काठमाडौं : परराष्ट्र मन्त्रालयले संयुक्त अरब इमिरेट्स (युएई)सहित केही खाडी मुलुक र मलेसियाबाट नेपाली कामदारका लागि पूर्ववत् रूपमा भिसा जारी गर्ने व्यवस्था गर्न कूटनैतिक पहल सुरु गरिएको बताएको छ ।
गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा ठुलो संख्यामा कैदीबन्दी भागेको र लुटिएका हतियार फिर्ता नभएको समाचार अन्तर्राष्ट्रिय रूपमा सार्वजनिक भएपछि युएईसहित नेपाली कामदारका प्रमुख गन्तव्य मुलुकहरूले सम्बन्धित व्यक्तिको आचरण र चालचलनसम्बन्धी कागजात माग्दै भिसा जारी गर्ने काममा केही ढिलाइ गरिरहेका छन् ।
परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेलले भिसासम्बन्धी व्यवस्थालाई पूर्ववत् अवस्थामा फर्काउन नेपालस्थित सम्बन्धित देशका राजदूतहरूसँग छलफल सुरु गरिएको बताएका छन् । सुरक्षाको विषय सम्बन्धित देशको आन्तरिक मामिला भएको भन्दै युएईलगायतका मुलुकले औपचारिक रूपमा नेपाललाई जानकारी गराएका छैनन् । उनीहरूले अत्यन्तै छोटो समयका लागि सतर्कता अपनाएको हुनसक्ने आंकलन गरिएको छ । तर नेपालमा अनेकौं आशंका र अनुमान गरिएको छ । आशंकाका भरमा सार्वजनिक भएका समाचारहरूले अन्योल बढाउन सहयोगी भूमिका खेलेको देखिएको छ ।
नेपाल वैदेशिक रोजगार व्यवसायी संघका महासचिव महेशकुमार बस्नेतले सबै गन्तव्य मुलुकमा नेपाली कामदारको भिसा सहज गराउने विषयमा संघ गम्भीर रहेको र सोही अनुसार छलफल गरिरहेको बताए । उनले भने, ‘विगतमा पनि साउदी अरेबिया, युएई र मलेसियालगायतका मुलुकले आफ्नो राष्ट्रिय हितअनुसार सुरक्षाका प्रोटोकलहरूमा फेरबदल गर्दै आएका हुन् । अहिले पनि त्यस्तै भएको हो । विदेशी कामदार बिना उनीहरू पनि समस्यामा पर्ने अवस्था छ । त्यसैले उनीहरूले धेरै समय रोक्ने अवस्था छैन । हामी परिस्थितिलाई सहज बनाउन प्रयासरत छौं । कामदार र व्यवसायीहरू आत्तिनुपर्ने अवस्था छैन ।’
नेपालमा भएको अप्रत्यासित आन्दोलन पछि हाल युएई, कतार र मलेसियाले भिसा जारी गर्नुअघि केही कडाइ गरेका छन् । यसअघि ती मुलुकले श्रीलंका र बंगलादेशमा सत्ता परिवर्तन हुँदा सम्बन्धित मुलुकका कामदारको भिसा जारी गर्न केही समयका लागि रोकेका थिए । तर आन्तरिक अवस्था सामान्य हुनासाथ भिसा जारी गरेका थिए ।
नेपालमा नयाँ सरकार गठन भइसकेको र जनजीवन सहज भएको अवस्थामा त्यो सन्देश र समाचार तत्कालै नेपाली कामदारका प्रमुख श्रम गन्तव्य मुलुकमा पुग्ने भएकाले हालको अन्योल सकेसम्म छिटो अन्त्य हुने अपेक्षा गरिएको पनि महासचिव बस्नेतले बताए ।
कतिपय व्यवसायीले वैदेशिक रोजगार व्यवसायी हल्ला र अप्रमाणित समाचारको पछि लाग्नु भन्दा आफूले कामदार पठाउने मुलुकको रोजगारदाताहरूलाई नेपालको सुधारिँदै आएको शान्ति सुरक्षाको अवस्थाबारे जानकारी गराउने र कामदार छनोट गर्दा प्रहरी रिपोर्ट अनिवार्य गरेर चालचलन बुझेर पठाउने विषयमा रोजगारदाताहरूलाई विश्वासमा लिन पहल गर्नुपर्ने बताएका छन् ।
वैदेशिक रोजगार नेपालका लागि वर्तमान अवस्थामा अत्यन्तै महत्वपूर्ण मानिएको छ । वैदेशिक रोजगार विभागका अनुसार गत वर्ष ८ लाख ३९ हजारभन्दा बढी नेपाली वैदेशिक रोजगारीमा गएका थिए । उनीहरूले १८ खर्ब बराबरको रेमिट्यान्स पठाएका थिए । नेपाली कामदारको भिसा प्रक्रियामा कठिनाइ उत्पन्न भए बेरोजगारी समस्या चुलिने र अर्थतन्त्रमा गम्भीर धक्का लाग्ने देखिएको छ ।