-नारायण दाहाल
शिक्षा कहिले कहाँबाट कसले कसरी सुरु गर्यो ? त्यसको आधिकारिक र तथ्यात्मक तिथी मिति ठाउँ र व्यतिmहरु पाईंदैन । यद्यपि शिक्षा दिने ग्रहण गर्नेक्रम मानव सभ्यताको सुरुवातबाट हुँदै आएको पाइन्छ । तर सभ्यताको सुरुवातीमा आजको जस्तो विद्यालय र शिक्षालयहरु थिएनन् । पौराणिक कालमा शिक्षालाई सबैभन्दा उत्तम दानको रुपमा लिइन्थ्यो । त्यसैले भन्ने गरिन्थ्यो– ‘विद्या दानम,सर्वदानम प्रधानम्’ । शिक्षा धार्मिक क्षेत्रको एउटा अन्तरङ्ग अंश थियो । शिक्षा व्यवस्थामा वैदिक क्षेत्रबाट अनुप्राणित संस्कृत परम्परा तथा बौद्ध क्षेत्रबाट अनुप्राणित बौद्ध शिक्षा प्रणाली कायम रहेको थियो । नेपालमा प्राचिन समयमा संस्कृत शिक्षाको प्रभाव परेको पाइन्छ । वर्णाश्रम व्यवस्थाको प्रारम्भ हुनु भन्दा अगाडि परम्परागत रुपमा प्रयोगमा आएको ज्ञान, सीप एक पुस्ताबाट अर्को पुस्तामा हस्तान्तरण पारिवारिक रुपमा हुँदै आएको थियो । जीवनका आदर्श, धार्मिक मूल्य–मान्यता सम्बन्धि शिक्षा घरमा नै दिइन्थ्यो ।
विस्तारै जनसंख्याको वृद्धि हुँदै जाँदा समाजको स्वरुप जटिल बन्दै गयो । घर परिवारबाट दिएको शिक्षा मात्र व्यक्तिको लागि पर्याप्त भएन फलस्वरुप गुरु कहाँ गएर पढ्ने गुरुकुल शिक्षा प्रणाली, मन्दिरका पुजारीहरुसँग गएर पढने देवकुल शिक्षा प्रणाली र राजदरवारमा राजाका छोराछोरी पढ्ने पढाउने राजकुल शिक्षा प्रणाली जस्ता विभिन्न प्रकारका शिक्षाका स्वरुपहरु समाजमा विकास भए । त्यस समयको शिक्षामा धर्म प्रधान थियो । त्यसैकारण धार्मिक संस्थाहरु बौद्ध विहार, गुम्बा, मन्दिर एवम विभिन्न गुठीहरुमा शिक्षा प्रदान गरिन्थ्यो । लिच्छवी कालको सातौं शताब्दी सुरुवातमा राजा अंशु वर्माले शिक्षा आर्जनको लागि शैव, वैष्णव र बौद्ध सम्प्रदायमा शिक्षण संस्थालाई वर्गीकरण गरी छुट्टा–छुट्टै शिक्षा दिने प्रबन्ध गरेका थिए ।
मल्ल कालमा राजा जयस्थिति मल्लले मन्दिर, गुम्बा, मठमा रहेका शिक्षा केन्द्रहरुको हेरचाह गर्न गुठीको व्यवस्था गरेको पाइन्छ । बाइसे, चौबीसे राज्यहरुमा डोटी, जुम्ला, पाल्पा, तनहुँ र कास्कीमा शिक्षा संस्कृतबाट दिइन्थ्यो । गोरखाका शाह राजाहरु आफ्नै गुरुपरोहितबाट आफ्ना राजकुमारलाई पढाउने गर्दथे । गोरखाका शाह राजाहरुमध्मे राम शाहलाई शिक्षा प्रेमी मानिन्छ । विसं १८२५ मा पृथ्वीनारायण शाहको नेतृत्वमा नेपाल एकीकरण भएपछि आफ्ना सैनिक जवानका टुहुरा बच्चाहरुलाई राष्ट्रको तर्फबाट सैनिक शिक्षा दिने र सैनिकमा भर्ना गर्ने कार्य गरेको साथै राज्यको तर्फबाट छात्रवृत्ति दिएर नेपालका दुई विद्यार्थीलाई भारत अध्ययन गर्न पठाएको देखिन्छ । पृथ्वीनारायण शाहको निधनपछि राज दरबारभित्र भाइ–भारदारको कलह लामो समय रहयो । यो समयमा खासै शिक्षाका लागि प्रयत्न भएको देखिँदैन ।
नेपालको शासकीय इतिहासमा वि.सं. १९०३ देखि २००७ सम्म देशको शासन सत्ताको बागडोर आफ्नो हातमा लिइ विभिन्न राणा प्रधानमन्त्रीहरुले शासन गरे । विशेष गरी धेरै राणा प्रधानमन्त्रीहरु देशमा आफ्नो शासन टिकाई राख्नका लागि जनताका छोरा–छोरीहरुलाई शिक्षा दिनु हुँदैन भन्ने मान्यता बोकेका थिए । प्रथम राणा प्रधानमन्त्री जंगबहादुरले बेलायतको भ्रमण गरी फर्किए पछि वि.सं. १९१० असोज २७ का दिन आफ्नै थापाथलीमा आफ्नै दरवारको भुइँतलामा पहिलो प्रारम्भिक अंग्रेजी स्कुलको स्थापना गरे । यो विद्यालय स्थापनाको मुख्य दुई उद्देश्यहरु थिए । पहिलो आफ्ना छोरा–छोरीलाई अंग्रेजी शिक्षा दिनु र अर्को तत्कालिन समयमा भारतमा अंग्रेजहरुको औपनिवेशिक शासन भएकाले अंग्रेजलाई खुसी पार्नु । नेपालको शैक्षिक इतिहासमा प्राचिन संस्कृत र बौद्ध शिक्षाको परम्परालाई चिर्दै संस्थागत रुपमा औपचारिक शिक्षाको नयाँ जग बसाल्ने काम यही अंग्रेजी विद्यालयको स्थापनाबाट भएको पाइन्छ । जुन विद्यालय आज पनि दरवार हाईस्कूलको नामबाट सञ्चालित छ ।
वीर शमशेर प्रधानमन्त्री भए पछि वि.स. १९४२ सालमा उनले दरवार स्कूल सर्वसाधारणका छोरा–छोरीका लागि अध्ययन गर्न खुल्ला गरिदिएका थिए । त्यसपछि विभिन्न समयमा विभिन्न ठाउँमा केही राणा प्रधानमन्त्रीहरुले आफ्नो कार्यकालमा धेरथोर विद्यालयहरु खोल्दै सञ्चालन गराएका थिए । वि.सं.१९७५ भाद्र २७ गते चन्द्र शमशेरले दरवार स्कूलको सभागृहबाट इन्टरमिडियट कलेजको रुपमा भारतको कलकत्ता विश्वविद्यालयबाट सम्बन्धन लिई त्रिभुवन चन्द्र कलेजको स्थापना गरे । वि.सं. १९८० मा कलेजको नाम परिवर्तन गरी त्रिचन्द्र कलेज बनाइएको हो । वि.सं. १९८६ मा देशभित्र परिक्षा केन्द्र काठमाडांैमा भयो । परीक्षा दिन भारत जानुपर्ने बाध्यता हट्यो । वि.सं. १९९० कात्तिक १६ गते नेपालमा एसएलसी परीक्षा बोर्डको गठन भएको थियो ।
वि.सं.२००७ सालबाट जहानीया राणा शासनको अन्त्य र प्रजातन्त्रको उदयसँगै नेपालमा सबैका लागि शिक्षामा पहुँच पुग्ने गरी ढोका खुल्यो । शिक्षामा नयाँ युगको थालनी भई राज्यले प्राथमिकता दिई विभिन्न ठाउँहरुमा विद्यालयहरु खोली औपचारिक शिक्षाको व्यवस्थित थालनी गरेको थियो । ००७ साल पछि सर्वसुलभ र सबैको पहँुचमा शिक्षाको अवसर पुग्न भौगोलिक विकटता, कृषिको निर्भरता परम्परागत अन्धविश्वास र विद्यालय, शिक्षकको अभावका कारण समस्या रहिरह्यो । मुलुकमा शिक्षाको विकास जे जसरी हुँदै गए पनि विद्यालय तहको पाठ्यक्रम वि.सं. २०११ साल देखि २०१८, २०२८, २०३८, २०४९ हुँदै हालसम्म आइपुग्दा पटक–पटक संशोधन भइ सकेको र सबैको पहुँचमा शिक्षा पुगेको छ ।
वि.सं. २०४९ सालमा तयार पारेको पाठ्यक्रममा परिमार्जन गरी २०६१, २०६२ देखि चरणवद्ध लागू गरिएको छ । शिक्षाको राष्ट्रिय उद्देश्यले स्पष्ट राष्ट्र, राष्ट्रियता, देशको संविधानप्रति स्वभिमानी, प्रतिभाशाली व्यक्तित्व विकासको प्रस्फुटन गराउने लगायत अन्य धेरै उद्देश्य राखेको छ । शिक्षा प्रदान गर्ने आधारभूत तह भनेको विद्यालय हो । तह भन्नाले कक्षा १ देखि १० सम्मको शिक्षालाई बुझाउँछ । हाल आएर कक्षा ११ र १२ पनि थप भएको छ । विश्वभर फैलिएको कोभिड–१९ का कारण देशभरका शैक्षिक संस्थाहरु बन्द छन् । लाखौं विद्यर्थीको पढाई र परीक्षा प्रभावित भएको छ । हजारौं शिक्षक, शिक्षिका तलबविहीन बनेका छन् ।
सुविधा सम्पन्न शहर बजारका निजी विद्यालयहरुले कुल विद्यार्थीको आफ्ना करिव ३० प्रतिशत विद्यार्थीलाई अनलाइन पढाइमा समेटेका छन् । ग्रामिण तहका सरकारी विद्यालय र सामान्य आर्थिक अवस्थामा शहर बजार बसेका विद्यार्थीको ठूलो संख्या अनलाइन पढाइको पहँुचमा छैन । यही संक्रमणको कारण राज्यले एसइइ, कक्षा ११ को आन्तरिक मूल्यांकन प्रणाली अपनाएर नतिजा दिए पछि सबै विद्यालय तहदेखि विश्वविद्यालयसम्मका विभिन्न क्याम्पस पढ्ने धेरै विद्यार्थीहरु आन्तरिक मूल्यांकनबाट नतिजा आउने आशामा छन् । राज्यले कक्षा १२ को परीक्षा बारेमा आजसम्म कुनै निर्णय गरेको छैन यसले विद्यार्थी र अभिभावक दुवैमा अन्यौल बढाएको छ । कक्षा १२ को पढाइपछि विद्यार्थीहरुलाई अध्ययनका लागि विभिन्न क्षेत्रमा प्रवेशका लागि संकायमा जान विषय छनौट तथा विदेश गई अध्ययनको लागि ढोका खुल्ने हुँदा पनि कक्षा १२ को संन्र्दभमा छिटो निर्णय लिनु अत्यावश्यक भएको छ । कोभिड–१९ को संक्रमण बढ्दै गएमा सरकारले यो वर्षको शैक्षिक सत्रका लागि के कस्तो तयारी गर्दैछ, त्यसको कुनै जानकारी छैन ।
कोभिड–१९ को प्रभाव सामान्य अवस्थामा नआएमा तोकिएको पाठ्यक्रमबाट विद्यार्थीहरुलाई कति, कसरी पढाउने, शिक्षण सिकाइको पहुँच कसरी पु¥याउने त्यससँगै मूल्यांकन प्रक्रिया कसरी गर्ने गम्भीर प्रश्न राज्यसामु छ । यो विषम परिस्थिति र समयका बाबजुत पनि राज्यले शैक्षिक शत्रको निरन्तरताका लागि विभिन्न विधि, प्रविधि संयन्त्र, संघ, संस्था, स्थानीय सरकार परिचालन गर्न सक्नु पर्दछ । विद्यार्थीको जीवनमा हामी स्पस्ट रुपमा के अनुभव गराउन सक्छौं भने समाजका प्रत्येक संस्था, एवम् निकायहरुमा पाठयक्रम हुन्छ । जस्तै परिवार, व्यापार, व्यवसाय, उद्योग, पुस्तकालय, संग्राहलय, पत्रपत्रिका, रेडियो, एफएम, टेलिभिजन, इन्टरनेट, कम्प्युटर आदि यस्ता संस्था, निकाय र प्रविधिबाट ज्ञान, कार्यात्मक क्रियाहरु हेरी माथिल्लो कक्षाका लागि बढी उपयोगी, सान्दर्भिक विषय तथा पाठ्यक्रमको छनौट गरी शैक्षिक सचेतना र शिक्षण सिकाइको माध्यम बनाई उचित मूल्यांकन प्रक्रियाबाट शैक्षिक सत्र निरन्तर गर्न सकिन्छ ।
यस्तो कार्यबाट पाठ्यक्रम अन्तर्गत व्यवस्थित ज्ञानको संगठित स्वरुप बनाउन एवम्, ज्ञान तथा सीपको व्याख्यालाई विद्यार्थीका परिवर्तनशील अनुभव र उर्जासँग जोड्न सकिन्छ । हाल देशभित्रको कक्षा १२ सम्मको शैक्षिक अवस्थालाई हेर्दा सुविधा सम्पन्न, शहर बजारका निजी विद्यालयहरुबाट कक्षा १२ को अध्ययन पूरा गरेका धेरै विद्यार्थीहरु देशभित्रै प्राविधिक विषय, डाक्टर, इन्जिनियर, नर्सिङ, साथै विज्ञान, व्यवस्थापन र अन्य समय सन्दर्भिक माग भएका विषय र संकायमा पढ्ने र युरोप, अमेरिका र अष्ट्रेलिया अध्ययनको लागि जाने सोच र तयारीमा हुन्छन् ।
दुर्गम गाउँ, ठाउँ सामान्य विद्यालय र सरकारी विद्यालयबाट कक्षा १२ को अध्ययन पूरा गरेका अधिकांश विद्यार्थीहरु, उच्च शिक्षा अध्ययनका लागि शिक्षा, मानविकी, थोरै व्यवस्थापन संकाय पढ्ने सोच बनाउँछन् । वैदेशिक रोजगारीको लागि उनीहरु मुख्यतः मध्यपूर्व देशमा जाने तयारी गर्दछन् । सामान्य विद्यालयबाट कक्षा १२ सम्मको अध्ययन पूरा गर्दा पनि अधिकांश विद्यार्थी वर्तमान समयमा अत्यावश्यक रहेको कम्प्यूटर र अंग्रजी भाषाको सामान्यसम्म ज्ञान लिन सकेका हुँदैनन् । नेपालको विभिन्न विश्वविद्यालय क्याम्पसहरुको शैक्षिक वातावरण हेर्ने हो भने पनि शैक्षिक अवस्था यस्तै छ । नेपालको सबै भन्दा ठूलो त्रिभुवन विश्वविद्यालयभित्रका ५ दर्जन आंगिक क्याम्पसमध्ये केही क्याम्पसबाहेक धेरै क्याम्पसहरुमा विद्याथीर्को संख्या दिन प्रतिदिन घट्दो छ । शिक्षा र मानविकी संकायका कति विषयहरुमा पढ्ने विद्यार्थी नभई प्राध्यापकहरु खाली बसेका छन् । केही विषयहरुमा मात्र विद्यार्थीहरु भर्ना हुने तर अधिकांश विषयमा विद्यार्थीहरुको भर्ना नहुनाले विद्यार्थीहरुको अनुपस्थितिमा हिजोका दिनमा हजारौं विद्यार्थी भर्ना गर्ने क्याम्पसहरु संग्राहलय जस्तै बन्न लागेका छन् ।
कतिपय आङ्गिक क्याम्पसका पूर्णकालीन शिक्षकहरुले नै निजी कलेज खोली पूर्ण समय दिएर भव्यसँग क्याम्पस चलाएर बसेका छन् । कतिले निजी कलेजलाई प्रत्यक्ष्य, अप्रत्यक्ष सघाई फाईदा लिइरहेका छन् । सरकारी क्याम्पसमा विद्यार्थी, कर्मचारी र प्राध्यापकको राजनीतिले प्रायः बन्द, हड्ताल हुने र विश्वविद्यालयको पदाधिकारी तथा क्याम्पसहरुको नेतृत्वमा दलीय भागवण्डा गर्ने हुँदा शैक्षिक वातावरण नभई सरकारी क्याम्पसमा विद्यार्थीको आकर्षण दिनानु दिन घटेको हो ।
काठमाडौं विश्वविद्यालयबाहेक सबै विश्वविद्यालयमा कुनैमा कम कुनैमा बढी होला दलीय राजनीतिले तहसनहस बनाई शैक्षिक वातावरणलाई धमिल्याएको छ । समाजमा कस्तो शिक्षाको आवश्यकता छ, विद्यार्थीहरुले कुन–कुन विषयलाई बढी मूल्य दिन्छन्, त्यस्ता विषयको छनौट गरी प्राविधिक र व्यावसायिक शिक्षातर्फ केन्द्रित हुन जरुरी छ । दलीय राजनीति भन्दा मागि उठी शैक्षिक वातावरण बनाएमात्र सरकारी क्याम्पसहरुमा आर्कषण हुन सक्छ । अहिलेकै यथास्थितिमा रहिरहे सरकारी क्याम्पसहरुमा विद्यार्थीले पढेका थिए भन्ने एकादेशको कथा बन्ने छ । शिक्षाले समाजका आवश्यकता, चाहना, सामाजिक मूल्यमान्यता, सामाजिक अस्तित्व, संस्कृति, परम्परा एवम् समग्र समाजका प्रत्यक्ष पक्षको प्रतिनिधित्व गर्दछ । तसर्थ समाजमा आएको परिवर्तन र समस्याप्रति शिक्षा प्रणाली निरपेक्ष रहन सक्दैन । सामाजिक परिवर्तन र समस्यासँगै शिक्षा प्रणाली पनि परिवर्तन भइरहन्छ । शिक्षा प्रणाली पाठ्यक्रममार्फत् कार्यान्वयन हुन्छ ।
समाजमा देखा परेका संकटसँगै परिस्थिति अनुकूल आवश्यकता हेरी पाठ्यक्रमलाई पनि काँट, छाँट परिवर्तन गर्न सकिन्छ । अन्तर्राष्ट्रिय, राष्ट्रिय र सामाजिक अवस्थामा आएको परिवर्तनसँगै विशेष परिस्थितिमा शिक्षण बिधी पाठ्यक्रम र मूल्यांकनमा पनि परिमार्जन गर्न सकिन्छ । जसबाट दीर्घकालीन समस्याभन्दा पनि तत्कालिन समस्याहरुलाई सम्बोधन गर्न सकिन्छ । समाजमा बढ्दै गएको आधुनिकता, मानवीय सभ्यताको विकास, प्रविधिको विकास, आवश्यकताको सृजना, ज्ञानको विष्फोटन आदिका कारणले शिक्षा प्रणालीमा भएको व्यापक परिवर्तनसँगै यो संकटको बेलामा शिक्षा ग्रहण गर्ने शैलीमासमेत परिवर्तन गर्न सकिन्छ । विभिन्न श्रोत, साधन, अभ्यास, माध्यम र प्रविधिको प्रयोग गरी शैक्षिक प्रक्रिया विद्यालयको हाताभित्र मात्र सीमित नगराई युग अनुसारको सुहाउँदो, आवश्यकता केन्द्रित बनाउनु पर्दछ । यसरी शिक्षण सिकाई क्रियाकलापलाई बाँकी समयभित्र सबै विद्यार्थीको पहुँचमा पुर्याइ विद्यालय तह तथा विश्वविद्यालय तहका प्रचलित विधिबाट उपयुक्त विद्यार्थी मूल्यांकन प्रक्रिया अप्नाएर भए पनि यो वर्षको शैक्षिक सत्र निरन्तर गर्न सक्नुपर्दछ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies