२०८२ कार्तिक १ गते शनिवार / Oct 18 , 2025 , Saturday
२०८२ कार्तिक १ गते शनिवार
Ads

कथा : बिर्सन नसकिने सम्झना

shivam cement
रञ्जना बास्ताकोटी
२०८२ कार्तिक १ गते १२:३५
कथा : बिर्सन नसकिने सम्झना

विमानस्थलको भीडभाडलाई चिर्दै म त्यहाँ पुगेकी थिएँ, छोरोलाई अमेरिका पठाउन । यो ठाउँ मेरो लागि सधैँ अन्जान थियो, तर आजको दिन जीवनकै सबैभन्दा चिर–परिचित लागिरहेको थियो । वरिपरि मान्छेहरू हाँसिरहेका थिए, कोही रुँदै थिए, कोही क्यामेरामा अन्तिम क्षण कैद गरिरहेका थिए । म भने भित्रभित्रै रित्तिएकी थिएँ । आज मेरो एक्लोपनको परिभाषा फेरिँदै थियो— छोरा जाँदै थियो ।

‘आमा, नरोऊ है । तपाईंको हाँसो नै मेरो हिम्मत हो ।’ मेरो हात समाउँदै उसले भनेको त्यो वाक्य मेरा लागि प्राणभन्दा कम थिएन । उसको आत्मविश्वास र सन्तुलित व्यवहार देखेर गर्वले मुटु फुलेको थियो, तर आँखाबाट आँसु रोक्न सकेरहेकी थिइन् ।

छोरा मेरो सबैथोक थियो । उसलाई हुर्काउँदै गर्दा मैले समाजको कैयौं घोचपेच सहेँ । श्रीमान्को मृत्युपछिको समय त झन् कस्तो कहालीलाग्दो थियो, शरीर थाके पनि हार्ने छुट भएन । घरभित्र भत्किएको सपना बाहिर फेरि निर्माण गर्नुपर्ने बाध्यता थियो । र, मैले गरेँ पनि ।

यिनै सम्झनामा हराइरहेकी थिएँ, त्यहीबेला नजिकै एक महिला आफ्नी छोरीलाई अंकमाल गर्दै बिदाइ गरिरहेकी थिइन् । महिलाको अनुहारमा पनि मेरै जस्तै पीडाको झल्को थियो, तर उनी अर्कै किसिमले भत्किएकी देखिन्थिन् । आँखाभरि डर, रित्तोपन र एक अनकन्टार भविष्यको आभास थियो । उनको छोरी मलाई केही परिचित जस्तो लाग्यो, तर याद आउँदैनथ्यो ।

जब विमान उड्ने समय भयो, छोराले मलाई फेरि अंकमाल गर्दै भन्यो, ‘आमा, म फर्केर आउँछु, तपाईंको सपना साकार हुन्छ ।’

उसको पछाडि लाग्ने मन थियो, तर मैले हात हल्लाउँदै हाँसेर बिदाइ गरेँ । हाँसो त्यो थियो, जुन आँसुमा डुबेको थियो ।

त्यहीबेला ति महिला मेरो नजिक आइन् । ‘छोरी पठाउनुभयो ?’

‘छोरा’ म थोरै मुस्कुराउँदै भनेँ ।

‘मैले पनि मेरी छोरी पठाएँ, निकै एक्ली भएँ, कम भएको श्रीमान्को याद अब धेरै आउने भो’, उनले सुनाइरहेकी थिइन् ।

ति महिलाको कुराले मलाई विगतमा लग्यो । श्रीमान् गुमाएको त्यो दिन, त्यो रात, त्यो खालीपन, कसैलाई भन्न नसकेको पीडा । छोरी वा छोरासँग तेस्रो व्यक्तिको भूमिका निभाएर बाँचिरहनु परेको त्यो अवस्था ।

महिलाको कुरा सुनिरहँदा छेउमै एक किशोरी आएर उनीसँग अंकमाल गरिन् । त्यो किशोरी त उनको भाइकी छोरी रहिछिन् । त्यहीबेला त्यो किशोरीले भनिन्, ‘काकी, तपाईंलाई छाडेर जान मन छैन ।’

म चुप लागें, त्यो बन्धन मेरो लागि पराई थिएन ।

केही समयपछि हामी दुईजना एकैछिन चुपचाप बस्यौं । उनी मसँग बिस्तारै खुल्दै गईन् । ‘दिदी, म कतैबाट पनि भागेकी होइन । म लड्दै यहाँसम्म आएकी हुँ । कहिलेकाहीँ लाग्छ, के म कमजोर थिएँ त जीवनसँग जुध्न ?’

म केही बोलेनँ, केवल टाउको हल्लाएँ ।

‘श्रीमान् त थिए, तर थिएनन् । आफूलाई मात्र केन्द्र मानेर बाँचेका मान्छे । बच्चा जन्मिएपछि त मैले आफ्नो अस्तित्व नै हराएकी थिएँ । काम गर्न दिएनन्, साथीभाइसँग बोल्न दिएनन् । जिउँदो भएर पनि म म थिएँ जस्तो लाग्दैनथ्यो ।’

ती शब्दहरू मेरै जीवनका अंश जस्ता थिए । सायद हामी एउटै डोरीका दुई टुक्रा थियौं ।

त्यहीबेला उनले अगाडि भनिन्, ‘कहिल्यै सोचिनँ, म पनि ऊजस्तै भइनेछु भन्ने । ऊ... अर्थात् उसकी पहिली श्रीमती । धेरै कुरा सुनेकी थिएँ उनको । विद्रोही थिइन् रे, चर्को बोल्थिन् रे, घर तोडेर गइन् रे । तर आज बुझिरहेछु, विद्रोह गर्नु भनेको कमजोर हुनु होइन रहेछ, त्यो त आत्मसम्मान बचाउने अन्तिम अस्त्र हुँदो रहेछ ।’

म झसङ्ग भएँ । भित्रैभित्र म डराइरहेकी थिएँ, कसै न कसै दिन यो सत्य उनी बुझ्नेछिन् भनेर । उनी जसलाई ‘पहिली श्रीमती’ भनेर कुरा गर्दै थिइन्, त्यो म थिएँ ।

‘दिदी, थाहा छ ? अहिले मन लाग्छ– कहिल्यै भेट्न पाए उनीलाई । म उनको खुट्टा ढोगेर भन्थेँ– माफ गर्नुहोस् । तपाईंको थालोमा म बोलाएर आएको छैन, बस समयले यसरी ल्याइदियो । तपाईंले छोडेर दिएको त्यो मान्छे, म बाँच्न खोज्दै छु उसैको छायाँमा ।’

म थामिन सकिन । उसको त्यो निष्कलंक अनुहार हेर्दै मैले सोधेँ, ‘अनि, अहिले के गछ्र्यौ त ?’

‘बाँच्ने कोसिस गर्छु । छोरीलाई विदेश पठाएकी छु । कुनै दिन ऊ ठूलो बनोस् भन्ने चाहना छ । आफूजस्तो कमजोर नबनोस् भन्ने कामना । म त्यही लडाइँ लडिरहेकी छु, जुन तपाईंले कतै, कहिल्यै लड्नु भएको थियो होला दिदी ।’

मैले झनै मन सम्हाल्न सकिन । मैले मेरो झोला खोलेँ, एउटा कार्ड निकालेर दिँदै भनेँ, ‘यो मेरो नम्बर हो । कहिले पनि लागे, हिम्मत चाहियो, समर्थन चहियो भने फोन गर्नु ।’

उसले कार्ड हेरी । झस्कियो आँखा । केही समय एक टक मलाई हेर्दै भनिन्, ‘दिदी... तपाईं... तपाईं नै हुनुहुन्छ ?’

मैले मुस्कान दिएँ, तर केही बोलिनँ ।

उसले मेरो हात समाई । आँखामा आँसु थिए, तर ओंठमा सन्तोष ।

मलाई लाग्थ्यो, सौता भनेको दुश्मन हुन्छ । तर आज बुझेँ, एकै पीडाको अनुभव बाँड्नेहरू सौता होइनन्, सहयात्री हुन्छन् ।

म चुपचाप उठेँ । उनले मसँग अंकमाल गरिन् ।

सडकमा हिँड्दै गर्दा मेरो मनमा एउटै कुरा घुमिरह्यो– कुनै दिन, मेरा जस्तै थोरै आँशु र थोरै आँट उनी पनि आफ्नी छोरीको हात समाउँदै भन्नेछिन्, ‘बेटी, तिमी लड । जिन्दगी यही हो ।’

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise