सुमन थापा, एक होनहार विद्यार्थी, कक्षा ११ मा विज्ञान विषय लिएर पढ्दै थियो । सबैले उसको तेज दिमाग, अनुशासन र मेहनती स्वभावको प्रशंसा गर्थे । उसले सानैदेखि डाक्टर बन्ने सपना बोकेको थियो । तर त्यो सपना विस्तारै धमिलिँदै गयो, एक साधारण तर खतरनाक कारणलेः मोबाइलको लत ।
सुरुमा उसले मोबाइल केबल पढाइका लागि प्रयोग गथ्र्यो– गुगल सर्च, युट्युब ट्युटोरियल अनि अनलाइन नोट्स हेर्न । तर विस्तारै मोबाइल उसको जीवनको अपरिहार्य हिस्सा बन्दै गयो । सामाजिक सञ्जाल, टिकटक, गेम र च्याटमा उसको समय खेर जान थाल्यो । सुरुमा उसको परिवारले थोरै बोले, ‘थोरै चलाऊ न मोबाइल, आँखालाई असर गर्छ ।’ तर सुमनले ध्यान थिएन ।
बिस्तारै उसले पढाइमा ध्यान दिन छोड्यो । किताब खोल्दा पनि मोबाइल साथमा हुन्थ्यो । के पढ्यो, के सम्झियो, आफैंलाई थाहा नहुने भयो । उसले मोबाइल नपाएको बेला असहज महसुस गर्न थाल्यो । निद्राको समय घट्दै गयो, रातभर स्क्रिनमा आँखा गाडेर बस्न थाल्यो ।
अभिभावकले उसलाई पढ्न भनेर सोध्दा ऊ झर्किन थाल्यो । ‘पढिरहेको छु नि त ! बुझेको छैन तपाईंलाई,’ भनेर चिच्याउन थालेपछि घरमा पनि तनाव बढ्न थाल्यो । उसलाई कुनै कामको जिम्मेवारी दिनै नसकिने भयो । उसमा ध्यान दिने, कुरा सुन्ने र उत्तर दिने क्षमता हराउँदै गयो ।
उसका साथीहरू पनि टाढिन थाले । पहिलेजस्तो मिलेर पढ्ने, छलफल गर्ने वातावरण रहन छोड्यो । मोबाइलको कारण सुमन समयमै कक्षा नपुग्ने, होमवर्क नपठाउने अनि प्रयोगशालाको कामसमेत गर्न छाड्यो । साथीहरूले उसलाई बोलाउनु छाडे ।
त्यसैबीच कक्षा ११ को वार्षिक परीक्षा नजिकिँदै थियो । सबै साथीहरू तयारीमा जुटिरहेका थिए तर सुमन अझै मोबाइलमै झुमिएको थियो । जब कहिलेकाहीँ उसलाई पढ्न मन लाग्थ्यो, मोबाइलको नोटिफिकेसनले ध्यान भंग गरिदिन्थ्यो । एकछिन हेर्छु भन्दाभन्दै घण्टौं बित्थ्यो ।
अन्ततः परीक्षा भयो । परीक्षा कस्तो भयो भनेर कसैले सोध्दा सुमन झर्किन्थ्यो, ‘सबै ठीकै छ ।’ तर ऊ भित्रभित्रै डराइरहेको थियो– आफ्नै कमजोरीबाट ।
परीक्षाको नतिजा आयो । सुमन सबै विषयमा फेल भएको थियो ।
परिवारमा ठुलो झगडा भयो । बाबु आमाले आँखा रसाउँदै सोधे, ‘हामीले तँलाई पढ्न भनेर यति खर्च गर्यौं, विश्वास गर्यौं, अनि तँले के गरिस् ?’ सुमनले केही भन्न सकेन । हिजो जसको भरोसा सबैलाई थियो, आज उसलाई कसैले विश्वास गर्न सकेन ।
विद्यालयमा शिक्षकहरूले बोलाएर गम्भीर कुरा गरे । ‘सुमन, तिमी यस्तो विद्यार्थी थियौ, जसबाट धेरै आशा गरिन्थ्यो । तर तिमीले त आफैंलाई बर्बाद गर्यौ । मोबाइलले तिमीलाई खायो ।’
साथीहरूले पनि छेड हान्न थाले, ‘अनि के कुरा गर्छस् डाक्टर बन्ने सपना ?’
यी सबै घटनाहरूले सुमनको मनमा गहिरो चोट पुग्यो । ऊ केही दिन त आफूलाई कोठामै थुनेर बस्यो । मोबाइल हेर्ने आँट पनि भएन । कहिलेकाहीँ पुराना पढाइका नोट हेथ्र्यो र आँखा रसाउँथ्यो ।
एक साँझ उसले ऐनामा हेर्दा आफू पहिलाजस्तो लागेन । एक जना बर्बाद हुँदै गइरहेको युवक मात्रै देखियो ।
त्यही दिन, उसले एउटा गहिरो निर्णय गर्यो– अब म बदलिन्छु ।
सुमनले सबैभन्दा पहिले मोबाइलबाट सबै सामाजिक सञ्जाल हटायो । अनावश्यक एपहरू डिलिट गर्यो । उसले बाबु–आमासँग माफी माग्दै भन्यो, ‘अब म फेरि मेहनत गर्छु । तपाईंहरूलाई फेरि विश्वास गराउनेछु ।’
त्यसपछि उसले नयाँ दिनचर्या बनायो । बिहान छिट्टै उठ्थ्यो, किताब पढ्थ्यो, टिचरहरूसँग सहयोग माग्थ्यो अनि साथीहरूसँग फेरि सम्बन्ध बनाउने प्रयास गर्न थाल्यो ।
सुरुमा सबैको विश्वास फिर्ता पाउन सजिलो थिएन । तर ऊ डगमगाएन । मेहनत गर्दै गइरह्यो । मोबाइल अब केवल आवश्यक समयमा मात्र प्रयोग हुन्थ्यो, त्यो पनि पढाइका लागि मात्र ।
एक वर्षपछि जब कक्षा १२ को नतिजा आयो, सुमनले राम्रो अंक ल्याएर सबैलाई चकित पार्यो । शिक्षक खुसी भए, अभिभावकको आँखामा गर्व झल्कियो । अन्ततः सुमनले मोबाइलको लत त्यागेर आफूलाई बचायो ।