भदौको त्यो कालो बादलको अन्धकारमा अचानक आगो बल्यो,
धरती माताको आँगनभित्र ७४ आत्माको चिता जल्यो
आमाबुबाको काख खाली भयो बलिन्द्रधाराको आँसु रित्तिए,
तर मेरो विवश आँखाले नियाल्न बाध्य भए अनि म टुलुटुलु हेरिरहेँ !
ती कलिला बाबु नानी खेलौना झैँ धुलोमा ढलिरहे
केही दोष नभएका आत्माहरू निर्दोष पीडामा रहिरहे
आखिर प्रश्नै प्रश्नले मेरो मुटु चिरेर जलिरहे
तर म नबोल्ने पत्थर झैँ केवल टुलुटुलु हेरिरहेँ !
सिंहदरबार, संसद् भवन सर्वोच्च सबै जल्यो अनि धुवाँले आकाश ढाक्यो,
देशभक्ति भन्दा पनि प्रतिशोधको भावनाले सीमा नाघ्यो
भ्रष्टाचारले गाँजिएको भए पनि मौन व्रत फेरिरहेँ
तर सुकेको स्वर र भिजेको आँखाले म टुलुटुलु हेरिरहेँ !
गोलीको आवाजले आकाश चिरेर मृत्युको गीत गाउँथ्यो
सडकभरि रगत र पसिनाले सपना हो कि बिपना सम्झाउँथ्यो
त्यो मौन सहरभित्र माताको चित्कारले पत्थरसमेत हल्लिरहे
ओठ सुके अनि सुके तालु तर म टुलुटुलु हेरिरहेँ, टुलुटुलु हेरिरहेँ !
देशभक्तिको नारा विदेशीको हातमा परेजस्तो देखियो
कहिल्यै नभएको अनौठो घटना यो इतिहासको पानामा लेखियो
चित्कारको आवाज अनि धुवाँको मुस्लो आकाशतिर टोलाइरहेँ
तर म विवश दर्शक अघोषित शरणार्थी झैँ टुलुटुलु हेरिरहेँ !