आजबाट बिट मार्नु छ एउटा कथाको
र लेख्नु छ भोलि नयाँ शुभकामना
तिम्रो उन्नति र सफलताको ।
गुराँसे डाँडामा पिरको ढाकर छाडेर
ओर्लिनु छ गाउँ
पुरानो मुस्कानको नवीकरण गर्न
र खोज्नु छ, नयाँ गन्तव्य
जिन्दगी बिसाउने चौतारीहरू
अनि लेख्नु छ भन्ज्याङमाथि चढेर
एक अँजुली शुभकामना, तिम्रो दीर्घायुको ।
फाटेका दौराहरूको कुइनो टाल्दै
उद्रिएका सपनाको रंग मिलाउँदै
मुखभित्र अमिलो ग्यास्ट्रिकको पानी उमाल्दै
निस्कनु छ, बाझो खेत जोत्न
अनि छोराछोरीको धमिलो भविष्यमा
सफलताको एक हिउँद बाली उमार्न ।
पिरको गहिरो इतिहासमा
मुस्कानको मलम पट्टी लगाउनु छ
पत्थरको जमिनमा प्रेमको बाली सपार्नु छ
चुँडिएका सम्बन्धहरूमा
एउटा गसौटो गाँस्नु छ ।
तिमी सधैंलाई जाँदै गर्दा
मैले एउटा प्रतिज्ञा गर्नु छ
हिजो बिग्रेको मन
टुटेको जिन्दगी लिएर
माफी माग्नु छ
ईश्वरलाई र सुरुवात गर्नु छ
नयाँ अध्याय, पुरानो क्यालेन्डर बिर्सिएर ।