरी निकासी नियन्त्रणमा कठोर कदम चालेसँगै आर्थिक वर्ष २०८१/८२ मा सरकारी राजस्व एकतिहाइले वृद्धि गर्न सफल भएको उपाध्यक्ष नर्मदा गौतमले जानकारी दिइन् ।

गाउँपालिकाले आन्तरिक राजस्व संकलनलाई प्राथमिकतामा राखेर पालिका स्वावलम्बी बनाउन प्रयासरत रहेको प्रमुख प्रशासकीय अधिकृत खनालले दाबी गरे । कृषि, पशुपालन र पर्यटनलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरी कार्यक्रम अघि बढाइएको गाउँपालिकाका स्थानीय लक्ष्मण नेपालीले बताए ।

उपाध्यक्ष गौतमका अनुसार, नागरिकको जीवनस्तर सुधार र सहज सेवा प्रवाह सुनिश्चित गर्न कार्यक्रमहरूलाई पारदर्शी र गुणस्तरीय बनाउन अनुगमनलाई निरन्तरता दिइनेछ । 

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise