हरेक वर्ष चैत–वैशाख लागेपछि आमजनमा चिन्ता बढ्छ– डढेलो र हावाहुरीको । हिउँदा लागेपछि यसरी नै तनाव बढ्छ– शीतलहरको । अनि, बर्खा लाग्नासाथ बाढी–पहिरोको पिरलो । यी प्राकृतिक विपद् हुन्, जसलाई पूर्वानुमान गर्न कठिन भए पनि यी अवश्यम्भावी हुन् भन्नेमा निश्चितता हुन्छ । यी विपद्मा परी हरेक वर्ष सयौंको ज्यान जान्छ भने करोडौंको धन नोक्सान हुने गरेको छ । हामीलाई थाहा हुन्छ– यी विपद् तत्तत् मौसममा अवश्य आउँछन् । तर, न हामी आमजन यसबारे पूर्वसावधानी र सजगता अपनाउँछौं, न त राज्यले वा तीनै तहका सरकारहरूले विपद्पछिको अवस्था आँकलन गरी पूर्वतयारी गर्छन् ।
जब विपद् आइलाग्छ अनि टाउको समाउने गलत परम्पराले कहिल्यै छाडेको छैन हामीलाई । वर्षौंदेखिको यो समस्यालाई न्यूनीकरण गर्न र विपद्पछिको उद्धारका लागि सचेतना, आवश्यक जनशक्ति र प्रविधिको जोहोलगायतका तयारी गर्न हामी बारबार चुकिरहेका छौं । अबका २ महिना हावाहुरी र डढेलो अनि आगलागीका जोखिमका महिना हुन् । यी २ महिनामा संघ, प्रदेश र स्थानीय सरकारले आवश्यक सजगता र पूर्वतयारी कतिको गरिरहेका छन् ? आमजनमा यसबारे सचेतना जगाउने के कस्ता कार्यक्रम गरिरहेका छन् ? सोच्न आवश्यक छ ।
घटनापछि पछुताउनु बुद्धिमानी होइन । विशेषगरी तराईका क्षेत्रमा र सुख्खा वनजंगलमा आगलागीको सम्भावना बढी हुने गर्छ । सँगसँगै हावाहुरीका कारण कमजोर घर टहरा र बस्तीमा जोखिम हुने, आगलागी र डढेलो फैलिएर ठूलो क्षति हुने गर्छ । यसको पूर्वसजगता भनेको आगलागी हुन नदिने उपाय गर्ने पहिलो हो भने हावाहुरीले पु¥याउने क्षतिबाट जोगिन जोखिममा रहेका घर, बस्ती पहिचान गरी आवश्यक पुनस्र्थापना वा स्थानान्तरण गर्नु हो । तर, यसका लागि आमजन, संघ, प्रदेश र स्थानीय सरकारले विशेष ध्यान दिएर सक्रियता देखाउनै पर्छ ।