२०८२ असोज १७ गते शुक्रवार / Oct 03 , 2025 , Friday
२०८२ असोज १७ गते शुक्रवार
Ads

कथा : हरायो कमान्डर

shivam cement
लक्ष्मण सिटौला
२०८२ असोज ११ गते ०६:२०
कथा : हरायो कमान्डर

माओवादी सैन्य लडाकुहरू जन्मिएको एउटा दुर्गम गाउँ । त्यही स्थानबाट नयाँ नेपाल बनाउने कसम खाँदै, शिरमा कात्रो, हातमा बन्दुक र खुट्टामा उज्यालो बाटोको खोजीमा निस्किएका थिए । १०औं वर्ष युद्धको धुवाँले ढाक्यो नेपाली आकाश । हजारौं निर्दोष नेपाली मरे, मारिए । हजारौं विधवा बने । हजारौं आमा छोरा विहीन भए । हजारौं नाबालकहरू आमाबाबु विहीन बने । 

त्यही युद्धको जगमा भएको आन्दोलनबाट सामन्ती सरकार ढल्यो । २ सय ४० वर्षको राजतन्त्र गल्र्याम गुर्लुम ढल्यो । गणतन्त्र स्थापना भयो । त्यति मात्र होइन, नेपालमा संघीयता पनि आयो । समावेशिता पनि आयो । नेपाली जनताले रोजेको, खोजेको शासन प्रणाली आयो भने सबैले । अब कोही नेपाली भोग रोग र अशिक्षाको अँध्यारोमा बस्न पर्दैन भन्ने कुरामा जनता ढुक्क भए । त्यसपछि हिजोको युद्धमा कमान्ड सम्हालेका तर बन्दुक कहिले नबोकेका व्यक्ति प्रधानमन्त्री र मन्त्री बन्ने क्रम सुरु भयो ।

सर्वसाधारण जनताको छोरा, जो युद्धमा होमिएको थियो र अपांग बन्यो महान् परिवर्तनका वेदीमा तर ऊ भने यो परिवर्तनले खुसी हुन सकेन । उसको जिन्दगी फेरिएन । परिवर्तनले जनजिन्दगी फेरिएन भने त्यो के परिवर्तन हो र ? ल्याएको परिवर्तन केवल ढाडे बिरालाको लागि मात्रै थियो भने त्यत्रो नेपाली किन शहीद बन्नु थियो र ? दुःख उस्तै रह्यो । अभाव उस्तै रह्यो । अशिक्षा र गरिबी उस्तै रह्यो । केही मुट्ठीभर नेता र तिनैका सन्तान दरसन्तानलाई सत्तामा पुर्‍याउन गरिएको युद्ध बेकार भयो भन्ने कुराले जनतामा फेरि निराशाले छाउन थाल्यो ।

युद्धमा होमिएको सानुमानको जिन्दगीमा केही परिवर्तन आएन । युद्धमा बाँचियो भने एउटा नोकरीसम्म त मिल्ला भनेको आखिर नेपाल आर्मीमा पनि ऊ समाहित हुन सकेन । उसको लागि बोल्दिने कोही भएन । उसको सपना तुहियो । कति साथीहरू नेपाल आर्मीमा समाहित भए । ऊ भएन । उसको भाग्यमा लेखेकै रहेनछ । हिजो युद्धमा मारिएको भए कमसेकम शहीद त हुन पाइन्थ्यो । परिवारले अलिकति भने पनि पैसा पाउँथे । थुइक्क मेरो भाग्य !

मृत्युले नपत्याएको मान्छे म । यस्तैयस्तै सोच्दै आर्मीमा गएका साथीहरूलाई बिदाइ गरेर एक दिन ऊ सदरमुकामबाट गाउँ फर्कियो । निधारमा एउटा कलंकको टीका त लागेकै थियो । सँगै छिमेकीको छोरा आर्मीमा गयो त चै लायक भइनछस् है ..?

बाबुको बचनले कोखा हान्यो । के म त्यस्तो नालायक नै थिए त ? भुपू माओवादी भए म । किन बन्दुक बोक्नु परेको मैले ? मैले आफ्नै गाउँका काका पर्ने जगतमान गुरुङको कञ्चटमा हाने । ताकीताकी मारे । उनको दोष खास के थियो मैले बुझेको पनि थिइनँ त्यतिबेला । चन्दा माग्दा नदिएको झोकमा दुस्मन भन्दै कतिलाई मारियो, मारियो... सानुमानलाई निन्द्रा आएन । भोलिपल्टै ऊ फेरि सदरमुकाम गयो । 

उसले एउटा म्यानपावर कम्पनीमा आफ्नो पासपोर्ट र फोटो बुझायो, जम्मा डेढ लाख तिर्नुपर्छ भन्यो म्यानपावरले । पैसा त थिएन उसँग । बाबुसँग रोइकराइ गर्‍यो । एउटा खेत थियो । बन्दगी राख्यो । बिहे भइसकेको थियो । एउटा सानी छोरी पनि भइसकेकी थिई । ऊ युद्धमा होमिन जाँदा श्रीमती दोजिया भएकी थिई । चार वर्ष त ऊ जंगलमै हराएको थियो ।

युद्ध बिराम भएर घरमा पुग्दा जूनजस्ती छोरीलाई काखमा लिएर बेस्सरी रोयो । केही थिएन साथमा । बन्दुकले खाएको दुइटा डुढो औंलाबाहेक । उसलाई देखेर श्रीमती बेस्सरी रोएकी थिई । एक महिनापछि भिसा आयो । सानुमान अरब गयो, महिनाको १५ हजार कमाउन । उसले सोच्यो उसका लागि नेपाल रहेनछ । नेपाल त केवल नेता, जाली फटाहा, भ्रष्टाचारी, चाकरी चम्चागिरी, नेताका आशीर्वाद पाउनेहरूका लागि मात्रै रहेछ भन्दै एयर अरेबियाको जहाज चढ्यो । भर्‍याङ उक्लिनु अघि पर बसेकी सानी छोरीलाई हात हल्लाउँदै जहाजभित्र छिर्‍यो ।

धेरैधेरै दुःख गर्‍यो, ५० डिग्रीको तातो मरुभूमिमा । १७ वर्ष काम गर्‍यो । छोरीलाई हुर्कायो । खेत नि खन्यो । ऊ उतै हुँदा उसका बाबु बिते । नेपाल आउन छुट्टी मिलेन । बाउका लागि उतैबाट उसले काज किरियामा सहयोग पुर्‍यायो । किरिया खर्च उतार्‍यो । छोरीलाई कलेज पढाउन थाल्यो । आमा, श्रीमती र एक छोरीको जिन्दगी अब सहज रूपमा बग्न थाल्यो ।

एक दिन उसले एउटा खबर सुन्यो कि चाइनाको बुहान भन्ने स्थानमा अर्कै खालको रोग फैलिएको । र सहर नै सिल गरेको । उसले सोचेन, त्यो रोग ऊ बसेको सहर रियादसम्म कहिले आउला भनेर । युरोपेली मुलुकहरू त्यही रोगका कारण ध्वस्त हुन थाले । अमेरिका पनि त्राही–त्राही हुन थाल्यो । उसले सोच्यो, त्यो रोग नेपालमा आउँदैन भनेर । चाइनाबाट रियादसम्म त्यो रोग उडेर आइपुग्न एक महिना पनि लागेन । उसकी श्रीमतीले घरबाट फोन गरी, ‘कुन्नि के जाति कोरोना भन्ने रोग आको छ रे ! टिकट काटेर झट्टै नेपाल आउनु ।’

नभन्दै रियादमा पनि केही संक्रमण देखियो । उसले काम गरेको फ्याक्टरी बन्द भयो । उसलाई अफिसले बिदा दियो । अन्तर्राष्ट्रिय उडान बन्द हुनु केही दिन पहिले ऊ एयर अरेबियाबाट नेपाल उत्रियो । भोलिपल्टै ऊ घर गयो । गाउँमा परिवार आत्तिरहेका थिए । घर पुगेपछि आमा र श्रीमती ढुक्क भए । छोरी खुसी भई । तर खोइ किन–किन ! ऊ भने ढुक्क हुन सकेको थिएन । बाटोमा आउँदा–आउँदै उसले न्युज पढ्न पुग्यो । एयर अरेबियाको फ्लाइटबाट यो मितिमा नेपाल आएका एक जना नेपालीलाई कोरोना पुष्टि भएकाले सो उडान र मितिमा नेपाल फर्किएका सबै यात्रुहरूले सम्बन्धित फोनमा सम्पर्क गर्न अनुरोध ।

उसले सो मोबाइलमा फोन गर्‍यो । फेरि ऊ काठमाडौं फर्किन पर्ने भो । ऊ होसियार थियो । फर्किनुअघि नै रियादमा उसलाई कोरोनाबारे धेरै कुराको ज्ञान सिकाइएको थियो । ऊ फेरि १४औं दिनको आइसोलेसनमा गयो । आइसोलेसनको सबै भद्रगोल र बेथिति देखेर ऊ अवाक् भयो । सात दिनपछि उसको कोरोना रिपोर्ट पोजेटिभ आयो । तर ऊ आत्तिएन । धैर्यता राख्यो । नेपालमा कोरोना डढेलो लागेजस्तै फैलिन थाल्यो । सरकारले तोकेको कोरोना अस्पतालमा बेड छैन । सरकारसँग निश्चित योजना पनि थिएन । भिजन पनि थिएन ।

कोरोना औजार र औषधि खरिदमा समेत भ्रष्टाचार भएको भनी मुद्दा उठे । देशमा यत्रो कोरोनाको महामारी फैलिएको छ सरकार भने आफ्नो पार्टीको आन्तरिक कलहमा अलमलिएको छ । १४औं दिन नपुग्दै ‘खानै नपाएर मरिने भइयो’ भन्दै आइसोलेसनबाट भाग्यो सानुमान । नाम मात्रैको आइसोलेसनबाट झन् बढी खतरा मोल्नुपर्ने देखेर ऊ भाग्यो ।

जो–जो नेताका आसेपासे छन्, तिनलाई अर्कै व्यवस्थापन छ । आइसोलेसनमा समेत यो विभेदले ऊ दिक्क भयो । मानिस सधैं किन आफ्ना र अर्कामा विभेद देखाउँछ । योभन्दा पशुतुल्य जिन्दगी त हिजो बन्दुक बोक्दा नै भोगेकै हो र ? आजसम्म पनि यो भेदभावपूर्ण व्यवहार उस्तै रहेछ । खोइ, कहाँ आयो परिवर्तन ?

यति विभेद त जंगली जनावर बिचमा पनि हुँदैन । सानुमान फेरि गाउँ जाने विचारमा घोत्लियो । सारा बाटो र यातायात बन्द थियो । एउटा शववाहन चालकसँग उसको आइसोलेसनमै परिचय भएको थियो । १० हजारमा उसले गाउँ छोडेर आइदिने कबुल गर्‍यो । भोलिपल्ट बिहानै ऊ लासजस्तै बन्यो । कात्रोमा बेरियो । ‘शान्त भएर सुत्नु’ भन्यो चालकले थानकोट चौकी आएपछि ।

ऊ त्यस्तै बन्यो । गाडीले एकाबिहानै थानकोट काट्यो । विधाताले बनाएको यो नियमलाई कसले उल्लंघन गर्न सक्थ्यो र ! आखिर गाडी बाटोमा दुर्घटनामा पर्‍यो । त्रिशूलीमा खस्यो । शव बनेर गएको सानुमान फेरि फर्केर घर गएन ।

ADV

सम्बन्धित खबर

Advertise